कोमल ओलीको रोदन र रघुजीको आलोचना
कोमल ओलीको राजनीतिक छलाङ
राप्रपामा प्रवेश २०७३ मंसिर ६ मा
एमालेमा प्रवेश २०७४साल असोज ९ मा
राष्ट्रियसभा सदस्यमा निर्वाचित २०७४ साल माघ २८ मा
नेकपाको केन्द्रीय सदस्य (ओली समूह) २०७७ साल पुस ७ गते
काठमाडौं । १७ वर्ष जेल जीवन बिताएका झापा आन्दोलनका नेता मोहनचन्द्र अधिकारीकी धर्मपत्नी बालकुमारी खनाललाई राष्ट्रिय सभाको सदस्यमा बनाइदिने निश्चित थियो । पाल्पा मदन पोखराकी खनालले २०४७ सालमा मोहनचन्द्र अधिकारीसँग विवाह गरेकी थिइन् । विवाह पूर्व नै राजनीतिमा समेत सक्रिय रुपमा संलग्न खनाल शिक्षक पनि हुन् । साथै दुई विषयमा स्नातकोत्तर गरेकी पनि छन् । श्रीमान् मोहनचन्द्र अधिकारी ७५ वर्ष भइसकेका छन् । साथै सुगर प्रेसर जस्ता रोगबाट पनि ग्रसित भएकाले महंगो औषधि प्रयोग गर्नुपर्ने हुँदा धर्मपत्नी खनाललाई तत्कालिन एमालेका नेताहरुले नै राष्ट्रियसभाको सदस्य बनाइदिने बचन दिएका थिए । तर, राप्रपाबाट एमालेमा प्रवेश गरेकी कोमल ओलीले फास्ट ट्रयाकबाटै राष्ट्रिसभामा सदस्य हुने अवसर प्राप्त गरिन् । खनाल जस्ता झण्डै ४० वर्ष अघि कम्युनिस्ट पार्टीको सदस्य बनेकाहरु लाभको पद प्राप्त गर्न सकिनन् । त्यसो त दास ढुंगा काण्डमा ‘हत्या’ गरिएका जीवराज आश्रितकी धर्मपत्नी माया ज्ञावली २०७४ सालको संघीय संसदबाट मात्रै सांसद बन्ने अवसर पाइन् ।
कम्युनिस्ट पार्टीको सदस्य हुन कुनै समय ६ महिना परीक्षण कालमा बस्नुपर्दथ्यो । त्यसो त बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादन कोक खाएका कारण भूमिगत कालमा कारबाही समेत हुने गर्दथ्यो । यसरी पञ्चायतकालमा बुहराष्ट्रिय कम्पनीको कोक खाएका कारण कारबाहीमा पर्ने कोमल भट्टराईले कोमल ओली तीन वर्षमै केन्द्रीय सदस्य बनेको समाचार पढ्न पाएकी पाएनन् ? तर, आज कुन नेपाली कांग्रेसको, कुन राप्रपा वा नेकपाको व्यवहारमा चिन्न मुश्किल भएको छ । नेपाली कांग्रेसका समाजवादी अवधारणा भएका पुराना कांग्रेसहरुको नैतिकता र इमान्दारीता त नेकपाका नेताहरुको तुलना नै गर्न सकिदैन । उनीहरु बिपीकै समाजवादी अवधारणामा छन् । तर २०७४ साल असोज ९ गते एमालेमा प्रवेश गरेकी कोमल ओली अहिले प्रधानमन्त्री ओलीको जम्बो केन्द्रीय समितिमा सदस्य हुन पुगिन । साथै राष्ट्रियसभाको सदस्य बनेर नेपाल कम्युनिस्ट पार्टी नेकपामा फास्टट्रयाकबाट कसरी बढुवा हुन सकिन्छ उदाहरण नै बन्न पुगिन् । कोमल ओली २०७३ मंसिर ६ गते राप्रपा प्रवेश गरेकी थिइन् । उनी राप्रपाको महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बनिन् । त्यसपछि २०७४ साल माघ २८ गते उनी नेकपाको तर्फबाट राष्ट्रियसभामा सदस्य बनिन् । त्यसै गरी २०७७ पुस ७ गते नेकपाको ओली समूहको जम्बो केन्द्रीय सदस्य बन्न सफल भइन् ।
यहि फागुन १६ आइतवार नेकपाका स्थायी समति सदस्य रघुजी पन्तले एक भिडिओमा भनेका छन्, ‘२० औं वर्षदेखि बिहे नै नगरी पार्टीमा योगदान गरिरहेकाहरु पनि छन् तर, उनीहरुले मौका पाएनन् । पिडुँला देखाउँदै पोइल जान पाउँ भनेपछि केपी ओलीले कोमल वलीलाई सांसद बनाए ।’ नेता पन्तले वलीले पिडुँला देखाएको भरमा केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यको पद प्राप्त गरेको बताए । यो विषयमा नेककपा स्थायी समिति सदस्य पन्तले माफी मागेका छन् ।