राजनीतिमा क्षमा हुदैन, प्रतिस्थापन हुन्छः उपाध्याय
ई.भीम उपाध्याय, पूर्व सचिव
नेताहरू आजकल संसदको बहुमत अल्पमतबाट हैन, गोली वा बन्दुकबाट हैन, पुलिस, सेना वा प्रशासनको शक्तिबाट हैन, कार्यकर्ताको बिरोधबाट हैन, टिभी, रेडियो वा पत्रिकाबाट हैन, सोसल मिडियाबाट भयंकर त्रस्त हुन्छन् । सोसल मिडिया प्रविधिले लोकतन्त्रको यथार्थमा एक एक ब्यक्तिलाई सशक्तिकरण गरिदिएर ईतिहासमा सबैभन्दा ठूलो राजनीतिक अधिकारको जगेर्ना गर्ने तथा प्रवर्धनको गुण लगाई दिएको छ । ब्यक्ति सशक्तिकरण गरिदिएको छ ।
लोकतन्त्र ब्यक्तिको अकुण्ठित स्वतन्त्रता लागि हो, संगठित झुण्ड र गुण्डाहरू मनपरिका लागि हैन। ब्यक्तिले झुण्डको दोहलो काट्ने अधिकार र सुनिश्चितताका लागि हो, झुण्डहरू बहुला कुकूर जसरी बटुवालाई टोक्न पाउनका लागि हैन । व्यक्तिगत स्वतन्त्रता र सुरक्षा गर्न सकिदैन भने त्यो लोकतन्त्र हैन । निरोगी स्वस्थ लोकतन्त्रका निम्ति अहिले दलीय युवाहरूको अपराधिकरण मुलुकको सबैभन्दा खराब र डरलाग्दो समस्या बनेको छ ।
उहिले मण्डलेहरूले बिपी जस्ता महान नेताहरू चढेर आएको हवाईजहाज यहाँ‘ अवतरण गर्न दिदैन थिए, अरूले भाषण वा आमसभा गर्न तयार पारेको मन्च भत्काउथे । अराष्ट्रिय तत्व अर्थात ‘चोरलाई फाँसी दे, फाँसी दे भनेर नारा लगाउथे । यी सबै बिष्मृत भइसकेको थियो । तर
नवमण्डलेहरु अहिले झन सशक्त हुदै पुनर्जन्म भएछन् । नयाँ संस्करण अरिंगाल, बघेनी, सिंह, डमरू, चील, छौडाका नाममा ! संस्कृत भाषाको स को पनि ज्ञान नभएका नेताहरू पन्चतन्त्रको कथा हाल्न पारंगत भएको देखिदैछन् । इतिहास दोहरिदो रहेछ ! बिगतका कुरा बिर्सौं, अब सुनौलो भविष्यको चिन्तन गरौं भन्दा पनि धर नपाईने रहेछ । हुर्काई, पढाई , बढाई कुसंस्कारग्रस्त भए पछि नयाँ असल बाटो हिड्ने कुरा असंभव हुदो रहेछ !
अहिले मुलुकको राजनीतिको मूल एजेन्डा संघीयता, लोकतन्त्र, वा धर्म निरपेक्षता हैन, ब्याप्त घोर भ्रष्टाचारको उल्मूलन हो । जबसम्म यसको नाकमा नत्थी लगाउन सकिदैन । यहाँ‘ कुनै पनि वाद टिक्दैन, विगतमा न टिकेको छ, न विकास र समृ्द्धि हुनेछ ।
जसले अगुवाई गरे पनि भ्रष्टाचार बिरूद्धको अभियानमा निःशर्त सबैले साथ दिनुपर्छ । यो वा त्यो, यसले वा उसले, यो वादी वा उ वादीले गरेको भनेर हेर्ने है, मूल कुरा भ्रष्टाचार हो । यो भए पछि, यही नै अहिलेको ज्वलन्त राष्ट्रिय सहमतिको न्युनतम एजेण्डा हुनुपर्छ ।
नभए, भ्रष्ट देशमा असल, सक्षम र इमान्दार युवाहरू बिदेश पलायन हुन्छन्, प्रतिभाहरू परदेशिन्छन्, लखेटिन्छन् । परिवारमा अभिभावकहरू बूढेसकालमा सन्तान पलायन भएकाले दुःखी र असहाय बन्छन् ।
स्वच्छ वा ईमानदार देशमा भ्रष्टहरू कुलेलम् ठोक्छन् । स्वर्ग भनेकै भ्रष्टहरूको रूवाबासी र भ्रष्टाचारको उल्मूलन हो । इमानदारहरुको सम्मान हुने हो । देशको माया छ, सही मानेमा परिवार र समाजमा सुख शान्तिको चाहना छ भने, शान्तिपूर्ण र एकलब्य बनेर निशर्त भ्रष्टाचार बिरूद्धमा लागिपर्नु सबै नेपालीको अहिले परम धर्म र कर्तब्य हो ।
जसले यसको बेडा उठाओस्, उसको होस्टेमा हैसे गरिएन भने सधै धूर्तहरूको फन्दामा परेर यस्तै निरन्तरको नारकीय जीवन जिउनुको विकल्प रहदैन।भ्रष्टाचार र यसको बिरोधीहरुको बिरूद्धको आक्रमण दुबै खतरनाक छ । भ्रष्टाचार बिरूद्धको आन्दोलन खतरनाक छ । यहि नै सही र यथार्थ पनि हो ।
नेताहरूका निम्ति त यो झन भयंकर खतरनाक छ । नेताहरूका मतियार कर्मचारी, ब्यापारी, एनजीओ र डनहरूका निम्ति पनि खतरनाक छ । भ्रष्टाचार बिरूद्धको आन्दोलनका बिरूद्धमा खतरामा परेकाहरू एकजुट हुन्छन् नै, त्यो पनि एक खतरा नै हो । भ्रष्टाचार संघीयता तथा लोकतन्त्रका प्रवर्धनका निम्ति झन खतरनाक छ । भ्रष्टाचारबाट पालित पोषितहरूले संगठित रूपमा भ्रष्टाचार बिरोधीको बिरूद्ध आक्रमण गर्छन् नै, यो स्वाभाविक खतरा हो । राजनीतिमा क्षमा हुदैन प्रतिस्थापन हुन्छ । राजनीति कठोर हुन्छ, भावनात्मकताले चल्दैन । जो राजनीतिमा भावनात्मक नाताले बहकिन्छ, त्यो अनाडी हो । राजनीतिमा क्षमा हुदैन, क्षमा माग्नुपर्ने हिसाबले राजनीति गर्नु मूर्ख बन्नु हा े।