ओलीलाई फेरी पनि नेता मानेर गयौं भने नेपालको कम्युनिस्ट आन्दोलन धुलोपिठो हुन्छ :मेटमणि चौधरी,
०
० तत्कालिन प्रधानमन्त्री ओलीमा त्यो खालको घमण्ड र दम्भ नभएको भए नेकपा एमाले यस्तो कमजोर हुने नै थिएन ।
० राष्ट्रपतिले संस्थाको ओज र मर्यादालाई गिराएर एक खालको कठपुतली र रबरस्टाम्पको भूमिका मात्रै निर्वाह गर्नुभयो ।
० संविधानलाई ट्रयाकमा ल्याउने काम न्यायपालिकाबाट भयो ।
० एकताका लागि दवाव दिन बीचको भूमिका निभाउनुभएका साथीहरुसँग एक खालको भद्र सहमति भएको थियो ।
० म विश्वासका साथ भन्छु कि ‘हामी मिल्न चाहे पनि केपी ओलीले मिल्न दिनुहुन्न’
० केपी ओलीले पुरै कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्नुभयो ।
वि.स. २०३२ साल चैत्र १० गते गढवा गाउँपालिका–७, मानपुर दाङमा जन्मनुभएका मेटमणि चौधरी नेकपा एमालेका संघीय संसद सदस्य हुनुहुन्छ । दाङ क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फका निर्वाचित सांसद चौधरीले प्रधानमन्त्री ओलीले दोस्रो पटक भंग गरेको प्रतिनिधिसभा पुर्नस्थापनाको रिटमा पनि सक्रिय पूर्वक माधव नेपाल पक्षबाट लाग्नुभएको थियो ।
वि.स. २०४५ सालमा अनेरास्ववियुमा संगठित भएर राजनीतिमा सक्रिय रहँदै आउनुभएका चौधरी २०४८ मा महेन्द्र बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटीको सदस्य, २०५५ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष, २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०५६ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य, २०७१ सालमा नेकपा एमालेको केन्द्रीय सदस्य, २०७४ सालमा दाङ क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद हुनुहुन्छ । पछिल्लो समयमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने माधव नेपाल पक्षिय सांसद मध्येका एक जना चौधरीसँग समसामायिक रणनीति र भावी योजनाबारे नारायण प्रसाद शर्माले गरेको विशेष कुराकानीः
० झण्डै दुई तिहाईको नेकपाको सरकार पछिल्लो अवस्थामा नेकपा एमाले हुँदै अहिले नेकपा एमालेभित्रका दुई पक्षबीच पनि गाली गलौजमा उत्रिनेसम्मको अवस्थामा पुगेको छ । तपाई एक जना नेता तथा निर्वाचित सांसदको हिसावमा के भन्नुहुन्छ ?
नेपालको कम्युनिस्ट आन्दोलन प्रति यतिबेला अध्यक्षकै कारण एकदमै वितृष्णा जागेको छ । कम्युनिस्ट पार्टीको मात्रै दुई तिहाईको सरकार हुँदा पनि व्यवस्थापन हुन नसक्नु, जिम्मेवार प्रमुख व्यक्ति नै असक्षम, अयोग्य, घमण्ड, दम्भ र ईश्याले भूमिका खेलेको छ । यदि प्रधानमन्त्री ओलीमा त्यो खालको घमण्ड र दम्भ नभएको भए नेकपा एमाले यस्तो कमजोर हुने नै थिएन । यसको कारक भनेको पार्टीका अध्यक्ष केपी शर्मा ओली नै हुनुुहुन्छ भन्ने लाग्छ ।
० उहाँलाई यो अवस्थामा पु¥याउनुमा सल्लाहकार नै त्यो खालको भएर हो ? वा प्रधानमन्त्री पद नै अत्याधिक शक्तिशाली भएर हो ?
उहाँको सल्लाहकारहरु भन्दा पनि उहाँकै व्यक्तिगत कारणले यो अवस्थामा पु¥याएको हो । उहाँमा यत्ति धेरै घमण्ड पलायो कि संसारको सबैभन्दा शक्तिशाली व्यक्ति नै मै हुँ भन्ने लाग्यो । सबै भन्दा विद्वान र बलियो मानिस पनि मै हुँ भन्ने लाग्यो । त्यो खालको मनोविज्ञानले उहाँमा घर बनायो । सल्लाहकारहरुले गलत सल्लाह दिए पनि उहाँ आफै ठीक र बेठीक छुट्टाउने ठाउँमा पनि हुनुहुन्छ । ठीक सल्लाहलाई स्वीकार गर्ने र बेठीक सल्लाहलाई अस्वीकार गर्ने त उहाँ आफै नै हो । त्यो त उहाँको क्षमतामा भरपर्ने कुरा भयो । उहाँ कसैले सल्लाह दियो भने त्यो आवश्यकता नै देख्नुुहुन्न । जसका कारण यत्ति घमण्ड भयो कि दुई तिहाईको नेतृत्व गरेर कम्युनिस्ट पार्टीको तर्फबाट प्रधानमन्त्री बन्नुभएको उहाँ समय अघि नै प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सर्नुपर्ने बाद्यता बन्यो । उहाँ कसैबाट होइन आफ्नै कारण सत्ताबाट बाहिरिनुपर्ने अवस्था आएको हो ।
० निवर्तमान प्रधानमन्त्री केपी ओलीले त जनताको जनादेशबाट होइन अदालतको परमादेशबाट देउवालाई प्रधानमन्त्री नियुक्ति गरियो भन्नुभएको छ नी ?
यो बेतुक र झुठ तर्क हो । बरु उहाँले नेपालको संविधानमै अनुमान र कल्पना नगरेको विषय प्रतिनिधिसभा भंग गर्नुभयो । त्यो पनि दुई पटक सम्म भंग गर्नुभयो । प्रतिनिधिसभाको भंग भनेकै जनता माथिको अपमान हो । संविधान माथिको पनि अपमान हो । किनकी संविधानमा त प्रत्येक पाँच वर्षमा निर्वाचन गर्ने भनिएको छ । आवधिक निर्वाचनमा नगएर उहाँले त दुई वर्ष अघि नै संसद भंग गरेर निर्वाचनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुभयो । त्यसपछि सर्वोच्च अदालतको पूर्ण पाठ नआउँदै दोस्रो पटक पनि भंग गर्नुभयो । यसबाट उहाँले अदालत प्रति पनि मानहानी गर्नुभयो, अपमान भयो । त्यसैकारण अदालत, नेपाली जनता र संसदप्रति नै उहाँले ठूलो अपमान गर्नुभयो । यसरी प्रधानमन्त्री भएपछि जनताको मतलाई कुल्चनु हुँदैन भन्ने लागेर सर्वोच्च अदालतको संवैधानिक इजलासले केपी ओली र राष्ट्रपति विद्या देवी भण्डारी माथि नै विश्वास नगरी दिन नै किटान गरेर असार २८ गते कै फैसलामा निर्देशन दिनुपर्ने अवस्था आयो । किनकी केपी शर्मा ओलीले फेरी पनि कुनै छिद्रमा पसेर खेल्न सक्छन् । उनी सत्ताबाट बाहिरिन खोज्दैनन् र राजिनामा दिँदैनन् भन्ने आशंका अदालतलाई लाग्यो । त्यसैले यो खालको फैसला भएको हो । तर केपी ओलीबाट चाहिँ पटक पटक जनताको अभिमत, देशको कानून र संविधानमाथि नै प्रहार भइरहेको थियो । त्यसलाई ट्रयाकमा ल्याउने काम न्यायपालिकाबाट भयो ।
० प्रधानमन्त्रीको सिफारिसलाई पनि राष्ट्रपतिले तुरुन्तै स्वीकार नगरी राय सल्लाहका लागि अदालतमा पठाउनु पनि त सक्नुुहुन्थ्यो नी ?
