अत्याआवश्यक सामाग्रीमा समेत कमिसन र भ्रष्टाचार, निजी अस्पतालहरुमा चर्को मूल्य : अध्यक्ष सुबेदी
काठमाडौं । अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोक नारायण सुबेदीले एक विज्ञप्ती प्रकाशित गरी देशमा अहिले देखिएको संकटमा अत्याआवश्यक स्वास्थ्य सामाग्रीमा पनि कमिसन खान खोज्ने र भ्रष्टाचार गर्ने, निजी अस्पतालहरुमा चर्को मूल्य लिएर बिमारीहरुलाई थप दुःख दिने माथि कडा कारबाही गर्न जोडदार माग गरेका छन् । अध्यक्ष सुबेदीद्धारा जारी विज्ञप्तीमा भनिएको छः
“१.देशमा बेगबान तरीकाले भारतको भन्दा तीब्र गतिमा कोरोना भाइरसको संक्रमण बढिरहेको र मृत्यु दर पनि निरन्तर बृद्धि भइरहेको तथा यसले जनतामा अपूर्ब त्रास र चिन्ता पैदा गरेको छ । यस स्थितिमा सरकारले सम्पूर्ण ध्यान यो महामारीका बिरुद्ध केन्द्रित गरोस्, आवश्यक अक्सिजन नियमित आपूर्तिको ब्यवस्था गरोस्, उपचार केन्द्रहरु थप गरोस् र निशुल्क खोप अभियान तदारुकताका साथ जारी राखोस् तथा यसका लागि मित्र राष्ट्र चीन लगायतका सहयोगी देशहरुबाट अनुदान सहयोगका साथै खरिद गरेर समेत खोप आपूर्ति गर्न र आवश्यक परे निजी क्षेत्रसँग समेत रकम सहयोगको आह्वान गरेर जन स्वास्थ्यमा सम्पूर्ण हिसावले राज्य संयन्त्र अघि बढोस् भन्ने अखिल नेपाल किसान यूनियन जोडदार माग गर्दछ ।
२. निषेधाज्ञाका कारण आर्थिक गतिबिधिहरु ठप्प हुनजाँदा बहुसंख्यक आम श्रमजीबी जनता रोजगार बिहिन भएर बिहान बेलुकाको छाक टार्न समेत नसक्ने अवस्थामा पुगेको र थप पुग्नजाँने हुँदा कम्तिमा आजदेखि आगामी ६ महिनासम्मको लागि आवश्यक खाद्यान्न र अन्य खाद्य सामाग्रीको जगेडा सरकारले मौज्दात राखेर आम मजदुर, किसान लगायत सम्पूर्ण श्रमजीबीहरुलाई भोकमरीबाट बचाउने अल्पकालीन बिशेष प्रबन्ध गरोस् भन्ने समेत अखिल नेपाल किसान यूनियन जोडदार माग गर्दछ ।
३.कोरोना संक्रमण र निषेधाज्ञाका संबेदनशील बेलामा पनि आवश्यक औषधि उपाचारका अत्याबश्यक सामाग्रीमा समेत कमिसन खान खोज्ने र भ्रष्टाचार गर्ने, निजी अस्पतालहरुमा चर्को मूल्य लिएर बिमारीहरुलाई थप दुःख दिने जोसुकैलाई बिना मोलाहिजा तत्काल कडा कारबाही गरियोस् भन्ने समेत जोडदार माग पनि अनेकियुनियन गर्दछ ।
४.कोरोना महामारी सबैको साझा समस्या भएकोले यसमा कुनै आग्रह पूर्वाग्रह नराखी यसका बिरुद्ध लड्न सबै पक्षलाई सम्मिलित गराउन ठोस पहल गरियोस भन्ने समेत अनेकियूनियन आग्रह गर्दछ ।
५.सीमाक्षेत्र र बाह्य मुलुकबाट नेपाल आउने कुनै पनि यात्रीहरुलाई स्वास्थ्य निर्देशन पालना गर्ने गराउने कुरा कडाईकासाथ पालन गर्न गराउन र यात्राबाट रोग फैलिने कुरामा पूर्ण निगरानी राख्न पनि किसान यूनियन जोडदार माग गर्दछ ।”