April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

खै कसलाई आएको छ दशैँ ?

प्रतिमा पोख्रेल अरुण गाउँपालिका –५ भोजपुर

कविता

शरद ऋृतुको उत्साहित मौसमसँगै
हर्ष उल्लास सुख शान्ति समृद्धिका
उमङ्गित रङहरु बोकेर ।
वर्ग विभेद नगरी एउटै ढकमा जोखी
सम्पुर्ण नेपाली चेहराहरुमा
खुशिको रङ पोत्न सक्नु हो दशैं !,
तर र खै कसलाई आएको छ दशैं ?
उता र अनिकालले लुलिएर लर्बराइरहेको देश
महामारीको चपेटा भित्र झस्किरहेको देखिन्छ
यता सिरेटोले सेकिएका आङ्हरुमा
फेरिएका छैनन् नयाँ बस्त्रहरु
उही च्यातिएकै बस्त्र देखिन्छन् ,
ऋण चुक्ता गरी
एकसरो कपडा फेरौं भनी हिडेका परदेशीहरु
आफ्नो घर आउन नपाई
उतै क्वारेन्टिन
कैद रुममा अलपत्र छन् भन्ने सुनिन्छ
अनि र एकछाक नुन किन्न नसकी
अलिनो पानीको भरमा लम्पसार परिरहेका
सयौं ज्यामीहरुको बाँच्ने आशाको त्यान्द्रो
कम देखिदैछ,
भरिएका छैनन् मगन्तेका झोलीहरु
उस्तै सडक र पेटीमा भौतारिएको भेटिन्छ,
खै कहाँ आएको छ खुशीको दशैं ?
सुनसान छ गल्ली र बस्ती
छ्यापिएको देखिदैन घरहरुमा
कमेरो र रातो माटो ।
आँखाहरु बिछ्याइरहेकी छन् बुढी आमा
परदेशीको आगमनको बाटोतिर,
खसी किन्न नसकी रित्तै देखिन्छन्
गरिबीले सुस्ताइरहेका आगनहरु ।
उडेको देखिदैन आकाशमा
खुशीका चङ्गाहरु,
रोटे र लिङ्गे पिङको भिड्मा
कसैमा भेटिदैन भाइचारा सम्बन्धहरु,
खै कुन्नी कहाँ भर्दैछ दशैं ले आफ्नो खुसिको रङ !
दशैंको आशिर्वाद थाप्न घर आउन नपाई
पेसामा नै तल्लिन देखिन्छन्
पल्ला घरका डाक्टर साहेब,
आफ्नो उडानको स्थगन गरी
बर्षौ चाड् मनाउन नपाएको गुनासो
पोखिरहेका छन् पर पाइलटको
पगरी लगाएर बस्नेहरु,
आफ्नै आगनी प्रदेश बनाई
खुसी रहर र जवानीलाई
राष्ट्रसेवक सलामीमा सदासदा
छुट्टी नपाइ उभ्याइरहनुपर्ने
अमिलो तिक्तताको वाफ
मडारिरहेको आभास देखिन्छ
लाहुरेहरुको,
उफ ! खै कहाँ भित्रिएको छ त दशैंको रौनक ?
महँगी चुलिएर
भ्रष्टाचारीहरुको हस्तरेखामा घुमिरहेको
विराट राष्ट्रमा
कमिसनको बाजी जित्नेहरुको घरमा
आएको हुनुपर्छ दशैं ,

ठगी घुसखोरिको पोको सिरानीमा राखी
आराम लिइरहेका दरबारीया
महामानवहरुको सिंह दरबारभित्र
आएको हुनुपर्छ दशै,
खै कता कुन शहरमा आउँदैछ दशैं !
कि गरिबीको बस्ती र अनकन्टारका झुपडी
बिर्सिएर
जमिनदार र कंगाल मुलुक बनाउने
ठेकेदारहरुको तड्कभड्कमा
अलमलिएको हुनुपर्छ दशैं ।
खै कहाँ कस्लाई आएको छ दशैं
नत ओर्लिएको देखिन्छ
बिरमान र सुन्तलीको पिठ्युँको भारी
खै कहिँ कतै कसैलाई आएको देख्दिन
उमङ्ग बोकेको महान दशैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.