Fri. Apr 23rd, 2021

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

लोलोनी अर्गानिक चुल्होलाई एउटा ब्राण्डकै रुपमा अघि बढाउने योजना बनाएका छौं

1 min read

लोकेन्द्र शाही, प्रवन्ध निर्देशक, लोलोनी अर्गानिक चुल्हो


वि.स. २०४२ साल असार ५ गते बाबु ऐन बहादुर शाही र आमा मनकोइली शाहीको सुपुत्रका रुपमा साविक फोइमहादेव गावि.स. हालको तिलागुफा नगरपालिका –३ मा जन्मनुभएका लोकन्द्र शाहीले भरखरै काठमाडौंमा लोलोनी अगानिक चुल्हो नामक रेष्टुरन्ट सञ्चालन गर्नुभएको छ । ई.स. २००७ मा कोक्याप, २०१० मा हुरेण्डेक, २०१० देखि २०१२ सम्म कोक्यापको बोर्ड मेम्बर, सीडीएस रामेछाप, एसएनभी द नेदल्याण्डमा बिभिन्न पदमा रहेर काम गर्नुभएका शाहीसँग पछिल्लो समय व्यवसायमा लाग्नुको रहस्य र भावी योजनाका बारेमा डायरी एक्सप्रेस साप्ताहिकका तर्फबाट गरिएको छोटो वार्ताः

० तपाई लामो समय गैर सरकारी संस्थामा काम गरेर अहिले लोलोनी अर्गानिक चुल्हो सुरु गर्नुभएको छ । किन प्रेरित हुनुभयो यो व्यवसाय तर्फ ?
म लामो समय एनजीओमा काम गरेको हुँ । एनजीओमा छोटो समयका लागि काम गर्न पाइने (सर्ट टर्म) परियोजनाहरु हुने गर्दछन् त्यसैले त्यहाँ कुनै पनि काम दीगो हुँदैन । त्यहि कारण दिर्घकालिन रुपमा काम गर्न सकिदैन । हामी कर्णालीको कालीकोट जस्तो विकट ठाउँबाट काठमाडौंमा ल्याएर त्यहाँ उत्पादन गरिएका वस्तुहरु स्वादिष्ट र अर्गानिक खाना काठमाडौंबासीलाई ख्वाउनुपर्दछ भन्ने उद्देश्यका साथ यो व्यवसायमा लागेको हुँ ।


० खानामा बढि मिसावट हुन्छ भन्ने सुनिन्छ । तपाईको चुल्होमा पनि अर्गानिक नै हो भन्ने कुरामा ग्राहकहरुलाई कसरी विश्वास दिलाउनुहुन्छ ?
खानामा बिभिन्न खालका टेष्टिङ पाउडरहरु प्रयोग गर्ने गरेको सुनेका छौं । हाम्रो लोलोनी अर्गानिक चुल्होमा कर्णालीमा उत्पादन भएका जिरा, धनिया जस्ता मसलाहरुको प्रयोग गर्ने गरेका छौं । हामीले बेसार लगायतका मसलाहरु आफै कुटेर तयार गर्ने गरेका छौं । विशेष गरी अर्गानिक चुल्हो भनेर नाम नै राखेका कारण हामीले कुनै पनि मिसावट गरेका छैनौं । त्यसमा कुनै शंका नगर्न तपाईको सञ्चार माध्यमबाट ग्राहकहरुसँग अनुरोध गर्दछु ।
हामीले कर्णालीको जौं, पापर, कोदोका रोटीहरु बनाउने गर्दछौं । साथै घर गाउँबाटै चामलहरु आउने गर्दछ । त्यसैले कुनै पनि मिसावट हुँदैन ।


० कुनै ब्राण्ड प्रचार प्रसार भइसके पछि त्यहि नामको व्यवसाय राखेर अन्य व्यवसायीले त्यहि प्रकृतिका पसलहरु खोल्ने र बदनाम गराउने गरेको पाईन्छ । यसप्रति तपाई कत्तिको सचेत हुनुुहुन्छ ?
मैले खास गरेर लोलोनी अर्गानिक चुल्हो स्थापनाका सोच बनाउँदै गर्दा यसलाई नै एउटा ब्राण्डको रुपमा अघि बढाउने योजना बनाएका छौं । हाम्रो कर्णालीमा उत्पादित खाद्य वस्तुलाई काठमाडौंमा ल्याएर बजारीकरण गरिरहेका छौं । यहाँ आएर खाने ग्राहकहरुले किनेर पनि लैजानुभएको छ । हाम्रो परिकारमा तेल मसलाहरु अत्याधिक राख्ने गर्दैनौं । साथै मसलाहरु पनि धेरै हुँदैन । स्वास्थ्यका लागि हाम्रो परिकारहरु अत्यन्तै राम्रो खालको छ । तै पनि मिसावट हुन नदिन हामी अत्यन्तै सचेत छौं । त्यसैकारण हामीले अर्डर पछि मात्रै पकाउने गर्दै आएका छौं । त्यसैगरी चुल्होमा सधै नै ताजा परिकार पाक्ने गर्दछ ।


० तपाईहरुको व्यवसायमा दक्ष जनशक्तिका व्यवस्थापन कसरीे गर्नुभएको छ ?

सुरुमा भएकाले पनि हामी कहाँ केहि समस्याहरु रहेका छन् । त्यसमा पनि हामी गुणस्तर व्यवस्थापनमा एकदमै लागिपरेका छौं । बजारमा आफ्नो गुणस्तर कायमै राख्नु धेरै ठूलो कुरा हो । एउटा कुकले पकाएको एउटा स्वाद र अर्को कुकले पकाएको खाना भिन्नै स्वाद हुने गर्दछ । त्यसैले यहाँ कार्यरत कर्मचारीहरुलाई कसरी चुल्हो प्रति लगाव बनाउने भन्ने विषयमा लागिरहेका छौं ।


० अहिले खानाका परिकारहरु ‘होम डेलिभरी’ गर्ने चलन पनि बढ्दो छ । तपाईहरुको गन्तब्य कहाँसम्म पुग्छ ?

होम डेलिभरी प्रति हामीले अहिले नै त्यति महप्व दिएका छैनौं । केहि पछि भने त्यस प्रकारको सेवा पनि हामीले दिन तयार नै छौं ।


० यस्ता खालका व्यवसाय गरिरहँदा सरकारी पक्षबाट कस्तो सहयोग पाउनुभयो ?
मेरो व्यवसाय सुरु गरेको मात्रै डेड महिना भएको छ । सरकारले युवाहरुलाई स्वरोजगार कार्यक्रम सञ्चालनका लागि बिभिन्न कदमहरु चालेको भन्ने सुनेको पनि छु । बिभिन्न क्षेत्रबाट बिभिन्न खालका सहयोग दिँदै पनि आइएको छ । सरकारले त्यो खालको अनुदान वा अन्य सहयोगको आश्वासन आउने बित्तिकै हामी तयारीमै छौं ।


० तपाई एनजीओमा लागेर स्वतन्त्रपूर्वक काम गर्नु भएको एक जना ब्यक्ति अहिले आएर यो व्यवसायमा लाग्दा कस्तो अनुभव भएको छ ?
हामी रेष्टुरन्टहरुमा गएर सधै नै अरुले पकाएर खाएको मान्छे यो भएन, उ भएन, भन्दै गुनासाहरु गर्दथ्यौं । तर, आफै नै संलग्न हुँदा अलिक कठिनाई हुँदो रहेछ । बाहिरबाट देख्दा खेरी जे देखिन्छ, भित्री पाटो त्यो हुँदो रहेनछ । हाइजेनिकयुक्त खाना दिनुपर्ने, सरसफाईमा बढि ध्यान दिनुपर्ने हुँदो रहेछ । हिजो यो टेबुल यस्तो फोहोर छ भनेर गुनासो गर्नेहरु कता कता चुकिँदो रहेछ । तथापि अहिले विशेष ढंगले सरसफाईमा बढि केन्द्रीत भएर लागेका छौं ।


० नेपालको परिवेशमा खानामा शुद्धताको विश्वासको संकटका कारण अधिकांशले घरमै खाना पकाएर खाने गर्दछन् । विदेशमा प्राय बाहिर नै गएर खाना खाने चलन छ । यसमा तपाईको सुझाव के छ ?
हाम्रो देश नेपालमा रेष्टुरन्टका अधिकांश खानाहरु चिल्लो, पिरो, मसालेदार हुने गर्दछ । त्यहि कारणले विश्वास नगरेका हुन् । विदेशमा त्यो समस्या हुँदैन । म हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुलाई के आग्रह गर्न चाहन्छु भने हाम्रो लोलोनी अर्गानिक चुल्होमा विश्वस्त भएर खाना खानुहुन अनुरोध गर्दछु । हाम्रा कुनै पनि खानेकुराहरुमा मिसावट नुहने ग्यारेन्टीका साथ गुणस्तरीय खानाको व्यवस्था गरिने छ । किनभने म आफै पनि एनजीओको १४÷१५ वर्षको अनुभवलाई छाडेर रेष्टुरन्ट व्यवसायमा लागेको छु । मकहाँ कालिकोटको आफ्नै उत्पादन मार्सी चामल, गहुँ, जौ, फापर जस्ता मिसावट नभएका स्वस्थ्य खानेकुरा पाउनुहुन्छ ।


० कर्णालीबाट काठमाडौं आई व्यवसायमा लाग्दा के के समस्या आइपरेका छन् ?
अहिले हामीलाई यातायातको समस्या छ । कर्णालीको उत्पादन यहाँ आउँदा झण्डै तीन दिन लाग्छ । रात्री गाडीमा ल्याउँदा बाटोमा जाम भयो भने समस्या हुन्छ । कतिपय सामान बिग्रने डर हुन्छ । कर्णालीको असला माछा मगाउँदा समयमा आइपुग्दैन । यसरी अहिले चामल, दाल, फापर, घिउ लगायतका खाद्य चिजहरु मगाउँदा खेरी एक हप्ताको समय राख्ने गरेको छु । हामी कहाँ अहिले ‘घोडामच्चो’ भन्ने कर्णालीको चिया यहाँका ग्राहकहरुले असाध्यै मन पराउनु भएको छ । एकदमै प्रख्यात भइसकेको छ ।


० अन्तमा केहि भन्नु छ कि ?
हाम्रा सम्पूर्ण पाहुनाहरुलाई के आग्रह गर्दछु भने रेष्टुरन्टका चिल्ला पिरा खानाहरु हुन्छन् । र, टेष्टिङ पाउडर प्रयोग हुन्छ भन्ने धारणा हुन्छ । जुन कुरा लोलोनी अर्गानिक चुल्होमा हुँदैन । त्यसैकारण मेरो गाउँ कालिकोट र जुम्लामा फलेको मार्सी चामल, जौ, फापर लगायत हाम्रो उत्पादन भएको हुँदा एक पटक आएर लोलोनी अगानिक चुल्होमा स्वाद लिनका लागि हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *