April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

हामी खतरामा छौँ

नारायण कैलाश सिग्देल


पहिलो भाग
एउटा व्यवस्था फालेर अर्काे व्यवस्था ल्याउने उद्देश्यमा हाम्रा पुर्गा लागिरहे । हामी पनि लागि नै रह्यौँ । यसै सिलसिलामा कतिको ज्यान गयो । कतिको अँगभङ्ग भयो । कतिका बालबच्चा टुहुरा भए । कति नारीहरूको सिउँदोको सिँदुर पुछियो । त्यति मात्र होइन राष्ट्रको सम्पत्तिको अकल्पनीय क्षति समेत भयो । कहाली लाग्दा भिडन्त र त्यसको परिणामले सिर्जना गरेकोे त्रासदीपूर्ण अवस्था आज सम्झदा ज्याँन काँप्न थाल्छ । मुटु चर्किन्छ । मस्तिष्क स्तब्ध हुन्छ । अचम्म ती दिनहरूमा ताजा भएर दुखेका घाउहरू आजसम्म त खोटा बस्नु पर्ने हो नि । तर, झनै देश भयावह, कहालिलाग्दो र त्रासदीपूर्ण अवस्थामा धकेलिदै छ । जसको बारेमा आम स्वाभिमानी नेपालीले छातीमाथि हात राखेर सोच्नुपर्ने बेला आएको छ ।


देशमा क्रान्ति हुनु, खराब व्यवस्था समाप्त पारेर अर्काे नयाँ व्यवस्था ल्याउनुमा राष्ट्रको सान बढ्छ । जनता खुसी हुन्छन् । विगतमा भएको असिम पीडामा थोर बहुत अवश्य मलम लाग्छ । जनतामा खुसीयाली छाउँछ । यसको परिणाम पक्कै पनि फराकिलो हुन्छ । नेतृत्व सुन्दर भएमा जन अवसरहरूको ढोका खुल्छ । देशको व्यवस्था परिवर्तनले सामाजिक, सास्कृतिक, धार्मिक र आर्थिक क्षेत्रमा समेत सिर्जनशिलता, परिस्क्रियता र नयाँपन ल्याउँछ । व्यवस्थामा भएको परिवर्तनले राष्ट्रमा सदियौँदेखि निहित सामाजिक, सांस्कृतिक र धामिैक, जस्ता अमुल्य निधीहरूमा असामान्य हिसावले परिवर्तन नभै सामाजिक मुल्य मान्यताको विरासतमा रहेर समाजपाच्य परिवर्तन हुन्छ । जो सबैको र सधैँको लागि स्विकार्य पनि हुन्छ । तर कुनै बाहिरी दबाब वा लोभमा परी गरिने परिवर्तन वा स्थापनाले समाजको सदियौदेखिको मूल्य मान्यता एकाएक परिवर्तन भई राष्ट्रको सान, पहिचान र राष्ट्रको अपनत्व धरापमा पर्न सक्छ । जसको कारणबाट कालान्तरमा हाम्रो अस्तित्वको निसानी माटोमा मिल्न सक्छ ।


मोही माग्न जाँदा ढुम्रो लुकाइयो भने त्यसमा विश्वासनियता माथिको परिणाममा शंका उत्प
न्न हुन्छ । लेखकले आफ्नो कुरा स्पष्ट नराख्दा पाठकहरू रणभूलमा पर्न सक्छन् । जसमा लेखकमाथिको विश्वास हटेर जान्छ । लेखाइको स्तरमा समेत खोट देखिन सक्छ । त्यसैले मैले यहाँ कसैलाई पनि जालझेलमा नपारी वर्तमानमा हाम्रो राष्ट्रले असामान्य रुपमा व्यहोरी रहेको एउटा अतिनै डरलाग्दो र कहालीलाग्दो अवस्थालाई चिरफार गर्ने काम गर्दैछु । यस सम्बन्धमा थप टिका टिप्पणी यहाँहरूलाई नै छाड्न चाहन्छु ।
नेपाली समाज धर्म धारणको सम्बन्धमा यति बलियो समाज छ कि विश्वमा यस प्रकारको समाज सायदै होला । यहाँका मानिसहरूको तन, मन, धन र धर्मकै नाउँमा अर्पण भएको पाईन्छ । धर्मको नाउँमा घरभित्र मात्र होइन हरेक पाइला पाइलामा देउताकै झल्को दिने देउराली, मन्दिर, चौतारी, गुम्बज, मस्जिद आदि विभिन्न रुपले उनैको सम्झना स्वरुप स्थापना गरिएको देखिन्छ । यही धार्मिक सहिष्णुताले नेपाली समाज मजबुद, परिपक्व र प्रकृतिप्रेमी बनेको छ । तर केही वर्ष यता यो धार्मिक विरासतको चट्टानी स्वरुपलाई विविध लोभको कारणले चोइट्याउन खोजिदै छ । यसलाई छतविछ्त बनाएर आफ्ना कु स्वार्थहरू मिसाएर हाम्रो समाजको अस्मितालाई धमिलो बनाउन खोजिदैछ । हाम्रो समाजलाई धरासायी बनाइदै छ । समाजमा विकृति फैल्याएर आफ्नो स्वार्थ लादिदै छ । ईसाई धर्मको विविध रुप बनेर हाम्रो देशभित्र घुसेको सच्चाई, विश्वास, आत्मज्ञान बारे ती अशिक्षित जनतालाई के थाहा होला र ?
नेपालका खासगरी अधिकाँस दलित र केही जाति जनजातिहरू जो अशिक्षित छन् र उनीहरूलाई विदेशी धर्म अपनाए आफ्नो समाज र देशलाई के बेफाइदा हुन्छ भनेर बुझ्दैनन् । उनीहरुलाई ईसाई धर्म प्रचारकहरूले आफ्नो निसाना बनाइरहेका छन् । अहिलो हामी नेपालका सयौँ सुगम वा दुर्गम जुनसुकै गाउँमा जाउँ, प्रत्येकका घरघरमा बाइबल देख्न सकिन्छ । बाइबलको महत्वबारे चर्चा गरेको सुनिन्छ । बाइबल पढाएर, घोकाएर ‘हामी क्रिश्चियन होइनौँ, हामी त विश्वासी हौँ । हामी त सच्चाई हाँै’ भन्न सिकाइएको छ ।


