Fri. Apr 23rd, 2021

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

राज्य चलाउनका लागि युवाहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव दिलाएर केहि समयपछि पुस्तान्तरण नगरी देश अघि बढ्नै सक्तैन

1 min read

डा. शिवजी यादव हालै मात्र नेकपामा प्रवेश गरेका पुर्व सभासद तथा जसपा नेता


० व्यक्तिगत महत्वकांक्षाका लागि दम्भ देखाएर समूह बनाउने गरिएको छ ।
० सहि बाटोमा हिडियो भने त्यहाँ अप्ठ्यारो हुँदैन ।
० साना र धेरै दलहरुको कुनै काम छैन भनेर हामीले संविधानमा थ्रेसहोल्ड पनि राखेका हौ ।
० मदन भण्डारीले स्थापित गर्नुभएको बहुदलीय जनवादबाटै नेकपाले सफलता हासिल गरेको छ ।
० नेतृत्वको भोको हुनुुहुन्छ भन्ने सन्देश कम्युनिस्ट आन्दोलनका लागि घातक र उहाँको लागि त विष नै हो ।
० अढाई वर्षको अंश बण्डा संविधानको बिपरित भएन ?
० मधेशका लागि केपी ओलीले भन्दा विकासका काममा डेलिभरी उपेन्द्र यादव, महन्थ ठाकुर वा राजेन्द्र महत्तोले दिन सक्तैनन् ।


सन् १९५८ मई २४ मा साँढा–१ महोत्तरीमा जन्मनुभएका शिवजी यादव वि.स.२०७० सालको निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्नुभएको थियो । पार्टीको संसदीय दलमा प्रमुख सचेतक समेत बन्नु भएका यादवले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ओभरसियर र रुसबाट इन्जिनियरिङमा विद्याबारिधी गर्नुभएको छ । वि.स २०३२ साल देखि नै कम्युनिस्ट पार्टीमा आवद्ध यादव केहि समय मधेशी पार्टीमा लागेपनि पुनः नेकपामा प्रवेश गर्नुभएको हो । नेकपाभित्रको विवाद चरम अवस्था रहँदा नेकपामा प्रवेश गर्नुभएका यादवसँग समसामयिक विषयमा गरिएको अन्तवार्ताः

० तपाई नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र चरम विवाद भइरहँदा जनता समाजवादी पार्टीबाट नेकपा पार्टीमा प्रवेश गर्नुभएको छ । किन प्रवेश गर्नुभयो ?
साच्चिनै अहिले देश कठिन परिस्थितिमा छ । आँट गर्ने मानिसले देशको भलो हुने विषयमा सोच्नुपर्दछ । जनताका हित चिताउने हो भने यस्तै बेलामा इमान्दारीपूर्वक काम गर्नुपर्दछ । संविधानसभाबाट संविधान निर्माण भइसकेपछि जुन अवस्थाको सिर्जना हुन पुग्यो, त्यसमा सिमित दलहरुबाट देशमा शान्ति र सुव्यवस्था होस् स्थिर सरकार होस् भनेर जुन आशा र अपेक्षा गरिएको थियो, नेकपा भित्रको विवादले डिरेल गर्ने काम भयो । त्यसैले मैले यो बेलामा नेकपामै बसेर काम गर्नुपर्दछ भन्ने लाग्यो त्यहि अठोट लिएर प्रवेश गरेको हुँ ।


