January 17, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

जेष्ठ नागरिकको पीडा

लेखनाथ पोखरेल


त्यो दिन म एउटा पुरानो मित्रको घरमा पुगेको थिएँ । कसैलाई सत्तोसराप गर्दै गरेझैं लाग्ने, पुर्पुरो समातेर घाममा बसेको ऊ कुटेको कुकुरजस्तो देखिन्थ्यो । धेरै बर्षपछि झ्वास्सै उसको अगाडि उभिन पुगेको मलाई देख्दा क्षणभरको लागि आक्कनबक्क भएको उसले अचम्म मानेर निकैबेरसम्म मलाई हेरिरह्यो । म बेतको एउटा कुर्सी तानेर उसको छेवैमा बसें । ऊ झोक्राएर बस्नुको कारण ठुलै होला भन्ने लागेर मैले सोधेको थिएँ ‘के भयो रु उसले त्यस्तो ठुलो कुरा होइन भन्दै आलटाल गर्यो । केही होइन भने किन ‘मरेको बिरालो काखी च्यापेर बसेझैँ गरेको त रु’ भन्दा उसले आफ्नो पीडा सुनाएको थियो । भन्थ्यो, घटना हालसालकै हो ।
नया पुस्ता बिबेकशिल हुन्छ भन्ने सोच राख्ने मानिस थियो मेरो साथी । त्यसमाथि ७५ बशन्त पार गरिसकेको जेस्ठ नागरिक थियो ऊ । दलाललाई रुपैया ख्वाएर के काम गराउनु भन्दै, आफैं गएर अनुरोध गर्दा समयमा काम भइहाल्छ कि भन्ने सोच राखेर ऊ सम्बन्धित अड्डाको हाकिमकोमा पुगेको रहेछ । त्यो अड्डाको हाकीम कुनै बेला आफ्नो कार्यालय सहयोगीको छोरा भएको कारणले गर्दा पनि हो हौसिएर ऊ त्यहाँ पुगेको । हाकिमले उसलाई देख्नेबित्तिकै बाहिर निस्किएर यो तातोघाममा किन दुःख गर्नुपर्थ्यो १ कुनै काम भए फोनबाट भन्नु भएको भैहाल्थ्यो नि १ भन्दै, यति जाबो कामको लागि मलाई भेट्न कार्यालयमा आइरहनु पर्दैन । तपाईंको काम गरेर कागज पठाइदिन्छु भन्दै उसलाई घर फर्काएको थियो । मानिसलाई उल्लु बनाएर पठाउन खप्पिस हाकिमको त्यो खेलको बारेमा सिदा सादा स्वभावको बिचरो मेरो साथीलाई के थाहा हुनु १
हाकिमको त्यति मिठो बोलीबचन सुन्दा पचहत्तर बर्ष उमेर पार गरिसकेको एउटा जेष्ठ नागरिकले बिस्वास नगर्ने कुरै भएन । हाकिम भएर पनि कति संस्कारी रहेछ आफ्नो कार्यालय सहायकको छोरा भन्ने लागेको उसले मनमनै त्यो हाकिमलाई स्याबासी दिएको थियो रे त्योबेला । हाकिमले काम गरेर पठाइदिन्छु भनेको चार हप्ता बित्यो । अड्डाको म्याद घर्किनै लाग्दासम्म पनि न काम फत्ते भएको कागज आयो न त कागज लिन आउनुस भन्ने फोनकलनै आयो । महिना दिन बितेपछि, हाकिमलाई भेट्ने उद्देश्यले ऊ लगालग चार दिनसम्म उसको अफिस धाइरह्यो । तर कोरोना कहरको कारण जनाएर द्वारपालले कुनै पनि दिन उसलाई हाकिमसम्म पुग्न दिएन । उसले हाकिमलाई धेरै पटक फोन पनि गर्यो अरे तर हाकिमले फोन उठाएन । म उसलाई भेट्न पुगेको त्यो दिन ऊ निरास भएर भर्खर मात्र घर फर्किएको रहेछ ।