हिजो आज गाउँहरूमा प्रत्येक शनिबार उनीहरूकै मेला लाग्ने गरेको छ । ठूलाठूला बस लिएर उनीहरू गाउँगाउँमा जम्मा भएर ईसाईका भजनहरूमा व्यस्त हुने गरेका छन् । दुई चार घण्टा नाच्ने, उफ्रने, बजाउने गरेका छन् । सर्वसाधारणलाई विश्वासी धर्ममा लागे रोग निको हुन्छ । घरघरमा झगडा हुँदैन । पति पत्नीबीच असमझदारी बढ्दैन । आत्माले शान्ति प्राप्त गर्छ । कष्ट निवारण हुन्छ । जन्मदा, मर्दा गर्ने झण्झटबाट मुक्त हुन पाईन्छ । थोर बहुत आर्थिक लाभ पनि हुन्छ भन्ने आश देखाएर उनीहरूको श्रम, समय र आर्थिक समेत शोषण गरेको पाइन्छ । यस प्रकारको अनावश्यक हरकतले नेपाली समाजको अवस्था केही वर्षभित्रमै अवश्य कंगाल बन्ने छ भन्ने अनुमान लगाउन सकिन्छ ।


घरभित्रको होस् वा बाहिरको आफ्नो महत्वपूर्ण काम छाडेर क्रिश्चियनिटीका भजन गाएर बस्नु हाम्रो नेपाली समाजलाई सुहाउँछ ? श्रीमान् खाडीमा पसिना चुहाएका हुन्छन् भने श्रीमतीहरू ईशाईका भजन गाएर मनोरञ्जन लिइरहेका हुन्छन् । त्यतिमात्र होइन नेपालैमा बस्ने श्रीमान् कामको लागि खेतबारीमा हलो जोतेका हुन्छन् भने श्रीमती एउटा झोला र झोलाभित्र ईसाई धर्मालम्बका विभिन्न पुस्तकहरू बोकेर धर्म कमाउन भन्दै गाउँतिर उक्लिएका हुन्छन् । अझै मैले सुनेको छु हरेक पटक कार्यक्रममा जाँदा झोलाभित्र पैसा फिँजाएर राख्न र मुठीमा कति आउँछ त्यो दान गर्ने रे । त्यसरी दानको नाउँमा शोषण गरेको पैसा बोराका बोरा उक्त धर्मका ठेकेदारहरूले विदेश पु¥याउने गरेको स्वयम् उनीहरू बताउछन् ।


के नेपालमा नेपालीहरूलाई ललाई फकाई धर्म परिवर्तन गराउन सक्ने व्यवस्था छ ? के नेपालमा विश्वका जुनसुकै देशका धर्मालम्बीहरूले आफ्नो धर्म प्रचार प्रसार गराउन सक्ने कानून छ ? धर्मान्तरले परिवार, समाज र राष्ट्रको अस्मितामाथि कस्तो असर पार्छ भन्ने कुरा सायद ती धर्मान्तर गर्दै गर्नु भएका आदरणीय, आमा, बुबा, दाजु, भाइ, दिदी बहिनीहरूलाई थाहा छैन कि ? आफ्नो बाबु, आमा, हजुरबाबा अझै त्यो भन्दा पनि अगाडिदेखि मान्दै आइएको धर्म त्याग्दैमा सबै प्रकारका रोग च्वाट हुन्छ । निको हुन्छ । तन्दुरुस्त भइन्छ भन्ने वाहियातको हो हल्लामा विश्वास गर्ने हामी नेपाली कति पानीमाथि छौँ भन्ने चुरो कुरो उनीहरूले थाहा पाइसकेका छन् । त्यसैले उनीहरूले नेपालका विभिन्न सम्प्रदायका मानिसीहरूलाई निसाना बनाएर आफ्नो मिसन लागु गरिरहेका छन् । त्यसमा उनीहरू सफल पनि भइरहेका छन् । यसरी हामी अरुको धर्म धारण गर्नमा उत्सुक हुनुको पछाडिका सबैभन्दा ठूलो रहश्य भनेको हाम्रो आर्थिक अवस्था नै हो । आर्थिक प्रलोभन नै हो । चाणक्य भन्छन् लोभले मानिसको बुद्धिलाई नै माथ गरिदिन्छ ।
क्रमश….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.