October 13, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

दशैँको मुखमा संसद् क्यान्टिनका १५ जना करार कर्मचारी बिनासूचना बर्खास्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद् भवन र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनको महँगो मूल्य र अव्यवस्थापनबारे आवाज उठाएपछि त्यहाँ कार्यरत १५ जना करारका कामदारलाई बिनाजानकारी बर्खास्त गरिएको छ । दशैँको मुखमा असोज १५ गतेदेखि लागू हुने गरी उनीहरूलाई कामबाट निकालिएको हो ।
कामबाट निकालिएपछि उनीहरू सिंहदरबारभित्र आएर विरोध वा असन्तुष्टि जनाउन सक्ने भन्दै व्यवस्थापक राजकाजी महर्जनले सिंहदरबारको दक्षिण गेटमै रोक्न प्रहरीलाई सूचना दिएको पाइएको छ । नाम नबताउने शर्तमा एक कामदारले सुरुमा बिदाको दिनको पनि पैसा दिने भनिए तापनि पछि नदिइएको र आफूहरूलाई बासी भात खुवाउने गरिएको खुलासा गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रत्येक वस्तुको मूल्यसूची (दररेट) अनिवार्य रूपमा टाँस्न निर्देशन दिँदै आए पनि संसद्को क्यान्टिनमा हालसम्म मूल्यसूची कतै टाँसिएको छैन ।


सांसद सुनारको प्रश्न र क्यान्टिन व्यवस्थापनको जवाफ
सांसद सुनारले प्रतिनिधिसभा बैठक र विभिन्न मञ्चहरूमा संसद् परिसरभित्र सर्वसाधारण र कर्मचारीहरूलाई लक्षित गरी “पाँचतारे होटल“ को शैलीमा मनपरी मूल्य असुलिएको भन्दै आपत्ति जनाएका थिए । उनले संसद्को बरन्डामा एक कप कालो चियाको रु. १०० र मःमः को रु. ३०० सम्म लिने गरिएको भन्दै नेपालगन्ज, वीरगन्ज वा दैलेख जस्ता आम बजारकै मूल्यमा खाजा उपलब्ध हुनुपर्ने माग गरे । उनले प्रश्न उठाएको भोलिपल्टै (गत असोज पहिलो साता) संसद् भवनभित्र सञ्चालित अस्थायी क्यान्टिन बन्द गरिएको थियो ।
यस विषयमा क्यान्टिनका प्रबन्धक राजकाजी महर्जनसँग प्रतिक्रिया माग्दा उनले भने, “ती कर्मचारीहरू ल्यान्डमार्ककै भएकाले आफैँले काम छाडेका हुन् । ल्यान्डमार्क होटलले राखेका अन्य कर्मचारीहरूलाई हामीले अहिले पनि निरन्तरता दिएका छौँ । हामीले सञ्चालन गरेको एक महिना मात्रै भएको छ ।’’


मापदण्ड विपरीत सञ्चालन र ‘सेटिङ’ को विवाद

सिंहदरबारभित्र एउटै मात्र आधिकारिक क्यान्टिन सञ्चालन गर्ने निर्णय भए पनि कतिपय सहसचिवहरूको कोठा–कोठामा मनपरी ढङ्गले खाजा बनाएर सरकारी सम्पत्तिको दोहन भइरहेको आरोप लाग्दै आएको छ । सिंहदरबार भित्रैका कतिपय क्यान्टिनहरूमा बासी र अखाद्य वस्तु मिसाएर बेच्ने गरिएको अनुगमनका क्रममा भेटिने गरेको छ ।
त्यस्तै, संसद् क्यान्टिन सञ्चालनका लागि सोल्टी होटल लिमिटेडले कतिपय मापदण्ड पूरा नगरेको बताइन्छ । बोलपत्र (टेन्डर) आह्वान गर्दा दुईवटा पत्र एउटै खाममा राखी लाहाछाप लगाउनुपर्ने नियम विपरीत छुट्टाछुट्टै राखेको भन्दै उजुरी समेत परेको छ । संसद्को आन्तरिक व्यवस्थापनले नै चाजोपाँजो मिलाउने भएकाले यो प्रक्रिया सधैँ ‘सेटिङ’ मा हुने गरेको भन्दै विवादित बन्दै आएको छ ।


संसद् सचिवालयभित्रका अन्य अनियमितता
यस विषयमा संसद् सचिवालयका सचिव सुरजकुमार दुरासँग सम्पर्क गर्ने प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन । सचिव दुरा आफैँ प्रशासनको सहसचिव हुँदा आफ्ना सहोदर साला र सालीलाई करारमा नियुक्ति दिलाएको भन्दै विवादमा तानिएका थिए ।
खाना र खाजामा मनपरी बिल बनाएर अकुत कमाउधन्दा चलाउने एकथरी पुराना कर्मचारीहरू अहिले पनि संसद्मा सक्रिय छन् । केही वर्ष अघि स्टोरका एक कर्मचारीले कार्यालयको गलैँचा (कार्पेट) समेत गाडीमा हालेर घर लैजाँदै गर्दा थाह भएपछि बाटोबाटै फर्काइएको थियो, तर उनीमाथि कुनै कारबाही भएन ।


४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.