Tue. May 11th, 2021

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सौन्दर्यकर्मबाट सफलताको उत्सर्ग चुम्न सफल गीता शाह

1 min read


– हरि विनोद अधिकारी
सौन्दर्य कला क्षेत्रमा आफ्नै पहिचान बनाउनु भएको छ गीता शाहले । अछाम जिल्लाकाको रिडिकोटमा बुबा रतन बहादुर शाह र आमा धनलक्ष्मी शाहको कोखबाट वि.सं. २०४० सालमा जन्मिनुभएकी उहाँ यतिवेला काठमाडौंलाई कर्मथलो बनाएर सौन्दर्य कला क्षेत्रमा आफ्ना क्रियसनहरू पस्किरहनु भएको छ ।
बर्दिया जिल्लामा आफ्ना बाल्यकाल विताउनु भएको उहाँले उच्च शिक्षाका लागि काठमाडौं आएसँगै निरन्तर रुपमा काठमाडौंमै रही अफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल हुनुभएको छ । नेपाल सरकारको शिक्षा मन्त्रालय मातहत रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट सञ्चालित सौन्दर्य कला विषयमा बेसिक तथा एडभान्स कोर्षमा डिप्लोमा हासिल गर्नुभएको छ उहाँले । यस्तै उहाँले नीजि क्षेत्रबाट सञ्चालित तालिम केन्द्र बाट पनि मेकअप सम्बन्धी थप अध्ययन स्पेशल एडभान्स कोर्षमा विशेष तालिमहरु लिनु भई आफूमा अझ पारगंत तुल्याएर यो क्षेत्रमा होमिनु भएको हो ।
यस क्षेत्रको सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल पछि स्वावलम्वी जीवन पद्धति तथा आर्थिक आत्मनिर्भरताको परिचायक शाह विगत लामो समयदेखि सौन्दर्य कला क्षेत्रमा रहेर आफ्ना क्रियसन मार्फत सबैको मन जित्न सफल हुनुभएको छ । आफूले प्राप्त गरेको ज्ञान र सीपलाई उत्कृष्टताका साथ पस्किरहनु भएकी शाह देशकै प्रतिष्ठित सौन्दर्य कला पशिक्षण तथा तालिम केन्द्र श्रृङ्गार घरमा सहायक प्रशिक्षक बाट प्रशिक्षण सुरु गरी हाल सोही संस्थामा मेकअप आर्ट विषयमा वरिष्ठ प्रशिक्षकका रुपमा रहनुभएको छ ।
श्रृङ्गार घरले सौन्दर्य कला सम्बन्धि बेसिक लेभल, एडभान्स लेभल र स्पेशल कोर्षहरुको तालिम सञ्चालन गर्ने गर्दछ । साथै नेपाल सरकारले नारीहरुलाई स्वरोजगार बनाई वित्तिय आत्म निर्भर बनाउने उद्देश्यका साथ शिक्षा मन्त्रालय अन्तर्गत सिटिइभिटि मार्फत नियमित सञ्चालन गर्ने सौन्दर्य कला मेकअप आर्ट सम्बन्धी बेसिक र एडभान्स लेभलका विभिन्न कोर्षहरुको तालिम तथा प्रशिक्षण पनि वरिष्ठ प्रशिक्षक शाहले नै दिनुहुन्छ । शाह आफू संलग्न संस्थामा नियमित प्रशिक्षण गराउनुका अलवा काठमाडौंका अन्य चर्चित संस्थाहरुले सञ्चालन गर्ने सौन्दर्य कला सम्वन्धी विशेष कोर्षहरुको संयोजन र प्रशिक्षणमा पनि उत्तिकै सक्रिय रहिरहँनु भएको छ । यसरी सौन्दर्य कला क्षेत्रमा गहिरो अनुभव र सौन्दर्य कर्मीमा अनुपम सीप र कौशलताले सुसज्जित शाहद्वारा प्रशिक्षित सफल प्रशिक्षार्थिहरुको संख्या नै निकै उच्च रहेको छ ।
बहु प्रतिभाशाली गीता शाह केवल सौन्दर्य कलाको प्रशिक्षणमा मात्र सिमित नरही समय समयमा विभिन्न संस्थाहरुले आयोजना गर्ने सौन्दर्य र क्षमता झल्काउने सुन्दरी प्रतियोगिताहरुमा पनि अमूल्य योगदान पु¥याउदै आउनुभएको छ । जसमा रेडियन्ट इभेन्ट म्योनजमेन्टले काठमाडौमा आयोजना गरेको मिस टिन डेभाको निर्णयक मण्डलमा रही आफ्नो पेशागत दक्षताको उत्कृष्टता पस्किदै मिस टिन डेभा छनोटमा वरिष्ठ मेकअप आर्टिष्ट शाहको निर्णायक भूमिका रहेको थियो । शाहको निस्पक्ष र उत्कृष्ट निर्णयकका लागि आयोजक संस्थाले सम्मान पत्र समेत प्रदान गरेको थियो । त्यसैगरी रेडियन्ट इभेन म्यानेजमेन्टले नै पश्चिम नेपालको नेपालगञ्ज सहरमा आयोजना गरेको मिस ब्युटि प्याजेन्ट प्रतियोगितामा सहभागीहरुको शारीरिक बनोअट, मुखाकृति र पहिरनको सटिक विश्लेषण गरी प्रतियोगीहरुको सौन्दर्यता निर्खान मेकअप गरिदिने मेकअप आर्टिष्टको महत्वपूर्ण जिम्मेवारी आयोजक संस्थाले शाहलाई नै सुम्पेको थियो । आफ्नो व्यवसायिक सौन्दर्यकला लाई उत्कृष्ट नमुनाको रुपमा प्रस्तुत गर्न सफल हुनुभएकी वरिष्ठ मेकअप आर्टिष्ट शाहको कला र सीपको बेजोड सम्मिश्रणको सराहना स्वरुप आयोजक संस्थाले प्रशंसा पत्र सहित सम्मान पनि गरेको थियो ।
सौन्दर्य कलामा शाहले प्राप्त गर्नुभएको दक्षता र सफलता निकै नै सर्हाना योग्य यस अर्र्थमा पनि छ कि उहाँले राजधानीमा आयोजित मोर्डन फेशन शो मा सहभागी मोडलहरुको मेकअप गर्न मेकअप आर्टिष्टको विशेष जिम्मेबारी सफलताका साथ निभाइसक्नु भएको छ । यसैक्रममा पूर्वी नेपालको विराटनगर सहरमा आयोजित समर फेशन शो मा सहभागी मोडल हरुको मेकअप गर्न मेकअप आर्टिष्टको महत्वपूर्ण जिम्मेबारी कुशलताका साथ निभाउनु भएको थियो । उक्त विशेष कार्यका लागि दुवै समारोह आयोजकहरुबाट कदर पत्र समेत प्रदान गरिएको थियो ।
यसैगरी नेपालका विभिन्न सञ्चार माध्यमहरुमा प्रसारण भइरहेको र प्रसारण हुन बाँकी टेली चलचित्र तथा धारावाहिक टेली सिरियलहरुको छायाँकनको क्रममा विविध भूमिका निभाउने कलाकारहरुको कथावस्तु र कथा परिवेशले कल्पना मुताविक आवश्यक सुहाउँदो मेकअप संयाोजन गर्ने मेकअप आर्टिसको श्रृजनशिल भूमिका पनि शाहले सहजताका साथ निभाई सक्नु भएको छ । जसमध्ये नेपालको सहरी जनजीवनमा घरभाडाको समस्या र यर्थाथतामा आधारित टेली चलचित्र ‘भाडा काण्ड’ निकै नै चर्चित रहेको छ भने नेपालको गाउँघरको जनजीवीकामा आधारित धारावाहिक टेली सिरियल ‘हरामी’ले दर्शकहरुको मन जित्न सफल भएको छ ।
बाहौं वर्षको अथक प्रयास र अनवरत मिहिनेतले सौन्दर्य कलामा प्रख्यात र सौन्दर्यकर्मीमा सुपरिचित बन्नु भएकी गीता शाह सौन्दर्य क्षेत्रमा सफलताको उत्सर्गमा पुगिरहनु भएको छ । अझ भनौ सौन्दर्य कलामा शाह बहुप्रतिभाशाली सावित भइसक्नु भएको छ । उहाँको प्रतिभा खोतल्दै जाँदा सौन्दर्य कला सम्बन्धी प्रशिक्षण सैद्धान्तिक ज्ञान दिन होस् वा तालिममा प्रयोगात्मक सिप सिकाउन होस् उहाँका प्रशिक्षार्थिहरुको नतिजा निकै नै उत्कृष्ट रहँदै आएको छ ।
त्यसैगरी किशोरी प्रतियोगिताको मिस टिन निर्णयक भूमिकामा होस् या सुन्दरी प्रतियोगिता मिस ब्युटीमा सहभागीहरुको मेकअप गरी रुप चम्काउने कार्यहोस् गीताको सहभागिता अनिवार्य आवश्यकता बनिसकेको छ । अर्कातिर शहरी जीवनशैलीको पहिरन वाहक फेशन शोहरुमा सहभागी मोडलहरुलाई अझ सुन्दरी बनाउने मेकअप आर्टिष्टको जिम्मेबारी होस् वा टेली चलचित्रहरुमा कथावस्तुको भाव अनुसार कलाकारहरुलाई सुहाँउदो मेकअप गरी यर्थाथ चित्रण गर्ने कार्यको जिम्मेबारी होस् शाहले फरक–फरक भूमिकामा आफूलाई योग्य र उत्कृष्ट सावित गरिसक्नु भएको छ । मेकअप आर्टिष्टका रुपमा अब्बल रहनु भएकी उहाँ अझै नयाँ नयाँ प्रयोग र नयाँ नयाँ स्वरुप निर्माणका लागि पेशागत रुपमै दिनरात सौन्दर्यकलामा समर्पित भइरहनु भएको छ । अझ भनौ सौन्दर्य कला र गीता शाह एक अर्काका पर्याबाची शब्द बनिसकेका छन् ।
सौन्दर्य क्षेत्रमा रहेर नाम र दामसँगै सामाजिक जीवनमा पनि त्यतिकै लोकप्रिय शाह समाजसेवामा पनि आफूलाई अग्रणी रुपमा स्थापित गर्दै आउनुभएको छ । समाज सेबा मार्फत पनि उहाँले धेरै व्यक्तिहरुमा प्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आउनुभएको छ । उहाँ व्यवसायमा जति दक्षता प्रस्ततु गर्नुहुन्छ समाज सेवामा पनि त्यतिकै आफूलाई संलग्न गराउँदै आउनुभएको छ । यसैले त शाह समाजमा एक उदाहरणिय व्यत्तित्वका रुपमा स्थापित हुनुभएको छ । उहाँका कर्महरु धेरैका लागि अनुकरणिय बन्न गएका छन् । शाहको व्यवसायिक कर्म र समाज सेवाका कर्महरुले आउँदा दिनमा अझ व्यापकता पाओस् हाम्रो पनि शुभकामना ।

डायरी एक्सप्रेस साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *