Fri. Nov 27th, 2020

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

लक्ष्मी प्रसाद देवकोटासँग सिकेको पहिलो पाठ

1 min read

डा. मथुरा श्रेष्ठ



वि.स.२००५ सालको कुरा जस्तो लाग्छ मलाई । म दरबार हाई स्कूलमा फिफ्थ क्लासमा पढ्थे । त्यो बेला क्लास उल्टोबाट गनिन्थ्यो । १० क्लासलाई फस्ट, ९ लाई सेकेण्ड र यस्तै यस्तै । हरेक शुक्रबार एक्सट्राकरिकुलर सेसन भनी छुट्याएको भए पनि कहिलै आयोजना गरिदैनथ्यो । म र मेरो भाइ द्वारिका सेकेण्ड क्लासमा भइरहेको यस्तै सेसनमा सहभागी हुन गयौं । तर हामीलाई छिर्न दिइएन सानो क्लासको भनेर । हामी मर्माहत भएर हाम्रो क्लास शिक्षक नेपाली पढाउने गुरूसँग हाम्रो कक्षामा पनि त्यस्ता सेसनहरू खाली नराखी नियमित चलाउन आग्रह ग¥यौं । पहिला बादबिबादको सेसनमा कसैले नाम नलेखाएकोले नचलाएर खाली छाडने गरेको रहेछ । क्लासका धेरै जसो आउने भए खुसीको साथ सेसन चलाउने भन्दै क्लासका बिद्यार्थीहरू नभागी राखी राख्ने जिम्मा हामी दुई भाईलाई नै दियो। क्लासका सबै सहपाठीहरू संग हामीलाई छिर्न नदिएको कुरा राखि हामी पनि किन सेसन सुरु नगर्ने र गुरुले धेरै जसो क्लासका विद्यार्थी नभागि बसे सुरु गर्ने भनेको भने पछी सबै नभाग्ने भनी सल्लाह भयो । त्यस पछि गुरुसँग संयोजन गरि गुरुले तय गरेको विषयमा कहिले वादविवाद, कहिले कविता बाचन गोष्ठी, कहिले निबन्ध प्रतियोगिता, कहिले कथा लेखी बाचन गर्ने प्रतियोगिता आदि ।
स्काउट माष्टर नीरमर्दन बस्नेतले हामीलाई कसरी आयोजना गर्ने र व्यवस्थापन गर्ने भनी निक्कै चासो दिएर मद्धत गरेकोले सजिलो पनि भयो । गुरु बाहेक हाम्रा क्लासकोे सेसनमा वहाँ पनि आएर बस्नु भई हौसला दिने गर्नु हुन्थ्यो । बिस्तारै उपस्थिति फेरि पातलिंदै गएकोले के गर्ने भन्ने अन्योलमा पर्दा नीरमर्दन माष्टर साहेबले एउटा नाम चलेको कवि वा लेखकको प्रबचन आयोजना गर्नु भन्नु भयो । त्यो बेला राणाशासन भए पनि हामी मध्ये केही कुनाटोल बासी बासुदेबानन्द बैद्य, बिद्याहर्ष बज्राचार्य र असन निवासी गौरी भक्त प्रधानसँग गोप्य रुपमा माक्र्सवादी दर्शन र राजनीति शिक्षा पनि लिने गरेकोले हामीले विषय तोक्यौं “मानव विकास र भाषा, साहित्य र सभ्यताको विकास” र प्रबचन दिन लक्ष्मीप्रसाद देबकोटा छान्यौं । क्लास शिक्षक गुरु र नीरमर्दन माष्टर साहेब पनि बिषय बस्तु र लक्ष्मीप्रसाद देवकोटा छानेकोमा खुसी हुनु भयो । नीरमर्दन ज्यूले सभ्यताको विकासको सट्टा समाजको उत्थान बनाउने सल्लाह दिनु भो । बिषय बस्तु कविजीसँग छलफल गरि निधोे गर्नु भन्नू भो । वहाँले यो पनि भन्नु भो कि तेत्रो ठूलो कवि बोलाउँदा पारिश्रमिक दिने व्यवस्था स्कूलमा नभएकोले कम से कम क्लास मिली प्रबचन पछि मज्जासँग खुवाउने व्यवस्था गर्नु भनेर क्लासमा छलफल गर्दा सबैले ४४ पैसा सहयोग गर्ने निर्णय भयो । (जुन् आधी भन्दा बढी साथीले दिन्छु भने पनि केहि जनाले दिनु भएन । जब आफैले लेखेको निम्ता पत्र लिई देबकोटाजीलाई चिन्ने र घर पनि थाह पाउने सहपाठी केशर अर्यालसँग देवकोटासँग भेट गरि आग्रह गर्दा खुसी भएर भन्नू भो, “बाबुहरूले चुनेको बिषय अत्यन्तै घत् लागेकोले म जरुर स्विकार गर्छु” ।


देवकोटा आउनु भएर त्यो आश्विन महिनाको शुक्रबार दिनु भएको प्रबचन यति रमाईलो र मनकारी थियो वातावरण ‘पीन ड्रप साइलेण्ट’ थियो र सबै मग्न थिए । वहाँ आफै पनि यति मग्न भई प्रस्तुति गर्नु भएथ्यो कि मानौ वहाँ आफैलाई आफ्नो प्रस्तुतिसँग एकाकार भै दिनु भएको थियो । केही अंश अहिले पनि बिर्सेको छैन मैले । “पहिला मान्छे एक दुई शव्द उच्चाहरण गर्न बाहेक बोल्न जान्दैनथे । उँ, आं उच्चारण गरि इसारै इसारैले काम चलाउँथे । पछि प्रकृतिसँग संघर्ष गर्दा गर्दै बोल्न सिके । जस्तै जब पानी पर्छ पानी पर्दा पट् पट् आवाज सुन्दै नक्कल गर्दै प,प, पा, पा भन्दै पानी भन्न सिके । त्यस्तै प्रकृतिमा सुन्दरीजलका जस्तै धेरै धेरै झरनासँग साक्षात्कार गर्नु पर्दथ्योे आदिम मानबले । झरनाको आवाज झर् झर् नक्कल गर्दै झरना भन्न सिके । जंगलमा पहिले आगो पनि लाग्ने र आगोले पोल्दा आत्थु भन्न जाने र आगो शब्द निकाले । जब हावा हुरी र आँधी आए, तिनिहरूले निकाल्ने र मान्छेले सुने अनुसार नक्कल गर्दा गर्दै हावा चलेकोबाट ह.. ह.. ह.. सिक्दै हावा, र हावाको गति तेज भएर हुरी हु हु गर्दा हुरी भन्न सिके । अझ तेजले चल्दा आउने आं आं आवाज नक्कल गर्दा गर्दै आँधी शब्द उच्चारण गर्न जाने । एवं रितले बोली बोल्ने किसिम र दायरा बिस्तृत र फराकिलो हुँदै गए र मानिसले एक आपस त्यहि उपयोग गर्ने र त्यहि नै बुझ्न समेत गरे । बोलीका समूह र प्रकार सबैले एकै किसिमले बोल्ने र बुझ्ने गर्दै गर्दा भाषाको विकास भयो र सँगसँगैै मानव विकासले छलाङ्ग मार्दैै ग¥यो । आपसमा अन्र्तक्रिया गर्दै, सहकार्य गर्दै काम गराईमा समानजस्यता ल्याउन जानी मानव जनावर भन्दा धेरै माथि पुग्न सफल भए र प्रकृति र प्रकृतिका घटना नीयमलाई झन झन बुझन थाले र मानव भाषाको कारण शक्तिशाली हुँदै आए । यही विकास क्रममा मानिसले आफ्ना सुझबुझ, ज्ञान, भावना र कल्पनाका आयामहरू बढाउँदै आफुले बोल्ने भाषालाई निश्चित, भरपर्दो र सबैले त्यहि किसिमले बोल्ने र बुझ्ने गरि ब्याकरणीकृत, र सुसंस्कृत गर्दै लान सिके र तदनुरुप प्रयोग गर्दै लगे । आदिमकालमा मानवले सिक्दै प्रयोग गर्दै पहिले चट्टानहरूमा पेण्टिङ्ग गरि चित्र बनाउँदै आधुनिक चित्रकलाको विकास गरे जस्तै ।
