January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

काठमाडौंलाई व्यवस्थित सहर बनाउनका लागि प्रयासरत छौंंःराम वीर मानन्धर, राज्यमन्त्री, सहरी विकास



बाबु अष्टनारायण मानन्धर र आमा चिनी माया मानन्धरका सुपुत्रका रुपमा वि.स. २०१९ साल चैत्र २८ गते काठमाडौंमा जन्मनुभएका राम वीर मानन्धर अहिले संघीय सरकारको सहरी विकास राज्यमन्त्री हुनुुहुन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र न.–७ वाट निर्वाचित मानन्धर २०७४ सालका संघीय संसद सदस्यको निर्वाचनमा पनि विजयी बन्नुभयो । वि.स. २०४६ साल देखि नै राजनीतिमा होमिनुभएका मानन्धर नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई संघीय संसदको सदस्यमा निर्वाचत गराउनका लागि आफ्नो सांसद पदबाट समेत राजिनामा दिएर चर्चामा हुनुुहुन्थ्यो । तर, काठमाडौंबाट वामदेव गौतम निर्वाचनमा नउठ्ने भएपछि पुनः फिर्ता लिनुभयो । देशमा कोभिड–१९ को महामारीमा बिपन्न, गरिब र असाहायहरुलाई राहत बाडेर होस वा काठमाडौंका सडकमा अतिक्रमितहरुको बस्ती हटाएर किन नहोस् राज्यमन्त्री मानन्धर चर्चामा हुुनुहुन्छ । अति व्यस्त समयका वावजुद पनि राज्यमन्त्री मानन्धरसँग डायरी एक्सप्रेस साप्ताहिकका तर्फबाट कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको टेलिफोन अन्तर्वार्ताः

० सडक विस्तारका क्रममा स्थानीय स्तरमा केहि असन्तुष्टिका समाचारहरुमा आएका छन् । वास्तविकता के हो बताइदिनुस् न ?
वास्तवमा उहाँहरुको त्यो ठाउँको लालपुर्जा छ कि छैन । उहाँहरुले जंगल अतिक्रमण गरेर बस्नुभएको हो कि होइन ? पहिला त्यहि विषयमा खोजि हुनुपर्दछ । जंगल अतिक्रमण गरेर कहिले देखि बस्दै आउनुभयो ? कसैले २०२५ साल देखि बस्दै आएको भन्नुुहुन्छ । लालपुर्जा भएका घरहरु पनि भत्काएर नै काठमाडौंका अधिकांश सडक विस्तार गरिएको हो । चाहे थानकोटको बाटा, नयाँबजारको बाटो बिस्तार वा लाजिम्पाटको बाटो बिस्तारमा किन नहोस्, हामीले त्यसै गरेका हौं । मैले वास्तवमा यहाँ बस्नेहरुको कोहि पनि असन्तुष्ट देखेको छैन ।


० सहरी विकासका नाममा उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता विकास समिति, नगर विकास कोष जस्ता आयोजनाहरु सञ्चालनमा छन् । काठमाडौंका स्थानीय तहका प्रमुखहरुले यि निकायको खारेज गर्नु पर्छ भन्नु भएको थियो । अहिले के हुँदैछ ?

हाम्रो सहरी विकास मन्त्रालय अन्तर्गत नै उपत्यका विकास प्राधिकरण पर्दछ । वि.स.२०५९ साल अर्थात आज भन्दा १८ वर्ष अघि देखि स्थानीय तहमा निर्वाचन भएको थिएन । त्यसैकारण यि संस्थाहरु क्रियाशिल भएका हुन् । यसको खारेजीका लागि उहाँहरुले एक्लै होइन, सरकारसँगको पो खारेजीको माग राख्नुुपर्दछ । यसरी स्थानीय तहका जनप्रतिनिधिहरुले खारेजीको माग गर्दा विधि र पद्धतिमा टेकेर व्यवस्थित रुपमा आउनुपर्दछ ।


