शिक्षा कोषको व्याजबाट छात्रवृत्ति दिएर गरिब र असहायहरुलाई पढाइमा सहयोग गरेका छौं ः सहअध्यक्ष, पोखरेल
० तपाईको जन्म कहिले र कहाँ भएको हो ?
मेरो पिताजीका पाँच वटा छोरी जन्मेपछि हामी चार जना छोरा जन्मेका हौं । पिताजीको जागिर सप्तरी जिल्लाको भन्सार अड्डा, हनुमाननगरमा थियो । उहाँ त्यहाँको हाकिम हुनुुहन्थ्यो । त्यहि समयमा मेरो जन्म पनि १९९१ साल चैत्र राम नवमीमा भएको हो ।
० तपाईको बाल्यकाल कहाँ र कसरी बित्यो ?
म सात वर्षसम्म हनुमाननगरमै बसे । त्यसपछि खोटाङको खार्पामा बिताए । फेरी पढ्नका लागि काठमाडौं आएँ । वि.स.२००६ सालमा म पहिलो पटक काठमाडौंमा आएको हुँ । त्यो समयमा म रानी पोखरीको संस्कृत पाठशालामा भर्ना भएर त्यहाँ हितोपदेश र रघुवंश आदी काब्यहरु नयराज पन्तसँग पढेको हुँ । एक वर्ष पछि पहाडमा फर्के । त्यसपछि बि.स.२०११ सालमा शान्ति विद्यागृह लैनचौरमा सात कक्षामा भर्ना भएँ । त्यसपछि ८, ९ र १० कक्षा दरबार हाईस्कूलको रानी पोखरीबाट पास गरे । यसरी म २०१३ सालमा एसएलसी पास गरे । त्यो समयमा त्रिचन्द्र कलेजमा कमर्शका पढाई सुरु भएको थियो । त्यसपछि म त्यहि भर्ना भएर पढे । यसरी म २०१८ सालमा बिकम पास गरे । त्यसपछि जागिरमा प्रवेश गरे ।
० तपाई खोटाङको पहाडबाट काठमाडौं आएर अध्ययन गर्दा कस्ता समस्याहरु आइलागे ?
पहिले दुई वर्ष जत्ति म र मेरो भाइ लेखराजसँगै बसेर पढेका थियौं । त्यसपछि म उनी भन्दा सिनियर भएकाले सबै कुराको व्यवस्थापन गर्नुपर्दथ्यो । काठमाडौंमा ऋण सापट गर्नका लागि आफन्तहरु पनि नभएका कारण असाध्यै गाह्रो हुन्थ्यो । एक दिन किराना पसलमा सामानहरु लिँदा पैसाको कमि भएकाले चामल किन्न सकिन । त्यसपछि साहुजीसँग मकैको पिठो उधारोमा मागेँ । उनले पहिलो दिन उधारो दिएकोमा यत्ति खुशी लाग्यो कि ? पछि मरो दाजु वीरेन्द्र केसरी पोखरेल कलकत्ताबाट इन्जिनियरिङ पास गरेर काठमाडौं आउनुभयो । त्यसपछि हाम्रो खर्चपर्चको व्यवस्था गर्नुभयो । भाइ लेखराजले त्रिचन्द्र कलेजबाटै आइएस्सी पास गरी कलकत्ताबाट इन्जिनियरिङ पास गरे ।
० तपाईहरु त्यो समयमा काठमाडौंमा अध्ययन गर्दा कति खर्च हुने गर्दथ्यो ?
त्यो समयमा पाँच पैसामा किनेको तरकारीले एक छाक पुग्थ्यो । त्यसै गरी १० पैसाको दाउराले दुई छाक खाना पाक्थ्यो । साथै नत त्यो समयमा बिजुलीको व्यवस्था नै थियो । हामी धोबीधारामा बस्थ्यौं । त्यो घरमा पनि बत्तिको लाइन थिएन । हामी लालटिन बालेर पढ्ने गर्दथ्यौं । बाथरुम भन्ने कसैको पनि हुँदैनथ्यो । दिशा गर्नका लागि घरमा टिनको भाडा राखेको हुन्थ्यो । हप्ताको दुई पटक वा तीन पटकसम्म लैजान्थे । त्यो लगेर काउलीमा राख्छन् रे भन्थे ।
० तपाई अध्ययनको सिलसिलामा काठमाडौं बस्दा कति समयमा घरमा जानुुहुन्थ्यो ?
