पोखरामा ट्याक्सीहरु यसरी नै चल्छन् ?
समयः बिहानको ठीक १०.४५ बजे
मितिः २०७८ साल वैशाख १५ गते
स्थानः पोखरा महानगरपालिका बिरौटा चौक
घट्नाः जनपथ र ट्राफिक प्रहरीकै अगाडी
पोखरा । कास्की जिल्ला प्रशासनले १५ गते देखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । यहि प्रणालीको अवज्ञा गर्न ट्याक्सीहरु रातो प्लाष्टिकले छोपेर जोर नम्बर प्लेटका ट्याक्सीहरु चलेका देखिन्थे । त्यसको उदाहरण डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधिले कैद गरेको तस्बीरले प्रमाणित गरेको छ । प्रहरीकै अगाडि रातो प्लाष्टिकले नम्बर प्लेट छोपेर गुडिरहेका ट्याक्सीहरु बिना रोकतोक छाडिएको देख्न पाईन्छ । त्यसो त कतिपय ट्याक्सी व्यवसायी र ट्राफिक प्रहरीको मिलेमतो भएको भन्ने आम मानिसहरुको गुनासो बेला बेलामा सुन्न पाईन्छ ।
अहिले सरकारले सिण्डीकेट हटाएको ढ्वाङ फुक्दै हिडेपनि नयाँ ट्याक्सी दर्ता खुलेको छैन त्यसैकारण पुराना, फोहर र असुरक्षित खालका ट्याक्सीहरु बजारमा चलेको देख्न पाइन्छ । त्यसो त अनुगमनकै अभावमा २० वर्ष पुराना ट्याक्सीहरुसमेत निर्वाध रुपमा चलेका छन् । बजारमा देखिने ७९६ सिसीका ट्याक्सीहरु अति असुरक्षित भएका कारण १२ सय सीसीको ट्याक्सी सञ्चालन गर्नुपर्ने सिफारिस यातायात व्यवस्था विभागले गरेपनि मन्त्रालयमा थन्किएर बसेको छ । सिण्डीकेट कायमै राखेर जनतालाई मारमा पार्न पल्केका ट्याक्सी व्यवसायीहरुको दवावका कारण प्रतिवेदन त्यत्तिकै बसेको छ । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक गोगन बहादुर हमालले सुरक्षित र भरपर्दो सेवाका लागि यो प्रतिवेदन तयार गरेका थिए ।
मारुती ट्याक्सीको विक्री वितरणमा एक्लौटी ब्यापार गर्दै आएका चौधरी ग्रुपको दवदवा र कमिसनका कारण अहिले यातायात व्यवसायीका नेताहरु, मन्त्रालयका कर्मचारीहरु आर्थिक प्रलोभनमा पर्दा जनताले सुलभ रुपमा सेवा सुबिधा उपभोग गर्न पाएका छैनन् । तथापि त्यसको बिकल्पमा अहिले पठाओ र टुटल जस्ता सेवाहरु सर्वसाधारण मानिसहरुले उपभोग गर्न बाद्य छन् । ट्याक्सीहरु अहिले पनि मिटरमा सेवा दिन नमान्ने, भनेको ठाउँमा नजाने र जथाभावी रकम असुल गर्ने प्रवृति रोकिएको छैन ।
पोखरामा जोर बिजोर प्रणालीका कारण ट्याक्सीहरुले रातो प्लाष्टिकले नम्बर प्लेट छोपेर चलाएको विषयमा ट्राफिक प्रहरी कास्कीका प्रवक्ता प्रहरी नायव निरीषक पूर्णबहादुर अधिकारीसँग सम्पर्क गर्दा आफुले सोधपुछ गरी कारबाही गर्ने बताए ।