October 3, 2023

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

२० दिनको अभियानमा काठमाडौंमा मात्रै प्रहरीद्वारा २०७ जना पकेटमाराहरु पक्राउ

पाकेटमारहरु


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा विशेष अभियान सञ्चालन गरी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने २०७ जना पकेटमारा पक्राउ गरेको छ । यहि २०७८ साल भाद्र २५ गते देखि असोज १५ गतेसम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधनमा यात्रा गराई यो अप्रेशन गरिएको थियो ।


वजारहरुमा प्रहरी परिचालन गरी विभिन्न स्थानमा सञ्चालित बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दे रङ्गे हात तथा पटके पाकेटमारहरु २०७ जना पक्राउ गरि अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतले जानकारी दिएका छन् ।


उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटी रहित, भरपर्दो, विश्वसनिय र मजबुत बनाई जनजिवन सामान्य तुल्याउन र देश विदेशबाट महान चाँड दशै तिहार मनाउन घर फर्कनेहरुको सवारी साधनमा पाकेटमारी हुन सक्ने वा किनमेल गर्न जाँदा पाकेटमारी हुन सक्ने भएकोले यो अभियान सुरु गरिएको महानगरीय प्रहरी परीसरले जनाएको छ ।


नेपालीहरुको महान चाँड दशै तिहारमा हर्सोउल्लास मनाउन पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउन काठमाडौको रिङरोड वाहिर र भित्री इलाकामा चल्ने सार्वजनिक यातायातहरु सपिङ्ग महल , मुख्य मुख्य मार्केटहरुमा पाकेटमारी हुन नदिन यो अभियान सञ्चालन गरिएको हो । २०७ जना मध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको, ४६ जना अनुसन्धान पुरा भई सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुझाउदा कारागार चलान गरिएको छ ।


सार्वजनिक सवारीमा कसरी पाकेट मारिन्छ ?

प्रहरीका अनुसार सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २/२ जनाको दरले ६ जना सम्मको ग्रुप बनाई बस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेलको अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने गरिएको ।उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने पनि गरिएको छ ।


कस्तो छ पकेटमाराको सांकेतिक भाषा ?

पैसा – द, मोवाईल – कान, पकेटमारी पिडित – रामे, पकेटमारी गर्ने (मास्टर), काशी पैसा धेरै छ – टानको द पैसा थोरै छ जुटको द , गाडी –कांचा, केटा – छापा, केटी –भद्रि पुलिस आयो ठल्दाई आयो , ड्राईभर – माम, खलासी– मले, गाडीवाट झरेर भाग– टप्की
गाडी भित्र अगाडी सर – अकल जा, गाडी भित्र पछाडी सर – चिछल जा जस्ता प्रयोग गरी सिधासादाहरुको हुर्मत लिने काम गर्दैै आएका थिए ।


पकेटमाराहरु पक्राउ परे पनि कानून र ऐन अनुसार धेरै दिन थुनामा राख्न नसकिने हुँदा पुन त्यहि धन्दा सुरु गर्ने गरेका छन् । त्यसैले पकेटमाराहरुलाई राज्यले श्रम शिविरमा काम गर्ने व्यवस्था मिलाएको खण्डमा मात्रै जेलबाट छुटेपछि पुनः त्यहि अपराधिक काम गर्ने अवस्थाको अन्त्य हुने जानकारहरु बताउँछन् ।

#नेपाल प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.