दलिय चंगुलबाट मुक्त भएर स्वतन्त्र र आन्तनिर्भर बनौं
कुनै पनि राष्ट्रको निवेश वा उपनिवेश नभएको राष्ट्र नेपाल अहिले उपनिवेश बनाउन खोज्ने विरुद्धको क्रान्ति तत्कालै सुरु गर्नुपर्ने भएको छ । वास्तवमा क्रान्ति भन्ने बित्तिकै हामी नेपाली झस्कने गर्दछौं । किनभने हाम्रो देशमा राणा कालमा गरिएको क्रान्ति, राजावादी विरुद्धमा गरिएका क्रान्ति, नेपाली कांग्रेसको आब्हानमा गरिएका बिभिन्न समयका सशस्त्र क्रान्ति, तत्कालिन नेकपा मालेद्वारा गरिएको क्रान्ति र माओवादीले गरेको २०५२ देखि २०६२ सालसम्मको सशस्त्र क्रान्ति मूख्य थिए ।
यसरी गरिएका मानव क्रान्तिले हाम्रा पुर्खाहरुलाई अत्यन्तै मार परेको थियो । माओवादी क्रान्तिले चाहिँ हामी अहिले पनि झस्किएका छौं पनि । अझ गणतन्त्रका नाममा नेता बनेर शासन गर्न आएका लेण्डुपहरुले एमसीसी संसदबाट अनुमोदन गरी पास गरेका छन् । साथै चीनका परियोजना बिआरआईको समर्थन गरेको अवस्था छ । यसरी लेण्डुप प्रवृतिका यी नेताहरुले सारा राष्ट्रवादी नेपालीहरुको स्वतन्त्र अस्थित्व नै समाप्त पारे ।
प्राकृतिक रुपमा अथाह स्रोत भएको हाम्रो जस्तो धनी राष्ट्रलाई कुजो बनाएर परनिर्भरतामा बाच्न नेताहरुले नै सिकाएका छन् । यसरी उनीहरु राम्रो काम नगर्दा पनि झनै हौसिएका छन् ।
देश र विदेशमा छरिएर रहेका हामी राष्ट्रबासी नेपालीहरुले श्रीलंकाको आर्थिक अवस्थामा आएको दयनिय अवस्था देखिरहेका छौं । मैले समाचार माध्ययममा सुने र पढे अनुसार श्रीलंकाले धेरै विदेशी राष्ट्रबाट लिएको ऋण तिर्न नसक्दा त्यो अवस्था आएको हो भन्ने गरिएको छ । यदि यो सत्य हो भने हाम्रा जन्मदै गरेका बच्चाको थाप्लोमा तीन देखि चार लाख ऋण भार बोक्नु परेको होला । अझ यो स्थानीय निर्वाचनमा गरिएको खर्च जोड्दा थपिएको ऋण साढे चार लाख नै पुगेको होला ।
के त्यो ऋण हाम्रा जन्मदै गरेका बच्चाहरुले तिर्न सक्लान ? त्यसको भार तिर्न सक्तैनन् । बाबुआमाले ब्येहोर्नुपर्दा चार छोरा छोरी र आफु दुई जनाको हिसाव गर्दा २४ देखि २५ लाख देखिन आउँछ । त्यतिका रकम अभिभावकले तिर्नसक्ने कुरै भएन । त्यसकारण आम जनताहरु खान नपाएरै भोकै मर्छन् । भ्रष्टाचार, अन्याय र अत्याचार गरी अकुत सम्पत्ति कमाउनेलाई न राष्ट्रको माया हुन्छ,नत जनताको नै । यसरी भोकभोकै मर्ने भनेकै गरिब जनताहरु हुन् । त्यसैले भन्ने गरेको छु श्रीलंकामा पनि भ्रष्टाचारी अन्याय र अत्याचारी कोहि पनि नेता मरेका छन् त ?
जत्ति मरे पनि असाहाय र गरिब मात्रै मरेका छन् । त्यसैले हाम्रो राष्ट्रमा पनि श्रीलंकाको जस्तै अप्ठ्यारो अवस्था आएको त हैन ?
