October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पालिकाहरुले तत्काल र निरन्तर गर्नुपर्ने कामहरु

कुमार दहाल, वरिष्ठ प्रशासक


पालिकाहरुमा तत्कालै गर्नुपर्ने कामहरुका विषयमा सम्बन्धित तहका प्रमुखहरुले व्यक्तिगत स्वार्थ त्याग गरेर सुझाव र सल्लाह लिन जरुरी छ । मासिक पचासौं हजार तलब र भत्ता दिएर राखिएका कार्यकर्ता सल्लाहकारहरुले सल्लाह नदिएका हुन कि नमानेका हुन् कतिपय पालिकाहरुमा दिग्दार लाग्दो अवस्था छ । परामर्श सेवाका नाममा पालिकाहरुमा लाखौं धनरासी छुट्टाइएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । तथापि सुधार गर्ने तर्फ स्थानीय तहका सरकार लागि परेको देखिदैनन् । त्यसैले एक विज्ञको सुझाव अति उत्तम लागेर हामीले प्रस्तुत गरेका छौः सम्पादक


१. फोहोर मैला व्यवस्थापन गरौ। डम्पिङसाइटमा होइन फोहोर कारखानामा लैजाऔं । यसको पुनरुत्पादन गरौ । फोहोर व्यवस्थापन गर्ने थुप्रै सम्भावनाहरु छन् । फोहोर व्यवस्थापनमा नयाँ टेक्नोलोजी आइसकेको छ । निर्णय गर्न सके व्यवस्थापन गर्न सकिन्छ । फोहोरलाई मोहरमा परिणत गर्न मात्र सकियो भने ठूलो काम हुनसक्छ । कुहिने नकुहिने फोहोर छुट्याएर घरमै व्यवस्थापन गर्ने विधि र नीति तयार गर्नुहोस् ।


२. महानगरको सिटी प्रोफाइल तयार गरौ।प्रत्येक घर र व्यक्तिको रेकर्ड राखौं । यसबाट काठमाडौँ भित्रका संस्थागत र ब्याक्तिगत सम्भावनाहरु सबै प्राप्त हुन्छन् ।


३.सामान बोक्ने गाडीहरु बेलुका ८ बजेदेखि बिहान ८ बजेसम्म मात्र चल्न दिआौं । यसले राति रोजगार सिर्जना गर्छ । दिउँसोको जाम कम गर्छ । काठमाडौँ उपत्यकामा रात्री बस चलाउन ढिलो भइसकेको छ ।रात्री बस सञ्चालनमा व्यवसायीहरु तयार छन् । अलिकति शुल्क सुविधा थप दिएर रात्री बस चलाउन सकिन्छ । यसबाट रात्रीकालिन रोजगार बढ्छ ।


४. प्रत्येक पाँच सय मिटर देखि एक किलोमिटर भित्र तरकारी, फलफूल, कपडा र साना बजारलाई प्रोत्सान गर्रौ । सार्वजनिक ठाउँमा व्यवस्थित तरिकाले स्टल राख्न दिनुपर्छ । फुटपाथलाइ व्यवस्थित गर्नुपर्छ ।


५. साइकल लेनको ब्यबस्था गरौं । उपयोग गरौं । साइकलको व्यवस्था महानगरपालिकाले निःशुल्क गर्नुपर्छ .साइकलमै डिजीटल ट्याग राखेर भाडा उठाउन सकिन्छ । यसको डिजिटल म्याप र डिजिटल कन्ट्रोल सेन्टरबाट गर्न सकिन्छ । मोटरसाईकल भन्दा काठमाडौंको कोर क्षेत्रमा इलेक्ट्रिक साइकलको सहयोगले छोटो दूरीमा राम्रो काम गर्छ । र यो इको फेन्डली पनि छ ।


६. कानुन विपरित भाडामा दिएका, लिजमा दिएका सार्वजनिक जग्गा खाली गर्नुहोस् । जस्तै गोंगबु बस पार्कको जग्गा ल्होत्से सहकारीलाई कौडीको मोलमा र अन्य थुप्रै सरकारी र गुठीका जग्गा।थुप्रै जग्गाहरु अनियमित र कानुनविपरीत निजी र ब्यक्तिगत उपयोगमा छन् त्यो खोज्नुहोस् । जग्गा खाली गर्नुहोस् । र सोही प्रयोजनमा लगाउनुस् ।


७. पसलमा डिजिटल बिलको व्यवस्था गनुहोस् सानो होस या ठूलो सबै पसलहरूको रेकर्ड राख्नुस् । बिलबिजक बिना सामान खरिदबिक्री हुन नदिनुहोस् । यसमा संघीय सरकार, अर्थ मन्त्रालय सँग समन्वय गर्नुस् । यसले महानगरपालिका र संघिय सरकार दुवैको राजस्व बढ्छ । र बजारमा मूल्य सुनिश्चित कायम हुन्छ ।


८.नमुना विद्यालय, अस्पतालको व्यवस्थाको गर्नुस् । शिक्षा र स्वास्थ्यमा महानगरपालिकाले नमुना विद्यालय अस्पतालहरूको निर्माण सञ्चालन गर्नसक्छ । स्वास्थ्य र क्षेत्र शिक्षाक्षेत्रमा महंगी नियन्त्रण गर्न आफै मोडलको रुपमा अगाडि आउनुपर्छ ।


९. बाल केन्द्र, वृद्धाश्रमहरु निर्माण र एकीकृत गर्नुपर्छ । यसका लागि काठमाडौँ महानगर भन्दा बाहिर ठूलो क्षेत्रफलमा बाल विकास केन्द्र वृद्धाश्रमहरु निर्माण गर्रौ । सानातिना संस्थाहरुलाई एकीकृत गरेर विकास गर्न सक्नुपर्छ र गर्नुपर्छ ।


१०. पसल व्यापार–व्यवसाय सेवाहरुको डिजीटल रेकर्ड राख्नुपर्छ । र अनुगमन गर्नुपर्छ । अनुगमन पनि महानगरमा बसेर नै गर्न सकिन्छ । अनुगमनबाट नै बजारलाई व्यवस्थित गर्न सकिन्छ । यसका लागि तीनै तहका सरकारहरुसँग समन्वय गर्नु पर्छ ।


११. अनुसन्धान, विकास, सर्वेक्षणका लागि मानव स्रोत विकास सेन्टर निर्माण गर्नुहोस् र सबै प्रकारको नीति निर्णय र प्रोएक्टिभ कामको लागि सल्लाह लिनुपर्छ । महानगरपालिकामा सल्लाहकारहरु राख्नुभन्दा विश्वविद्यालय, रिसर्च सेन्टरहरुमा प्लान बनाएर सहयोग लिएर अगाडि बढेमा सुधार गर्न सकिन्छ । नतृत्वले कम बोल्नुहोस् । अर्काको कुरा धेरै सुन्नुहोस् र विवेकले निर्णय गर्नुहोस् ।


१२. महानगरपालिका र पालिकाभित्र काम गर्ने गैरसरकारी संस्था, निजी क्षेत्र र सरकारी कामलाई एकीकृत गर्नुहोस् । थुप्रै पैसा छरिएका छन, जुन उत्पादनशील क्षेत्रमा छैनन् । एकीकृत रुपमा उत्पादनशील क्षेत्रमा लगानी गर्दा नतिजा प्राप्त गर्न सकिन्छ । प्राथमिकताप्राप्त क्षेत्रमा गैरसरकारी क्षेत्रको उपयोग गरौं । यो क्षेत्रले कतिपय ठाउँमा राम्रो काम गरेको छ । निजी, सरकारी र सहकारी क्षेत्रको राम्रो उपयोग गरौं ।


१३. उपत्यकाभित्रको परम्परा, संस्कृति, इतिहासलाई संरक्षण गर्नुहोस् । यस्ता विषयको संकुचन गर्ने, जग्गा अतिक्रमण गर्ने बिषयलाई निरुत्साहीत गर्नुहोस् । नगरपालिकाभित्र रोजगार सूचना केन्द्र राखांै । प्रत्येक पालिका भित्र हुने रोजगारको सूचना सबै नागरिकहरूलाई दिनुहोस् । रोजगारदाता र रोजगारीको बीचमा समन्वय गर्नुहोस् । रोजगारदातालाई प्रोत्सान गर्नुहोस् र रोजगारी बढाउनुहोस् ।


१४. सहरको सुन्दरता र वातावरणमैत्री सहरका लागि एउटा बिरुवा एउटा घर नीति अनिवार्य गर्नु पर्छ । फलफूल युक्त बिरुवाहरूको वितरण गर्नुपर्छ । प्रत्येक महिनाको १ दिन वडाहरुमा आफ्नो उपस्थिति सहित जनताहरुसँग बसेर छलफल गर्नुहोस् ।


१५. कार्यालय समय फरक–फरक गर्नुहोस् । निजी क्षेत्रका ८ बजे, सरकारी ९ बजे, स्कूलहरु ११ बजे, समय निर्धारण गर्नुपर्छ । पछि निजी कार्यालयहरु खोल्दा जाम कम हुन्छ । ट्राफिक–जाम व्यवस्थापन गर्न सकिन्छ । सरकारी कार्यालयमा डिजीटल नेटवर्किङबाट संचालन गर्न सकिन्छ । महानगर अन्तर्गत कार्यालयहरुमा, फ्लेसी टाइम प्रयोग गर्न सकिन्छ ।


१६. उद्घाटन ,शिलान्यास, समापनमा ध्यान नदिनुहोस् । स्थानीय वडा अध्यक्ष वा नेतृत्वबाटै उद्घाटन र समापन गर्न दिनुहोस्.। मुख्य विषय नतिजामा ध्यान दिनुहोस् । ठूला ठूला नेतालाई बोलाएर उद्घाटन समापन गर्दा नतिजा प्राप्त हुँदैन, हुन्छ भन्ने निश्चित छैन । नतिजामा ख्याल गर्नुस् । राजनीति स्वार्थ र नेतृत्व स्वार्थबाट टाढा रहनुहोस् । कार्यक्रममा एक मिनेट पनि फरक नपरी जनतालाई समय दिनुहोस् । प्रमुख अतिथि, अतिथि, स्वागत भाषण जस्ता कुराहरुलाई बन्द गर्नुहोस् । सोझै जनताको र समस्याको विषयमा सम्बोधन गर्नुहोस् ।


१७. आफ्नो स्वार्थ त्याग्नुहोस् । सरकारी सुविधा पाउने देखी बाहेक एक पैसा पनि नलिनुहोस् । सक्नुहुन्छ भने आफ्नो महानगरपालिकाभित्र छरितो साधन प्रयोग गर्नुहोस् । तामझाम बाट बच्नुहोस् । कुनै पनि प्रकारको बिल भुक्तानी सम्झौता बाट आउने कमिसन नलिनुहोस् । त्यागी जीवनबाट सफल हुन सक्नुहुन्छ ।


१८. कर्मचारीहरुसँग कुनै राजनीतिक आस्था र विचारका आधारमा भेदभाव नगर्नुस् । कुनै कर्मचारीका गुनासा र कुराहरु कर्मचारी र आफूमा मात्र सिमित गर्नुहोस् । अरुलाई केही नभन्नुहोस् । कर्मचारीले गरेका गल्तीहरुलाई प्रोपोगन्डा नबनाउनुस् । मानवीय हिसाबले व्यवस्थापन लाई हेर्दा सफल हुन सकिन्छ ।


१९. संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्नुहोस् । कुनै काम गर्न सक्दिन भन्ने कुरा त्यागिदिनुहोस् । महत्वकांक्षी नबन्नुहोस् । युवाहरू, बौद्धिक हरूको सम्पर्क गर्नुहोस् । तर छिट्टै उत्साहित भइहाल्ने काल्पनिक योजनाहरु बताउने नगर्नुहोस् । कुनै पनि कामहरु सम्पन्न हुन लागेपछि मात्र त्यसको विषयमा बाहिर ल्याउनुहोस् । अगाडि नै ल्याउँदा तपाईहरुका विचारको विरोध हुन सक्छ । एकैचोटि रिजल्टले विश्वास बढाउँछ ।


२०. काठमाडौँ महानगर र सबै नगरहरुमा कम्तिमा १००० वटा सार्वजनिक शौचालय निर्माण गर्नुपर्छ । सार्वजनिक शौचालयका बोर्डहरु देखिने ठाउँमा राखिनुपर्छ । शौचालय लागि आउटसोर्सिङ गरेर सरसफाइको व्यवस्थापन गर्न सकिन्छ । यो विषय तुरुन्त अगाडी बढाउनुपर्ने अवस्था छ ।


२१. पालिकाहरुले रिसोर्स नेटवर्किङमा ध्यान दिनुहोस् । बिलमा म्यापिङ गर्नुहोस् । जथाभावी प्लटिङ बन्द गर्न गर्ने नीतिगत व्यवस्था गरे उत्पादनशील क्षेत्र नियन्त्रण हुन्छ । सार्वजनिक जग्गाहरुको संरक्षण गर्नुहोस् । ल्याण्ड म्यापिङ गरेर फलफुल, पशुपालन, उत्पादनका क्षेत्रहरुका पकेटक्षेत्र छुट्याउनुहोस् । सोहीअनुसार उत्पादनमा ध्यान दिनुहोस् ।


२२ निजी क्षेत्रसँग संवाद गर्न सक्नुपर्छ । निजीक्षेत्रका उद्यम, व्यापारी, नेतृत्वलाई ड्यासमा राख्नुहोस् । सरकारी पक्ष तल बसेर निजीक्षेत्रलाई प्रमुख आथित्यता दिएर उनीहरुका कुरा सुन्नुहोस् र सम्मान गर्नुहोस् । जब निजी क्षेत्रको उत्पादकत्व बढ्न थाल्छ स्वतः महानगर र सबै पालिकाहरूको उत्पादन र लगानी बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.