० प्रदेश नम्बर दुईमा नेकपा भित्रको विवाद कायमै रहँदा तपाईको प्रवेशले कस्तो रुप लिन्छ होला त ?
वास्तवमा बिभिन्न दलहरुमा व्यक्तिगत स्वार्थकै कारण विवादहरुको उजागार हुने गर्दो रहेछ । दल भित्र त विवाद भन्दा पनि बहस र छलफल पो हुनुपर्दछ । पक्ष विपक्षको जस्तो गरी कुनै मुद्दा र सिद्धान्तमा हुनुपर्नेमा व्यक्तिगत महत्वकांक्षका लागि दम्भ देखाएर समूह बनाउने गरिएको छ । प्रदेश नम्बर दुईमा दलहरु त्यसका शिकार भएका छन् । त्यो चाहिँ राजनीतिक अदूरदर्शिता र पछौटेपन नै हो । म त्यो सबै कुरालाई चिरेर अघि बढ्नेछु । किनकी मधेश र देशको हित चिताउने काम गरी सामुहिक स्वार्थमा लाग्न सकियो भने यो भ्रमलाई चिर्न सकिन्छ । मेरो जीवनमा बुझेको के हो भने सहि बाटोमा हिडियो भने त्यहाँ अप्ठ्यारो हुँदैन । किनकी त्यहाँ भिडभाड कम हुन्छ । गलत बाटामा हिड्ने गलत मानिसहरु बढि हुन्छन् । तर, त्यहाँ बढि भिड हुन्छ । तर, म सहि काम गरेर हिडे भने विश्वस्त छु म सफल हुन्छु ।


० तपाई साना पार्टीमा बस्दा जनताका काम गर्न सकिएन भन्ने लाग्यो ?
साना ठूला पार्टीहरुको विशेषताहरु हामीले संविधानसभामा नै हे¥यौं । म जुन पार्टीमा थिए त्यो भन्दा धेरै साना पार्टीहरु पनि थिए । ति पार्टीहरु दलीय व्यवस्थाकै कारण आएका थिए । त्यो समयमा सबैले आ–आफ्ना कुराहरु उजागर गरे । त्यसमा दोस्रो संविधानसभासम्म आउँदा संविधान जारी गर्न पनि सफल रहे । त्यसमा दलहरुको महत्व थियो । तर, त्यसपछि साना र धेरै दलहरुको कुनै काम छैन भनेर हामीले थ्रेसहोल्ड पनि राखेका हौ । म सम्मिलित दल जनता समाजवादी सम्म आइपुग्दा ति दलहरुको प्रारुप दलिय हिसावमा बन्न सकेन । केहि व्यक्तिको झुण्ड र स्वार्थको समूह जस्तो देखियो । खास गरी संविधान जारी भइसकेपछि त्यो प्लेटफर्म प्रयोग गरियो । अहिले नै राजेन्द्र महत्तोले तपाईको कुन दल हो ? भनेर भन्नुहुन्छ । यसरी सहजै रुपमा बुझ्न सकिन्छ । यो दल वा त्यो दल कुनलाई हुन्छ सघाएर राजनीतिक कोर्समा सहयोगीको भूमिका खेल्ने हो । त्यो भन्दा बढि उहाँहरुबाट केहि हुँदैन ।


० तपाई नेकपामा प्रधानमन्त्रीको समूहको तर्फबाट प्रवेश गर्नुभयो । विभाजनको नजिक रहेको पार्टीलाई एक बनाउने भूमिकामा तपाई कसरी परिचालित हुनुुहन्छ ?
अहिलेसम्म मैले नेकपालाई एउटै पार्टीका रुपमा बुझ्ने गरेको छु । किनभने उहाँहरुको जत्ति विवाद आएका छन् । त्यसमा प्रधानमन्त्रीका तर्फबाट हालसम्म अर्को पार्टी भनेर भन्नुभएकै छैन । माधवजी र प्रचण्डजीमा एक किसिमको ‘इगो’ जस्तो देखिन्छ । त्यसमा सैद्धान्तिक मतभेद देखिँदैन । समयले सबैलाई संग्लो बनाउँछ । म विश्वस्त छु नेकपा कुनै हालतमा पनि विभाजित हुँदैन । विभाजनका लागि नेता कार्यकर्ता र सैद्धान्तिक आधार हुनुपर्दछ । त्यो आधार छैन । त्यसैले पार्टी अहिले पनि एउटै हो । जसरी तत्कालिन माओवादीको एक्काइसांै शताव्दीको जनवाद र तत्कालिन एमालेको जनताका बहुदलीय जनवाद भनेर मान्ने गरिन्थ्यो । अहिले दुबै विचारलाई एक बनाउने विषयमा बहुदलीय जनवादकै सार हो । त्यसैले मदन भण्डारीज्यूले स्थापित गर्नुभएको बादबाटै नेकपाले सफलता हासिल गरेको छ । संसारमा कम्युनिस्ट पार्टीहरु धारासायी भएको अवस्थामा नेपालमा जुन किसिमले सत्तामा पुगेका छन्, त्यसमा मदन भण्डारीकै अमूल्य देन छ । यो विचार नै लोकतान्त्रिक हो । जनताको दलिय व्यवस्थामा नीति तथा कार्यक्रम जनतासामु लैजान सहज भएका कारणले समाजवादी धार पनि हो । त्यसैले दुबै समूहमा देखिएपनि पार्टी फुट्दैन कहि दिनमा संग्लो हुन्छ ।


० विघटित संसद पुनःस्थापना भएपछि संसदको बैठक बस्दैछ । नेकपाको आन्तरिक विवादले कस्तो रुप लिन्छ भन्ने लागेको छ ?
म संविधानसभामा पनि सदस्य भएर पार्टीको प्रमुख सचेतक भएर काम गरिसकेको छु । दलीय व्यवस्थामा प्राविधिक रुपले संसदको महत्वपूर्ण भूमिका हुन्छ । नेकपा एउटै दल भएको र अहिलेसम्म पनि बिभाजित नभएको हुँदा जुन किसिमले एक प्रकारको हुइया चलाइएको छ । त्यो खालको अविश्वासको प्रस्ताव माधवजी वा प्रचण्डले ल्याउन सक्नुहुन्न । अविश्वासको प्रस्ताव ल्याउने भए नेपाली कांगे्रस वा जसपाले ल्याउन सक्छ । जसपा एक्लै त्यो संख्या पुग्दैन । त्यसैकारण नेपाली कांग्रेसले संविधान जारी गर्दा पाँच वर्षसम्म स्थायी रुपमा चलाउन सक्ने विषयमा सहमति गरेको हुँदा सोझै भाजो हालेको जस्तो देखिन्छ । त्यसैले अहिले प्रधानमन्त्रीलाई कुनै बाधा अड्चन छैन । सरकार सहज रुपमा हाकेर लान सक्नुुहन्छ । अव अविश्वासको प्रस्ताव पनि आउँदैन साथै समयकालसँगै सबै विषय सेलाएर जानेछन् ।


० संसदीय दलमा त अविश्वासको प्रस्ताव आउन सक्छ नी ? किनकी प्रचण्ड माधव समूहले त हाम्रो बहुमत छ भनिरहँनु भएको छ नी ?
उहाँहरुले बहुमत छ भनेर निर्वाचन आयोगबाट दलिय आधारसहितको पत्र लिएर संसदमा आउनुभयो र संसदलाई दलपट्टि उभिएका सांसदलाई बहुमततर्फ खडा गर्न सक्नुभयो भने मात्रै औचित्य साबित हुन्छ । होइन भने सबै बजारमा बिकाउँने हल्ला मात्रै हो वैधानिक आधार केहि पनि छैन ।


० अहिले नेकपाभित्रको विवाद सैद्धान्तिक होइन ?
अहिलेको विवाद केबल ब्यक्तिगत मात्रै हो । जसलाई जुँगाको लडाई भनिन्छ नि ? त्यसमा पनि प्रधानमन्त्रीको तर्फबाट खासै केहि देखिदैन तर, माधव नेपाललाई मात्रै किन त्यस्तो देखिएको हो । महाधिवेशनबाट अध्यक्षमा हार्नुभएको हो । अध्यक्ष हुनकै निमित्त किन यत्ति हत्तार गर्नुभएको होला, इच्छा भएको भए र कार्यकर्ताले चाहेमा पुनः जितेर आउन पनि सक्नुुहुन्छ नी । यत्ति लामोसम्म कम्युनिस्ट पार्टीको नेतृत्व गरेका मानिस नेतृत्वको भोको हुनुुहुन्छ भन्ने जुन सन्देश गएको छ, त्यो समग्र कम्युनिस्ट आन्दोलनका लागि पनि घातक हो, उहाँको लागि त विष नै हो । उहाँको राजनीतिक करियरमा एकदमै नराम्रो पक्ष हो ।


