प्रजातान्त्रिक आन्दोलनको क्रममा सूर्य बहादुर केसीको घरमा जाँदा
बि.स. २०४६ साल फागुन ७ गतेबाट नेपालमा एकतन्त्रिय पञ्चायत व्यवस्था बिरोधी प्रजातान्त्रिक आन्दोलनको घोषणा भयो । तर, पृथ्वी नारायण क्याम्पस, पोखरामा भने आन्दोलनको सुरु गर्नु अगावै माघ २९ गते नै प्रहरी हस्तक्षेप हुन पुग्यो । थुप्रै विद्यार्थी नेताहरु गिरफ्तार गरिए । त्यो समयमा म पनि पृथ्वी नारायण क्याम्पस, पोखरामा अध्ययनरत भएकाले अनेरास्वबियु पाँचाँैको सह–प्रारम्भिक कमिटीको अध्यक्ष बनेको थिएँ । साथै तत्कालिन नेकपा मालेको पार्टी सदस्यताका लागि समेत आवेदन भरिसकेको थिएँ । त्यहि नाताले माघ २९ गते प्रहरी हस्तक्षेपबाट बच्न क्याम्पस पछाडिको सेती नदी पार गरेर प्रहरीको गिरफ्तारीबाट बच्न सफल भएँ । भोलिपल्ट क्याम्पस जाँदा स्वर्गिय रबिन्द्र अधिकारीलगायतका केहि जना विद्यार्थी नेताहरु मात्रै प्रहरीको गिरफ्तारीबाट बचेर विरोधका कार्यक्रम बनाउन तल्लिन थिए । मलाई पोखराको बगरमा त्यहि माघ २९ गतेको प्रहरी हस्तक्षेप र गिरफ्तारीको विरुद्धमा पर्चा बाड्ने कामको जिम्मा दिइएकोे थियो । पोखरा भरी नै दिनको तीन बजेको एउटै समय तोकिएको थियो । यसरी २९ गतेको विरोध स्वरुप पर्चा बाड्ने कार्यक्रममा सावधानीका कारण कतै पनि साथीहरु गिरफ्तारीमा परेनन् । त्यो समयमा स्वयियुका सभापति झलक सुबेदी, कोषाध्यक्ष लक्ष्मी कार्की जस्ता चर्चित नेताहरुको एकतन्त्रिय पञ्चायती व्यवस्था विरोधी भाषणले विद्यार्थीहरुको रगत उम्लिन्थ्यो । पूर्व सभामुख कृष्ण बहादुर महराहरु पनि स्नातक तह पोखरामै अध्ययन गरेका थिए । पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले पनि प्रशिक्षण दिन्थे । गुल्मीका स्वर्गिय रामनाथ ढकाल पनि पृथ्वीनारायण क्याम्पसमा राजनीति गर्दर्थे । उनले एक दिन आन्दोलनका क्रममा गिरफ्तार गर्न आएका प्रहरी निरीक्षकको कब्जाबाट फुत्किन खोज्दा हातै भाचिदिएका हुन् । पोखराका तुल बहादुर गुरुङ चाहिँ अनेरास्वबियुको पाँचौको केन्द्रीय अध्यक्ष थिए । उनी संगठन निर्माणका लागि अत्यन्तै काबिल मानिन्थे । गुरुङ प्रतिनिधि सभाका सांसद, अर्थराज्यमन्त्री र सभासद पनि भए । प्रदेशसभाका सभासद तथा पोखराका पूर्व मेयर कृष्ण थापा पनि पृथ्वी नारायण क्याम्पसमा राजनीति गर्दर्थे । पञ्चायतकालमा लामो समयसम्म स्वर्गिय जीवराज आश्रित, वामदेव गौतमको कार्यथलो पनि पोखरामै थियो ।
२०४६ सालको जनआन्दोलनमा बाममोर्चा गण्डकी अञ्चलका संयोजक वरिष्ठ बाम नेता टेकनाथ बराल थिए । धेरै नेता र कार्यकर्ता पक्राउ परिसकेपछि टेकनाथ बरालका छोरा विद्या बराल पछिसम्म पनि पोखरा नगरमा आन्दोलनको नेतृत्व गरेका थिए । अहिले बराल अमेरिकामा छन् । म, राम बहादुर कार्की र अर्का कास्की चापाकोटका पराजुली थरका साथी मिलेर बिद्या बरालको घरबाट पर्चा ल्याएर पोखराका बिभिन्न ठाउँमा बाड्थ्यौ ।