यस राष्ट्रका बौद्धिक वर्गहरु आर्थिक क्रान्ति सुरु गरौ । यो दल र त्यो दलको पार्टी नभनि राष्ट्रिय आर्थिक क्रान्ति आजको आवश्यकता हो । आर्थिक क्रान्ति सुरु गर्न नीति नियम, विधि विधानहरु तत्कालै बनाउँ । र, आर्थिक क्रान्ति तत्कालै सुरु गरौं । राणाकाल देखिको अस्थितरता अन्त्य गरौं । परनिर्भर हैन आत्मनिर्भर भएर बाच्न सिकौं ।
आर्थिक क्रान्ति कसरी सुरुगर्ने भन्ने विषयमा मैले पहिल्यै नै जानकारी गराईसकेको छु । आर्थिक क्रान्तिका लागि विकल्पसहित कसरी अघि बढ्ने पूूर्ण जानकारी दिइसकिएको छ । हामीलाई थाह छ ‘हामी जनताले नेता वा नेतृत्व छान्न पाउँदैनौं’। पार्टीबाट टिकट लिनु पर्ने र टिकट पाउन मोटो रकम चढाउनुपर्ने अवस्था छ । यसरी किनिएका नेता र जनताबाट यो राष्ट्रमा भाडो भैलो हिजो आज र भोलि पनि रहिरहँने अवस्था छ । यो भाडोभैलोको राजनीति तत्कालै अन्त्य गरौं भन्नु नै राष्ट्रिय आर्थिक क्रान्ति तत्कालै सुरुवात गर्न हामी एक हैन सयौं हौं । हामी सयौंले हजारलाई सन्तुष्ट गराउन सक्छौं । तब मात्रै हाम्रो मिसन सफल हुन सक्छ ।
हजारौंले लाखौंलाई कन्भिन्स गराएर आर्थिक क्रान्तिको कार्यन्वयन गरौं । सदियौं देखि अस्थिर राष्ट्रलाई स्थिर राख्दै परआत्म हैन आत्म निर्भरतामा बाचौं । हामी सारा नेपालीको अस्थित्व जोगाऔं । यो आर्थिक क्रान्तिले यस राष्ट्रभरिका विषयगत विशेषज्ञ र प्राविधिकहरुको आवश्यकता पर्दछ । तिनै विषयगत विशेषज्ञ प्राविधिकहरुलाई हामी सारा राष्ट्रबासी विदेशमा रहेका सबै राष्ट्रबासीहरुको आवश्यक पर्दछ । यो आवश्यकता परिपुर्ति गर्नु भन्नु नै बेरोजगारीले रोजगार पाउनु हो । सारा राष्ट्रबासीले रोजगार पाउनु भन्नु नै हामीले आयात रोकेर गरी निर्यात बढाउनु हो । हाम्रो राष्ट्रको भकारी भरेर हाम्रो इन्द्रिय शक्ति र हामी बलियो बन्नेछौं । त्यसपछि मात्रै हाम्रा लुटिएका र खोसिएका भूभाग हामीले फिर्ता ल्याउन सफल हुनेछौ ।
राणाकालिन समय देखि नै नेपालमा अस्थिरता, अन्याय, अत्याचार र भ्रष्टाचारले जरो गाडेका कारण हामी परनिर्भर भएर बाच्न विवस छौं । त्यति मात्रै होइन राजनीतिक नेतृत्वले हामीलाई त भिखारी नै बनाइएको छ । हाम्रो पेट भरिएको छैन । हामी कुपोषणले ख्याउटे नै भएका छौ । त्यसैकारण दक्षिण र उत्तरका छरछिमेकीको चर्को पेलानमा परेका छौं । विदेशीको भूमि बचाउन भर्ति भएका हामीहरु आफ्नो भूमि बचाउन प्रयास गरिरहेका छैनौं । किनकी राजनीतिक नेतृत्व सधै लेण्डुपपथमा छ । देशमा साधन र अथाह स्रोत हुँदा हुँदै किन माग्ने बन्यौं । हाम्रा नियम कानून अपूर्ण भए, विधि र विधानमा चलाइएन । सदियौं देखि नै भाडभैलो बन्यो । त्यो नै मूख्य कारण हो ।
अहिलेको परिस्थिति हेर्दा अझ बढि भाडोभैलो हुने अवस्था देखिएको छ । किनकी जनताले रोजेको र हामीले खोजेको विश्वास पात्र नेतृत्व नपाउने अवस्थामा हामी पुगेका छौ । त्यति मात्रै कहाँ हो र ? नेतृत्वले पनि मोटो रकम दिन नसके पद नै नपाउने अवस्थाको सिर्जना भयो । त्यहि थमौतिका लागि उनीहरु पनि पैसाले बार्गेनिङ गर्नुपर्ने अवस्था आयो ।
मोटो रकम दिएर मात्रै नेतृत्व पाउने अवस्था रहिरहेमा विदेशीको पोल्टामा देश पुगिसकेको भान भइसकेको छ । यसमा अझै मुर्त रुप दिने प्रयास गरिएको छ । कुनै पनि दल वा पार्टीको नेतृत्वले बनाएको विधि र विधानप्रति असन्तुष्ट हुने कार्यकर्ताहरु पनि छन् । तर, जो जत्ति असन्तुष्टहरु छन, तिनीहरु त्यो दलिय चंगुलबाट मुक्त भएर स्वतन्त्र बन्ने प्रयास गर्नुपर्दछ । तब मात्रै राम्रो र नराम्रो, आलोचना र आत्म आलोचना गर्न सक्ने बन्न सकिन्छ । नेतृत्वको दम्भ र घमण्डको अन्त गरी विकासको मोडेलमा लैजानका लागि आत्मनिर्भर बनाउनु नै पहिलो प्राथमिकता हुनुपर्दछ । तब मात्रै भ्रष्टाचारको नियन्त्रण गराई देशलाई १० वर्ष भित्रै कायापलट गराउन सकिन्छ । आफ्नो जन्मभूमिको इज्जत, प्रतिष्ठा र मान सम्मान कसरी लैजान सकिन्छ ? त्यसको बहस तत्कालै थालौं । किनकी सुधारको प्रयास ढिलो भइसकेको छ ।