हाम्रो गाउँ काठमाडौंबाट ४५ कोष टाढा पर्दछ । त्यो समयमा ओखलढुंगा र दिक्तेल एउटै जिल्ला थियो । हाम्रो गाउँ ओखलढुंगा जिल्लामा पर्दथ्यो । चिठ्ठीपत्र आदान प्रदानका लागि पनि निकै अप्ठ्यारो थियोे । चिठीपत्र पठाउँदा दशौं दिन लाग्ने गर्दथ्यो । हिउँदको समयमा हामी कोशीको बाटो भएर आउँथ्यौं, भने वर्षातको समयमा मुलबाटोबाटै तामाकोशी र सुनकोशी तरेर आउने गरेका थियौं । त्यसो गर्दा हाम्रो घरसम्मको दूरी ५२ कोश हुने गर्दथ्यो । यसरी हिडेर घरमा जाँदा ८÷९ दिन लागेको छ ।
० तपाई जागिरे जीवन कसरी सुरु गर्नुभयो ? को बाट प्रेरणा मिल्यो ?
म निजामति सेवामा वि.स.२०१८ सालमा प्रवेश गरे । तेज प्रसाद पोखरेलले मलाई ब्लक डेभलपमेन्ट अफिस खुल्दैछ, विकासका कामहरु गर्न सकिन्छ भन्ने खबर सुनाउनुभयो । त्यसबाट भोलिका दिनमा राजनीति पनि गर्न सकिन्छ भनेर भन्नुभयो । यसरी आफ्नै जिल्लामा खानेपानी, बाटोघाटो जस्ता कामहरु गर्न सकिन्छ । देश विदेशमा भ्रमण पनि गर्न पाईन्छ । तालिममा जान पाईन्छ भनेर भन्नुभयो । त्यसपछि म ओखलढुंगाको स्थानीय विकासको कार्यक्रम सञ्चालन गर्ने गरी नियुक्ति भए । त्यो समयमा तारादेव भट्टराई विकास अधिकारी हुनुुहुन्थ्यो । उहाँले नै मलाई नियुक्तिपत्र दिनुभयो । कार्यालय स्थापना गर्दा तेज प्रसाद पोखरेल र म गरी दुई जना थियौं । उक्त कार्यालयलाई पछि पञ्चायतकालमा पञ्चायत विकास कार्यालय भनेर नामाकरण गरियो । तेज प्रसाद पोखरेलको एक वर्षपछि सोलुखुम्बु सरुवा भयो । त्यसपछि म कायम मुकायम भएर पनि बसे । यसरी म २०१८ साल आश्विन देखि २०२१ सालसम्म ओखलढुंगामा बसेर काम गरेँ । २०२२ सालमा राप्तीमा एउटा सम्मेलन भएको थियो । त्यो सम्मेलनमा म सहभागि भएको थिएँ । त्यसपछि मैले आफु तराईमा पनि बसेको हुँदा बिराटनगरमा सरुवा मागेँ ।
उक्त समयमा विराटनगरमा नागरिक र अनागरिक भन्ने विषयमा ठूलो बहस भयो । नगरपालिका नै विघटन हुने अवस्था आयो । नागरिक र अनागरिक छुट्टाएर निर्वाचन गर्नुपर्ने भएकाले मलाई पठाइयो । म एक वर्ष जत्तिमा नागरिक र गैर नागरिक छुट्टाउने काम गरेँ । त्यसपछि निर्वाचन सम्पन्न गरेँ । निर्वाचन सम्पन्न भएपछि म पुनः ओखलढुंगा आएर तारादेव भट्टराईलाई भेटेँ । मेरो विराटनगरमा सहायक पञ्चायत विकास अधिकारीमा सरुवा भयो । म यहाँ सरुवा हुने बित्तिकै पिडिओ (पञ्चायत विकास अधिकारी)े को पनि सरुवा भयो । त्यसपछि पञ्चायत विकास अधिकारीको पदमा कायम मुकायम भएर काम गरेँ ।
म विराटनगरको पिडिओ भएर काम गर्दा मासिक१८ हजार रुपैया कार्यालयको घर भाडा तिर्नुपर्दथ्यो । त्यो समयमा धेरै रुपैया मानिन्थ्यो । त्यसैकारणले मैले कार्यालयका लागि आफ्नै भवन किन नबनाउने भनेर जिल्ला पञ्चायतका सभापति र सदस्यहरुसँग प्रस्ताव गरेँ । उहाँहरुले स्वीकार गर्नुभयो । चन्दाकै भरमा निर्माणका काम कति गर्न सकिन्छ ? भनेर जग्गा खोज्ने काम गरियो । अहिलेको मधुमारा जहाँ अस्पताल रहेको छ, त्यसको पूर्वपट्टि एक विघा १५ कट्ठा जमिन साढे दुई लाख रुपैयामा लिइयो । त्यो समयमा सूर्य बहादुर थापा प्रधानमन्त्री हुनुुहुन्थ्यो । उहाँले केहि रकम निकासा गरिदिनुभयो । हामीले भवन बनाएर कार्यालय सार्ने काम ग¥यौं । त्य समयमा गाउँपञ्चायतको गठन गर्ने र निर्वाचन गराउने काम पनि जिल्ला पञ्चायतबाटै गराइन्थ्यो । स्थानीय विकासका सभापति र उपसभापतिको निर्वाचन पनि गराउँनुपर्दथ्यो । त्यसका लागि न्यायाधीशहरुलाई निर्वाचन अधिकृत नियुक्ति गरिन्थ्यो । यसरी राष्ट्रिय पञ्चायत र राष्ट्रिय पञ्चायतका स्नातक सिटमा पनि निर्वाचन गराइयो । म बिभिन्न किसिमका विकास निर्माणका काममा संलग्न हुँदै आए । बिराटनगरबाट रंगलीको बाटो बनाइयो । रंगेलीबाट रतुवा हुँदै मेचीसम्म जोड्ने बाटोहरु र बीचमा पर्ने पुलहरुको निर्माण गरियो । बाटोमा पुल बनाउँदा फलामको पुल बनाउन सकिदैनथ्यो । त्यसका लागि काठेपुल बनाउने गरिन्थ्यो । त्यो समयमा काठ एकदमै सस्तो थियो । लेबल मिलाउने काम पनि हुँदैनथ्यो । पुल निर्माण गर्नका लागि इन्जिनियरहरु थिएनन् । त्यसैले वृटिस क्याम्पमा गएर प्राविधिकहरु ल्याउनुपर्दथ्यो । यसरी लामो समयसम्म त्यहाँ काम गरिसकेपछि पूर्वाञ्चल क्षेत्रमा विकास निर्माणका काममा अग्रसर भएँ । तराई क्षेत्रमा स्वच्छ पानीको व्यवस्था थिएन । ट्युबेल गाडेर निर्मलीकरण गरी पानीको वितरण गरियो । यसरी मेरो विकास निर्माणमा नै जीवन बिताइयो ।
० उद्योग धन्दामा प्रवेश र सरकारी जागिरबाट पेन्सनको लोभ नगरी राजिनामा किन दिनुभयो ?
सप्तरीको कञ्चनपुर स्थित सितापुर भन्ने ठाउँमा २०२८ सालमा मैले आफन्तजनलाई प्रोत्साहित गरी डिजेलबाट चल्ने मिल राखेँको थिएँ । पछि पछि त्यो प्रकारका मिलहरु बिजुलीबाट पनि चल्ने भए । त्यो मिल मैले त्यहिका स्थानीयलाई चलाउनका लागि दिए । त्यसपछि म बिराटनगरमा गएर बिजलीबाट चल्ने राइस मिल र तेल मिल राखेँ । दाल र चामलका लागि पनि मिल राखेँ । त्यसपछि मैले पशुपति होजियारी उद्योग पनि सञ्चालन गरेँ । त्यो समयमा मेरो जागिर पनि थियो । भारतको कलकत्ताबाट कच्चा पदार्थ ल्याएर गञ्जी, मोजाहरु उत्पादन गरको थिएँ । बिराटनगरमै पनि असाध्यै कम उद्योगहरु थिए । मैले झण्डै एकसय पच्चिस जना कामदारहरु राखेर काम गरेँ । त्यहि सिलसिलामा जागिरबाट राजिनामा गरेँ । त्यसपछि २०४२ सालमा ति उद्योगहरु काठमाडौंमा ल्याएर गञ्जि र मोजाहरु बनाए ।
