April 19, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पोखरेल वंशका ऐतिहासिक पुरुष शिवलाल


डिल्लीराज पोखरेल, खार्पा खोटाङ

इतिहासकार र पूर्वजको कथनको आधारमा आत्रेय गोत्री पानी पोखरेलले नेपाल प्रवेश गरेपछि बसेको मूलथलो दैलेखको दुल्लु, वर्तमानको रिजु पोखरा भन्ने ठाउँ र त्यसपछि पोखराको मूलथलो कास्कीको विन्ध्यवासिनी र सराङकोट रहेको पाईन्छ । हाम्रा पूर्वज भारतको हन्यानाबाट दुल्लुमा आउनु भएको र दुल्लुबाट रिजु पोखरा जानु भई बस्नु भएको देखिन्छ । रिजु र पोखरा एक आपसमा दायाँ र बायाँ तर्फ भएर बसेको छ । पूर्वतर्फ लाग्ने क्रममा पोखराबाट अर्घाखाँची हुँदै गोरखाबाट खोटाङ जानु भएको र एउटा हाँगो स्याङ्जा ओरष्टेमा गएर बसेको पाईन्छ । त्यस्तै स्याङ्जा ओरष्टेबाट फोक्सिङ र फोक्सिङबाट मट्टिखान हुँदै रहे बसेका पनि पोखरेलहरु पाईन्छन् । एक भाइ गोरखाबाट दोलखा गएर बसेका छन् । यसैगरी जतनपुर हुँदै खोटाङ सिम्पानी, सावाकटहरे धनकुटा आदिका गाउँ जिल्लामा गएर बसोबास गरेका पोखरेल छन् । त्यसैगरी गोरखाको छोप्राक गाउँबाट वि.स. १५०० मा पूर्व लाग्दै खार्पामा बस्न खार्पातर्फ हुुदै चार्खु, माम्खा, रुम्जाटार, कुभिण्डे, सुडा पुग्ने पं. हरिकृष्ण र पं. सत्यवतीका सन्तति मात्र खााणु आदिमा बसेका छन् ।


ओरष्टेबाट फोक्सिङ आएर बसोबास गर्नु हुने श्रीहर्कका छोरा शिवलाल पोखरेल स्याङ्जाको नुवाकोट दरबारमा पुजारी थिए । स्याङ्जाको नुवाकोट दरबारमा साँझ बिहानको पूजा गर्ने जिम्मा शिवलाल पोखरेलले लिएका थिए । शिवलालको पूजा गर्ने पद्धति र निजको आचरणबाट नुवाकोटकी रानी सन्तुष्ट थिइन् । शिवलाल ब्राह्मण गौसेवामा समर्पित थिए । यसै कारणले उनी दरबारमा पूजा गर्न ढिलो पुग्ने गर्दथे । बिहान तीन बजे उठी नुहाइधुवाई पूजापाठ गरी गौसेवा सकेर उनी दरबारमा पूजाका लागि शिवलाल स्याङ्जा जिल्लाको नुवाकोट दरबारमा जाने गर्दथे । यसरी पूजा गर्न जाँदा सधैं ढिलो हुन्थ्यो । एकदिन राजाले शिवलाल दरबारमा पूजा गर्न किन ढिलो गर्छन् ? भनेर रानीसँग सोधे छन् । त्यसपछि रानीले पूजा ढिलो हुनाको कारण शिवलालसँग पनि सोधिछन् । शिवलालले पनि आफ्नो घर टाढा भएको र आफूले गौसेवा पनि गर्नु पर्ने भएको हुँदा पूजा समयमै हुन नसकेको भनेर सबै कुरा विन्ति गरेछन् । त्यसपछि रानीले ब्राह्मणले भनेको कुरा साँचो हो वा होइन भनेर आफ्ना आठपहरियालाई शिवलालले थाहा नपाउने गरी दुईजना सेवकलाई पुजारीको घरको चालचलन बुझ्न पठाइछन् ।

सेवकहरूले नुवाकोट दरबारबाट स्याङ्जा मट्टिखान हुँदै फोक्सिङ आउँदा र जाँदा नै दिन बित्ने कुरा थाहा पाएछन् । ब्राह्मण बेलुका एघार बजे सुत्ने र बिहान २ बजे उठेर गौसेवा गरी स्याङ्जा जिल्लाको नुवाकोटमा पूजा गर्न जाने गरेको कुरा ती खटिएर गएका मानिसले रानीलाई भनेछन् । यसपछि रानीले शिवलाललाई बोलाएर तिमी त्यति टाढाबाट आउँदा रहेछौ । तिमीलाई साह्रै दुःख हुँदोरहेछ । अब तिमी कहाँ बस्न चाहन्छौ सो ठाउँ रोजेर भन भनिछन् । फोक्सिङ नुवाकोट ओहोरदोहेर गर्दाखेरी शिवलालले मट्टिखान भन्ने ठाउँमा ठूलो समतल परेको डाँडा र फाँट भएको देखेका थिए । त्यहाँबाट फोक्सिङ जान–आउन पनि लगभग आधा हुने जस्तो लागेर शिवलालले पनि मट्टिखानमा बस्न आफूलाई सुविस्था हुने र गौपालन पनि गर्न सजिलो हुनाको साथै खेतीपाती पनि गर्न राम्रो हुने ठानेर आफू बस्नको लागि त्यही फाँट पाउन रानी समक्ष विन्ती गरेछन् । रानीबाट पनि तत्कालै राजालाई बिन्ति गरेर स्वीकृत गराईछन् । त्यसपछि त्यो फाँट तिम्रो विर्ता भयो भनेर दिइछन् । त्यसै वखतमा रानीले आज उप्रान्त तिम्रा वंशको जिम्मुवालको काम पनि तिमीहरूले नै हेर्नु भन्ने पनि हुकुम गराइछन् ।
यसरी फोक्सिङबाट श्रीहर्कका छोरा शिवलाल मट्टिखानमा बसोबास गर्न थालेका हुन् । त्यसपछि आफ्ना वंशजको जिम्मुवालको कार्य पनि सम्हाल्न थाले भन्ने पूर्वजको कथनका अनुसार ओरष्टे तर्फका पुर्खा श्रीहर्क ओरष्टेबाट फोक्सिङमा बसेका र उहाँका छोरा शिवलाल मट्टिखान गई बस्न थाल्नु भएको कुरा मलाई हालै प्राप्त भएकाले सो कुरा पोखरेल दर्पणमार्फत अवगत गराउन प्रस्तुत गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.