हो, उहाँले त्यसो गर्न सक्नुहुन्थ्यो । हामीले पटक पटक भनिरहेका छौं । राष्ट्रपति हुनका लागि योग्यता चाहिन्छ । दृष्टिकोण पनि चाहिन्छ । तर, राष्ट्रपतिले संस्थाको ओज र मर्यादालाई गिराएर एक खालको कठपुतली र रबरस्टाम्पको भूमिका मात्रै निर्वाह गर्नुभयो । यसरी राष्ट्रपतिले केपी ओलीले गरेको असंवैधानिक सिफारिसलाई ल्याप्चे लगाएर साछी बस्ने काम गर्नुभयो । यो नेपालको इतिहासमा सबैभन्दा बेठीक भनेर कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनका विषयमा स्नातकोत्तर वा विद्याबारिधीको थेसिसमा लेख्नेहरुले उल्लेख गर्नेछन् ।
० तपाईहरु संसद पुनःस्थापनाका लागि रिट दिनुभयो । साथै प्रधानमन्त्रीमा विश्वासको मत लागि शेर वहादुर देउवालाई दिनुभयो । आगामी दिनमा कसरी अघि बढ्नुहुन्छ ?
हामी अगाडी बढ्नका लागि मार्गदर्शन भनेको कानूनी पाटाहरु र तत्कालिन आवश्यकताहरु नै हुन् । अझै पनि नेकपा एमालेलाई एकै ठाउँमा राख्न सकिन्छ कि भन्ने हाम्रो विश्वास छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बखत हाम्रो कार्यदलमा रहेका सांसदहरु र एकताका लागि दवाव दिन बीचको भूमिका निभाउनुभएका साथीहरुसँग एक खालको भद्र सहमति भएको थियो । त्यसैले हामीले अहिले पनि नेकपा एमालेलाई एकै ठाउँमा ल्याउनका लागि ठाउँ राखेका छौं । यसका लागि हाम्रा तर्फबाट अधिकतम् प्रयास हुनेछ । यदि हुँदै भएन भने, केपी ओली बाहेकको वृहत कम्युनिस्ट एकता गरेर अघि बढ्नेछौं ।
० पार्टी फुट हुँदा जनताहरु एकातर्फ मात्रै रहँने हुँदा भोलिका दिनमा तपाईहरुको समूह मालेको जस्तो पो हुने हो कि ?
त्यस प्रकारको अवस्था हाम्रो हुँदैन । बरु एकता नभएको अवस्थामा मालेको जस्तो अवस्था केपी ओलीको हुन्छ । किनकी केपी शर्मा ओली प्रति कुनै मानिसहरुको पनि सहानुभूति छैन । साथै नेकपाको विभाजन गर्ने नै केपी शर्मा ओली हुन् भन्ने जनताको मनोविज्ञान बनेको छ । नेकपा एमालेलाई अहिलेको अवस्थामा पु¥याउने केपी ओली नै हुन् । उनकै कारण नमिल्ने अवस्थामा पुगेको हो ।
फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई अलग अलग गराई पुरानै अवस्थामा बस्न भन्यो । २४ गते देखि नै सर्वोच्च अदालतले जे भने पनि हामीहरु मिलेर जाऔं भन्नुपर्ने ठाउँमा मिली हाल्छ कि भनेर नेकपा एमालेसँग कुनै साइनो नै नभएका व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्य बनाउनुभयो । साथै आफुसँगै निर्वाचित हुनुभएका पदाधिकारीहरुलाई भंग गरेर आफुलाई मात्रै जोगाउनुभयो । साथै प्रदेश इन्चार्जमा आफ्नो गुटका जो जो थिए, तिनीहरुलाई नै प्रदेश इन्चार्ज बनाउनुभयो । माधव नेपालसँग नजिक ठानिएका प्रदेश इन्चार्जहरु हटाउनुभयो । सर्वोच्चको अर्को फैसलाले उहाँले गठन गरेको दशौं राष्ट्रिय आयोजक कमिटी खारेज गरेर पुरानै निर्वाचित कमिटीलाई अदालतले मान्यता दियो । यसरी उहाँ यसको विरुद्धमा भ्याकेटमा जानुभयो । यसरी जे सुकै होस् एकै ठाउँमा मिलेर बसौं भन्नु पर्नेमा भ्याकेटमा जानुभयो । अन्तिममा नेकपा एमाले मिलिहाल्छ कि भनेर हाम्रा नेता माधव कुमार नेपाललाई अशिष्ट र तल्लो दर्जाको शव्द प्रयोग गरेर गाली गर्नुभयो । यसरी बालुवाटारबाट बाल्कोट गएपछि पनि उहाँले बार्दलीबाट तल्लो दर्जाको गाली गर्नुभयो । यसरी म विश्वासका साथ भन्छु कि ‘हामी मिल्न चाहे पनि केपी ओलीले मिल्न दिनुहुन्न’
० केपी ओलीसँग ५०÷६० वर्ष अघि देखिका साथीहरु माधव नेपाल, घनश्याम भुसालहरुलगायत शत्रु बन्ने र चार वर्ष अघि प्रवेश गरेका मोती दुगढ, कोमल ओलीहरु मित्र बन्ने अवस्था कसरी सिर्जना भयो ?
मलाई के लाग्छ भने यो नै उहाँको असक्षमता र अयोग्यताको कारण हो । ‘सबै थोक मै हुँ’ भन्ने कम्युनिस्ट संस्कार नभएका र छलफल र अन्र्तक्रियाको संस्कार दिमागबाटै हटेको, नेपालको कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्नुभन्दा पनि बिस्थापित गर्न लागेपछि नै माधव नेपालहरु शत्रु र कोमल ओली लगायतका मानिसहरु मित्र बन्ने अवस्था आयो । यो नै उहाँको अयोग्यताको मूल कारण हो ।
० अध्यक्ष ओलीमा त अहिले पनि पार्टी संगठन पनि आफैतिर र जनताको मत पनि आफैतर्फ छ भनिरहँनुभएको छ नी ?
उहाँको दम्भ मात्रै हो । उहाँतर्फको मत घटिरहेको छ । हामीतर्फ बढिरहेको छ ।
० देउवा नेतृत्वको सरकारमा तपाईहरु जानुहुन्छ ?
यो सरकारलाई यो अवस्थामा ल्याउनुमा हाम्रो ठूलो भूमिका छ । सत्ताको मूख्य चावीको भूमिकामा हामी छौं । त्यसैले प्रतिनिधिसभाको पुरै कार्यकाल हामीले नै बलियो गराएर टिकाउनु पर्दछ । त्यसका लागि सबै राजनीतिक दल सरकारमा सहभागि हुनुपर्दछ । त्यसैकारण हामी पनि सरकारमा सहभागि भएर प्रतिनिधिसभाको पुरैकार्यकाल टिकाउन सहयोग पु¥याउने छौं । अतः हाम्रो सहभागिता यो सरकारमा रहन्छ ।
० अहिले २५ वर्ष भन्दा कम उमेरका युवाहरु कम्युनिस्टहरु प्रति निरास छन् । उनीहरुको यो निरासालाई चिर्नका लागि तपाईहरु के गर्नुहुन्छ ?
केपी ओलीले पुरै कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्नुभयो । युवाहरुको कम्युनिस्ट आन्दोलन प्रति वितृष्णा जगाइदिनुभयो । त्यो नै हाम्रा लागि निकै ठूलो समस्या बन्यो । त्यसेले सबै युवाहरुलाई कम्युनिस्ट आन्दोलन प्रति आकर्षण गराउनका लागि वृहत कम्युनिस्ट एकताको जरुरी छ । नेपालमा भएका कम्युनिस्ट पार्टीहरु र कम्युनिस्ट पार्टीसँग नजिक रहँनुभएका उपेन्द्र यादवहरुसमेतका पार्टीहरु एकै ठाउँमा ल्याएर निर्वाचन मार्फत पुनस्थापित गर्ने अभियानमा लाग्यौं भने युवाहरुमा पनि कम्युनिस्ट आन्दोलन फेरी जागेपछि जनताका बीचमा लोकप्रिय बन्छ र फेरी आकर्षण गराउन सकिन्छ । यसका लागि वृहत कम्युनिस्ट एकताको आवश्यकता छ । केपी शर्मा ओलीलाई फेरी पनि नेता मानेर वा अध्यक्ष बनाएर निर्वाचनमा गयौं भने नेपालको कम्युनिस्ट आन्दोलन धुलोपिठो हुनु बाहेक अर्को विकल्प छैन ।
० तपाईहरुको भोलिको मार्गचित्र कसरी बन्दैछ ?
एक महिनाभित्रै केपी ओलीलाई पार्टीको अध्यक्ष र संसदीय दलको नेताबाट हटाउन सक्छौं भन्ने विश्वास हामीलाई छ । त्यो सम्भव भएन भने अर्को वृहत कम्युनिस्ट पार्टीको निर्माणका लागि तयारी गछौं ।
० पहिलो पटक विघटन गरिएको संसद पुनस्थापनाका लागि सर्वाेच्च अदालतको ११ फागुनको फैसला पछि २३ गतेको अर्को फैसलासम्म तयारी नहुनले तपाईहरु थप कमजोर बनेको अवस्था हैन ?
सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुर्नस्थापनाको फैसला गरिसकेपछि हामी खुशी भयौं । हामीले नचाहे पनि नेकपा नै एक हुने भयो भन्यौं । मनमनै बधाई दियौं । एकताका लागि मूख्य जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्षकै थियो । तर, उहाँले त कुनै पनि प्रकारको भूमिका जानेर नै गर्नुभएन र उल्टै फागुन २८ गते त नवौं महाधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारीहरु नै विधान बिपरित भंग गर्नु भयो । हाम्रो भूमिकाको अर्थ नरहने र भूमिका खेल्नु पर्नेले नखेले पछि हामी पर्खनु बाहेक केहि थिएन ।
० अहिलेकै निर्वाचन प्रणाली अनुसार योग्य र इमान्दार मानिसलाई खर्चकै कारण निर्वाचनमा विजयी हुन निकै गाह्रो छ । यसका निमित्त तपाईहरु सुधारपट्टि केहि सोच्नुभएको छ ?
हामी यस तर्फ सुधारका लागि लाग्नुपर्दछ । कम्युनिस्ट पार्टीको भएपनि चुनाव लड्न करोडौं खर्च गर्नुपर्ने, करोड पैसा नै नसुनेका हामीहरु कहाँबाट जम्मा गरेर पैसा खर्च गरी चुनाव जित्नु ? त्यसकारण हामी जस्ता मानिसहरु चुनाव जित्न एकदमै गाह्रो छ । निर्वाचनका लागि विधि बनाउने बेलामै कम खर्च कसरी गर्ने भन्ने कुरामा ध्यान दिइनुपर्दछ । खर्च कम गर्नका लागि कसरी गर्ने ? १० करोड खर्च गर्नेहरुले पनि निर्वाचन आयोगमा हिसाव बुझाउँदा १० लाख खर्च गरेको भनेर विवरण बुझाउने गरिन्छ । यसरी चुनावी प्रक्रियामा पहिला भन्दा केहि नियन्त्रण भएपनि अन्य तरिकाहरु ¥याली, जुलुस, आमसभा, भात, भान्सा, भतेरहरु बन्देज गरेको खण्डमा खर्च कम गर्न सक्छौं । तब मात्रै गरिब, योग्य र इमान्दार मानिसहरु पनि चुनावमा फेस गर्न सक्छन् । तबमात्रै मुलुकले मुक्ति प्राप्ती गर्न सक्छ ।
० अन्तमा थप केहि भन्नु छ कि ?
हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउनु पर्दछ । त्यसका लागि हामीले नेकपा एमालेलाई एक ठाउँमा ल्याउनका लागि भरमग्दुर प्रयत्न गर्नेछौं । सम्भव भएन भने वृहत्त कम्युनिस्ट पार्टी बनाएर अघि बढ्नेछौं ।