January 14, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेकपा (एकीकृत समाजवादी)मा इमान्दार र जुझारु कार्यकर्ताहरुको ठूलो पंक्ति छ

० ओलीले जुन वर्गलाई माथि ल्याउनुपर्दथ्यो त्यो नगरी सत्तामा मात्रै केन्द्रीत हुनुभयो ।
० हामीले समाजवादमा पुग्ने आधारहरु तयार गर्ने छौं ।
० वृहत संगठन निर्माणका लागि भावी कार्यदिशा र रणनीति बनाएका छौं ।
० ‘म भन्दा ठूलो कोहि छैन, तिमीहरु त दास पो हौं’ भन्ने भावनाको विकास भयो ।
० कार्यक्रम र नीतिलाई जनतासामु लगेर संंगठन बनाउने हो ।
० जनतासमक्ष लैजान र समाजवादको लक्षमा पुग्नका लागि नीति तथा कार्यक्रम बनाउनेछौं ।

० तपाई नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । अहिले एकीकृत भएका दुई पार्टी नै अलग अलग भएका छन् । किन चल्न सकेन कम्युनिस्ट पार्टीको झण्डै दुई तिहाईको सरकार ?
नेपालमा दुई ठूला कम्युनिस्ट पार्टी बीच एकता भयो । सिंगो कम्युनिस्ट पार्टी एकता गराईठूलो पार्टी बनाउने मनसायका साथ अघि बढ्यो । यसरी कम्युनिस्ट घटकहरु गोलबन्द बनाएर एकीकृत गर्ने दिशामा अघि बढ्यो । त्यस पछि २०७४ सालको संघीय र प्रदेशसभाको निर्वाचनमा आफ्ना चुनावी नारा र घोषणापत्र लिएर होमियो । जनताले पनि आशा र भरोसाका साथ झण्डै दुई तिहाई मत दिए । जनताले जुन आशा र भरोसा गरेका थिए, हाम्रो पार्टी नेकपाका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जुन वर्गलाई माथि ल्याउनुपर्दथ्यो त्यो नगरी सत्तामा मात्रै केन्द्रीत हुनुभयो । भ्रष्ट व्यक्तिहरु वरपर राख्ने, संरक्षण गर्ने काम गर्नुभयो । साथै कम्युनिस्ट पार्टीको नेता भएर पनि पुजिपति दलालहरुको मात्रै संरक्षण गर्नुभयो । तल्लो तहमा रहेका वर्गहरुलाई माथि ल्याृउने कुनै नीति तथा कार्यक्रम नै ल्याउनुभएन । त्यसपछि पार्टीमा बिग्रहको अवस्था सिर्जना भयो । विग्रह हुनु अघि कम्युनिस्ट पार्टीले जनताको आशा र भरोसालाई पुरा गरोस् भनेर धेरैले सुभेच्छा प्रकट गरेका थिए । तर, पनि सरकारले गति नै लिएन । त्यसपछि माओवादी केन्द्र नेकपा एमाले दुई दलमा बिभाजित भए । नेकपा एमालेका अध्यक्ष सिंगो दलबाट बहुमतका प्रधानमन्त्री बनेर विगतमा नेतृत्व गर्दा के काम गर्नुभयो ? एक, दुई, तीन नम्बर गरेर मुल्यांकन गर्ने हो भने पनि देश, राष्ट्र र जनताको हितमा एउटा पनि राम्रा काम भएका छैनन् ।
नेकपाले सरकारमा बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका ओलीले संविधान र ऐन कानून मिच्ने काम गर्नुभयो । उहाँका गलत नियतका कारण अदालतमा एउटा बेञ्च सधै तयारीकै लागि बस्न बाद्य हुनुपरेको थियो । उहाँले कानून र संविधान मिचेको मिच्यै गरिरहँनुभयो । त्यस प्रकारको अवस्था सिर्जना भएपछि नेपालमा बामपन्थीहरुको पतन हुनेभयो, कम्युनिस्ट आन्दोलन धारासायी हुने भयो अब जोगाउनुपर्दछ भन्ने अवस्था आयो । त्यसैकारण माधव कुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीको गठन गर्नुभयो । अव यो पार्टीले गति लिने छ र जनतामा साच्चै नै वामपन्थीहरु रहेछन् भन्ने ब्यवहारिक रुपमा प्रमाणित गरी चिरेर देखाउने छ ।


० तपाई विद्यार्थी काल देखि नै राजनीतिक चर्चामा हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीको संगठन मजबुत बनिसकेको छैन । निर्वाचनमा जाँदा कसरी अघि बढ्ने रणनीति तय गर्नुभएको छ ?

हामीले नेकपा एमालेबाट बिद्रोह गरेका हौं । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष भएर केपी शर्मा ओलीले राम्रो काम गर्न नसकेका कारण नै यो अवस्थामा आउनु परेको हो । हामीलाई विश्वास गर्ने तल्लो तहका जनताहरु समक्ष गर्नुपर्ने काम गर्न नसकेका कारणले विद्रोह गर्नुपरेको हो भनेर जनतासामु लैजाने छौं । त्यसपछि हामीले समाजवादमा पुग्ने आधारहरु तयार गर्ने छौं । समाजवादको आवश्यक किन र कस्तो खालको ? भन्ने विषयमा हामी प्रष्ट नै छौं । तल्लो वर्गसम्मलाई लाभ हुने नीति हामीले तय गरीसकेका छौं । यी कुराहरुलाई हामीले जनता सामु लैजाने छौं । अहिलेसम्म कुन पार्टीले जनताका निमित्त काम गरेका छन् विचार गरीसकेका छन् । त्यसैले पनि हामीले वृहत संगठन निर्माणका लागि भावी कार्यदिशा र रणनीति बनाएका छौं, त्यसैबाट नै सहज रुपमा संगठनको निर्माण हुन सक्तछ । त्यसमा कुनै समस्या नै छैन । आम युवाहरु, किसान र हिजो विश्वास गरेका जनताको वर्गले बुझिसकेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीले केबल गफ मात्रै गर्नुहुन्छ । केहि पनि काम गर्नुहुँदैन भन्ने थाह भइसकेको छ । हामी गफ होइन काम गर्नुपर्छ भन्ने मान्यताका साथ जनता सामू जानेछौं ।


० कम्युनिस्ट पार्टीका नेताहरुमा पनि देवत्वकरण गर्ने र व्यक्तिवादी चरित्रतर्फ जाने चरित्रको हावी भइरहेको यसलाई नियन्त्रण गर्नका लागि तपाईहरु जस्तो कानूनविद् सल्लाहकार रहेको कम्युनिस्ट पार्टीमा किन त्यो गतिविधि भइरहेका छन् ?
समस्या त यहि नै हो । अहिले केपी ओली जसरी अघि बढ्नुभएको छ बिल्कुलै सहि होइन । कम्युनिस्ट पार्टीमा हिजोका महासामन्तको जस्तो चरित्र त हुनुभएन नी ? अहिले त सबै जनताहरु समान हुन् । कोहि संविधान र कानून भन्दा माथि छैन । नेता, कार्यकर्ता र जनताहरु समान हुन् भन्ने भावनाको विकास नै भएन । अहिले त कम्युनिस्ट नेतामा नै सर्वेसर्वा नै मैं हु भन्ने भावनाको विकास भयो । ‘म भन्दा ठूलो कोहि छैन, तिमीहरु त दास पो हौं’ भन्ने भावनाको विकास भयो । त्यसैकारण कम्युनिस्ट आन्दोलन धारासायी बन्ने पुग्यो । केपी ओलीकै महत्वकांक्षाका कारण कम्युनिस्ट आन्दोलन धरापमा पर्न गयो । सबै कार्यकर्तालाई माया गर्ने, समेटेर लैजाने, लाखौ लाख विदेशिन बाद्य युवाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्ने सोच नै किन आएन । युवाशक्तिलाई बिदेशिने बाद्यताबाट रोक्न हामीले नीतिगत रुपमा के काम ग¥यौं ? मलाई नै सबैले मान्नुपर्छ भन्ने अहंकारी भावना लिएका कारण एमालेका अध्यक्ष ओली प्रति राम्रो सन्देश नगएको हो । समग्रमा प्रधानमन्त्री ओलीको व्यवहारले कम्युनिस्ट आन्दोलनप्रति नकरात्मक असर पारिरहेको छ । केपी ओली हिजोको हाम्रो नेता भएकै कारण यस प्रकारको व्यवहार सच्याउन अनुरोध पनि गरेको हुँ । तर पनि अहंकार त्यागेर वरपरका तस्करलाई छाडिदिनुहोस् । ओलीले देशका लागि केहि गर्छु भनेर काम गर्ने कार्यकर्तालाई मुल्यांकन गर्न सक्नुभएन । योग्य र इमान्दार विज्ञहरुलाई कहिल्यै पनि वास्ता गर्नुभएन । देशका लागि आवश्यक डाक्टर, इन्जिनियर कानून विज्ञ लगायतका जनशक्तिहरु कहिल्यै पनि विश्वास गरेर सम्झनुभएन ।
तत्कालिन प्रधानमन्त्री ओलीले भ्रष्टाचारी, तस्कर व्यापारीहरु प्रति मात्रै ध्यान केन्द्रीत गर्नुभयो । हामी कम्युनिस्ट आन्दोलनको धारासायी भएको हेर्न चाहदैनथ्यौं । सबै कम्युनिस्टहरु एकीकृत गराउनुपर्दछ भन्ने हाम्रो मनसाय छ ।


० कम्युनिस्ट पार्टीहरु बीच एक आपसमा गाली गलौज चलिरहँने हुँदा नमिलेका कारण अर्के यथास्थितिवादी शक्तिले निर्वाचनमा जित्ने अवस्था चलिरहँने भयो नि ?
हामी कसैलाई पनि व्यक्तिगत रुपमा गालीगलौज गरेका छैनौं । राजनीतिक संस्कार भएन सुधार गर्नुहोस् मात्रै भनेका हौं । ओलीलाई गाली गरेर हाम्रो संगठन बनाउने भन्ने होइन । हामी त कार्यक्रम र नीतिलाई जनतासामु लगेर संंगठन बनाउने हो । हामीले त उ खराव भएकाले हामी ठीक हौं भन्ने संस्कार राम्रो होइन ।


० नेकपा एमालेका नेताहरुले नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी संघीय संसदको निर्वाचनमा एकसीट पनि ल्याउँदैन, किनकी दुई प्रतिशत जनता पनि एमाले छाडेर जाने छैनन् भन्नुभएको छ नी ?
तपाईले देखि रहनुभएको छ । कर्णालीमा हाम्रो संगठन कस्तो छ ? कालिकोट, जुम्लामा र कञ्चनपुरमा हेर्न सक्नुहुन्छ अधिकांश जनताहरु नेकपा (एकिकृत समाजवादी तर्फ आवद्ध छन् । सुदूर पश्चिम प्रदेशमा पनि हाम्रो पार्टी प्रदेश संसदका हिसावमा बहुमतका साथ पहिलो पार्टी बनेको छ । त्यसैले युवाहरुको आकर्षण बनेको छ । नेकपा एकीकृत समाजवादीले मात्रै कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्छ भनेर विश्वास सिर्जना भइसकेको छ । नेकपा समाजवादीले धेरै ठाउँमा निर्वाचनमा जित्नेछ ।


नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) को कार्यक्रममा के भिन्नता पाउन सकिन्छ ? जबकी विधि र प्रक्रिया ओलीले मिचेको आरोपमा भिन्न हुनुपरेको अवस्थामा अबका दिनमा हिजोका त्रुटीहरु दोहोरिने अवस्था हुँदैन ?
हो ओलीले गरे जस्तै हिजोको कमि कमजोरी र त्रुटीहरु दोहोरिने छैनन् । केपी ओलीको एमालेमा राजनीतिक संस्कार नै छैन । गुण्डा र भष्ट्राचारीको राज छ । टिकट पाउनेमा पनि हिजो देखि इमान्दारी पूर्वक पार्टीमा लागेका इमान्दार मानिसले पाउदैनन् । जोसँग पैसा छ, त्यसले संसदलगायतमा लड्नका लागि पार्टीको टिकट पाउँछ । त्यसैकारण हाम्रो नेकपा एकीकृत समाजवादीमा संस्कारयुक्त पार्टीको निर्माण गर्नेछौं । जनतासँग उठबस गर्दा इमान्दारपूर्वक अघि बढ्नेछौं र साथै जनतासमक्ष लैजान र समाजवादको लक्षमा पुग्नका लागि नीति तथा कार्यक्रम बनाउनेछौं । नेकपा एमालेमा पुराना र इमान्दार साथीहरुको मूल्यांकन नै नगरेपछि साथीहरु लाखापाखा लागेका छन् । सरकारमा हुँदा राष्ट्र र देश बनाउनका लागि हाम्रा पुराना इमान्दार साथीहरुलाई राखेर किन सल्लाह गर्न सकिएन ? यदि सल्लाह गरेको भए बालुवाटारबाट बालकोटमा अपमानजनक तरिकाले एमालेका अध्यक्ष ओली सर्नुपर्ने पर्ने थिएन । हामी भोलिका दिनमा भिन्न तरिकाले अघि बढ्नेछौं । जनतामा स्थापित हुने गरी अघि बढ्नेछौं । संस्कारसहित यो पार्टीले गर्छ भन्ने हिम्मत र आँटकासाथ अघि बढ्नेछौं । किनकी हामीसँग विचार, भिजन र मिसन छ ।


० नेताहरु सत्तामा पुग्ने बित्तिकै आफैले बनाएको संविधान र ऐन बिपरित किन जान्छन् ? एक जना कानूनविदका हिसावले तपाईलाई के लाग्छ ?

राष्ट्र, देश र जनताका लागि सोच्ने नेता हुने हो भने यो अवस्था नै आउँदैन । म नै सर्वेसेर्वा हुँ मैले जे गर्दा पनि हुन्छ । संविधान मिच्दा पनि कसैले केहि गर्दैन भन्ने अहमता बढेपछि यो अवस्था आएको हो । यस प्रकारको मानसिकताको उपजका कारण नै अहिलेको विकराल अवस्था सिर्जना भएको हो । संविधान र कानून सबैभन्दा ठूलो कुरा हो । त्यसको सम्मान गर्दै नेकपा एकीकृत समाजवादी पार्टी अघि बढ्नेछ ।


० आगामी निर्वाचनमा मकवानपुर जिल्लाबाट संघीय संसदको उम्मेदवारका लागि तपाईको पनि चर्चा गरिएको सुनिन्छ । तपाई आकांक्षी नै हो
?
मैले त्यहाँका जनतासमक्ष लैजाने कार्यक्रमले र हाम्रा जनाताले तपाईको आवश्यक छ भनेको खण्डमा अघि बढ्नेछु अन्यथा अघि बढ्ने कुरा आउँदैन ।
लोकतन्त्रमा निर्वाचन असाध्यै खर्चिलो छ । त्यसकारण निकै महंगो भएका कारण पनि ठेकेदार, व्यापारी र तस्करहरु पनि पार्टीका नेताहरुलाई पैसा दिएर टिकट किनबेच गरी सांसद बनेका छन् । यसको बिकल्पमा जानुपर्दछ भन्ने लाग्दैन ?
अहिले नै हाम्रो पार्टी भरखरै दर्ता भएको छ । केन्द्रीय कमिटीको पूर्ण विस्तार भइसकेको छैन । अहिलेको निर्वाचन प्रणाली अनुसार राम्रा र इमान्दार मानिसहरु निर्वाचनमा जितेर जान सकिरहेका छैनन् । तस्कर र ठेकेदारहरु पैसाका कारण टिकट हत्याउने र निर्वाचनमा जित्ने अवस्थाको सिर्जना भएको छ ।
यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गरिनेछ ।


० अन्तमा केहि भन्नु छ कि ?
अहिले नेकपा (एककिृत समाजवादी) भरखरै जन्मेको भएपनि नेताहरु एकदमै पुराना छन् । इमान्दार र जुझारु कार्यकर्ताहरुको ठूलो पंक्ति छ । देश बनाउने र समस्या समाधानको विकल्प यहि पार्टीबाट मात्रै हुन सक्छ । त्यसैले अलमल गरेर दिन बिताउनु हुँदैन । देश, राष्ट्र र मलूक बनाउनका लागि चिन्ता गर्नुपर्दछ । हिजो जनताले दिएको मतको कदर हुन सकेन । नेकपा एमालेको केन्द्रीय सल्लाहकारको हैसियतले मैले पनि माफी माग्न चाहन्छु । किनकी काम गर्न अधिकार पाएका व्यक्तिले नै काम गर्नुभएन । सल्लाहकार भए पनि हाम्रो सल्लाह र सुझाव नै लिनुभएन । त्यसै कारण हामी राष्ट्र र देशलाई उभो लगाउने लक्षका साथ अघि बढ्नेछौं । अन्तमा तपाईको मिडियाबाट मलाई अन्तवार्ता लिने मौका दिलाइदिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.