० विवाद सबैभन्दा बढि नेतृत्व पुस्तान्तरणबाट पनि सिर्जना भएको देखिन्छ । सचिवालयमा रहेका नौं जनाबाट दोस्रो तहमा नेतृत्व हस्तान्तरण गर्ने हो भने समाधान हुन सक्थ्यो हैन र ?
तपाईले भन्नुभएको कुरा स्वाभाविकै हो । पुस्तान्तरण हुन जरुरी छ । जत्तिखेर यो देशमा दलीय व्यवस्था ल्याउनका लागि आन्दोलन गरिरहँदा धेरै जना युवा नै हुनुुहन्थ्यो । अहिले व्यवस्था परिवर्तन भइसकेको छ । देशमा लोकतन्त्र र गणतन्त्र आइसकेको छ । साच्चिकै भन्ने हो भने कामहरु युवाहरुले नै बढि डेलिभरी दिन सक्छन् । जत्ति बढि उमेर बढ्दै गयो त्यति नै काममा सुस्तता हुन्छ । कार्यकारी ठाउँमा पदीय जिम्मेवारी दिएर युवा पुस्तालाई नै जिम्मेवारी दिनुपर्छ । पुराना अनुभवी मानिसहरुलाई सरसल्लाह दिने र अभिभावकत्व निर्वाह गर्ने । तर, काम गर्नका लागि युवाहरुलाई दिन सकियो भने सबै संग्लिएर जान्छ । राज्य चलाउनका लागि युवाहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवी दिलाएर केहि समयपछि पुस्तान्तरण नगरी देश अघि बढ्नै सक्तैन ।


० अहिलेको ओली सरकारले काम गर्न सकेन भनेर मधेशकै कम्युनिस्ट नेताहरुले पनि आलोचना गरिरहँनुभएको छ नी ? दुई तिहाईको सरकारबाट पनि किन आशा अनुरुप काम हुन सकेन ?

केन्द्रमा काम गर्नका लागि प्रधानमन्त्रीजीलाई बाधा अड्चन गरियो । तर पनि प्रतिपक्ष दललाई विरोध गर्ने आँट नै आएन । आफ्नै साथीहरुबाट प्रतिपक्षको भूमिका निर्वाह गरेर असहयोग गर्ने काम गरियो । त्यसैको परिणाम स्वरुप यो अवस्था आयो । काम त पार्टीभित्रैबाट गर्न दिइएन । जसमा कुनै सैद्धान्तिक आधार नै नभई व्यक्तिगत आधारहरु मात्रै थिए । अहिले प्रचण्डले कुनै नैतिकताले आधा आधा अवधि सरकारको नेतृत्व गरौं भन्नुभएको हो ?


विधान जारी गर्दा नै जनताले म्यान्डेड दिएपछि स्थायी सरकार चल्नुपर्छ भन्ने हो । किन अढाई वर्षको अंश बण्डा गरियो ? यो संविधानको मर्म र भावनाको बिपरित भएन ? सबै चुप लागेर बसेपनि अहिले आएर छत्ताछुल्ल भएको हो । पर्दा पछाडि के रहेछ त ? अब प्रष्टसँग खुलेर आउनेछ । यसका लागि उहाँले चिर्न सक्नुभयो भने मात्रै सकरात्मक हुन्छ । राष्ट्र र जनताका निमित्त जनयुद्ध गरे यो मेरो भिजन थियो । त्यसैकारण यो अवस्थासम्म आएको हुँ भनेर साबित गर्ने बेला आएको छ । अब यहि २३ गते सांसदको बैठक बस्दैछ । त्यसमा फेरी पनि लुछाचुढी र सरकारलाई अस्थिर बनाउने भूमिका रह्यो भने नाङ्गिएर जानुहुनेछ । यो क्षति नेकपा पार्टीले कति लामो समयसम्म ब्येहोर्ने छ समयले नै बताउँला । तथापि असर चाहिँ दूरगामी नै हुनेछ ।


० हाम्रोमा पार्टी विभाजन हुँदा कार्यकर्ता र नेता मात्रै विभाजित हुने तर, जनता त विभाजित नहुने पनि परम्परै बनेको छ नी ?
बिल्कुलै सहि हो । मैले त्यस्तो अवस्था जनता समाजवादीमा हुँदा पनि देखेको छु । जनता समाजवादी भनाउँदा नेताहरु एक ठाउँमा भए पनि पार्टी एक भएको छैन । आन्दोलन पछि जब म निर्वाचनमा गएँ । जनताको सेन्टिमेन्ट एक भएर आउ भन्ने थियो । त्यो सेन्टिमेन्ट लिनका लागि जनता समाजवादी भनेर एक भएको हो तर, सार एकता भएको हुँदै होइन । नेकपाका शुभचिन्तकहरुको मूल विचार नै एमालेका तत्कालिन नेता केपी शर्मा ओलीलाई जसले साथ दियो, त्यसैमा एक ढिक्का भएर बसेको छ । मलाई लाग्छ अबको दिनमा अझ राम्रो भएर अगाडि बढ्नेछ ।


० मधेशका नेता, कार्यकर्ताले केपी शर्मा ओलीलाई मधेश विरोधीको संज्ञा दिने गर्दर्थे । तपाई झनै त्यहि पार्टीमा प्रवेश गर्नुभएको छ । मधेशका जनताका समस्या कसरी समाधान हुन्छ त ?
मधेशको समस्या भनेकै राज्यमा पहुँचको कुरा हो । मधेशमा शिक्षाका लागि कुनै अभाव नै थिएन । तर, शिक्षित भएपनि राज्यमा पहुँच नहुने, रोजगारी नपाउने, यि सबै कुरालाई हामीले संविधानमा नै समेटिसकेका छौं । कुनै व्यक्ति वा प्रधानमन्त्रीले त्यसलाई मिच्ने कुरा नै आउँदैन । यो सबै भनेको उहाँको विरुद्धमा फिजाइएको हल्ला मात्रै हो । मधेशका लागि डेलिभरी दिने काममा केपी शर्मा ओली भन्दा बढि कुनै पनि व्यक्तिले दिन सक्तैन । मधेशका लागि केपी ओलीले भन्दा बढि विकासका काममा उपेन्द्र यादव, महन्थ ठाकुर वा राजेन्द्र महत्तोले दिन सक्तैनन् । किनकी प्रधानमन्त्री ओली राष्ट्रका लागि दृढ संकल्पित हुुनुुहन्छ । यो देश भित्र मधेश जनताहरु पनि छन् । मधेसी जनताहरु पनि ५० प्रतिशत छन्। । भने उहाँले त्यसको वेवास्ता कसरी गर्नुहुन्छ ? अवको अहिलेको हर्डल्स (बाधा) हट्न दिनुहोस् । विकास निर्माणको लहर देख्न सक्नुहुन्छ ।


० तपाई मधेशको पनि महोत्तरी जिल्लाबासी हुनुहुन्छ । त्यहाँको तत्कालिन समस्याहरु के देख्नुभएको छ ?
हाम्रो सबै भन्दा ठूलो समस्या भनेको खेती योग्य जमिन प्रशस्त छ । तर, आकाशै पानीको भर पर्नुपर्ने अवस्था छ । मधेशमा अन्य जिल्लाहरुमा केहि आयोजनाहरु छन् । जस्तै धनुषामा कमला सिंचाई, सुनसरीमा सुनसरी सिंचाई आयोजना, सर्लाही र रौतहटमा बागमती सिंचाई आयोजना छ । तर, महोत्तरी भने सबै आयोजनाले छुन नसकी बन्चित हुन पुगेको छ । कृषि प्रधान देशमा कृषकहरु सिंचाईबाटै बन्चित भएपछि हामीले कसरी लाभ लिन सकिन्छ ? त्यसपछि सडक बाटोघाटोका समस्याहरु त बरु बिस्तारै बन्दै छन् । पछिल्लो समयमा समग्र मधेशमै शिक्षाको स्तर घटिरहेको छ । त्यसलाई कसरी माथि उठाउने ? त्यसमा हामी सोचे विचार गरेर काम गरेको खण्डमा महोत्तरी जिल्लाको कायपलट नै हुन्छ । महोत्तरी मधेश भएपनि पहाडी मुलका मानिसहरुको राजनीतिक नेतृत्व रहिरह्यो । शरत सिंह भण्डारी, भोजराज घिमिरे, बसन्त गुरुङलगायतका मानिसहरुको नेतृत्व गरे । मधेशका जनताहरु रैतिकै रुपमा रहेँ । त्यो खालको मनोविज्ञान त्यहाँका जनतामा छ । बहुदल, लोकतन्त्र र गणतन्त्र आयो । तथापि जनताको पहुँच पुग्न सकेन । त्यहाँका जनताको चाहना मधेसी मूलको व्यक्ति जो सुकै दलको भए पनि डेलिभरी दिन सक्ने खालको चाहना जनताको छ ।


