April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

गृहमन्त्रीबाटै स्वास्थ्य मापदण्ड उलंघन


काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीसँग भेट्न पुगेका यातायात व्यवसायीहरु मास्क र भौतिक दुरी बिनै मन्त्रीसँग फोटो खिचाएर स्वास्थ्य मापदण्डको धज्जी उडाएका छन् । गृहमन्त्रालयमा नै माक्स बिनै भेटघाट गरिनु र त्यो भेटघाटलाई औपचारिकता दिनका लागि तस्बीर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिनुले सरकारले नै बनाएको स्वास्थ्य मापदण्डको खिल्ली उडाएको छ । ऐन, कानुनको कार्यन्वय गर्ने गृहमन्त्रालयका नेतृत्व सम्हालेका प्रमुख व्यक्तिबाट नै स्वास्थ्य मापदण्ड उलंघन गर्नुले आम मानिसहरु छक्क परेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि डोलनाथ खनाललगायतका टिम र सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष होम प्रसाद अधिकारी, भरत नेपाललगायतका नेताहरु यातायातमा वैज्ञानिक भाडा कायम गर्नुपर्ने, कोभिड महामारीमा ब्याज लगायतका छुट दिनुपर्ने जस्ता मागहरु लिएर गृहमन्त्री खगराज अधिकारीको कार्यकक्षमा पुगेका थिए । गृहमन्त्रीसँग भेट्न पुगेका यातायात व्यवसायी महासंघका नेताहरुलाई मास्क नलगाए पनि उनीहरुलाई कुनै कारबाही भएको छैन । सामान्य जनताले पैसाकै अभावमा मास्क किनेर नलगाएको खण्डमा जरिवाना गरिन्छ । तर, जिम्मेवार पदमा बसेका नेताहरु नै भेटघाटमा स्वास्थ्य मापदण्ड अप्नाउने कुरामा वेवास्ता गर्दा महामारी कसरी नियन्त्रण होला ?
रत्नपार्कमा छोटो बाटो प्रयोजनका लागि ट्राफिक प्रहरीले लेन मिलाउन राखेको डोरी नाघेको विषयमा तत्कालिन गृहमन्त्री वामदेव गौतमले माफी माग्नु परेको थियो । तर, गृहमन्त्रालयमा अफिसियल भेटघाट गर्न पुगेका व्यक्तिहरु नै माक्स नलगाउनु र भौतिक दूरी पनि कायम नगर्दा कारबाही हुँदैन भन्ने विषयमा प्रवक्तासँग प्रतिक्रिया माग्दा मन्त्री खगराज अधिकारीका निजी सचिव लिलाधर अधिकारी पटक पटक बैठकमा रहेको भन्दै सचिवालयकी कर्मचारी बिमलाले सम्पर्क हुन नसक्ने उत्तर दिइन् ।
यसै बीच जसपाबाट मन्त्री बनेका वरिष्ठ अधिवक्ता लक्ष्मणलाल कर्णले पनि भेटघाटमा स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । उनलाई बधाई दिन मन्त्रालय पुगेका केहि अधिवक्ता र कार्यकर्ताहरुलाई उनले माक्स बिनै मन्त्रालयमा स्वागत गरेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् । ७१ वर्षिय वृद्ध मन्त्री कर्णले पनि स्वास्थ्य मापदण्ड पालना गर्न तयार नभएपछि उनका सचिवालयमा कार्यरत कसले मापदण्ड पालना गर्ला अहिले मन्त्रालयमा यो विषयमा निकै चर्चा भएको छ । कानुनको जानकार हुनुपर्ने वरिष्ठ अधिवक्ता समेत रहेका मन्त्रीले माक्स बिनै मन्त्रालयमा बस्नुले आम मानिसहरुलाई समेत लज्जा महसुस गरिएको छ । साथै आफै मापदण्ड नअप्नाउने मन्त्रीले दिएको आदेश कसले मान्ने ?

डायरी एक्सप्रेस साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.