January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

बर्खास्त गरिएका प्रदेश प्रमुख तिलक परियार र कम्युनिस्ट पार्टी


यहि फागुन ७ गते शुक्रवार प्रधानमन्त्री केपी ओलीले हठात रुपमा एक जना पुराना कम्युनिस्ट नेतालाई दुई नम्बर प्रदेशको प्रमुखबाट बर्खास्त गरेका छन् । कम्युनिस्ट आन्दोलनमा लागेर झण्डै ६ दशक बिताउनुभएका तिलक परियारका बारेका जीवनका महत्वपूर्ण पाटाहरुः
तिलक परियारले डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कम्युनिष्ट पार्टीको सदस्य दिलाउन कम्युनिष्ट नेता तथा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहसँग सिफारिस गर्ने काम गर्नुभयो । २०२५ सालमा भएको गोरखपुर प्लेनममा पनि सहभागि बन्नुभयो । कम्युनिष्ट पार्टीमा लाग्दा रोल्पाको सदरमुकाम लिबाङमा रहेको करोडौं मूल्य पर्ने झण्डै १५ रोपनी घडेरी हुने पैत्रिक सम्पत्ति बेचेर सिद्धियो । साथै बाँकेमा रहेको दर्जनौं विघा जमिन पनि बेचियो । माओवादीको जनयुद्धमा पनि पटक पटक गरेर झण्डै ५ वर्ष जेल बस्नुभयो । प्रहरीको यातना भोग्नुभयो २०६४ सालको संविधानसभाको निर्वाचनमा बाँके क्ष्ोत्र नम्बर एकबाट अत्याधिक मतले विजयी बन्नुभयो । तरपनि उनी अहिले नेकपा एमाले र माओवादी बीच भएको एकता पश्चात पनि नेकपाको स्थायी समितिमा पर्न सक्नुभएन । माओवादीमा हुँदै दलित मुक्ति मोर्चाको अध्यक्ष बन्नुभएका परियारको मन्त्री हुने रोलक्रम पनि कहिल्यै आएन । पुराना कम्युनिष्ट नेता निरन्तर सक्रिय क्रान्तिकारी एक योद्धा परियारलाई प्रधानमन्त्री ओलीले यहि फागुन ७ गते शुक्रवार अपमानजनकरुपमा बर्खास्त गरेर संघीयताको बिरुद्धमा विचार व्यक्त गर्दै आएका एक जना संचार उद्यमीलाई राजेश झालाई नियुक्त गरे । मधेश टुक्राउनुपर्छ भन्ने अभिव्यक्ति दिने झालाई प्रदेश प्रमुख बनाएकामा मधेशका न्यायप्रेमी राष्ट्रबादी जनताहरु चिन्तित छन् ।

मेरा बाले एउटा बाख्राको पाठो उपहार दिएर चिठ्ठी पढ्न लगाउनुभयो ।
० डा. बाबुराम भट्टराई र हिसिला यमिलाई पार्टीमा प्रवेश गराउने र पार्टी सदस्यका लागि मोहनविक्रम सिंह समक्ष सिफारिस पनि गरेँ ।
० म भन्दा धेरै जुनियर मन्त्री बने र बढुवा गर्दै लगियो । दलित समुदायबाट प्रकाण्डलाई मात्रै तीनपटक मन्त्री बनाइयो
० एकीकृत जनक्रान्ति सर्वहारा वर्गले नेतृत्व गर्ने कि पुँजीपति वर्गले ? प्रष्ट भएन ।
० मध्ययम वर्गले कहिल्यै पनि त्याग र बलिदान गर्दैन ।
० डायनामिक नेता त प्रचण्ड नै हो भन्ने लाग्यो ।
० सैद्धान्तिक, त्याग र बलिदानका हिसावले पनि यो समुदायबाट म नेकपाको स्थायी समितिमा पर्नु नै पर्दथ्यो ।
० लेनिनले जनतालाई रोटी र जमिनको नारा दिएर ग्यारेन्टी ्नै गर्नुभयो ।
० राज्य ब्यवस्थाको पूनः संरचना गर्न जरुरी छ


शिक्षा र कम्युनिस्ट पार्टीमा प्रवेश
हामी गाउँमा गरिब परिवारमा हुर्कियौं । मेरो बाले बालिघरे प्रथा अगाल्दै हामीलाई पालनपोषण गर्नुभयो । हाम्रो गाउँमा पढेलेखेका मानिसहरुको साहै्र अभाव थियो । बाहिरबाट कुनै चिठ्ठी आयो भने कसैलाई लगेर पढ्न लगाउनु पर्दथ्यो । साथै चिठ्ठी पढ्ने मानिसलाई कोसेली चढाउनुपर्दथ्यो । असाध्यै चाकरी गर्नुपर्दथ्यो । यस्तो अवस्थामा मेरो ठूलो दाई भारतको नागपुरमा जागिरका लागि जानु भएको थियो । मेरो वाले पनि दाईले पठाएको चिठी पढ्ने मान्छे पाउनुहुन्नथ्यो । त्यसैले वाले दुले बहिदार भन्ने दुर्गा प्रसाद आचार्यलाई एउटा बाख्राको पाठो उपहार दिएर चिठ्ठी पढ्न लगाउनुभयो । बालाई साह्रे पिर प¥यो । उहाँले एउटा छोरालाई जसरी पनि पढाउनुपर्छ भनेर नै तमसुक लेख्ने, चिठ्ठी पढ्न र पढ्न सक्ने बनाउँछु भनेर अठोट गर्नुभयो । त्यो समयमा दाङका साहिला मुखिया बाजे भन्ने एक जना व्यक्ति हुनुहन्थ्यो । उहाँले मलाई घरैमा पढाउने त्यो बापत मेरो बाले पनि बालिघर नलिने भन्ने सहमति भयो । त्यसरी उहाँसँग पढेपछि एक वर्षमा म चिठ्ठीपत्र लेख्ने, पढ्ने, तमसुक लेख्ने सक्ने भएँ । तमसुक लेख्ने सबै ब्यहोरा पनि सिके । त्यसपछि मात्रै प्रावि स्कूलमा भर्ना भएँ । यसरी २०१२ सालमा म प्राविमा भर्ना भएको थिएँ । त्यसपछि ८ कक्षासम्म लिबाङमा पढे । त्यसपछि माथिल्लो तहको अध्ययनका लागि बाहिर जानुपर्ने बाद्यता थियो । त्यो समयमा मेरो दाई हिमाञ्चल प्रदेशमा काम गर्नुहन्थ्यो । म पनि भारतको हिमाञ्चल प्रदेश पुगे र त्यहीबाट मैले म्याट्रिकुलेशन गरे । त्यसपछि अध्ययनका लागि म बनारस पुगँे र कमरेड पुष्पलाललाई भेटे । यसरी २०२१ सालमा म कम्युनिष्ट पार्टीको सदस्य भएँ । र कम्युनिष्ट आन्दोलनमा लागे । त्यसपछि सधै क्रान्तिकारी धार छाडिन ।
२०२५ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको गोरखपुर सम्मेलन ( गोरखपुर प्लेनम) मा भाग लिए । मलाई जीवनमा पहिलो पटक केन्द्रीय स्तरको सम्मेलनमा सहभागि हुने अवसर प्राप्त भयो । त्यो समयमा निर्मल लामा र मोहन विक्रम सिंहहरुले पुष्पलाल श्रेष्ठ कांग्रेसको पिछलग्गु हुनुभयो भनेर प्रचार गर्न थाले । मलाई पनि त्यहि नै लाग्यो । त्यसैकारण म पनि निर्मल लामा र मोहन विक्रम सिंहलाई खोज्दै हिडे । त्यही क्रममा २०३१ सालमा म हरियानाको फरिदावाद भन्ने ठाउँमा गाउँका मामाकहाँ पुग्दा कम्युनिष्ट नेता खम्बा सिंहसँग भेट भयो । उहाँ पनि आफ्नो भाञ्जीज्वाईलाई भेट्न जानुभएको रहेछ । उहाँ चौथो महाधिवेशनका केन्द्रीय सदस्य हुनुहुँदो रहेछ । सुरुमा उहाँले मलाई शंकाको दृष्टिले हेर्नुभयो । मैले पनि शंका गरे । उहाँ फाटेको लुंगि लगाएर बस्नु भएको रहेछ । उहाँ त्यो लुंगि सिलाउन बाहिर जान्छु भन्नुभयो । त्यहि क्रममा मैले मामाकहाँ हाते मेसिन भएकाले म नै सिलाईदिन्छु भनेर अनुरोध गरेँ । त्यसै सिलसिलामा राम्ररी परिचय भयो । मैले मोहन विक्रम सिंह र निर्मल लामालाई भेट्न प्रवास आएको बताएँ । त्यसपछि उहाँले मलाई मोहन विक्रम सिंहसँग २०३२ सालमा भेट गराईदिनुभयो । र म चौथो महाधिवेशनमा लागे । २०३३ सालमा म प्रवास शाखाको डिसीएस (डिष्ट्रिक सेक्रेटरी) बने । २०३६ सालको आन्दोलनमा पनि सक्रियपूर्वक लागेँ । मैले नै डा. बाबुराम भट्टराई र हिसिला यमिलाई पार्टीमा प्रवेश गराउने काम गरेँ । त्यसपछि पार्टी सदस्यका लागि मोहनविक्रम सिंह समक्ष सिफारिस पनि गरेँ । त्यसरी म कम्युनिष्ट आन्दोलनमा लागिरहेँ ।
कम्युनिस्ट पार्टीका बिभिन्न समितिमा रहँदा
म भारत प्रवासमा फरिदावाद जिल्ला कमिटीको सचिव रहेँ । २०३९ सालमा अयोध्या प्लेनम भयो त्यस समयमा विवाद भयो । निर्मल लामालाई पञ्चायत परस्तको आरोप लगाइयो । किनकी लामाजीले पञ्चायतको उपयोग गर्ने पक्षमा हुनुहन्थ्यो । विवादले उग्र रुप लियो । त्यस समयमा निर्मल लामाले मलाई केन्द्रीय सदस्यका लागि प्रस्ताव गर्नुभएको थियो । तर, महामन्त्री चाहिँ मोहनविक्रम सिंह हुनुहुन्थ्यो । उहाँलाई निर्मल लामाको मान्छे भन्ने लागेछ त्यसपछि मेरो नाम काटिदिनुभयो । २०४२ सालमा नेपाल आएँ । त्यसपछि त प्रवासमा जिल्ला सचिव भएको व्यक्ति केबल जिल्ला सदस्य मात्रै भएर बसेँ । लामो समय पश्चात पार्टीको सल्लाहकार बने । म भेरी कर्णालीको ब्यूरो सदस्य तथा केन्द्रको सल्लाहकार बने । २०४८ साल देखि नै संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य रहेर काम गरेको थिएँ । शान्ति प्रक्रिया आउनुभन्दा अघि नै म उपाध्यक्ष बन्ने अवसर प्राप्त गरेँ । २०५४ साल चैत्र २४ गतेको नेपाल बन्दको समयमा म गिरफ्तार भई जेल परेँ । त्यसपछि मलाई झण्डै आठ ठाउँको जेलमा घुमाए । म २०५८ साउनमा जेलबाट छुटे । २०५८ साल असोजमा रोल्पाको कुरुले भन्ने ठाउँमा भएको क्रान्तिकारी जनपरिषद्को राष्ट्रिय भेलाबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएँ । साथै दलित मुक्ति मोर्चाको पनि केन्द्रीय अध्यक्ष बने ।
त्यसपछि म निरन्तर रुपमा दलित मुक्ति मोर्चाको अध्यक्ष र केन्द्रीय सदस्य हुँदै अघि बढ्ने क्रममा म बाँके क्षेत्र नम्बर १ बाट २०६४ सालको संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अत्याधिक मतले विजयी बने । केन्द्रमा आएपछि दलित समुदायबाट पुरानो र पार्टीमा लगानीको हिसावले पनि मन्त्री बन्ने अवसर थियो । तर, नेतृत्वलाई कहाँनेर समस्या प¥यो मैले बुझ्न सकिँन । म भन्दा धेरै जुनियर मन्त्री बने र बढुवा गर्दै लगियो । तीनपटक मन्त्रीमण्डल बिस्तारमा पनि दलित समुदायबाट प्रकाण्डलाई मात्रै मन्त्री बनाइयो । मलाई एकपटक पनि अवसर दिइएन । म विधायन समितिको सदस्य थिएँ । त्यसै समयमा दलितहरुको जातीय भेदभाव तथा छुवाछुत कसूर सजाँय ऐन २०६८ निर्माण गर्नका लागि उपसमितिको संयोजक बनेँ । र कानून बनाउनमा सफल भएँ । साथै दलित आयोगको बिधयक पनि बनाउन लागेका थियौं तर, अन्तिम दिनमा नै हाम्रै पार्टीभित्रका केहि दलित नेताहरुले आफ्नो थर नपरेपछि विरोध गरेका कारण त्यो सफालता प्राप्त गर्न सकेनौं । त्यसपछि हाम्रो पार्टी विभाजनको प्रक्रियामा गयो । म सधै क्रान्तिकारी स्प्रिट राख्ने हुँदा मोहन बैद्य किरणलाई नै इमान्दार छबि भएको नेताका रुपमा हेरेको थिए । पक्कै उहाँबाट क्रान्तिलाई धोका दिनुहुँदैन भन्ने लागेर नै बिद्रोहमा सहयोग गरेका थियौं । अलग पार्टी बनाएपछि कृष्णदास श्रेष्ठ सल्लाहकार समितिको अध्यक्ष र म महासचिव बने । त्यो समयमा स्थायी समितिका बैठकमा अध्यक्ष र महासचिवलाई बोलाउने गरिन्थ्यो । यसरी निर्णय गर्ने थलोमा सहभागि भइन्थ्यो । त्यसपछि अघि बढ्दै जाँदा किरणजी पनि न अघि बढ्ने न पछि फर्कर्ने अवस्थामा पुग्नुभयो । अर्थात सून्यमै पुग्नुभयो । न गति अघि बढ्यो न फर्केर प्रचण्डसँगै एकता भयो । यो अवस्थामा हामी सरसल्लाह गरेर विद्रोह गरी बिप्लवको नेतृत्वमा गयौं । म लगायत असारे काका, चित्र बहादुर आले, प्रकाण्ड र बिप्लव समेत हेडक्वाटरमा सदस्य बन्न पुग्यौं । त्यो समयमा सुझबुझका साथ आन्दोलनलाई अघि बढाउनका लागि हामी पनि लागेका थियौं । आन्दोलनका कार्यक्रमहरु पनि अघि बढाएका पनि थियौं । तर, बीचमा गएर त्यो एकीकृत जनक्रान्तिको कार्यदिशा कुन वर्गले नेतृत्व गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन सकेन । बिप्लवले एकीकृत जनक्रान्ति भनेर जोडतोडले उठाउनुभयो । तर, हामीलाई स्पष्ट भएन । त्यसका लागि कुन वर्गको पक्षधरता हुने प्रष्ट भएन । सर्वहारा वर्गले नेतृत्व गर्ने कि पुँजीपति वर्गले ? विश्वमा त केबल दुईवटा वर्ग मात्रै छन् । त्यसमा एउटा शोषक र अर्को शोषित वर्ग छ । शोषक वर्गको नेतृत्वमा क्रान्ति सम्पन्न हुने हो वा शोषित वर्गको नेतृत्वमा प्रष्ट भएन । त्यसपछि यो खालको अलमलले पार्टीलाई ठीक ठाउँमा लैजान सक्तैन भन्ने हामीलाई लाग्यो । मध्ययवर्गले नै नेतृत्व गर्छ भन्ने उहाँको बुझाई थियो । संसारमा दुईवटा वर्ग छन् । त्यसका लागि क्रान्तिको नेतृत्व कि त सर्वहारावर्गले नै गरेको छ । कि त पुँजिपति वर्गले नै क्रान्ति सम्पन्न गरेको अवस्था छ । बीचको वर्गले त जो बलियो बन्यो त्यहि दिशामा लाग्ने गर्दछ । पुजिँपतिले जित्दा उसैको पक्षमा लाग्छ । र सर्वहारा वर्गले जित्दा उसैको गुनगान गाउने गर्दछ । यसरी पुजिँपति वर्गले पनि वर्गरक्षाका निमित्त क्रान्ति गर्छ र सर्वहारा वर्गले पनि क्रान्ति सम्पन्न गरेका इतिहास साछी छ । तर, मध्ययम वर्गले कहिल्यै पनि त्याग र बलिदान गर्दैन । उस्ले सधै धोका मात्रै दिएको छ । यो विषयमा विप्लव कमरेडसँग मेल खाएन । ठूलो क्षति ब्यहोरेपछि पनि धोका नै खानुपर्छ भने किन गर्ने ? भन्ने मेरो विचार रह्यो । म देशका ३२ जिल्लामा अन्तरक्रिया कार्यक्रममा पुगेर सुझाव र सल्लाह लिएर फर्के । त्यसपछि बैठकमा मैले आफ्ना कुराहरु राखेँ । त्यो समयमा मैले संसदीय बाटोको वकालत गरेको भन्ने भान वहाँहरुलाई पर्न गयो । यसरी छलफल र बहस गरिरहँदा उहाँहरुसँग मिलेर जाने अवस्था रहेन । केहि साथीहरुसँग छलफल गरेर मेरै नेतृत्वमा बिद्रोह गर्ने योजना बनायौं ं । त्यसपछि मेरै नेतृत्वमा नेकपा माओवादी बिद्रोही समूह भनेर हामीले पुनर्गठन गरेका थियौं । पछि बादल र देव गुरुङसँग वार्ता ग¥यौं । त्यसपछि उहाँहरु पनि एक्ला एक्लै गएर सम्भव पनि हुँदैन । हिजैको डायनामिक नेता त प्रचण्ड नै हो भन्ने लाग्यो । हिजोको कमि कमजोरी सच्याएको खण्डमा नेता मानौं भन्ने लाग्यो । र प्रचण्डसँग छलफल भयो । र १३ बूँदे सहमति नै ग¥यौं ।
यसरी १३ बूँदे सहमति गरेर बिधान संशोधन गर्दै नेकपा माओवादी केन्द्र भनेर नयाँ पार्टीको पुनर्गठन गरेका हौं । प्रचण्डलाई नेता मानेर नारायणकाजी श्रेष्ठ, बादल, जयपुरी घर्ति, पम्फा भुसाल मात्रिका यादव म लगायतका नौं जनाको हेडक्वाटर बन्यो । तर, पछि पहिले देखि पदमा बसेका साथीहरुको असन्तुष्टिका कारण प्रचण्ड कमरेडले संख्या थप्दै जानुभयो । यसरी नौबाट १३, २३ र ३३ जनाको हेडक्वाटर बन्यो । पछि नेकपा एमालेसँग एकता गर्ने भनेर अध्यक्ष प्रचण्डले छलफल गर्नुभएछ । त्यसपछि प्रस्ताव नै लिएर आउनुभयो । संसदीय प्रक्रियामा जाँदा मतकै हिसाव हुने हुँदा किन एक्ला एक्लै जाने ? सबै कुरा मिल्छ भने अलग किन बस्ने ? तर, माक्र्सवाद, लेनिनवाद र माओवादका विषयमा महान बहसको लागि बिकल्प कायम रहन्छ भने एकता गर्ने भन्ने टुङ्गोमा पुग्यौं । तर, गोपाल किराती “साइला” र विश्वभक्त दुलाल “आहुती”ले असहमति जनाउनुभयो ।
महान बहसको ढोका खुल्ला गर्ने सहमतिले हामी एकता गर्ने पक्षमा जुट्यौं । त्यसपछि पार्टी एकता भयो । दुई पार्टी एकता गर्ने समयसम्म हाम्रो रोजगारी प्राप्त भएकै थियो । तर, जब स्थायी कमिटी गठन भएपछि हामी बेरोजगार भयौं । म स्थायी कमिटीमा पर्नुपर्दथ्यो । किनकी म दलित समुदायको नेतृत्व गर्दै जनयुद्धमा सक्रिय रहेँ । तथापि स्थायी कमिटीमा परिनँ । नियतले हो वा अन्जानवस भएको हो जानकारी भएन । किनकी सबैभन्दा पिँधमा बसेको यो समुदायमा नेतृत्वको विकास नै नभएको भएँ केहि पनि थिएन । यसरी सैद्धान्तिक, त्याग र बलिदानका हिसावले पनि यो समुदायबाट स्थायी समितिमा पर्नु नै पर्दथ्यो । दलितले जत्ति सुकै त्याग गरेपनि गैर दलित नेताहरुले स्वीकार नगर्ने रहेछन् भन्ने छाप दलितहरुमा पर्न गएको छ । तर, पनि हामीहरु कम्युनिष्ट आन्दोलनका बिरुद्धमा जाने पक्षमा छैनौं ।
युद्दमा लाग्दाको सपनाहरु
म जनयुद्धको सुरुमै सहभागि भएँ । जनयुद्धको सुरुकै १४ औं दिनमा गिरफ्तारीमा परेँ । फागुन १४ गते गिरफ्तार परेपछि ९० दिनको सार्वजनिक मुद्दा लगाइयो । जेलमा परेँ । त्यसपछि छुटे । म खुलामञ्चमा जिम्मेवारी पाएको हुँदा २०५२ सालमै गिरफ्तारीमा परेँ । २०५३ सालमा पुनः गिरफ्तार भएँ । तीन महिनाको सार्वजनिक मुद्दा लगाएर थुनियो । पछि धरौटी राखेर छुँटे । २०५४ सालमा पुनः गिरफ्तार भएँ । त्यसपछि चाहिँ लगातार २०५८ साल साउन ४ गतेसम्म जेलमा परेँ । त्यो समयमा म कोहपुरबाट गिरफ्तारी भएँ । त्यसपछि नेपालगञ्ज जेल, बर्दिया, दाङ, भैरहवा, पाल्पा जेल हुँदै केन्द्रीय कारागार त्यसपछि पुनः बर्दिया जेलमा पु¥याइयो । त्यो समयमा हाम्रो जनमुक्ति सेनाले रोल्पाको होलेरीमा ७२ जना प्रहरीलाई नियन्त्रणमा लिएको थियो । त्यसको सट्टा भर्नामा हाम्रो पार्टीले ३१ जना प्रहरीलाई छोडिदियो र हामी तीन जना म, बलराम काफ्ले र ऋषि घिमिरेलाई छाडिदियो । यसरी म ठूला घट्नामा परेको छु । सल्यानको बालुवामा सेनाको घेरामा परेँ । तर, घेरा तोडेरै बाच्न सफल भइयो । ठूला ठूला भिडन्तमा पनि सहभागी भइयो ।
सपनाहरु आर्थिक रुपान्तरण भएनन्
वास्तवमा देशमा केहि भएन भन्ने होइन । गणतन्त्र आयो । राजा बन्ने परम्परा तोडियो । दलित र महिलाहरुका निमित्त ठूला ठूला उपलब्धिहरु भएका छन् । जनताले नीतिगत र वैचारिक रुपमा ठूलो उपलब्धि प्राप्त गरेका छन् । संघीयता, धर्मनिरपेक्षता, समावेसिता, समानपातिक जस्ता उपलब्धिहरु हासिल भएका छन् । सैद्दान्तिक हिसावले ठूलो उपलब्धि हो । तथापि जनताले अपेक्षा गरेका त गाँस, बास, कपास र रोजगारी नै हो । साझा ब्यानरको सवाल भनेकै जनताको दैनिकी हो । जनताको दैनिकी सवालमा असर नपरेसम्म परिवर्तनको महसुस गर्दैनन् । रुसमा पनि त्यहि स्थिति भयो परिवर्तन आयो । त्यो समयमा लेनिनले रोटी र जमिनको नारा दिनुभयो । त्यो नारापछि उहाँले ग्यारेन्टी नै गर्नुभयो र जनताले पनि अनुभूति गरेँ । यसरी जग्गा नपाएकाले जग्गा पाए, खाना नपाएकाहरुले पनि खाना पाए । त्यसको तुरुन्तै असर पर्न गयो । हामी कहाँ त्यो हुन सकेन । हामी कहाँ पुरानो संरचना भत्काएनौं । त्यसैलाई निरन्तरता दियौं । भत्काउनपट्टि लागेनौं । कागजमा परिवर्तन ल्यायौं । तर, भौतिक रुपमा व्यवहारमा परिवर्तन चाहिँ आएन । यसरी आर्थिक सामाजिक परिवर्तनमा रुपान्तरण हुन सकेन ।
राज्य व्यवस्थामा पुनः संरचनाको जरुरी
राज्य ब्यवस्थाको पूनः संरचना गर्न जरुरी छ । किनभने जहिलेपनि राज्य संयन्त्र नै निर्णयक हुन्छ । राज्य संयन्त्रले काम गर्दैन भने नेता जत्तिसुकै क्रान्तिकारी भएपनि परिवर्तन हुँदैन । नेपालको ब्यूरोक्रेसीमा नै पुनःसंरचनाको आवश्यकता छ । दोस्रो कुरा आर्थिक समृद्धिका लागि निस्वार्थ भएर लागिपर्नुपर्दछ । हाम्रो मुलुकमा अहिले सामुहिक समस्याको हल गर्ने भन्दापनि व्यक्तिगत स्वार्थ पुर्ति गर्नुपर्छ भन्ने चिन्तनको हावी छ । त्यसलाई हामीले नै क्रस गर्नुपर्दछ । व्यक्तिगत स्वार्थ त्यागेर सामुहिक भावनामा अघि बढेको खण्डमा मात्रै सफलता हासिल हुन सक्तछन् ।
देश र जनताका निमित्त बलिदानी दिँदै पुरानो राज्यसंयन्त्रलाई पुनःसंरचना गर्न जरुरी छ । अन्यथा जाम हुने खत्तरा रहन्छ । अहिले भएका तीनवटा संरचनाहरु स्थानीय तह, प्रदेश र संघको संरचना पनि ठुलो उपलब्धि हो । तर, सरकारले सञ्चालन गर्ने ब्यूरोक्रेसीको पुनःसंरचना गरिनुपर्दछ । जुन नारा दिइएको छ, “समृद्ध नेपाल र सुखि नेपाली” भन्ने त्यसका लागि पनि प्रमुख भनेको आर्थिक उत्पादन नै हो । क्रान्ति र परिवर्तनलाई जोडसँग पक्डेर उत्पादनलाई बढाएको खण्डमा मात्रै समृद्धिको नारा अघि आउँछ । नीतिगतरुपमा हामीले अहिले ठूलो उपलब्धि हासिल गरेका छौं । तथापि आर्थिक, सामाजिक, र सास्कृतिक रुपान्तरणका सवालमा हामीले गति लिन सकेको खण्डमा देश अघि बढ्न सक्तछ । हाम्रो समस्या भनेकै चिन्तनको समस्या हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.