० अहिले आम राष्ट्रभरी पहिलो प्राथमिकता सडक सञ्जालको भएको छ । महोत्तरीमा पहिलो प्राथमिकता सडक हो कि सिंचाई हो ?
कृषि प्रधान देशमा सबैभन्दा ठूलो आवश्यकता नै सिंचाईको हो । सिंचाईको अभावका कारण त्यहाँ उखु खेती गर्न बाद्य छन् । तर, उखु माफियाहरुले देशलाई कुन अवस्थामा पु¥याएका छन् ? तपाईहरुलाई थाह नै छ । एक किसिमले महोत्तरी जिल्लाको उर्वर जमिनमा केहि पनि हुन सकिरहेको छैन । सिंचाईको सुबिधा मात्रै भयो भने पनि कृषि मन्त्रालयबाट वैज्ञानिक हिसावले कार्यक्रम लैजान सकिन्छ । तर ती साधन र स्रोतको उपभोगका लागि पनि बाटो त चाहियो । सुरुवात त सिंचाई र बाटोबाटै हुन्छ ।


० कृषि क्षेत्रमा भन्दा बढि सडकमै ध्यान दिँदा पुरै जमिन सिमेन्टेन्ड भएको छ । घडेरी बेचेर खाने र महंगो जमिनका कारण कृषि पेसा पनि धरापमा परेको छ । यसको विकल्प के हुन सक्छ ?
यसको विकल्प नै व्यवस्थित आवास हो । अहिलेको युगमा अझ भूकम्पिय हिसावले पनि जोखिम रहेको नेपालमा पनि जहाँ मन लाग्यो, त्यहि घर बनाउने भनेको अति जोखिम मोल्नु नै हो । त्यसैले व्यवस्थित आवासको व्यवस्था गर्नसाथ भूमिको वर्गिकरण गरेर खेतियोग्य जमिन, बसोबासका लागि योग्य जमिन, औधोगिक क्षेत्रका लागि उपयुक्त जमिन जस्ता कुराहरुको वैज्ञानिक हिसावले पहिचान गरेपछि जति जग्गा बाटोमा सिमेन्टेट भएर जान्छ त्यसमा दिएको बल उत्पादनमा पनि दिन्छ । अव्यवस्थित वस्तीकोे खेतियोग्य जमिन यउोजना बिनै खडेरीको रुपमा विक्री भइरहेको छ, जुन अबिलम्ब रोक्नुपर्दछ ।


० दुई ठूला देशको बीचमा रहेको नेपालका किसानहरु कम परिणामका उत्पादन गर्छन् । छिमकीको उत्पादनसँग कसरी प्रतिपर्धा गर्न सक्छन् ?
यो त राजनीतिक अदूरदर्शिता नै हो । यहाँले भने जस्तो पञ्जावमा उत्पादन गरेको वस्तु यहाँसम्म ल्याएर खाने गर्दछौं । अमेरिकाबाट ल्याएको स्याउ हामी किनेर खान्छौं । तर, मुस्ताङको स्याउ काठमाडौं ल्याएर खान सक्तैनौं । कति बिडम्बना छ हाम्रो देशमा । मलाई लाग्छ या सबै अन्तर्राष्ट्रिय पुँजीपतिवर्गको चलखेल भइरहेको छ । राज्यलाई दोहोन गर्ने गरिएको छ । यसलाई कम्युनिस्ट पार्टीबाट निर्वाचित सरकारले यसको भिजुलाइज गर्न सक्नुपर्दछ । नेपाली कांग्रेस त एक बुर्जुवा पार्टी हो भनेर भन्छौं । यस विषयमा नेकपाको भिजनबाट जनताको पक्षमा काम गर्नुपर्दछ । यसरी किसानका लागि सहुलियत कसरी दिन सकिन्छ । बजारीकरण कसरी सहज र शुलभ गर्न सकिन्छ, त्यसको व्यवस्था गर्नुपर्दछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय खालको अनसिन (अदृश्य) खालका शक्तिहरुबाट जुन अर्काको वस्तु प्रयोगका लागि वातावरण बनाईन्छ, त्यसलाई रोक्नुपर्दछ । र, आफ्नो ठाउँमा उत्पादन खपत गराउन सकिन्छ ।