हाम्रो डेरा पार्दीको अध्यागमन कार्यालय पछाडि तत्कालिन नगर पञ्चायतका नगर सभासदको घरमा थियो । हामीले पार्टीको निर्देशन बमोजिम ठूला रुखमा कम्युनिस्ट पार्टीको झण्डा गाड्नुपर्ने भयो । हाम्रो कोठासँगै अर्को कोठामा एक जना गुप्तचर विभागका जुनियर अफिसरको डेरा थियो । हामी रातको १२ बजे कोठाबाट निस्केर सूर्य बहादुर केसी (सीताराम केसी) को घर अगाडि र अञ्चलाधिश कार्यालय अगाडिका ठूला सिमलको ठूलो रुखमा झण्डा गाड्थ्यौ । म अरु साथीहरु भन्दा रुखमा चढ्न सिपालु थिएँ । सिमलको रुखमा चढ्दा सानो आवाज आउँदा पनि तल बसेका साथीहरु प्रहरी आयो कि भनेर झस्कन्थे । अञ्चलाधीस कार्यालय अगाडि झण्डा गाड्दा पनि हामीलाई कुनै डर लाग्दैनथ्यो । किनकी हामी कम्युनिस्ट पार्टीको फलामे अनुशासन पालना गर्ने सिपाही भइसकेका थियौं । मृत्यु ‘प्वाख जस्तो हलुका वा पहाड जस्तो गह्रौ’भनेर प्रशिक्षण हुन्थ्यो । त्यसैले सहज र अत्यन्तै खुशी भएर आन्दोलनमा सरिक हुन्थ्यौं । मध्यामाञ्चल क्षेत्रिय अदालत पोखरामा कार्यरत कर्मचारी उपेन्द्र पौडेलको डेरा पनि हाम्रो डेरासँगै जोडिएको थियो । उनले पनि प्रजातन्त्रको पक्षमा म पनि संलग्न भएर रातभर पोखरामा झण्डा गाड्ने र पर्चा बाड्ने गरेको थाह पाएनन् । पौडेल न्याय तथा कानूनका क्षेत्रमा अधिकृत भएर सेवानिवृत भइसकेका छन् । प्रजातान्त्रिक आन्दोलनमा सफलता प्राप्त गर्नका लागि रातको १२ बजे सिमलको रुखमा चढेर राखेको कम्युनिस्ट पार्टीको उक्त झण्डा धेरै उचाईमा भएका कारण पोखराभर नै देखिने गर्दथ्यो । कम्युनिस्ट पार्टीको झण्डा अञ्चलाधीश कार्यालयको अगाडि र कार्की थरका पोखरा नगर पञ्चायतका नगरसभासदको घर नजिक पर्दथ्यो ।
एक दिन प्रहरीले नसकेपछि सिमलको रुखको झण्डा झिक्न तत्कालिन शाही नेपाली सेनाको एक टिम बन्दाबस्तीका साथ नै आयोे । म र अर्का साथी राम बहादुर कार्की गुप्तचर प्रहरीको आँखा छल्न भन्दै जागिरको सिफारिसका लागि सूर्य बहादुर केसीको घरमा गएको हल्ला गर्दथ्यौ । यसरी हामीहरु केबल पञ्चायती व्यवस्थाका सुरक्षकर्मी र गुप्तचर संयन्त्रको आँखा छल्ने मात्रै उद्देश्य बनाएका थियौं । तर, पनि गुप्तचरले थाहै पाएनन् । मेरो कामको जानकारी दाजुलाई समेत मैले जानकारी दिएको थिइन । प्रहरीको गिरफ्तारीबाट बच्न पोखरा छाडेर स्याङजा गएपछि मात्रै थाह पाएछन् ।