मैले उद्योग सञ्चालनका लागि बैंकबाट रकम लिएँ । त्यो समयमा मेरो परिवारमा छोराछोरीहरु सानै थिए । अन्य कामदारहरुको भरमा छाड्दा लार्पाबाही भयो । सामान पठाउँदा डेडसय पठाएर सयवटाको बिल बनाइन्थो । यो देखेर व्यवसाय चौपट हुनुका साथै ऋणमा डुब्ने अवस्था नै आयो । त्यसैले जागिरबाटै राजिनामा दिएर उद्योग व्यवस्थापन र सञ्चालनमा लागेँको हुँ । खास गरेर म कमर्श पढेको नाताले पनि उद्योग धन्दामा लागेको हुँ । त्रिचन्द्र कलेजको प्रिन्सीपल ईश्वरलाल प्रधान हुनुुहुन्थ्यो । उहाँले हामीलाई पढाउँदा ‘ह्वाट इज कमर्श’ भनेर सुरु गर्नुहुन्थ्यो । र, भन्नुहुन्थ्यो ‘कमर्श भनेको चातुर्यताको खेल हो’ । सबैले यसलाई पार गर्न सक्दैनन् । उहाँको भनाई मलाई असाध्यै घत लागिरहन्थ्यो । त्यसैकारण नै उद्योग धन्दामा लागेको हुँ । काम गर्दा उकाली र ओराली हुनु स्वाभाविकै थियो । पछि त्यहि कारणले काठमाडौंमा आएर घर जग्गाको व्यवस्था मिलाएँ । विराटनगरमा पनि मेरो दश कट्ठा जमिन र त्यहि भित्र उद्योग सञ्चालन र बस्नका लागि घर बनाएको थिएँ । त्यसपछि काठमाडौंमा नै आएर उद्योग धन्दामा लागेँ । जुत्ताका सोल बनाउने उद्योग राखेँ । वीरगञ्जको गण्डकमा गएर लेदर टेनिङ उद्योगको स्थापना गरेँ । हामीले त्यहाँबाट चीनमा थुप्रै छालाहरु निकासी पनि गर्न सफल भएका थियौंँ । त्यसैगरी वंगलादेश र भारतमा पनि ठूलो परिमाणमा निकासी गरेका थियौं । विदेशी मुद्रा पनि राम्ररी आर्जन गर्न सकिएको थियो । तर, माओवादीका कारण चन्दा असुली, हप्कीदप्की बढ्दै गयो । बिभिन्न धम्कीहरु आउन थाले । त्यसपछि मैले उक्त उद्योग नै बेचिदिए ।
० तपाईका दाजु तत्कालिन चिफ ईन्जिनियर वीरेन्द्र केशरी पोखरेल दुई पटक राष्ट्रिय पञ्चायतको सदस्य बन्नुभयो । तपाई चाहिँ राजनीतिमा नलाग्नुको कारण के हो ?
मेरो पनि राजनीतिमा चाख नभएको होइन । राजनीति बिना कुनै पनि काम सम्पन्न गर्न सकिदैन । राजनीतिमा लागेर निर्वाचनमा लडेका उम्मेदवारहरुलाई मैले धेरै सहयोग गरेँ । निर्वाचनका लागि खटिइदा होस वा अन्य समयमा मैले धेरै सहयोग गरेको हुँ । दाजु वीरेन्द्र केशरी निर्वाचनमा उठ्दा पनि सहयोगीको रुपमा खटिएको थिएँ । तथापि मेरो रुचि उद्योग धन्दामा नै भएका कारण राजनीतिमा पूर्णकालिन हुन सकिनँ ।
० तपाई पोखरेल प्रतिष्ठानको संस्थापक तथा हाल सहअध्यक्ष हुनुहुन्छ । गरिब, असाहाय र अशक्त पोखरेलहरुको उद्दार र सहयोगका लागि के के काम गर्नुभएको छ ?
मेरो बाजे प्रभुनाथ पोखरेलले खोटाङको खार्पामा बस्दा नै शिक्षकहरु राखेर आफ्ना र गाउँका बच्चाहरु पढाउँनुहुन्थ्यो । त्यो समयका शिक्षकहरुले चण्डी, वेद लगायत पढाउँथे । साथै गाउँमा आएका समस्याहरु पनि समाधान गर्दै आउनुभएको थियो । त्यहि संस्कार मेरो पिताजी भवकृष्ण पोखरेलले गर्नुभयो । मेरो माताले पनि पाहुनाहरुको सत्कार र घरमा आउनेहरुको सम्मान गर्दै आउनुभयो ।
त्यहि देखेको हुँदा मैले पोखरेल राष्ट्रिय प्रतिष्ठानको स्थापनाका लागि सक्रिय भएँ । अहिले कुनै पोखरेललाई समस्या आएको खण्डमा समाधान गरिइदै आइएको छ । सहयोग पनि संस्थागत रुपमा नै गर्दा राम्रो हुन्छ भन्ने सोचका कारण यो संस्था जन्मिएको हो । यो संस्था २०४९ सालमा विराटनगरको आफ्नै घरमा कार्यालय राखेर स्थापना गरिएको हो । किनकी भाडामा कार्यालय लिनका लागि पनि हाम्रो साधन र श्रोत थिएन । त्यसपछि काठमाडौंमा आएर पूर्व सचिव तेज प्रसाद पोखरेलको संयोजकत्वमा म समेतको उपस्थितिमा २०६६ सालमा यो संस्थाको स्थापना गरिएको हो । यो संस्थामा रहेर मैले कार्यकारी तहका पदहरु उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सहअध्यक्ष भएर काम गरेको छु । मलाई काम गर्नका लागि कुनै पदको लोभ छैन ।
हामीले आजीवन सदस्य रु २५००÷– शुल्क रकमलाई जोडेर १५ लाख जत्ति अक्षय कोष जम्मा भएको थियो । त्यसका लागि मैले पनि ५० हजार रुपैया दिएको छु । श्रीमतीका नाममा शिक्षा विकास छात्रवृति कोष स्थापना गरेको छु । त्यसका लागि एक लाख रुपैया प्रदान गरिएको छ । अहिलेसम्म तीन लाख रुपैया जम्मा भइसकेको छ । संस्थाको सभा सम्मेलन गर्ने एउटा भवन पनि चाहिन्छ भन्ने उद्देश्यले सिनामंगल, काठमाडौंमा केएमसी अस्पतालको पूर्वपट्टि १० आना जत्ति जग्गा खोज्यौं । त्यसका लागि हाम्रो प्रतिष्ठानका अध्यक्ष निर्माण कुमार पोखरेलले सबै भन्दा धेरै ६७ लाख रुपैया सहयोग गर्नुभयो । साथै वरिष्ठ आँखा रोग विशेषज्ञ डा.राम प्रसाद पोखरेल, पूर्व सचिवहरु भोजराज पोखरेल, पदम प्रसाद पोखरेल, रेवतीरमण पोखरेललगायतले विशेष रुपमा सहयोग गर्नुभयो । यसरी जग्गा मात्रै नभएर सुरुमा एक तलाको भवन बनाए पनि पछि तीन तलाको नै ३५ फिट लम्बाई र १८ फिट चौडाई भएको भवन तयार गरियो ।
यसरी देश विदेशमा रहेका सम्पूर्ण बन्धु बान्धवको यसमा सहयोग प्राप्त भयो । यसरी अहिले संस्थाको सवा दुई करोड भन्दा बढिको भवन बनाएका छौं । यसपटक दशैघरका रुपमा दुर्गा पुजाका लागि साझा भवनका रुपमा प्रयोग गर्ने सोचमा छौं । हाम्रा पोखरेलहरुका पुर्खाले इतिहासमा के के काम गरे ? भन्ने विषयमा केन्द्रीत रहेर पोखरेल दर्पण र वार्षिक भित्तेपात्रो प्रकाशन पनि गर्दै आएका छौं । यसरी देश, बन्धुबान्धव र गरिब विद्यार्थीहरुलाई छात्रवृति दिएर हामीले संस्थागत रुपमा काम गर्दै आएका छौं । यो संस्था एकदमै शुद्ध भावनाले सञ्चालन भइरहेको छ । यसमा म अत्यन्तै गौरवान्वित छौं ।
० यो संस्थाको स्थापनाबाट गरिब, असाहाय र अशक्तहरु प्रति कसरी सहयोग हुन सक्छ ?
संस्थाले परिवारका एकल महिलाहरुलाई सहयोग गर्दै आएको छ । कतिपय गरिब भएका कारण पढ्दा पढ्दै छाड्नुपर्ने अवस्था आएको हुन्छ । तिनीहरुलाई हामीले साढे तीन लाखको शिक्षा कोषको ब्याजबाट छात्रवृत्ति दिएर गरिब र असाहायहरुलाई पढाईमा सहयोग गरेका छौं । त्यसैगरी विरामी भएर औषधि उपचार गर्न नसक्नेहरुका लागि पनि हामीले सहयोग गर्दै आएका छौं ।
० अन्तमा केहि भन्नु छ कि ?
हाम्रो संस्थाका आजिवन सदस्यहरुको निधन हुँदा र अन्य गतिविधि सम्बन्धि समाचारहरु सम्प्रेषण गरेर, अन्तर्वार्ता लिएर सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।