विपन्न, गरिब र असाहायहरुलाई कर्म सञ्चालनका लागि निशुल्क सेवा प्रदान गर्दै आएका छौ ःअध्यक्ष, भण्डारेश्वर धार्मिक सेवा समिति

रमेश महर्जन, अध्यक्ष, भण्डारेश्वर धार्मिक सेवा समिति
० तपाई भण्डारेश्वर धार्मिक सेवा समितिका अध्यक्ष हुनुुहन्छ । सुरुआतमा यो निर्माण गर्नुपर्छ भन्ने प्रेरणा कसरी जागृत भयो ?
भण्डारेश्वर एक मुखे शिवको मन्दिर हो । यो रुद्रमतिको बगलमा रहेको छ । यो अलिक उचाईमा भएको हुँदा वि.स.२०४३ सालको बाढीले केहि भाग बगाएर लगेको थियो । त्यसपछि मन्दिरको संरक्षण गर्नुपर्ने जरुरी भयो । त्यसलाई संरक्षण गर्ने क्रममा यो संस्थाको सुरुवात भएको हो । यो समितिले विपन्न, गरिब र असाहायहरुलाई निशुल्क सेवा प्रदान गर्दै आएको छ । पशुपति क्षेत्र विकास कोषले सञ्चालन गरेको क्रियापुत्री भवनमा यो सुबिधा प्राप्त छैन । त्यसैले पशुपति क्षेत्रबाट भद्र भलाद्मीहरुले बिपन्न, गरिब र असाहायहरु भण्डारेश्वर धार्मिक सेवा समितिमा कर्म सञ्चालन गर्न पठाउने गर्नुहुन्छ । त्यसका निमित्त हामीले सहजिकरण गर्दै आएका छौं ।
० अहिले मन्दिर रहेको ठाउँको क्षेत्रफल कति छ ?
यो साढे दुई रोपनी जग्गामा छ ।
० यो मन्दिरमा जनताले पाउने सेवाहरु के के छन् ?
यो समितिले राज्यसँग समन्वय गरेर यहाँ निर्माणका कामहरु पनि गरेको छ । यसरी यो समितिले धार्मिक क्षेत्र संरक्षणका लागि स्थापना गरिएको हो र समाजलाई सहजिकरणका लागि क्रियापुत्री भवनको निर्माण गरेको छ । जसबाट स्थानीय हरुलाई ठूलो राहत हुन पुगेको छ ।
० यो भवन वार्षिक रुपमा कति जनाले प्रयोग गरेको पाईन्छ ?
लकडाउनको अवधिमा तीन महिनाका लागि बन्द नै गरियो । किनभने कोरोना भाइरसको संक्रमणबाट जोगाउन जरुरी नै थियो । तथापि अन्य समयमा निरन्तर रुपमा नै चलाएका छौं । एक वर्षको अवधिमा २०७५ साल वैशाख देखि चैत्र सम्मको १२ महिनाको अवधिमा २२१ जनले सेवा लिएका छन् ।
० यो भवनको संरचना निर्माणका लागि कति खर्च भयो र स्रोतहरु के–के हुन् ?
हामीले सबै संरचनाहरु स्थानीयकै पहलमा निर्माण गरेका हौं । राज्यबाट मात्रै मात्रै साढे दुई लाख रुपैया प्राप्त भएको थियो ।
० यहाँ बढि मानिसहरु जमघट हुने अवस्था रहन्छ र कोरोना भाइरस नियन्त्रणका लागि सुरक्षाका उपयाहरु के अप्नाउनुभएको छ ?
हामी यहाँ सबैलाई सामाजिक दूरी कायम गराउन अनुरोध गरेका छौं । साबुन पानीले हात धुने, सेनिटाइजर, मास्क र पन्जा लगाउन अनुरोध गरिएको छ । साथै यहाँ प्रयोग हुने ब्लांकेटहरु एक जनाले प्रयोग गरिसकेपछि पुनः सफाई गरेपछि मात्रै प्रयोग गर्न दिने गरेका छौं । यसरी यहाँ क्रियाकर्म गर्नेहरुका निमित्त १३ दिनसम्म नै यहि प्रक्रियाले सजगता अप्नाउने गरिन्छ ।
० अहिले यस खालको पुरातात्विक महत्वका मन्दिरहरु संरक्षणका लागि स्थानीय सरकारको पनि सहयोग गरेको पाईन्छ । यहाँको अवस्था कस्तो छ ?
हामी स्थानीय सरकारको सहयोग बिना चल्नै सक्तैनौं । स्वाभाविकै रुपमा ‘माटोको भर ढुंगा र ढुंगाको भर माटो’ हुनै पर्दछ । हाम्रो यो विशुद्ध सामाजिक संस्था नै हो । यसले सधै समाजको हितमा काम गर्दछ । स्थानीय सरकारले पनि संरक्षण गरिरहेको छ ।
० यो पशुपति क्षेत्र भएका कारण पनि क्रियापुत्रीहरुलाई यहाँ बाँदरले पनि दुःख दिने गरेको देखिन्छ । कसरी व्यवस्थापन गरिरहँनु भएको छ ?
वास्तवमा हाम्रा पुर्खा नै बाँदर थिए भन्ने हामी अध्ययन गरेर आएका हौं । यहाँको रुद्रमति भन्ने सिफल क्षेत्र नै बाँदरको बासस्थान मानिन्छ । हामी उनीहरुको क्षेत्रमा आएर बसेका छौं । मानव बस्तीले त उनीहरुको बासस्थान पो अतिक्रमण पो गरेको हो । त्यसैले उनीहरुले हामीलाई बिथोल्न खोज्नु त स्वाभाविकै हो । हामीले यहाँका बाँदरलाई कुटेर धपाउने होइन कि माया गरेर सहजिकरण गर्नुपर्दछ ।
० यो समितिले भविष्यमा यहाँको मन्दिर र यो क्रियापुत्री भवनलाई अझै व्यवस्थित बनाउनका लागि केहि गुरुयोजना पनि बनाउनुभएको छ कि ?
यहाँको मन्दिरका लागि जमिनको संरक्षण गरिसकेका छौं । मन्दिरको स्वरुपलाई पछिल्लो पटक पुनःनिर्माण गर्ने क्रममा पूर्व अधिराजकुमार धिरेन्द्र शाहले एक लाख पच्चिस हजार दिनुभएको थियो । त्यहि बजेटबाट यो मन्दिर बनेको थियो । यो मन्दिरमा त्यस अघि चारवटा बुर्जा थिएन । मन्दिरमा मुसलमानहरुले काम गरेका थिए । त्यसैले उनीहरुले चारवटा बुर्जा बनाइदिए । अतः हामीले मन्दिरलाई पुरानै स्वरुपमा ल्याउनका लागि योजना बनाएका छौं ।
हामीले तत्कालै एट्याच बाथरुम नभएका दुईवटा कोठामा बाथरुम बनाउनु पर्ने भएको छ । यहाँको साथै चार रोपनी जग्गा दिनका लागि गुठी संस्थानसँग कुरा पनि गरिरहेका छौं । उक्त जग्गा हाम्रो समितिलाई दिएको खण्डमा नर्सरीमा परिणत गर्नेछौं । किनकी पशुपतिमा दैनिक पुजा गर्न प्रशस्त फूल चाहिन्छ । साथै राम्रो पार्क पनि बनाउँछौं । पार्कमा उत्पादन गरिएका फूलहरुका कारण स्थानीयहरुलाई स्वच्छ हावा खाने रमणीय ठाउँ बनाउँदै छौं । तथापि संस्थानले व्यवसायिक रुपमा मात्रै खोजेको हुँदा अझै सम्भव भएको छैन । हामीले त जग्गाको संरक्षण र व्यवस्थित मात्रै गर्नेे छौं ।
० यहाँ क्रियापुत्रीलाई भेटघाटको लागि आउनेहरुका निमित्त पाकिङको पनि त समस्या देखियो नि ?
वास्तवमा यो मात्रै साढे दुई रोपनी क्षेत्रफल र त्यसैमा पनि भिर पहरा भएको हुँदा जग्गालाई भरमग्दूर सदुपयोग गर्ने क्रममा पार्किङ निकाल्न सकेका छैनौं । पाकिङका लागि धोबिखोला करिडोरको साइडमा व्यवस्थित गर्न लागिरहेका छौं । साथै हाम्रो अगाडिको भागमा ट्राफिक प्रहरीसँगको समन्वयमा एकलाइन पार्किङका लागि लिएका छौं । त्यसैले केहि सहज भएको हो ।
० त्यसका लागि बजेट पनि तर्जुमा भइसकेको अवस्था छ ?
पुरानो मन्दिरको नक्सा हामीलाई प्राप्त भइसकेको छ । त्यसैले पुरातात्विक ढंगले नै बनाउन लागिरहेका छौं । त्यो निमित्त योजना बनाएका छौं । प्राविधिकसँग बसेर छलफल गरी काम अगाडि बढाउँदै छौं ।
० यहाँको मन्दिर लगायत क्रियापुत्री भवन र अन्य संरचनाहरु भूकम्पिय दृष्टिको सुरक्षाको अवस्था कस्तो छ ?
२०५८ सालमा यो संरचना बनाउँदा जग हालिएको हो । त्यो समयमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्छ भन्ने थिएन । तथापि २०७२ साल वैशाखमा ठूलो बिनासकारी भूकम्प आएको समयमा काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा विर बहादुर कार्की नामका इन्जिनियर हुनुुहुन्थ्यो । उहाँ पहिला भन्डारेश्वर मन्दिर हेर्न आउनुभएछ । तर, यहाँ केहि पनि भएको थिएन । ‘उहाँलाई स्थानीय जनताले दिएको पैसाबाट राम्रो र बलियो भवन बनाएका रहेछौं भन्ने लागेछ’ । अहिले पनि यो भवनलाई माथिल्लो तला थप्नका लागि धेरै दाताहरु आउनुभएको थियो । तर, हामीले निर्माण गर्न दिएनौं । किनकी बढि ‘भार’ बनाएर जोखिम मोल्नु पनि भएन ।
० धार्मिक क्षेत्रमा आफ्नो स्वार्थ अनुकूल बनाउनका लागि बिभिन्न खालका दाताहरु आउने गर्छन् । त्यस प्रकारको दाताहरुको प्रवेश रोक्नका लागि कसरी व्यवस्थापन गर्नुभएको छ ?
हामीले दाताहरुको सहयोग स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा मापदण्ड नै तयार गरेका छौं । सकभर दाताहरुको पैसा नै लिदैनौं । काम आफै गरिदिनुहोस् भनेर आग्रह गछौं । हाम्रो स्थानीय समितिले त्यसको अनुगमन गर्दछ । यसरी दाता स्वयं नै आएर काम गर्दा उहाँहरुमा पनि सन्तुष्टि मिल्छ र हाम्रो पनि गुणस्तरीय काम हुन्छ । यसै कारण पनि हाम्रा दाताहरुको सहयोग सहज भएको हो ।
० संघ संस्थाहरुका सुरुवातमा मानसिक र शारीरिक श्रमका साथै आर्थिकको पनि आवश्यकता पर्दछ । तर, जब संस्था राम्रो र विश्वसनीय बन्छ । समिति भित्रैबाट खुट्टा तान्ने र नेतृत्वलाई असफल बनाउने होडबाजी चल्छ नि ?
हामी कहाँ त्यस प्रकारको प्रवृति छ भन्ने लाग्दैन । हामीले काम गर्ने क्रममा छलफल नगरी एकल निर्णय गर्दैनौं । त्यहि शैलीका कारण पनि यो परिस्थितिबाट मुक्त छौं ।
० अन्तमा थप केहि भन्नु छ कि ?
यो समितिले धर्म संस्कृतिका लागि काम गर्न खोजिरहेको छ । त्यसमा हामीहरु स्थानीयहरुको साथ सहयोगबाट मात्रै यो स्थानमा आइपुग्न सफल भएका हौं । यो नै संस्थाको ठूलो सम्पत्ति हो । यसलाई अझ वृहत बनाउनका लागि तपाईहरु सञ्चार माध्यमको पनि ठूलो भूमिका छ । साथै यो संस्थाका बारेमा उजागार गर्ने जुन अवसर प्रदान गर्नुभयो त्यसबाट संस्था गन्तव्यमा पुग्ने छ । साथै खोजेको विषय पनि प्राप्त हुनेछ । साथै, लक्ष्यमा पुग्न पनि थप सहज हुनेछ ।