हाम्रो नगरपालिकामा २५/३० करोड चुहावट छ, म प्रमुखमा निर्वाचित भएमा रोक्न सक्छु
नेपालका कतिपय नेताहरु अमेरिका पलायन भइरहेका छन् । यसरी पलायन हुनेहरुमा टिकापुरका मेयर रत्न प्रसाद सञ्जेल, तनहुँकै डोरफिर्दी गाउँविकास समितिका अध्यक्ष श्याम राजा महत, म्याग्दीका पूर्व सांसद निल बहादुर तिलिजा, सिन्धुलीका अर्का पूर्व सांसद प्रकाश कोइराला देखि पूर्वमन्त्रीहरुसमेत छन् । तर, अमेरिकामा लामो समय बसेर त्यहाँको ग्रिनकार्ड समेत त्याग गरी केहि गरौं भन्ने भावना बोकेर युवाहरु निर्वाचनमा होमिनेहरु पनि पाईन्छन् । त्यो मध्येका एक हुन् ब्यास नगरपालिकाका दीपक राज जोशी । उनी नाताले पूर्व गृहमन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । अहिले स्थानीय तहमा अत्याधिक भ्रष्टाचार भइरहेका छन् । तनहुँको ब्यास नगरपालिकामा प्रमुख पदका लागि जनताले चुहावट रोक्न सक्ने युवा नेतृत्वको खोजीमा छन् । त्यसको नेतृत्व गर्न इन्जिनियर जोशीले नगरको प्रमुख पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसै सेरोफेरोमा रहेर डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले मेयर पदका प्रत्यासी जोशीसँग गरेको टेलिफोन वार्ताः
० तपाई यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दिन लाग्नुभएको छ, तपाईको जितको आधार के हुन् ?
पहिलो करा त मेरो जितको आधार भनेको जनताको मत हो । यस अघि जनताले जसरी नगरको प्रमुख पदमा जिताएर पठाएका थिए, उनीहरुको कामबाट जनता असन्तुष्ट छन् । नगरपालिकामा आएको बजेट चुहावट भएका छन् । अर्को तर्फ मेरा बुवाको राजनीतिक पृष्ठभूमि पनि हो । किनकी यो क्षेत्रमा मेरो बुवाले जनताका पक्षमा धेरै राम्रा काम गर्नुभएको थियो । म नाताबादमा विश्वास नगरे पनि मेरो बुवाको समर्थन रहँने नै भयो । फेरी म १७ वर्ष अमेरिका बसेर त्यहाँको ग्रिनकार्ड त्यागेर फर्किएको मानिस हुँ । त्यसैले पनि इन्जिनियर जस्तो मान्छे त्यहाँ छाडेर केहि गर्छु भएर आएको छ भनेर जनताले विश्वास गर्ने अर्को आधार छ । युवाहरुले मैले लेखेका राजनीतिक मुद्दाका विषयमा मन पराएका छन् । यस्तो खालको शाब्दिक जीवन शैली र भिजन भएको मान्छेले केहि गर्छ भन्ने विश्वास गरेका छन् । मेरो जीवन शेलीबाट यहाँका जनताले चुहावट गर्दैन भन्नेमा विश्वस्त छन् । त्यसैकारण जित्ने आधार हुन् ।
० सांसद,मन्त्री, मेयर भइसकेका मान्छेहरु नेपाल छाडेर अमेरिका जान्छन् । तपाई १७ वर्ष अमेरिका बसेर ग्रिनकार्ड त्याग गरी नेपालको राजनीतिमा सक्रिय हुन खोज्नुभएको छ, के देख्नुभयो ?
वास्तवमा त्यस प्रकारको केहि देखेर आएको होइन, मेरो इच्छा मात्रै हो । अमेरिका एउटा पुँजीबादी राष्ट्र हो । म चाहिँ प्रगतिशील र समाजवादी विचारधाराको मान्छे हुँ । यसमा मेरो राजनीतिक चेतनाले काम गरेको छ । किनकी म पुँजीबादी राष्ट्रमा फिट हुने मान्छे होइन । त्यहाँबाट सिक्नुपर्ने धेरै विषयहरु थिए तर, पनि म बसिन । यदि म विदेशमा बसेको भएपनि युरोप वा क्यानाडामा बस्न रुचाउने मान्छे हुँ । पुँजीबादी प्रणाली मलाई मन पर्दैन । त्यो बाहेक म धार्मिक रुपमा शौख भएका मान्छे भएका नाताले नेपालमा आएको हुँ । यदि त्यहि प्रकारको जीवन जीउँने हो भने तपाई अमेरिका जान सक्नुहुन्छ । किनकी तपाई तीन÷चारसय डलर दिएपछि गाडी किन्न पाउनुहुन्छ । त्यस्तै थुपै्र अवसरहरु अमेरिकामा छन् । तपाई ब्यापार गरी राम्रो कमाई गर्ने हो भने काठमाडौं बस्नुहुन्छ । यदि धर्मप्रति विश्वास गर्नुहुन्छ भने देवघाटमा आएर बस्नुहुन्छ । यसरी तपाई आर्थिक, सामाजिक र राजनीतिक पक्षहरु के के छन् ? त्यहि आधारमा तपाईले रोज्ने हो । दोस्रो कुरा मलाई आफ्नै देश रमाइलो लाग्छ । त्यसैले यहि केहि गरु भनेर राजनीतिमा सक्रिय भएको हुँ ।
० तपाई अमेरिकामा बस्दा सिकेका र देखेका केहि योजनाहरु पनि छन् कि ? जुन नेपालमा पनि लागू हुन सकुन ।
हामी कहाँ अमेरिकाका योजनाहरु लागू गर्न सकिदैन । किनकी अमेरिकीहरु कहाँ छन् हामी कहाँ छौं ? हामी कहाँ अहिले पनि धारामा गएर स्याम्पु लगाएर नुहाउँन खोज्दा पानी आउँदैन । त्यसैले हामी अहिले पनि झण्डै झण्डै ढुंगे युगमा छौं । त्यसैकारण अमेरिकामा देखेका कुराहरु लागू गर्छु भन्नु व्यवहारिक हुँदैन । तर, पनि त्यहाँका पार्कहरु, अन्य आधारभूत कुराहरु भन्दा पनि हामीलाई यहिकै आधारभूत कुराहरुको आवश्यक छ । खानेपानी, स्वास्थ्य, शिक्षाको सुविधाका साथै बढ्दो सहरीकरणको रोक्नु पर्ने जरुरी छ । मैले अमेरकाबाटै इन्जिनियरिङमा मास्टर्स र एमबीए गरेको छु । तर, अमेरिकाको जस्तै विकास गराउँछु भनेर कसैले सपना त बाड्लान् । तर, अमेरिका जस्तो होइन, यहाँका जनताले आधारभूत आवश्यकताका लागि कसैसँग अनुरोध गर्ननपर्ने अवस्था सिर्जना गर्नेछु । अहिले पनि राहदानी र सवारी अनुमति पत्र लिनका लागि लाइनमै बस्नुपर्ने अवस्था बनाइएको छ । म आफै इन्जिनियर पनि भएका कारण यहाँका सडकलाई राम्रो बनाउने हो । अहिले नेपाल भरीका स्थानीय तहमा बजेटको २० देखि २५ प्रतिशत रकम चुहावट छ । त्यसै अनुरुप हाम्रो नगरपालिकामा एक अर्ब ७० करोड अर्थात झण्डै २५/३० करोड चुहावट छ । मैले त्यो चुहावट रोक्न सक्छु । अन्य केहि गर्नुपर्दैन । मसँग एकसय रुपैया छ भने त्यो खर्च गर्दिन भन्न म त सक्छु । त्यो खर्च गरिन भने बचत भयो । यसरी जुन किसिमले राजनीतिक प्रति निरासा छ, त्यसको अन्त्य हुनुपर्दछ । हामीले सेवक भनेर जिताएर पठाउँछौं, त्यसपछि उनीहरु शासन गर्ने निहुँमा शासक बन्छन्, त्यसपछि शोषक बन्छन् । त्यसलाई कसरी अन्त गर्ने ? म जनताको सेवक नै भएर बाहिर निस्कन सक्छु भन्ने हो । संसारमा भएका सबै राम्रा कुराहरु गर्न सके त राम्रौ हुन्थ्यो । मैले दमौलीको मादी र सेतीमा जलबिहार बनाए राम्रो हुन्थ्यो होला । तनहुँमा एयरपोर्ट छैन बनाए पनि राम्रै हुन्थ्यो । त्यसतर्फ दौडिएर होइन, अहिले हाम्रा सामान्य आधारभूत गाँस, बास र कपासका लागि केन्द्रीत गरेर समाजमा सहिष्णुतासहितको समाज बनाउने दिशामा मेरो ध्यान केन्द्रीत हुनेछ ।
० तपाई राजनीतिक प्रति नकरात्मक बनेका युवाहरुलाई सकरात्मक दिशामा लैजान लाग्नुभएको हो ?
हो मेरो शाब्दिक जीवन शैली देखेर आकर्षित छन्, जुन सजिलो छैन । म आफ्ना लागि कपडा किनेर लगाउँदिन । हाम्रो नेपालमा उत्पादन छैन । खाली आयत गरी जीवन यावन गरेका छौ । हामीले युक्रेनबाट ल्याएर वार्षिक १७ अर्ब रुपैयाको तेल खाने गरेका छौ । तर, भैसी पालेर घिउ बनाएर विकल्पमा जान सक्दैनौं । मोजा देखि टोपीसम्म आयात गरेपछि हाम्रो आर्थिक अवस्था के हुने ? मेरो मूख्य फोकस सर्कलर इकोनोमी (चक्रकार अर्थव्यवस्था) हो । यहि उत्पादन गरेर यहि खर्च गर्नुपर्छ भन्ने मरो मान्यता हो । यहाँका युवाहरु मेरो विचार र जीवनशैलीप्रति सहमत छन् । मेरो भिजनसँग युवाहरु आशावादी छन् । यस अघि जितेर केहि नगरेपछि धेरै मान्छेहरु निरासाको अवस्थामा छन् । उनीहरु के हुन्छ र ? भनिरहेका छन् ।
० अहिले निर्वाचन जित्नका लागि अत्याधिक खर्चिलो छ । अर्कातिर गठबन्धन र तालमेल जस्ता कुराहरु पनि सुन्नमा आएका छन् । तपाईले पनि एमालेसँग तालमेल गर्ने भन्ने सुनिएको छ । कसरी अघि बढ्दै हुनुहुन्छ ?
म खर्च गरेर चुनाव लड्ने पक्षमा छैन । किनकी मैले एक करोड तपाईसँग मागेर चुनाव लडे भने तपाईलाई पाँच बराबरको फाइदा हुने काम दिनुपर्छ । त्यसैकारण खर्च गरेर निर्वाचन लड्नुपरेमा त्याग गर्न तयार छु । तथापि सामान्य र दैनिक हुने खर्च त हुन्छ नै । भोट किनबेच गर्ने अवस्थामा छैन । अहिले एक करोड ७७ लाख मतदाताका लागि राज्यले १२ अर्ब खर्च गर्दैछ । यसरी एक भोटका लागि झण्डै पाँच सय रुपैयाँ सरकारले खर्च गर्दैछ । अहिले पहिलाको डाटा अनुसार उम्मेदवारहरुले एक खर्ब रुपैयासम्म खर्च गर्ने अनुमान छ । कांग्रेसका नेता सशांक कोइरालाले नै ६ करोड खर्च गरे भन्नुभएको छ । यसरी म आफै योजना र एजेण्डाहरु प्रस्तुत गरेर काम गरिरहेको छु । त्यो बाहेक हाम्रो एलाइन्स एमाले वा राप्रपा जो सँग हुन सक्ला । किनकी आफु उठेर जित्न सकिदैन भन्ने भयो भने सामान्यतय हामीसँग सहकार्य गर्ने हुन् । मलाई त नेपाली कांग्रेसबाट भोट आउने हो । किनकी मैले पाउने भोट भनेको राम्रो मान्छे भनेर पाउने हो । मेरा लागि ढोका खुला छ । जोसँग पनि एलाइन्स गर्न सक्छु ।
० अन्तमा तपाईका मतदातालाई केहि भन्नु छ कि ?
यो पटक तपाईले खोक्रा आश्वासन र पैसामा नबिक्नुहोस् । तपाईको भोट किन्नका लागि मान्छेहरु आउँछन् । अहिले हामीले भोट बेचेको खण्डमा भावी सन्ततिलाई बेचेसरह नै ठान्छौं । त्यसैले हाम्रो हैन राम्रो मान्छेलाई जिताउनुहोस् भन्न चाहन्छु ।