१४औं महाधिवेशनमा नेकाको सभापतिमा कसले मार्ला बाजी ?
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन भदौ १६ देखि १९ सम्म हुँदैछ । महाधिवेशनमा पुरानै पदाधिकारीहरुले पद नछाड्ने भएपछि महाधिवेशनको रौनक आउन नसकेको आम कार्यकर्ताको बुझाई छ । पुस्तान्तरण हुने आशामा रहेका कार्यकर्ताहरु ७५ वर्षिय वर्तमान सभापति शेरबहादुर देउवा आफु उम्मेदवार हुने बताएर सबैलाई निरास बनाएका छन् ।
नेपाली कांग्रेसका नेता बिपी कोइराला प्रधानमन्त्री हुँदा ४६ वर्षका थिए । अर्थात सन् ८ सेप्टेम्बर १९१४ (१९७१ भदौ ) मा जन्मेका बिपी कोइराला १९५९ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि बनेका थिए । तर अहिले भने सन् १९४६ जुन १३ मा जन्मेका शेर बहादुर देउवा प्रधानमन्त्री र पार्टीको सभापतिमा पुनः उम्मेदवारी दिने समाचार बाहिर आएपछि नेपाली कांग्रेसले गति नलिने भन्दै असन्तुष्टि व्यक्त हुन थालेकोे छ ।
१३ औ महाधिवेशनबाट देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए । सभापतिका लागि तीन जना उम्मेदवार खडा भएता पनि अन्तिम पटक दुई जना मात्रै थिए । पहिलो चरणको निर्वाचनमा कृष्ण सिटौला पनि तेस्रो धारको नेतृत्व गर्दै उम्मेदवार बनेका थिए ।
अहिले शेर बहादुर देउवाका अतिरिक्त रामचन्द्र पौडेल, सशांक कोइराला, शेखर कोइराला, कृष्ण सिटौला, बिमलेन्द्र निधी, प्रकाशमान सिंहलगायतले सभापतिको उम्मेदवारी दिने चर्चा गरिसकेका छन् । नेपाली कांग्रेस पार्टीमा कोइराला परिवारको बिरासत तोड्ने काम शेर बहादुर देउवाबाटै भएको भएपनि उनी अहिले पनि पार्टीको सभापतिमा उम्मेद्वारी दिने पक्षमा देखिदा युवा पुस्ता अलमलमा छन् ।
२०४७ सालमा झापाको कलबलगुडीमा नेपाली कांग्रेसको महाधिवेशन हुँदा तत्कालिन अन्तिरिम सरकारका प्रधानमन्त्री तथा कार्यबहाक सभापति कृष्ण प्रसाद भट्टराईलाई पार्टीको सभापतिमा निर्वाचित गराउँदा ठूलो संघर्ष गर्नु परेको थियो । भट्टराई जीवनकालमा पर्साबाट २०५६ सालमा सांसदमा निर्वाचित हुनु भन्दा बाहेक कहिल्यै पनि चुनाव जितेका थिएनन् । बि.स.२०१५ सालको पहिलो संसदीय निर्वाचनमा उनी पराजित भएपछि पनि नेपाली कांग्रेसबाट सभामुखमा निर्वाचित भएका थिए ।
कोइरालाको बिरासत थाम्न आफु सक्षम भएको बताउने गरेका शेखर कोइराला केन्द्रीय सदस्य मात्रै भएको हँुँदा कांग्रेसका नेता कार्यकर्ताहरु उनलाई जुनिएर ठान्छन् ।
२०७६ सालमै हुनुपर्ने नेपाली कांग्रेसको १४ औ महाधिवेशन संवैधानिक बाद्यताका कारण आगामी भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ । महाधिवेशन भदौ १६ गते देखि १९ गतेसम्मका लागि तोकिएको छ । तथापि क्रियाशिल सदस्यताको विवाद अहिले पनि यथावतै छ ।
कोभिड महामारीका कारण प्रविधिको प्रयोग मार्फत जुम मिटिङबाटै स्थनीय तह देखि सबै निर्वाचनमा कार्यक्रमहरु सम्पन्न हुने बताइएको छ । महाधिवेशनका लागि क्रियाशील सदस्यता छानविन समिति र निर्वाचन समिति गठन गरिसकिएको छ । तथापि सभापति शेर बहादुर देउवाले समयमै महाधिवेशन गर्दैनन् कि भन्ने आशंका पनि उनी इतर पक्षले लगाएका छन् । नेपाली कांग्रेसमा दोस्रो पुस्ताबाट पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल,चित्रलेखा यादवदेखि ज्ञानेन्द्रबहादुर कार्कीहरु चर्चामा छन् । त्यसै गरी युवा पुस्ताबाट चन्द्र भण्डारी, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, गगन थापा, रामहरि खतिवडाहरु पार्टीमा वर्चश्व कायम गर्न सक्रिय छन् । तर, पनि उनीहरु पार्टीमा पुराना पिढीहरुकै छायाँमा छन् । विश्व प्रकाश शर्मा नेबिसंघको महाधिवेशनबाट सभापतिमा निर्वाचित भई दुई वर्षमा नै निर्वाचन गराईदिएर बाहिरिएका थिए । उनी दुई पटक नै झापा क्षेत्र नम्बर एक बाट हारेपछि केन्द्रीय राजनीतिमा केहि ओझेलमा परेका हुन् ।
५२ वर्षका ढुंगाना नेबिसंघको तदर्थ समितिको सभापतिमा
नेपाली कांग्रेस पार्टी प्रजातान्त्रिक भनिएपनि अहिले भातृसंगठनहरु तदर्थबादमा चलिरहेका छन् । नेपाल महिला संगठन, किसान संगठन, विद्यार्थी संगठन, मजदुर संगठन लगायतका भातृसंगठनहरु तदर्थबादमा म्याद थप्दै मनोनित भएर नेतृत्वमा छन् । बिपी कोइराला २००८ सालमा गृहमन्त्री हुँदा ३७ वर्षका मात्रै थिए । तर, नेपाली कांग्रेसको भातृ संगठनको नेपाल विद्यार्थी संघको तदर्थ समितिको टिके सभापतिमा ५२ वर्षिय राजिव ढुंगाना नेतृत्वमा छन् । अहिले नेताहरुकै कारण भातृसंगठनहरु पुरै दिशाबिहिन अवस्थामा छन् । आफु २५ वर्षमा नेबिसंघको सभापति भएका नेपाली कांग्रेसका सभापति देउवाले ५२ वर्षका ढुंगानालाई तदर्थ समितिको सभापतिमा मनोनित गर्नु पनि युवा विद्यार्थीहरुको अपमान गर्नु हो । तर, प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको नारामा बनेको नेपाली कांग्रेस पार्टीमा तीनवटै मुलभूत सिद्धान्तको खडेरी परेको छ । यो खडेरीलाई पुरानो पिढीले सम्वोधन गर्न नसक्ने निश्चित हुँदा हुँदै पनि नयाँ पुस्तामा नेतृत्व जान नदिएर शेर बहादुर देउवा पुनः सभापतिमा निर्वाचित हुने हो भने नेपाली कांग्रेस पार्टी प्रजापरिषद्मा परिणत हुनु भन्दा अर्को बिकल्प रहँदैन । तथापि यो प्रयास जारी नै छ ।
कांग्रेसमा विजय गच्छदार र सुनील थापाको समूहको प्रभाव
नेपाली कांग्रेसमा प्रवेश गरेपछि उपसभापतिमा मनोनित भएका विजय गच्छदार र राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका सुनील थापाहरुको समूह पनि आफ्नो बर्चश्व कायम गर्न लागिरेहको छ । थापा पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाका सुपुत्र हुन् । गच्छदार भने बालुवाटारको जग्गा काण्डमा फरार अभियुक्तको रुपमा अहिले पनि अर्धभूमिगत नै छन् । तथापि नेपाली कांग्रेसको महाधिवेशनमा उनी पनि आफ्नो बर्चश्व खोज्न लागि परिरहेका छन् । विजय गच्छदार र सुनील थापाहरु देउवाकै पहलमा भित्राएको यो समूहलाई समेट्न सभापति देउवा सकारात्मक नै छन् ।
कोइराला परिवारको बिरासत कसलाई ?
कोइराला परिवारको बिरासतमा केशव र नोना कोइरालाका छोरा डा. शेखर कोइराला, बिपी कोइरालाका छोरा महामन्त्री सशांक कोइराला र गिरिजा प्रसाद कोइरालाकी छोरी सुजता कोइराला मध्ये को सभापतिको उम्मेदवार हुने हो अझै एकिन हुन सकेको छैन । कोइराला परिवारबाट अहिलेसम्म पनि एक जनका नाममा सहमति हुन सकिरहेको छैन । त्यसै गरी बिरासतको आधारमा गणेशमान सिंहका छोरा प्रकाशमान श्रेष्ठ, महेन्द्र नारायण निधीका छोरा बिमलेन्द्र निधीहरु पनि आ–आफ्नो भूमिका खोज्न ब्यस्त छन् । तथापि अन्तिममा कसको पोल्टामा जाने अहिले नै भन्न सकिने अवस्था देखिदैन । कोइराला परिवारको पूर्ण समर्थन पाउन सकेको खण्डमा मात्रै रामचन्द्र पौडेलको टक्कर सभापतिमा देउवासँग हुन सक्ने छ । तथापि कोइराला परिवारकोे समूह पनि एक जुट हुन सक्ने अवस्था छैन । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा जसरी सुजाता कोइराला विवादमा थिइन् त्यसै डा. शेखरकी आमा नोना कोइराला पनि विवादमुक्त हुन सकेकी थिइनन् । त्यसैले कोइराला परिवार आफै अलमलमा परिरहेको छ ।
देउवा इतर समूहहरु अलमलमा परिरहँदा पुनः सभापतिमा देउवा नै निर्वाचित हुने लगभग निश्चित जस्तै देखिएको छ । बहुदलीय व्यवस्थामा निर्वाचनका समयमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाका कारण पनि योग्य र इमान्दार नेताहरु निर्वाचनका माध्यमबाट नेतृत्वमा आउन निकै कठिन भएको छ । त्यसैले पनि साम, दाम, दण्ड र भेद जस्ता बाहुबलीबाटै पार्टीको सत्ता कब्जा हुनेमा लगभग निश्चित छ । देउवासँग एमसीसी लगायतका कतिपय मिसनमा प्रधानमन्त्री ओलीको भित्री साँठगाँठ रहँदै आएको छ । त्यसैकारण अहिले देउवाकी सासु आमा जापानका लागि नेपाली राजदुत प्रतिभा राणालाई म्याद सकिएपछि तीन महिना थपेर प्रधानमन्त्री ओलीले गुन लगाएका छन् । यसबाट सहजै बुझ्न सकिन्छ प्रधानमन्त्री ओलीको भित्री समर्थन पनि देउवालाई नै छ । प्रधानमन्त्री ओलीले पहिलो पटक २०७७ साल पौष ५ गते संसद भंग गर्दासमेत देउवाले खुलेर विरोध गरेनन् । सुरुमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला, गगन थापा जस्ता नेताहरुको दबावमा मात्रै ढिला गरी देउवाले संसद भंगको विरोध गरेका थिए ।
डायरी एक्सप्रेस साप्ताहिकबाट