सरकारी गठबन्धन लोकतान्त्रिक पद्धतिको विरुद्धमा छ
1 min read
वि.स. २००५ साल मंसिर ३ गते बिरुवा–५, स्याङ्जा जन्मघर भई हाल चन्द्रनगर नगरपालिका –४ रौतहटमा स्थायी बसोबास गर्नुहुने ठाकुर प्रसाद उपाध्याय वि.स. २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएको थियो । कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर काम गरेबापत २०२८ सालमा तीन दिन, २०२९ सालमा ४ दिन र २०३२ सालमा ५ दिन गरी १२ दिन हिरासतमा बस्नु प¥यो । २०३६ साल देखि २०४२ सालसम्म स्याङजा जिल्ला कमिटी माक्र्सवादीको सदस्य, २०४४ देखि २०५२ सम्म नेकपा माक्र्सवादी र नेकपा एमाले रौतहट जिल्ला कमिटी सल्लाहकार, संस्थापक, शिक्षक नवज्योति मा.वि. विरुवा,२०२३ –०२८, र २०३१ देखि ०४४ सम्म । शिक्षक, शुभलाल मा.वि रौतहटमा, २०४५ साल देखि ०६५ सालसम्म भएर बिताउनुभएको थियो ।
२०५२ सालमा शैक्षिक आन्दोलनमा सहभागी भएर शिक्षक संगठनको सदस्य र बुद्धिजिबी संगठन रौतहटको उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । पुराना कम्युनिस्ट नेता (जो नेकपा (एस) अध्यक्ष माधव कुमार नेपालको गृहजिल्लाका बासिन्दा पनि हुनुहुन्छ) को प्रत्यक्ष भोगाईमा अहिलेको राजनीतिक परिस्थितिका विषयमा डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको विशेष अन्तरवार्ताः
० तपाई वि.स. २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) को सदस्य भएर काम गर्नुभयो । अहिले कम्युनिस्टहरु बहुदलिय प्रतिस्पर्धा मार्फत सत्तामा पनि गइसकेका छन् । समग्र रुपमा कसरी मुल्यांकन गर्नुभएको छ ?
म २०२६ साल देखि नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी समूहमा काम गर्दै आएँ । स्याङ्जा र रौतहटमा गरी १२ वर्ष जिल्ला कमिटीको सदस्य भएर काम गरेँ । त्यो समयमा हामीले पार्टी निर्माणका लागि धेरै ठूला संघर्षहरु गरियो । स्याङ्जाको सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा धेरै समय दुःख गरियो । तीन पटकसम्म प्रहरी हिरासतमा बसेर १२ दिन बिताउन बाद्य भएँ । कम्युनिस्ट पार्टीमा लागेकै कारण २०२८ सालमा मलाई शिक्षकको जागिरबाट बर्खास्त गरियो । शिक्षा समितिले हामीलाई पार्टीमा लाग्न बर्जित गरेको थियो । त्यो समयमा माक्र्सवाद के हो ? द्वन्द्वात्मक भौतिकवाद के हो ? अध्यन गर्न हामीहरु एकदमै तल्लिन हुने गर्दथ्यौं । यसरी अधिकांश समय अध्यनमा बिताउँथ्यौं । ‘आलोचना र आत्मआलोचना भनेका माक्र्सवादी हतियारहरु हुन्’ । भनेर बुझ्ने गरेका थियौं । त्यो समयमा माक्र्स र लेनिन मात्रै नभएर माओत्सेतुङ विचारधारालाई पनि अंगिकार गरेर अघि बढ्ने गर्दथ्यौं । त्यो समयमा अध्यनशील भएका कारण साथीहरु सिद्धान्तका कुराहरु गर्थे । हामीले राजनीतिलाई हामीले सेवा हो भनेर बुझेका थियौं, अहिलेका अधिकांश साथीहरुले पेसा ब्यवसायका रुपमा हेरेका छन् जुन देख्दा अत्यन्तै दुःख लाग्छ ।
० नेपालमा सबैभन्दा ठूलो पार्टी पनि कम्युनिस्ट पार्टी छ । तेस्रो देखि आठौंसम्म छन् । तर, एक आपसमा मेल नहुँदा यथास्थितिबादी पार्टीहरुले शासनको नेतृत्व गरिरहेका छन् । साथै स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । कम्युनिस्ट पार्टीमा टिकट पाउने लाइनमा घरजग्गा व्यवसायी, निर्माण व्यवसायी, मेनपावर व्यवसायीहरु हावी छन् । कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भमा के भन्नुहुन्छ ?
हामी तानाशाही व्यवस्थाको विरुद्धमा लामो समयदेखि आन्दोलन गदैं आयौं । नागरिक अधिकारको निमित्त हामीले तानाशाही व्यवस्थालाई फाल्न सफल भयौं । त्यहि अनुसार हामी पञ्चायती व्यवस्थामा पनि २०२७÷०२८ मा निर्वाचनमा भाग लियौं । त्यसपछिको २०४३÷०४४ का निर्वाचनमा केहि साथीहरुले भाग लिनुभयो । हामीले राजनीतिलाई सेवा सम्झियौं, अहिलेका साथीहरुले पेसा व्यवसाय सम्झेर अध्यन गर्न छाड्नुभयो । माक्र्सवादी हतियार भुत्ते भयो । माक्र्सवादी स्कूलको अभाव भयो । सम्झाउने र बुझाउने कोहि पनि भएन । कसरी पैसा कमाउने ? (हाउँ टु अर्न मनी ?) भन्नेमा मात्रै ध्यान जान थाल्यो । हामीले माक्र्सवादको अध्यन गरेर जनतालाई सेवा दिन सक्नुपर्दछ । जनताका मौलिक अधिकारका कुराहरु पनि उपलब्ध गराउन सक्नुपर्दछ । पार्टीले निरन्तर रुपमा माब्र्सवादी कक्षा सञ्चालन गरेर देश र जनताका निमित्त सोच्ने धारणाको विकास गर्नुुपर्दछ । यहि रबैयामा चलेमा हाम्रा कम्यनिस्ट पार्टीहरु नै रहँदैनन् । अहिलेको नेकपा एमाले २००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गर्नुभएको पार्टी हो । यही धारलाई छाडेर म अहिलेसम्म कतै गएका छैनौं । २०४७ सालको पोखरा अधिवेशनबाट नेकपा माक्र्सवादी र नेकपा माले मिलाएर नेकपा एमाले बनाइयो ।
म भन्दा विद्धानहरु जसले झापा विद्रोहमा सामेल भएर को–अर्डिनेशन कमिटी बनाइयो । उहाँहरु ‘वान स्पोट वान एक्सन’ भनेर लाग्नुभएको थियो । एक्सनमा पनि उत्रिनुभयो । पार्टी बदनाम भयो । त्यसपछि मदन कुमार भण्डारीले जनताको बहुदलीय जनवादको विचारलाई अघि सारेर सबैलाई समेट्नुभयो । नेकपा एमालेको गरिमा र महत्व बनाउने श्रेय मदन भण्डारीलाई नै छ । मदन भण्डारी बनाएका मार्गहरु र पुष्पलालले देखाउनुभएको बाटोमा हामी हिड्न सक्नुपर्दछ । त्यसका लागि जनतालाई साथ लिएर हिड्न सक्नुपर्दछ । पद, पैसा र प्रतिष्ठामा लाग्ने काम गर्नुहुँदैन भन्ने कुरा नै मेरो मूल मान्यता हो ।
० तपाई शिक्षक पेसामै रहँदा २०३६ सालका आन्दोलन ताका तत्कालिन पूर्व सहायक मन्त्री खड्गबहादुर गुरुङको समूहले गम्भीर रुपमा आक्रमण गरेको थियो । तथापि तपाई बाल बाल बाच्नुभयो । किन आक्रमण भयो ?
हामीले पञ्चायती व्यवस्थाका विरुद्धमा संघर्ष गर्दै आएका थियौं । स्याङ्जा जिल्लाको विरुवा भन्ने ठाउँमा युवा पञ्चले कार्यक्रम राखेका थिए । त्यहाँ ५/७ जना मानिसहरु र पूर्व सहायकमन्त्री त्यहाँ पुगे । मञ्च बनाए पनि कोहि जनता त्यहाँ उपस्थित भएनन् । त्यसै कारण हामीहरुले मञ्च दिनुस् हामी बोल्छौं भन्यौं । म जिल्ला कमिटीको सदस्य भएका नाताले जिल्ला कमिटीको तर्फबाट भने । त्यसपछि बोल्न दिए ।
पछि हाम्रा वामपन्थी साथीहरु र उहाँका युवा पञ्चहरुकाबीच विवाद भयो । त्यसको भोलिपल्ट मैले नवज्योति मावि विरुवामा कक्षा आठमा पढाइरहेको अवस्थामा म माथि सांघातिक हमला गरे । त्यसको २÷४ महिना पछि सहायकमन्त्री गुरुङले गल्ति गरेकोमा माफी माग्दै सहयोग मागेँ । अहिले उहाँ जिबित हुनुहुन्न ।
० पछिल्लो अवस्थामा नेकपा विभाजन भयो । त्यसपछि एमाले पनि बिभाजन भएर सरकार नै ढल्यो । यो अवस्थालाई के भन्नुहुन्छ ?
हाम्रा वरिष्ठ साथीहरुका बीचमा उन्माद बढ्यो । कम्युनिस्ट सिद्धान्त भनिए पनि देशमा भ्रष्टाचार अत्याधिक बढ्यो । देशका पालिकाहरुमा पहाडमा भन्दा तराईमा वा बिभिन्न ठाउँमा भ्रष्टाचार बढेको छ । त्यसैकारण संघीयता, धर्मनिरपेक्षताको उपहास भइरहेको छ । धर्मनिरपेक्षता र संघीयता खारेज गर्नुपर्छ भन्नेहरुको संख्या वृद्धि भइरहेको छ । तथापि हामीले सबैलाई समेटेर लैजाने क्रममा हाम्रै साथीहरु मुछिएका कारण यो अवस्था आएको हो कि भन्ने मलाई लागेको छ । प्रशिक्षण कार्यक्रमहरु चलाएर सम्पूर्ण वाम शक्ति एक जुट भएर यहि नेकपा एमाले पार्टीलाई नै पहिलो पार्टी बनाउनेतर्फ लाग्नुपर्दछ ।
० पछिल्लो अवस्थामा माधव नेपाल नेकपा एमाले फुटाउनतर्फ जोडबलसँग लाग्नुभयो । तपाई रौतहटकै बासिन्दा किन चाहना भएको होला ?
माधवजी हामी सबैको शुभचिन्तक हो । बेला–बेलामा चन्द्रनिगाहपुर आएर कुनैबेला हामीलाई भेटिरहँनुहुन्थ्यो । अहिले वहाँ दुई चार जना साथीहरुको मात्रै कुरा सुन्ने अरुको कुरै नसुन्ने गर्नुहुन्छ । त्यसैकारण उहाँको स्थिति रौतहटमा एकदमै खराब छ । माधवजीले जिल्लामा काम पनि गर्न सक्नुभएन । उहाँ हामीहरु सबै जना राजनीतिक निष्ठा भुलेर पेसामा लागेका कारण विकृति बढेको छ । त्यसलाई न्यूनिकरण गर्ने माथिल्लो तहबाटै हो ।
सम्पूर्ण वाम एक ठाम भएमा पँुजिवादी शक्तिसँग मुकाबिला गर्न सकिन्छ । यसरी टुक्रिएर फुटेर जाने हो भने कम्युनिस्टहरुको कहिल्यै पनि प्रगति हुँदैन ।
० अहिले बिपक्षी दल एमालेका विरुद्धमा सरकारमा रहेका पाँच दल चुनावी तालमेलमा छन् । परिणाम कस्तो आउने देख्नुहुन्छ ?
कहाँको नेकपा एमाले कहाँको नेपाली कांग्रेस ? सधैभर हसिया हथौडामा भोट हालेको नेकपा माओवादीले कसरी कांग्रेसलाई भोट हाल्ला ? सधैभर सूर्यमा भोट हालेको व्यक्तिले कसरी रुखमा भोट हाल्ने ? यो पनि गठबन्धन हो ? यो त केबल जनतालाई ठग्ने ‘ठगबन्धन’ मात्रै हो । यो सिद्धान्त बिपरित छ । चुनावमा ‘मिलीजुली बसौ बाँडी चुडी खाऔ’ मात्रै हो । यो कम्युनिस्ट सिद्धान्त नै होइन । गठबन्धन बेकार र लोकतान्त्रिक पद्धतिको विरुद्धमा हो
https://www.youtube.com/watch?v=vbqd1nTdgR8&list=UUuVJrPYfeeQ5IUoLU5Vysug&index=1