गुप्तचरका प्रहरीको डेरा जोडिएका कारण मैले पञ्चायत बिरोधी पर्चाहरु डेरामा लैजान पनि नहुने अवस्था थियो । एक दिन डेरा नजिककोे पर्खालमा लुकाएर राखेको पञ्चायत बिरोधी पर्चा त बच्चाहरुले देखेर छताछुल्ल पारिदिएछन् । घरबेटी नगर सभासदले कसले ल्याएको हो भन्दै कराए ? तर पनि यसैले पञ्चायत बिरोधी पर्चा बाड्छ भन्ने पञ्चायतकालको जुनियर अफिसर लेबलका ती गुप्तचरलार्ई थाहै भएन । आफुले मेहनत गरेर ठूलो सिमलको रुखमा जोखिमपूर्ण रुपमा रातको समयमा चढेर गाडेको झण्डा कसैले फालेको अवस्थामा हेर्ने इच्छा हुँदो रहेछ । त्यसैकारण प्रहरी प्रशासनले झण्डा हटाउने बेलामा हामीहरुलाई शंका गर्छ कि भनेर अन्यत्रै चौरमा गएर बसिन्थ्यो । यसरी प्रतिबन्धित पार्टीको आन्दोलनको पक्षमा पर्चा बाड्दा र सिमलको रुखमा झण्डा गाड्दा हामी प्रहरीको कारबाहीमा सधै नै बच्न सफल भयौं ।
पञ्चायती प्रशासन आन्दोलनकारी विरुद्ध निर्मम बन्दै गइरहेको थियो । त्यसैले बाहनाबाजी गर्र्दै प्रहरी प्रशासनको कारबाहीबाट बच्नका लागि राम बहादुर कार्कीको छिमेकी र नातेदार पनि भएकाले सूर्य बहादुर केसीको घरमा बिहान जान थाल्यौं । त्यो समयमा पोखरा नगर पञ्चायतका प्रधानपञ्च केसीले आफुले १४ वर्षको उमेरमा रारा चाउ चाउको उत्पादन सुरु गरेको सगौरव बताउँथे । उनी प्रष्ट कुरा गर्ने घरमा जो आए पनि समाधान हुने खालका समस्या तत्कालै समाधान गरिदिने स्वाभावका थिए । जो कोहिको गर्न सकिने कामहरु उनलाई भेटेपछि एकै पटक काम गरिदिइहाल्ने गर्दर्थे । उनले ‘क्याम्पसमा पढ्दा सबै कम्युनिस्ट हुने गर्छन् तर, जागिर खाएपछि पञ्च बन्छन्’ भन्थे । केसीले पर्यटन व्यवसायतिर पनि लगानी गरेका थिए । उनको पोखरामा होटल पनि थियो । आफु उमेरले नेपालका सबै नगर पञ्चायतका प्रधानपञ्च मध्येको कान्छो प्रधानपञ्च भएको सगौरव बताउँथे । केसीको घर कम्पाउण्ड पनि विशाल थियो । उनको घर पुग्न मूल गेटबाट झण्डै दुई सय मिटर हिड्नुपर्दथ्यो । त्यो समयमा भेटघाटमा अहिले जस्तो असहज हुँदैनथ्यो । पञ्च नेताको घरमा गएपछि पञ्च नै होला, हाम्रो समर्थक होला भन्ने सकरात्मक सोच थियो । अन्य दायाँ बायाँ केहि सोध्दैनथे । हामी अनेरास्वबियु पाँचौको कार्यकर्ता तर, प्रहरीको आँखा छल्नका लागि अर्का साथी राम बहादुर कार्कीको सल्लाह बमोजिम त्यहाँ गएका थियौ ।
पोखरा नगर पञ्चायतका प्रधानपञ्च भएपनि केसीको उत्तम पुनसँग भने निकै कटाक्षपूर्ण सम्बन्ध थियो । पुन तत्कालिन राजा विरेन्द्रको सवारी चलाउन भन्दै पोखरा आएका थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा राजाका प्रियपात्र पुन २०४८ सालको निर्वाचनमा भने पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको अत्यन्तै प्रिय बन्न सफल भएका थिए । पछि नेपाल विकास बैंक घोटलामा परेर उनको राजनीतिक तथा व्यवसायिक दुबै जीवनमा पूर्ण बिराम लाग्यो । तर, केसी भने आर्थिक रुपमा कहिल्यै विवादमा मुछिएनन् । भ्याट छली, कर छली, ठगी जस्ता घट्नामा विनोद चौधरी, मोहन गोपाल खेतान, राजेन्द्र खेतानहरुको नाम पटक पटक आयो । तर, बदनामी र ठगीको आरोप समेतमा पनि केसीको नाम कहिल्यै सुनिएन । यसरी सूर्य बहादुर केसीको घरमा जाँदा हामीले प्रशासनको आँखा सहजै छल्न सकिन्छ भन्ने विश्वास थियो । किनकी त्यो समयमा आन्दोलनका लागि धेरै थोरै योगदानका लागि पनि हामीहरु जसरी पनि गिरफ्तारीबाट बच्नु थियो ।
आन्दोलनका क्रममा पोखरामा धेरै जना विद्यार्थी नेताहरु पक्राउ परिसकेका थिए । चिफ्लेढुंगामा तत्कालिन राजा वीरेन्द्रको पुत्ला जलाउँदा पराल लिएर आएका राम बहादुर कार्कीलगायत हामीहरु सहजै प्रहरीलाई छक्याएर फुत्किन सफल भइयो । तर नेबिसंघका तत्कालिन नेता कुल प्रसाद गुरुङ भने पक्राउ परे । त्यसैले हामी अब सफल भइन्छ भन्ने आशा मारेर थाकिसकेका थियौं । प्रजातान्त्रिक आन्दोलन सफल पार्नका लागि चैत्र २४ र २६ गतेको काठमाडौ उपत्यकामा उर्लिएको लहरले नै निर्णयक भूमिका निर्वाह गरेको थियो ।
नेकपा संयुक्तका तत्कालिन केन्द्रीय सदस्य तथा भञ्ज्याङ दैनिकका प्रधान सम्पादक बरिष्ठ पत्रकार भिमाद नगरपालिका, तनहुँका विश्वबन्धु भण्डारी, पूर्वमन्त्री तथा सभासद मालवर सिंह थापा (एमएस), नेत्रपाणि गौतम, तिलक आचार्य (बरिष्ठ अधिवक्ता) लाई २०४६ साल माघ २१ गते पोखराबाटै पक्रिएर कास्की जेलमा राखिएको थियो । त्यसै गरी नेपाल प्रगतिशील विद्यार्थी युनियनका तनहुँका जिल्ला अध्यक्ष तथा पृथ्वी नारायण क्याम्पस पोखराका प्रारम्भिक कमिटीका अध्यक्ष घनन्जय खनाललगायतलाई आन्दोलनको सुरुवातकै समय फागुनमै पक्राउ गरिएको थियो । खनाललाई स्याङ्जा जेलमा राखिएको थियो । नेबिसंघका कुल प्रसाद गुरुङको गिरफतारी पश्चात पोखराका कमाण्डर विद्या बराल पनि पक्राउ परे । पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरु गेहेन्द्रश्वर कोइराला (जो पछि पृथ्वी नारायण क्याम्पसको प्रमुख बने), धर्मनाथ प्रसाद साह (सिराहा, जो कानूनमन्त्री र २०७० सालमा नेकपा एमालेबाट सभासद समेत भए), डा. भूपति ढकाल (प्राध्यापक संघको केन्द्रीय अध्यक्ष, स्याङ्जा) पक्राउ परिसकेका थिए । तीनै जना प्राध्यापकहरु पोखरामा पक्राउ गरी १५ दिन जति पोखरा जेलमा राखेर डेडमहिना मुस्ताङ जेलमा राखियो । त्यसपछि बिरामी भएका कारण स्याङ्जा जेलमा सरुवा गरिएको थियो । पृथ्वी नारायण क्याम्पसका तीनै जना प्राध्यापकहरुलाई जागिरबाट समेत निलम्बन गरिएको थियो ।
पञ्चायती प्रशासन निर्मम बन्दै गएपछि मलाई पोखरामा बस्न अझै असहज बन्यो । मेरो दाइकोे पोखरामा निजी विद्यालय सञ्चालनमा थियो । म त्यहाँ बसिरहँदा विद्यालय सञ्चालनमा समेत झनै असहज हुने अवस्था आउने निश्चित भयो । किनकी पञ्चायत विरुद्ध आन्दोलन परिचालन सम्बन्धी कतिपय कार्यक्रम र बैठकहरु त्यही विद्यालयमा पनि हुने गर्दथ्यो । र, म आफ्नो घर स्याङ्जा तर्फ गएको थिएँ । पञ्चायत व्यवस्था बिरोधी विद्यार्थी नेताहरु स्याङ्जा, कास्की, तनहुँ जेलमा लगेर थुनिएको थियो । लक्ष्मी कार्की जस्ता क्रान्तिकारी विद्यार्थी नेताहरु प्रहरीको कष्टडीमा चरम अमानविय यातना खप्दै बसिरहेका थिए । हामी पोखरामा आन्दोलनमा लागिरहँदा सबै जसो पञ्च मात्रै रहेछन् प्रजातन्त्रको पक्षपाति त कोहि रहेनछन् भन्ने लाग्थ्यो । तर, जब बहदुलको घोषणा भयो तब भने कम्युनिस्ट र कांग्रेसका ‘चवन्नी सदस्यहरु’ अनगिन्ती देखिन थाले । आन्दोलनमा कमाण्डर बनेका विद्या बराल, झलक सुबेदी, लक्ष्मी कार्कीहरु अहिले निस्क्रिय बस्न बाद्य भए । क्याम्पसमा सुधारका माग गरेर आमरण अनसन बसेर चर्चामा आएका श्री नाथ बराल पनि जिल्ला विकास समितिको उपसभापति बनेर चित्त बुझाएका छन् । तर, आन्दोलनमा प्रतिकार समितिमा बसेकाहरु धमाधम राजनीतिक नियुक्त खान थाले र नेताहरुको प्रियपात्र बन्न थाले । नेताका बेडरुमसम्म उनीहरुको सहज पहुँच हुन थाल्यो । त्यहि रमाइलो हेर्दै हिजोका क्रान्तिकारीहरुको अनमोल समय अहिले पनि बित्दैछ ।
को थिए सूर्य बहादुर केसी ?
जेठ, १०, २०१४ मा पोखराको मझेरी पाटनमा आमा पदम कुमारी र बाबु किर्ति बहादुर केसीका सन्तानका रुपमा जन्मिएका सूर्य बहादुर केसी (सिताराम)ले २०२८ सालमा १४ वर्षकै उमेरमा रारा चाउचाउको कारखाना राख्ने योजना बनाए । स्नातकसम्मको अध्ययन गरेका तीन सन्तानका बाबु केसी २६ वर्षको उमेरमै पोखरा नगरपञ्चायतको प्रधानपञ्च बनेका थिए । केसी लायन्स क्लव अफ पोखराका संस्थापक, नेपाल मेडिकल कलेज जोरपाटीका संस्थापक, इन्जिनियरिङ कलेज भक्तपुरका निर्देशक, हिमश्री नुडल्स प्रालि, एभरेष्ट नुडल्स प्रालि, केसी कन्स्ट्रक्सन, हिमालयन गोल्फ कोर्स पोखरा, पृथ्वी हाइड्रो कम्पनी लिमिटेडका अध्यक्ष र माछापुछ्रे बैंकका कार्यकारी अध्यक्षसमेत भएका थिए । राजनीतिमा पनि उत्तिकै सक्रिय केसी राप्रपाको केन्द्रीय स्तरका बिभिन्न पदमा रहेर काम गरिसकेका नेता हुन् । उनी नेपाली कांग्रेसमा प्रवेश गरेर आमन्त्रित केन्द्रीय सदस्य समेत भए ।
२०६४ सालको संविधानसभामा राप्रपाबाट समानुपातिक सभासद बनेका केसी २०७४ सालको संघीय संसदको निर्वाचनमा भने नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बने । केसीको ६३ वर्षको उमेरमा भएको असामायिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तृप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।