० तपाई सुरुमा कम्युनिस्ट राजनीति तर्फ लाग्नुभयो बीचमा अन्य पार्टीमा जानुभयो । भविष्य प्रतिको आशावादी नै भएर नेकपामा प्रवेश गर्नुभएको हो ?
म बिल्कुलै आशावादी भएर नेकपामा प्रवेश गरेको हुँ । विश्वमा अमेरिका र रुस गरी दुई ध्रुवमा बाँडिएका थिए । त्यो समयमा रुसले कम्युनिस्टको नेतृत्व गर्दथ्यो । त्यसै गरी अमेरिकाले पुँजिवादको नेतृत्व गरेको थियो । सन् १९९० का समयमा जब सोभियत संघ ढल्यो, त्यो समयको सोँचलाई जनताका बहुदलीय जनवाद मार्फत मदन कुमार भण्डारीले बहुदलीय प्रतिस्पर्धाबाट जनमूखी कार्यक्रम लैजान सकियो भने सबैको कल्याण हुन्छ भन्ने विचार ल्याउनुभएका थियो । दूर्भाग्य हाम्रो जस्तो गरिब र सानो मुलूक भएकाले त्यस्तो नेताको भिजन अगाडि ल्याउन सकेनौं । माक्र्स र एगेल्सका नाम त विचारले नै आउने हो । मदन भण्डारीले ल्याउनुभएको विचार संसारकै लागि उपयोगी विचार हो । हामी जर्मनीका माक्र्सको नाम लिने गरेका छौं । तर किन जर्मनीमा माक्र्सको नाम आउँदैन ? हामी किन ओझेलमा परेका छौं । संविधानसभाबाट संविधान बनाएर जसरी नेकपा सरकारमा पुगेको छ । हामी यसलाई १० वर्षसम्म शासन चलाउन सकेको खण्डमा मात्रै पार्टी भित्रको विवाद चिरेर एक जुट हुन सक्यौं भने देशमा कायपलट हुन्छ । हाम्रो देशको सबल पक्ष नै शान्तिप्रिय जनता, नेपाली संस्कृति, धर्म र विचारले भूमिका खेलिरहेको छ । सहनशील नेपालीहरुका कारण पनि ठूलो योगदान हुन सकिरहेको छ ।


० अन्तमा थप केहि भन्नु छ कि ?
तपाईले मेरा विचारहरु राख्नेमौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । अहिले देश एकदमै अप्ठ्यारो अवस्थामा छ । जनताले नेकपा प्रति नै नजर लगाएका छन् । नेपाली कांग्रेसले सत्ताको प्रतिपक्षी पार्टी भएर पनि सरकारमा रहेको नेकपालाई प्रतिद्वन्दी जस्तो व्यवहार गरेको छैन । अहिले सबै मिलेर अस्थिरतातिर होइन स्थिरतातर्फ लैजानुपर्दछ । त्यसैकारण अविश्वासको प्रस्तावको नाममा संसदमा चलखेल आउन नदिन प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाले समेत साथ दिएका छन् । प्रधानमन्त्रीले जनतामा गएपनि सर्वोच्च अदालतले ब्याख्या गरी अर्को बाटो देखाएको छ । विचार सहि भएपनि बाटो फरक छ है भनेर देखाएकोमा सर्वोच्च अदालतलाई पनि धन्यवाद छ । यसरी नेकपा एक ढिक्का भएर अगाडि बढ्न सकोस । त्यहि छ मेरो शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *