पाँचौं संविधान दिवसका सन्दर्भमा
अध्यक्ष प्रचण्ड
आज आश्विन तीन गते पाँचौं संविधान दिवस हामी देशभित्र र बाहिर रहँनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी र दाजु–भाइहरुलाईमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया आफैमा पनि एउटा राजनीतिक महत्वको राजनीतिक परिघट्ना हो । २००७ सालको आन्दोलन खासगरी राणाशाही विरोधी आन्दोलनका क्रममा संविधानसभाबाट संविधान निर्माणको कुरा उठेको थियो । तर, त्यो व्यवहारमा आउन सकेन । लामो समयको संघर्ष र खास गरी ऐतिहासिक जनयुद्द, बाह्र बुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभामार्फत संविधान बनाउने नेपाली जनताको सपना साकार भएको हो । यद्यपी पहिलो संविधानसभा अत्यन्तै जटिल र चुनौतिपूर्ण ढंगबाट बढ्यो । पहिलो संविधानसभा सफल भएन र दोस्रो संविधानसभाबाट संघीय गणतान्त्रिक लोकतन्त्रात्मक संविधान निर्माण भयो ।
यो आफैमा मौलिक, गम्भिर र दूरगामी महत्वको परिघट्ना हो । आज हामी संघीय गणतान्त्रिक लोकतन्त्रको संविधानमा लिपिवद्ध भएका विचार, भावना र मान्यताहरुलाई व्यवहारमा उतार्ने प्रक्रियामा छौं । राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकबाट संघीयतामा, समावेसीता र समानुपातिकमा, धर्मसापेक्षताबाट धर्मनिरपेक्षतामा जाने कुरा एउटा युगान्तकारी राजनीतिक परिवर्तनको घोतक हो ।
यो परिवर्तनको अपेक्षा नेपाल राष्ट्रको अझ वृहत्तर एकता, राष्ट्रिय स्वाधिनता, आत्मसम्मानमा सुदृढिकरण, नेपाली जनताको समृद्धिको आकांक्षा, सबैखाले शोषण, उत्पीडन, विभेद, अन्याय र अत्याचारबाट मुक्त नयाँ समाज निर्माणमा जानु नै हो ।
पाँचवर्षको हाम्रो अनुभवबाट यहि नै हो भन्ने लाग्छ । यद्यपी इतिहास मुल्यांकनको हिसावमा यो लामो अवधि होइन । तर, फेरी पनि यसले के संकेत गर्छ भन्ने कुरा महत्वपूर्ण हो । यो पाँच वर्षमा संविधान घोषणा भयो । त्यसपछि निर्वाचनको महत्वपूर्ण प्रक्रिया बाँकी नै थियो । किनकी संविधान घोषणा भएपछि पनि निर्वाचन सम्पन्न हुने हो कि होइन भन्ने प्रश्न बाँकी नै थियो । किनकी संविधान घोषणा पश्चात देशका केहि ठाउँ खास गरी तराई मधेशमा असन्तुष्टि स्वरुप आन्दोलनको अवस्था थियो । त्यसलाई पनि सामेल गरेर निर्वाचन तिर जाने र संघीय गणतन्त्रलाई संस्थागत गर्ने चुनौति हाम्रा अगाडि थिए । हामीले त्यसलाई पनि पार ग¥यौं । यसमा मलाई खुशी र गर्व पनि छ ।
संविधानसभाको निर्वाचनमा देशलाई लैजानका निमित्त मेरै नेतृत्वमा सञ्चालित जनयुद्द, पछिका सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले गरेको बाह्र बुँदे समझदारी र ऐतिहासिक जनआन्दोलन हुँदै देश अन्ततः संविधानसभामा जान बाद्य भयो । आम नेपालीका निमित्त कम महत्वको कुरा होइन । र, संघीय गणतान्त्रिक लोकतन्त्रको घोषणा गर्ने ठाउँमा आइपुग्यो । आम नेपाली र त्यसका निमित्त अनवरत संघर्ष गर्ने तथा त्यसको नेतृत्व गर्ने पात्रको हैसियतले मलाई गर्वको अनुभूति हुन्छ ।
संविधान कार्यन्वयनको क्रममा देशलाई निर्वाचनको प्रक्रियमा लैजाने र एकतालाई सुदृढ गर्ने क्रममा मैले देश र जनताको सेवा गर्ने मौका पाएँ र स्थानीय तहको निर्वाचन प्रक्रियाको सुरुवात भयो । स्थानीय तहको निर्वाचन हुँदै प्रदेश र संघको पनि निर्वाचन सम्पन्न भयो र हामीले एउटा फड्को हान्यौ । त्यसपछि नेपाली जनताले चाहेको राजनीतिक स्थायित्व, आर्थिक विकास, समृद्धि, सामाजिक न्याय, सबै उत्पीडित जाति वर्ग, क्षेत्र, लिंग र समुदायलाई समानताको अनुभूति जस्ता प्रक्रियाको आवश्यकता थियो । पक्कै पनि हामीले वामगठबन्धन गरेर निर्वाचनमा जाने र कम्यनिस्टका दुई ठूला घटकहरुको एकता गरेर देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार बनाउने अवसर पनि मलाई प्राप्त भयो । यो पनि आफैमा ऐतिहासिक महत्वको कुरा हो ।
नेपाली जनताले पार्टीको त्यो एकतालाई सहर्ष स्वीकार गरे । हामीले चुनावमा अघि सारेको घोषणा पत्र र व्यक्त विचारलाई नेपाली जनताले विश्वास गरे । त्यसैकारण झण्डै दुई तिहाई बहुमतको मत दिएर राजनीतिक समृद्धि र स्थायित्वको नेतृत्व गर्ने अवसर प्राप्त भयो । नेपाली जनताको यो विवेक प्रति नतमस्तक हुन चाहन्छु । जनता प्रति फेरी पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यो बीचमा संविधानले निर्दिस्ट गरेका विषयहरु चाहे मौलिक अधिकारसँग सम्बन्धित होस् वा स्थानीय तह, प्रादेशिक तह र सघीय संरचनासँग सम्बन्धित अनगिन्ती ऐनहरु बनाउनुपर्ने आवश्यकता थियो । कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले समयमा नै ऐन बनाउने, अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई सहज बनाउने र खास गरी छिमकीहरुसँगको सम्बन्धलाई सुदृढ बनाउने काममा पक्कै पनि ध्यान दिएको छ । त्यसै गरी पूर्वाधार विकास र निर्माणमा पनि हामी अगाडि बढि नै रहेका छौं , नेपाली जनताले अपार विश्वास गरेर मतदान गर्ने बेलामा जुन अपेक्षा गरेका थिए, तिब्र गतिमा आर्थिक विकास हुनेछ, सामाजिक न्यायको व्यवस्था हुनेछ, समृद्धिको यात्राको त्रममा तिब्र बेगमा नेपाल अघि बढ्नेछ भन्ने अपेक्षा अझै पुरा हुन सकेको छैन भन्ने जनगुनासो हामीले सुनेका छौं । यस बीचमा देशको नेतृत्व गर्ने पार्टीभित्र धेरै उत्तार चढाव र विवादहरु पनि भए । यसै समयमा कोरोना भाइरस (कोभिड–१९) का कारण एउटा अप्ठ्यारो परिस्थितिको सिर्जना भयो । फेरी पनि हामीले हाम्रो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अघि बढाउँदै कोरोना भाइरसका विरुद्ध संघर्षको कार्यक्रमलाई पनि अझ बढि प्रभावकारी बनाउने प्रतिवद्धताका साथ हामी अघि बढिरहेका छौं । संविधानसभाको यो पाँचौं उपलक्ष्यमा आगामी साढे दुई वर्ष हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकारको अवधि अढाई वर्ष बाँकी नै छ । यो अवधिमा जनताले अपेक्षा गरे अनुसार विकासका परियोजनाहरु अगाडि बढ्नेछन् । राष्ट्रिय एकता र स्वाधिनता अझ सुदृढ हुँदै जानेछन् । किनकी राष्ट्रिय स्वाधिनता र एकताका दृष्टिकोणले केहि ऐतिहासिक कामहरु पक्कै पनि भएका छन् । सिमानाका समस्या समाधान गर्ने सन्दर्भमा, हाम्रो भूगोललाई हामीले आफ्नो नक्सामा आवद्ध गरेर भूगोललाई फिर्ता गर्ने सम्बन्धमा नेपाली जनता, सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजिबीहरुले संकल्प गरेका छन् । भोलिका दिनका लागि यो सुःखद् संकेत देश भित्र छ । त्यसकारण संविधान दिवसको यो ऐतिहासिक अवसरले हामी सबै नेपालीमा एकता र समृद्धि रुपमा अघि बढ्ने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । त्यसैगरी राष्ट्रिय एकता, राष्ट्रिय आत्म सम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसको अवसरमा मद्दत गर्नेछ भन्ने विश्वास लिएको छु । अन्तिममा फेरी एक चोटी संविधान दिवसको यो अवसर हामी नेपाली जनता, नेपालका राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजिबी सबैले संकल्प गरेर देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्यको कुरा निकै नै ऐतिहासिक र महत्वपूर्ण छ । त्यो समाजवाद उन्मुख राज्य बनाउनका लागि, सुशासनको निमित्त सबै दृष्टिकोणले हामीले समाजवादको भविश्य निर्माणका निमित्त संकल्प गर्ने दिनका रुपमा आजको दिन रहँने छ ।
आम नेपाली जनता र सबै राजनीतिक शक्तिहरु, नागरिक समाज, पत्रकार, बुद्धिजिवी सबैमा विशेष अपिल गर्न चाहन्छु । हामी सबै एक भएर राष्ट्रको एकता र जनताका समृद्धिको आकांक्षा पुर्ति गर्नका लागि अगाडि बढौं । संविधान दिवसले हामीलाई यहि सन्देश दिनेछ भन्ने विश्वास गर्दछु । साथै संघीय गणतन्त्रको साथ–साथै पाँचौ वार्षिक दिवस मनाउँदै गर्दा यसका निमित्त त्याग, तपस्या र बलिदानको किर्तिमान कायम गर्ने हजारौं शहीदहरु, हजारौं बेपत्ता योद्दाहरु, हजारौं घाइते र अपाङ्ग क्रान्तिकारीहरु नेपाली जनताका सबै असल छोरा छोरी प्रति हार्दिक श्रद्दाञ्जली र सम्मान व्यक्त गर्न चाहन्छु । साथै सबैका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । संविधान दिवसले हामी सबैलाई अझ अगाडि बढ्न सामाजिक न्याय सहितको नयाँ समाज निर्माण गर्न उत्प्रेरणा दिओस् भन्ने कामना गर्दछु । धन्यवाद ।