० तपाई काठमाडौंको स्थानीयबासी पनि भएको नाताले सहरी विकासका लागि हालसम्म के कस्ता कार्ययोजना अघि सानु भएको छ ?
अहिले टोखा–छहरे सुरुङ मार्गका लागि अन्तिम सर्भे हुँदैछ । काठमाडौंको दहचोकबाट धादिङको सिस्ने खोलासम्म सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । देशभरमा १०÷१२ वटा नयाँ सहरको कल्पना गरिँदै छ । हामीले वीरगञ्ज र भैरहवाको एउटा ट्रान्जिट प्वाइन्ट बनाउन सक्नुपर्दछ । त्यसै गरी पोखरा र भैरहवाको एउटा ट्रान्जिट प्वाइन्ट बनाउनुपर्दछ । यसरी राजधानी काठमाडौंलाई व्यवस्थित सहर बनाउनका लागि एउटा प्रयासरत रहेका छौं ।


० अहिले व्यवस्थित सहर बनाउनका लागि कतिवटा गुरुयोजना तयार गरिएका छन् ?
हामीले राजमार्गको बीचमा २७ वटा सहर निर्माण गर्ने भनेका छौं । पाँच–पाँचवटा हिमाली सहर बनाउने योजनामा छौं । काठमाडौं उपत्यकामा जुन अव्यवस्थित बस्ती छ, त्यसलाई एकीकृत बस्ती विकाससँग जोडेर नयाँ सहरको कल्पना गरिएको छ । काठमाडौंको मुटुमा रहेको टुकुचा खोलालाई व्यवस्थित गरी बागमती र बिष्णुमतीलाई जोडेर व्यवस्थित बनाउने योजनामा छौं । विगतको ७० वर्षको कालखण्डमा संविधानसभा देखि हालसम्मको संसदीय बैठकका लागि हाम्रो भवन थिएन । जुन अहिले बनाउनका लागि योजनामै छौं । ठूला मेघाहलहरु, मूख्यमन्त्रीका क्वाटर देखि बिभिन्न खालका संरचनाका लागि तयारी गर्ने क्रममा अघि बढिरहेका छौं ।


० २०६५ सालमा मन्त्रीपरिषद्ले काठमाडौंका नदीहरुमा नदी किनाराबाट ६ मिटर देखि २० मिटरसम्म संरचना निर्माणमा रोक लगाएको थियो । अहिले त्यो निर्णय कार्यन्वयन भइसकेको हो ?
अहिले स्थानीय सरकारमा रहँनुभएका जनप्रतिनिधिहरुले विष्णुमती, बाग्मती, टुकुचा, मनोहरालगायतका खोला किनाराका अव्यवस्थित बस्तीहरु हटाउनु प¥यो भनेर माग राख्नुपर्छ । १८ वर्ष पछि निर्वाचित भएको स्थानीय सरकारले अहिले तीन वर्ष पुरा गर्न लागिसकेको छ । स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर अतिक्रमित जग्गाहरु बिस्तारै हटाउँदै मुलूकलाई समृद्ध नेपाल सुखि नेपाली बनाउनका लागि लागि पर्नेछौं ।


० कोभिड–१९ नियन्त्रणका लागि १२० दिन लकडाउन पनि भयो । तर, लकडाउन खोल्ने बित्तिकै बाहिरबाट अव्यवस्थित प्रवेश गर्नेहरुका कारण कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढ्यो । हाम्रो कमजोरी कहाँ रह्यो ?
हाम्रो जस्तो सानो मुलूक राजधानी केन्द्रित छ । यहाँका क्वारेन्टिन, आइसोलेसन देखि परीक्षणसम्म पनि द्रुत गतिमा चलिरहेको छ । अहिले विश्वका २१५ राष्ट्र नै कोभिड–१९बाट संक्रमित भएका छौं । यो महामारी कसैले संकेत गरेर आएको होइन । महामारीसँग जुध्नका लागि छिमेकी राष्ट्र भारत र चीन पनि समस्याबाट गुज्रिएका छन् । यी कुरालाई ध्यान दिएर हामीले सबै भन्दा उत्तम उपया लागू गरिरहेका छौं । अहिले राजधानी काठमाडौंमै बसिरहेका मानिसहरुबाट संक्रमित भएका होइनन् । नेपालमा कोरोना भाइरसका संक्रमितहरु अधिकांश भारतलगायतका देशबाट आएकाहरु नै हुन् । सरकारले आफ्नो क्षमता र हैसियतले काम गरिरहेको छ । तर, पनि यो संक्रमणलाई पार गर्नका लागि हामी सबै नेपाली दाजु भाइ, दिदी बहिनीहरु मिलेर काम गर्नुपर्दछ । साथै सरकारलाई सहयोग गर्नुपर्दछ । तथापि जनताहरु भोक–भोकै मर्न लागि सकेको अवस्था छ कसरी सहयोग गर्ने भन्ने प्रश्न पनि उठ्ला ।


अहिलेको कोरोना भाइरस (कोभिड –१९) समुदायमा फैलनुको कारण भारतसँगको खुला सिमाना र अव्यस्थित प्रवेश पनि हो ?
अहिले ७० वर्षको कालखण्डमा नेकपाको नेतृत्वमा पाँच वर्षका लागि स्थायी सरकार बन्नेको छ । हाम्रा १५÷२० लाख नेपालीहरु रोजगारीका लागि भारततर्फ गएका छन् । सीमा सुरक्षा, राष्ट्रियताका कुराहरु नेपाल सरकारले प्राथमिकताका साथ उठाईरहेको छ । जुन कुराको आम जनताले महसुस गरिरहेका छन् ।
० आत्मनिर्भरका कुराहरु पनि यो विपद्ले सिकाएको हो ?
पक्कै पनि हो । हामीले काम गरेर देखाउनु पर्दछ र आत्मनिर्भर हुन सिक्नुपर्दछ । हिजोका असमान सन्धि सझौताहरु, सीमा, नक्सा र पानीका विषयका विवादहरु दुई राष्ट्रबीच बसेर वार्ता गर्नुपर्दछ । छिमेकी मुलूकसँग हिजो गरिएका सन्धि, सम्झौता र सहमतिहरु व्यवस्थित तरिकाले राखेर ठूलो र सानो भनेर होइन समान हैसियतमा वार्ताद्धारा हल हुनुपर्दछ ।


अहिले कोभिड–१९ को महामारीमा पनि कतिपय ठाउँमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु स्थानीयहरुबाट दूरव्यवहारमा परेका छन् । तपाईहरुले यो विषयलाई कसरी लिनुभएको छ ?
हाम्रो देशमा अहिले पनि स्वास्थ्यकर्मीहरुको संख्या औलामा गन्न सकिने अवस्थामा छन् । स्वास्थ्यकर्मीहरुले हाम्रै सेवामा मानव धर्म निभाएका छन् । त्यो कुरा हामी सबैले बुझ्न जरुरी छ । त्यो समस्या सरकार समक्ष होइन हामी आफै पनि समाधान गर्नुपर्ने थियो । अहिले विश्वभर देखिएको महामारीको प्रकोपलाई सबै जना एक जुट भएर समस्याको नियन्त्रण गर्न जरुरी छ ।


अन्तमा थप केहि भन्नु छ कि ?
हामी नेपालीहरु धर्म र जातका विषयमा कहिल्यै पनि लडेनौं । हाम्रो देश अनेक विविधताले भरिएको छ । हाम्रा समस्याका समाधान पनि हामी सबै नेपालीहरु मिलेर नै गर्नुपर्दछ । यो महासंकटमा हामी सबै आ–आफ्नो ठाउँबाट मिलेर समाधान गर्न जरुरी छ । सरकारले अभिभावकिय भूमिका निर्वाह गर्दछ । तर, अभिभावकसँग हामीले कस्तो भूमिका र कर्तब्यबोध गर्नुपर्दछ ? त्यसका लागि आम नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु । सार्वभौम सम्पन्न हामी नेपालीहरुले विषम परिस्थितिमा पनि धैर्य भई काम गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.