विरुवा हिजो र आज
बिश्वबन्धु भण्डारी, सम्पादक भन्ज्याङ दैनिक
स्याङजा सदरमुकामको सिद्धार्थराजमार्गबाट २० किलो मिटर पूर्व र पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडाबाट पश्चिम तर्फ ३५ किलोमिटरको दूरीमा पर्ने, शुक्ला गण्डकी नगरपालिकाको राईपुर क्षेत्रसँग सिमाना जोडिएको स्याङजाको विरुवा गाउँपालिका केही वर्षदेखी छुट्टै चहलपहलमा छ । परम्परादेखी नै फागुपूर्र्णिमाको दिनदेखि औसीसम्म १५ दिने मेला लाग्ने विरुवा बजार स्याङजा जिल्लाकै बीचमा पर्ने चारैतिर ग्रामीण क्षेत्रको केन्द्रको बजार भएकै कारण परम्परादेखि नै आकर्षणको केन्द्रमा थियो । गाउँपालिकाको मुकाम विरुवामा स्थापना भइसकेपछि थप चहलपहल सुरु भएको हो । ग्रामीणबासीको विकास निर्माण र प्रशासनिक केन्द्र समेत भइसकेपछि विरुवाले थप आकर्षण पाएको हो । फागुपूर्णिमाबाट सुरु हुने मेलामा बुटवल, तानसेन, पोखरा, बाग्लुङदेखी व्यापारीहरु मालसामान विक्रिका लागि आउने हुँदा त्यस क्षेत्रका स्थानीयबासीहरुको घरेलु उत्पादन बिक्री वितरण गर्ने र घरमा चाहिने लत्ताकपडा, नुनतेल अन्य मरमसला लगायत वर्षे खर्च जोहो गर्ने बजारको रुपमा परिचित थियो विरुवा । फागुपूर्णिमादेखी नै हजारौ हजारको मानिसको बीचमा ठेलो हान्ने खेल पनि प्रमुख आकर्षण थियो । कोल्मा ओरष्टेतिरबाट झर्ने म्याङ्खोला, ठोडी खोला, बास्ताराबाट आउने खोलाको दोभानमा पर्ने विरुवा फाँट वर्षातको बाढीबाट बगाउने र पुरिने हुँदा हिउँदमा बिराउन पर्ने भएकोले विरुवा नामाकरण भएको किम्वदन्ति रहेको छ ।
एक क्याम्पस, ९ वटा माध्यमिक विद्यालय र आधरभूत विद्यालयसमेत ३५ वटा विद्यालयहरु विरुवा गाउँपालिकामा रहेका छन् । इलाका प्रहरी कार्यालय, वाणिज्य बैंकहरु, कृषि सेवा केन्द्र त्यहा सञ्चालनमा रहेका छन् । पछिल्लो जनगणना अनुसार २५ हजार १८० जनसंख्या रहेको छ । विरुवा गाउँपालिकाको २०७६÷०७७ को वार्षिक बजेट ३३ करोड ८७ लाख ३० हजार छ । त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ को लागि ४० करोड ७२ लाख ९० हजार ३३४ बजेट विनियोजन भएको गाउँपालिकाको बजेट पुस्तिकाले जनाएको छ । किचनास, अर्चले, ललाङ, ओरष्टे लगायत ग्रामीण क्षेत्रको बीचमा पर्ने विरुवा सिद्धार्थ राजमार्गको पुतली बजारबाट काउले हुँदै विरुवासम्म, वालिङबाट बानेथोक देउराली हुँदै, त्यस्तै दुलेगौडाबाट साँखे, सालडाडा हुँदै विरुवा भएर ज्याग्दीघाट काली किनारसम्म प्रस्तावित करिडोर दुलेगौडाबाट मग्याम चिसापानी, प्यार्सिङ खहरे हुँदै विरुवासम्म कच्चि मोटरबाटोले सुविधा दिलाएको छ । यसरी हाम्रो ग्रामीण क्षेत्रमा यस्ता धेरै आकर्षण र ग्रामीणबासीका पायक पर्ने बजारहरु अहिले पनि स्थानीय आवश्यकता पुरा गर्न सुविधायुक्त अस्पताल, प्राविधिक शिक्षा जस्ता विषयहरु नहुँदा बसाइसराई रोक्न चुनौतिको विषय बन्दै आएको छ ।
मगर, बाहुन, क्षेत्री, गुरुङ, दमै, कामी, सार्की, नेवार, भुजेल, ठकुरी अल्पसंख्यान जातिमा कुँवर र मुश्लिमको पनि बसोबास रहेको विरुवाका स्थानीयबासीको चुनौती र आवश्यकताको विषयमा प्रश्न उठाउँदा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले प्राविधिक शिक्षा, सुविधायुक्त अस्पताल जस्ता विषयको अभावका साथै सडक यातायातलाई कालोपत्रे नहुँदा बसाइसराइ रोक्न अहिले पनि चुनौती कै विषय रहेको सुनाए । विरुवा गाउँपालिकामा बाहिरबाट मानिस बसाइ सरेर आउदैनन । २०१५ सालदेखी तराईमा पुर्नबास खुलेपछि बसाइसराई सुरु भएको र अहिले पनि गाउँबाट वालिङ, स्याङजा बजार, तराईतर्फ त्यस्तै दुलेगौडा खैरेनीटार, पोखरा, काठमाडौतर्फ बसाइ सर्ने लर्को रोकिएको छैन ।
गाउँपालिकाले कृषि उत्पादनतर्फ बृद्धि गर्न र सुन्तला खेतीलाई प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको ७ र ८ नं. वडा मनकामना क्षेत्रबाट उता केही वर्षदेखी ८ देखि १० करोडसम्मको सुन्तला निकासी हुँदै आएको र त्यहाँको मिठो सुन्तलाको उत्पादन बढाउन यस वर्ष पनि गाउँपालिकाले एक करोड ४० लाखको बजेट साझेदारीका लागि विनियोजन भएको बजेट पुस्तिकामा उल्लेख छ । यस्तै कृषि ज्ञान केन्द्रबाट पनि दुधका लागि नमुना भैंसीपालन, आलुलगायत तरकारी खेतीका लागि एक करोड २० लाख विनियोजन गरेको छ । यति हुँदाहुँदै पनि हाम्रा ग्रामीण बस्ति उजाड हुन छाडेको छैन । तसर्थ ग्रामीण पर्यटन लगायत ग्रामीण क्षेत्रमा स्वरोजगार विकासका लागि अझै पनि चुनौतीको विषय छ । यस वर्षको कोभिड–१९ कोरोनाको महामारीले रोजगारी गुमाएका र विदेशबाट विदेशबाट फर्केका युवा जनशक्तिलाई गाउँमै हातपाखुरा चलाउन र पसिना बगाउने वातावरण सिर्जना गर्न सकेमा विरुवा जस्ता गाउँपालिकाहरुका लागि चुनौती र अवसर संगसंगै अगाडी आइरहेको छ ।
साउन ३०, २०७७ मा प्रकाशित भण्ज्याङ दैनिकको सम्पादकीयबाट