मैले उसलाई सम्झाउने प्रयास गर्दै भनेको थिएँ, त्यो कुन ठुलो कुरा भयो रु लेनदेनको दुनियाँ हो यो । तँ मूले रिटायर हाकिमले उसलाई अब के नै दिन सक्छस र उसले तेरो खोजीनीति गरोस रु कुनै बेला उसको बाबुको हाकिम थिएँ भन्ने लागेर बिश्वास गरेको होलास १ छोड दे बाबै, गए ती जमाना ’ऊ दिन गए ई दिन आए, आमाबाबुले म्वांइ खाने ठाउँमा भुत्ला पलाए १’
खल्तीबाट रुपैया निकाल्न नसक्ने आमाबाबुलाई आफ्नै छोराछोरीले त डोकोमा हालेर वृद्धाश्रम पुर्याउन लगाएर छोड्छन १ तँ त उसको बाबुको कुनै जमानाको हाकिम रु आफ्नो बाबु तल्लो तहको कारिन्दा थियो भन्ने कुराको पोल खुल्ला भन्ने डरले होला तँलाई बाहिरैबाट लखेटेको पनि । धन्नै बोलेछ पो १ चिनजानको भरमा काम हुने जमाना गए बाबै । कर्मचारीको खल्ती तातो नपारी कुनै काम हुँदैन यहाँ । फोकटमा काम गरिदिनु पर्ने तँ को होस् र रु
आज नगद भोलि उधारो भन्ने शब्द तँ हामीले उहिले उहिले ब्यापारीको पसलमा देख्ने गर्थ्यौं, आजकल त्यो उक्ति सरुवा भएर सरकारी अड्डाभित्र छिरेको छ । काम लिनुछ भने गएर खुरुक्क नगद बुझा । कोरोना पनि भाग्छ, द्वारपालले ढोका पनि खोल्छ । मैले त्यति कुरा भन्दासम्म पनि ऊ अन्यमनस्क भावले टोलाई रहेको थियो । उसले कुरा बुझेजस्तो नलागेकोले, मानिस कसरी बदलिन्छ भन्ने आफु सम्बद्ध बचपनको एउटा घटना सुनाएर उसलाई हँसाउन र शान्त पार्ने प्रयास गर्नु परेको थियो त्यो दिन मैले ।
धानचम्मर निस्किएर सुत्ला च्यापेका मकैले छपक्क छोपेको बाटोको दुवैतिरको पाखोबारी । समय बेलुकाको अन्दाजी साढे चार बजे । स्कूल छुट्टीपछि घरतिर जाने उकालो लाग्दै गर्दा, खैरो रङ्गको खागीको कमिज र हाफपेन्ट लगाएको । खुट्टामा छालाको खस्रो कालो बूटजुत्ता । घुंडाभन्दा माथिसम्म तानेर लगाएको रातो उनीको मोजा । पिठ्युँमा खागीको गरुङ्गो झोला । एक हातमा अर्धगोलाकार बेतको डाँठ भएको कालो छाता, अर्को हातमा बल्दै गरेको ‘पेट्रोम्याक्स’ बोकेको एकजना मानिस ओह्रालो झर्दै थियो । दिउँसै पेट्रोम्याक्स बालेर हिंडेको ऊ घर वा ससुराली आएको भारतीय लाहुरे हो भन्ने प्रस्ट चिनिन्थ्यो । ऊभन्दा केही पछिल्तिर थिए ओह्रालो झर्दै गरेका ओख्रेका ठुल्दाई ।
भोकले लखतरान भएर घर पुग्ने हतारोमा भएका हामी भुराहरुलाई उभिने इशारा गर्दै बाटोको बिचमा टक्क अडिएको थियो लाहुरे । पछि पछि आउंदै गरेका ओख्रेका ठुल्दाई लाहुरेको छेउमै पुगिसकेका थिए । लाहुरेले धानचम्मर झुल्दै गरेका बारीका मकैतिर देखाएर ‘अच्छा, बोलो तो, यह किस चिजका रुख बिरुवा है रु’ भन्दै हामीहरुलाई सोधेको थियो । लाहुरेको प्रश्नले भुन्भुनियेका ठुल्दाईले अधकल्चो हिन्दी बोल्दै गरेको त्यो मानिसको मुखमा क्षणभरको लागि ट्वाल्ल परेर हेर्दै भने, होइन १ तँ, एक माना मकैको च्यांख्ला र एक माना कोदोको ढिंडोले पनि नअघाउने तल्ला गाउँको त्यही गने भंडारीको छोरा चिम्रे होइनस् रु
चित्त नबुझेको कुरामा तत्काल प्रतिबाद गर्ने स्वभाब थियो ओख्रेका ठुल्दाइको । लाहुरेले ओल्चिएर बोलेको सुन्दा रिसले तोरीका फूल देखेझैं तिरिमिरी भएका ठुल्दाईले मुर्मुरिदै भने, ‘तेरीमा टोक्ने’, कोदोको नरुवा समातेर हुर्किस, मकैको फ्याप्लो र सिस्नु खाएर तिघ्रे भइस । दुई बर्ष मुग्लान बसेर आउँदा मकैको बोट नचिन्ने तेरो यत्रो फुर्ति १ भन्दै कुर्लिंदा सातोपुत्लो उडेर अक्कनबक्क भएको लाहुरेले ट्वाँ परेर ठुल्दाईतिर हेर्यो । र, ‘ए जेठा मुखिया पो १ म त भाइहरुसंग जिस्किन खोजेको पो ’ भन्दै लामो कुरा नगरि लुखुर लुखुर ओह्रालो लाग्यो । मैले आफ्नो कुरा टुंग्याएपछि मेरो साथीले भन्यो, तैंले सुनाएकोभन्दा फरक छ त्यो हाकिमको बाबु र मेरो कुरा ।
स्वस्थ शरीर हँसिलो अनुहार, ब्यबहारमा शालीनता भएका उसको बाबु मभन्दा निकै जेठा थिए । तर यौटै कार्यालयमा काम गर्ने हामीहरुबिचको सम्बन्ध हाकिम र कारिन्दाजस्तो नभएर दाजुभाइजस्तो थियो । निम्नस्तरको जागिर र सामान्य आर्थिक स्थिति भएका ऊनी ठुलो सोचका धनी थिए । आफूले दुख गरेर भए पनि छोराहरुलाई उच्च शिक्ष्या दिने उनको चाहना प्रशंशायोग्य थियो । उनको आदर्श स्वभाब र कार्य कौशलताबाट प्रभावित भएको कारण बच्चाबच्चीको पढाइ सहज होस् भन्नको लागि अड्डाको गरिखानेखालको फाँटको जिम्मा मैले उनैलाई दिने गर्थें । त्यो क्रमले लामो समयसम्मनै निरन्तरता पाईरह्यो ।
उनका छोराहरुको उच्च शिक्ष्याको लागि बाटो सहज बन्दै गयो । छोराहरु जेहेन्दार थिए, अध्ययन पश्चात सरकारी अड्डामा हाकिम भए । समय बितेको कुराको हेक्का कहाँ हुन्छ र मानिसलाई । ऊनी रिटायर भएको धेरै बर्षपछि म पनि रिटायर भएं । तर छोराहरुको उन्नति देख्न पाउनु अगाडिनै उनले परलोकतर्फ प्रस्थान गरे । उनका छोराले मेरो काम गर्नु नगर्नु उसको स्वबिबेकको कुरा हो तर उनका छोराहरु हाकिम भएको देख्न पाउँदा म भने गौरवान्वित भएको छु भन्दै चुप लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.