यसरी भाषालाई व्यवहार, कल्पना र भावनाले विभिन्न किसिमले प्रयोग र परिष्कृत गर्दै गद्य, पद्य वा कविता, गीत र गीत सँगसँगै संगित र अनेकन विदाका विकाससँगसँगै साहित्यको विकास हुँदै आयो । बाद्य बाधन र कला पनि सँगसँगै विकास भए । साहित्य सँगसँगै मानिसको बढदो आयु, जनसंख्या, समूह समुहमा र समूह भित्र पनि एकआपसमा हुने द्वन्द्व, अन्तरद्वन्द्वलाई झगडा, युद्ध र घात अन्तर्घात गर्दै बचाउँको लागि आआफ्ना नीति नियममा बाधेर समाज र पछि कबिला बन्दै राज्य बने र राज्यहरू पछि बिभिन्न किसिमको राष्ट्र, साम्राज्य आदि बन्दै अहिलेको विश्वका बिभिन्न संस्कृति, सभ्यता बन्दै गए । समाजको गति र समाज भित्र बाहिरको बनोट गतिशील परिवर्तनशील भएकोले मानव विकास र मानव समाज निरन्तर परिबर्तनशील र विकसित हुँदै जाने प्रकृया हो । आदी आदि” ।
प्रबचन टुङ्ग्याए पछि बिद्यार्थीहरूलाई नबुझेको वा थप जान्न प्रश्न सोध्न भन्नू भो । दोह¥याएर आग्रह गर्दा पनि गुरु र नीरमर्दन माष्टरसाहेवले प्रश्न गर भन्दा पनि कोहि बोल्ने हिम्मत गरेनन् । म पनि सोध्न डराई रहे पनि केही त सोध्ने हिम्मत गरें । र, सोधें कवि बन्न के गर्नु पर्छ भनेर सोधेकोमा खुसी भएर देबकोटाजीले भन्नू भो, यस्तै “कवि बन्न प्रथम त आफुले भावना र कल्पनाको निस्फिक्री छाडेर साधना गर्नु साथ साथै प्रकृति, समाज र आफ्नै मन, मस्तिष्क र आत्मा भित्र गई, जान सकि र अझ सके पूरा आत्मसात वा समाहित भई श्रृजना गर्न प्रकृति, मानव र समाजसँग भिजेर अन्तरक्रिया गर्न सक्नु पर्छ । चाह्यौ भने तपाईं हामी सबै कवि बन्न सक्छौ । यो हुने वा उ नहुने केही बन्देज वा मापन हुंदैन । जन्मैले कवि बन्छ भन्ने कुरा मलाई लाग्दैन। तर जे मा पनि पोख्त हुन लगाव र कृयाशील भई रहनु पर्छ। यो प्राकृतिक नीयम हो। कवि बन्ने प्रक्रिया त्यहि नै हो । कवि बन्न लगनशील भई प्रकृति लगायत सबै विद्यामा क्रिया अन्र्तक्रिया गर्दै भावना र कल्पनाले परिष्कृत गर्न प्रयत्नशील हुनु पर्छ जस्तो लाग्दछ मलाई । यसरी लागू हुन त्याग र तपस्या पनि गर्नु पर्ने हुन्छ । परे साधनाको लागि दुःख कष्ट खुसी ब्येहोर्र्न तयार हुनुपर्छ । ‘दाल भात डुकु’ र त्यसमा पनि अझ ‘साग र सिस्नु’ सम्ममा मस्तिन जान्दै श्रृजना गर्न प्रयत्नशील हुनु पर्छ ।
प्रवचन पछि भोटाहिटी तिरको ढोका अगाडिको मिठाई पसलमा कविज्यूलाई खाजाको व्यवस्था गरेका थियौं । जसमा जेरी, स्वारी र हलुवा थियो । देवकोटाजीले हामीसँग गफ गर्दै यति मज्जासँग खानु भो त्यो पनि अबिस्मरणीय थियो । वहाँ जे पनि लगनशील भएर लाग्न सक्नु हामी दुईभाइका लागि जीवन भरको सीको रह्यो ।
डा. श्रेष्ठ २०४७ सालमा अन्तरिम सरकारको स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *