February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

गौतमको राष्ट्रिय सभामोह सपना मात्रै ?

वामदेव गौतमको राजनीतिक इतिहास झण्डै ५० वर्ष भइसकेको छ । उनी हक्की स्वाभावका स्पष्ट बोल्ने एकजना सोझा राष्ट्रवादी वामपन्थी नेता मानिन्छन् । गौतम अहिलेसम्म पार्टीमा होस वा सरकारमा दोस्रो स्थानमा मात्रै सीमित छन् । पहिलो पटक गृहमन्त्री बन्दा उनले स्थानीय निर्वाचनमा पार्टीलाई धेरै स्थान जिताएको भन्ने जस पनि नेताहरुले नै दिने गर्दछन् । उक्त समयमा गौतमले भने अनुसार काम नगर्दा तत्कालिन प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेललाई हटाएर ध्रुव बहादुर प्रधानलाई आइजिपी बनाएका थिए । उनी जत्ति पटक मन्त्री भए, गृहमन्त्री मात्रै बनेका छन् ।
चाहे उनी लोकेन्द्र बहादुर चन्दको क्याबिनेटमा होस वा प्रचण्डको क्याबिनेटमा नै किन नहोस् गृह तथा उपप्रधानमन्त्री नै गौतमको खाटी चिनारी हो । उनको समयमा अर्थमन्त्री बनेका रबिन्द्र ताथ शर्मा र गौतमको साँठगाँठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको भन्ने अपुष्ट समाचार बेग्रल्तै आउने गरेको पाइन्थ्यो । उनी २०५६, २०६४ र २०७४ सालको निर्वाचनमा बर्दियाबाटै हारेका हुन् । तर, २०४८, २०५१ र २०७० मा निर्वाचित भए । गौतमकै कारण झलनाथ खनाल र केपी शर्मा ओली पनि प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे । पार्टी अध्यक्षमा माधव नेपाललाई हराउन ओलीले वामदेवलाई तुरुपको रुपमा प्रयोग गरे । त्यसपछि ओलीले माधव नेपाललाई हराएर अध्यक्ष बने । पार्टीको अध्यक्ष बनेका ओली संसदीय दलको नेता भएकै कारण दुई पटक नै प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरे । त्यसै गरी झलनाथ खनाललाई तेस्रो पार्टीको अध्यक्ष भएकै समयमा प्रधानमन्त्री पदको १७ पटक निर्वाचन भएको थियो । त्यसपछि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा भवन नयाँ वानेश्वरमा पार्टीको आपतकालिन बैठक नै राखेर झलनाथ खनाललाई प्रधानमन्त्री बनाइदिए । त्यसको व्यवस्थापन मिलाउने शुत्र पनि वामदेव गौतम नै थिए ।
गौतमको पार्टीमा अतुलनीय योगदान भएपनि अहिले प्रधानमन्त्री ओलीको रोजाईमा डा. युवराज खतिवडा भन्दा पछि परेको स्पष्ट देखिएको छ । युवराज खतिवडालाई कतिपयले दरबारको मानिस भनेर आलोचना गर्ने गर्दथे । प्रधानमन्त्री ओलीले पार्टीमा पाँच दशक योगदान गरेका वामदेव गौतमलाई पछि पारेर डा. युवराज खतिवडालाई उत्तराधिकारी बनाउनु पनि आठौं आश्चर्य नै मान्नुपर्दछ । गौतमसँग राजनीतिक पात्रको रुपमा युवराज खतिवडालाई तुलना गर्नु भनेको स्वाभाविकै रुपमा अन्याय हुन जान्छ । तर, प्रधानमन्त्री ओलीले यो पटक पनि उधारो कबुलियत गराउनु राजनीतिक रुपमा वामदेवलाई दिएको एक प्रकारको धोखाधडी नै हो । गौतम आफु बहुमत कार्यकर्ता र जनता समर्थक भएको बर्दियाबाट हार्नु र अहिले पनि भुलभलैयामा पर्नु अर्को आश्चर्यको विषय हो । बर्दियाबाट निर्वाचनमा पछिल्लो पटक हारे पनि जीवनभर हारेका थिएनन् । तर, पनि उनी कुन सल्लाहकारको गलत सल्लाहमा परेर राष्ट्रियसभामा जाने जस्तो गलत निर्णय गरे, त्यसको परिणाम अहिले भोग्दैछन् । प्रधानमन्त्री ओलीले अझै अदालतमा रिट हाल्न लगाएर यसलाई थाति राख्ने अवस्थाको सिर्जना नगर्लान भन्न सकिदैन । नेपालको राजनीतिमा जनताको पक्षमा सिन्को नभाचेपनि कुटनीतिमा ओलीले सबैलाई पछार्दै आएको प्रष्ट देखिएको छ । कामै नगरे पनि भाग्यको भरमा ‘डोकामा दुध दुहेर पनि अडिने’ वातावरण प्रधानमन्त्री ओलीलाई बन्दै आएको छ । जनताहरु कोरोनाको संक्रमणमा वर्वाद भइरहँदा पनि ओलीले पार्टीमा बबण्डर गराएर ‘एक्लो दौडमा पहिलो’ हुने वातावरण बनाएका छन् ।
(वर्ष ९ अंक २३, २०७७ भाद्र २२ गते सोमवार डायरी एक्सप्रेस साप्ताहिकको सम्पादकीयबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.