नेपाललाई चक्रब्यूहमा पार्ने खतरा

प्रा.डा. बद्रीविशाल पोखरेल
नेपाललाई कमजोर पार्न यही देशका पुराना जरा गाडेका स्थायी शक्ति, बलिया पार्टी र उच्च स्तरका नेतालाई पहिलो तारो बनाउन खोजेको र बनाएको जगजाहेर छ । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले पूर्व प्रधानमन्त्री तथा नेका सभापति गिरिजा प्रसाद कोइरालालाई टेलिफोन संवाद गरेर नेका पार्टी विभाजित हुनु हुँदैन यसले देशमा संकट आउनसक्ने कुरा उल्लेख गरेको उहाँले नै बताउनु भएको थियो । देशका आन्तरिक अन्तर्विरोध र आन्तरिक द्वन्द्वमा पेट्रोल खन्याएर देशको अस्तित्व धरापमा परेका धेरैं घटना हामीले देखेका छौँ । भारतको विभाजन, पाकिस्तानको विखण्डन, सिक्किमको स्वाधीन अस्तित्व हरणका परिघटनाहरु उपयुक्त कारणले नै भएका हुन् । अहिले फेरि दुर्गा प्रसाई थरि व्यक्ति निमित्त नायक बनेर एमाले र ओली विरुद्ध फतुर फलाकी रहेको देखिन्छ । सकेसम्म हावाले उडाउने कसिङ्गरलाई कुचो किन लगाउने भन्ने धारणा अनुसार भित्री र बाहिरी लगन र लगानीबाट देशैभित्रबाट खुइल्याउने नियत स्पष्ट हुन्छ ।
भारतीय अनुकूल वा कन्फर्टेबल सरकार बनाउँदा चुइक्क नबोल्नेहरु देशघातीहरु अनेक कृत्रिम कहानी कथेर एमाले र ओली विरुद्ध ज्यान फालेर लागेका छन् । एक समय जननेता मदन भण्डारीलाई साझाको डाका र सात जोईका पोइ पनि भनेर अफबाह फैलाए । यस कुराको समर्थन सर्वोच्च नेताले समेत गरे । एक समय टी एन प्रधानको जाली नामबाट तत्कालीन एक साप्ताहिक पत्रिकामा एमाले विरुद्ध धाराप्रवाह लेख लेखेर बदनाम गर्न पनि खोजियो । विगतमा पटकपटक साम, दाम, दण्ड र भेद नीति अनुसार एमालेलाई समाप्त पार्न खोजिएकै थियो । स्व. खुम बहादर खडु्काले एमाले पार्टी फुटाउन अमुक नेतालाई ठूलै थैली दिएको कुरा सबैलाई थाहा भएकै कुरा हो । एमालेको बाग्मती प्रदेश स्तरीय जागरण सभामा बैरीहरुको ओठ तालु सुक्ने गरी एमाले जन र देशभक्त जनसमु्दायको उपस्थिति अपरिहार्य देखियो । बाह्य वा अन्तरिक प्रतिक्रियावादी शक्तिसित हामीले लड्नु र भिड्नु पर्दैन अड्दा वा हामी एक ढिक्का हुँदा हुन्छ, यो कुरा ओलीले नै भन्नु भएको थियो । शत्रुले आफ्नै घर आँगनमा आएर ठाडो चूनौति दिँदा कुनै पनि एमाले वा देशभक्त जनता रमिते भएर बस्तैन । ओली र एमाले सित रिस उठ्यो भनेर कसैले पनि देशको जग खोसिँ्रने र देशघाती काम गर्दैन ।
साँचो डग्दैन झुटो टिक्तैन भनेझैँ एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओलीविरुद्ध लगाएका नानाभाँती कपोल कल्पित लाञ्छना र आरोपहरु पनीको फोकाझैँ छिनछिनमा फुटेको देखिएकै छ । नेपालका लागि चीनियाँ राजदूतसित जोडेर ओली लाञ्छित फेक फतुर तुरुन्तै फुट्यो भने जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो देखाएर ओली निवास भनेर गरेको दुष्प्रचार सेलाउन धेरै दिन लागेन ।
पहिले पनि कम्बोडियाको टेलिकममा ओलीको मोटो आर्थिक लगानी छ भन्ने समाचार केवल प्रोपगण्डा रहेछ भन्ने स्पष्ट भएकै हो । यो फरेबी न्युज चल्तीको एक भारतीय मिडिया जी न्युजले प्रशारण गरेको थियो तर परिणामबाट उक्त समाचार सरासर झुट रहेको घाम जत्तिकै छर्लङ्ग भएको थियो । तैपनि हिजोआज फेरि एउटा फर्जी कागतलाई प्रमाण भन्दै ओली र एमाले विरुद्ध प्रोपगण्डा गरिरहेका छन् । तर बिर्तामोड निवासी सरोज ओली थरि अस्पतालमा उपचाररत आदरणीय अग्रज स्रष्टालाई मृत्युपछि पनि बीसौ दिन आइसियुमा राखेर दुर्गाको अस्पतालले ब्रम्हलुट मच्चाएको संग्रौला थरि वरिष्ठ उपन्यासकारले मलाई केही दिन अघि बताएका थिए ।
भारतीय जनता र नेपाली जनताका बीचको आपसी प्रगाढ मित्रता उल्लेखनीय छ तर इस्टइण्डिया कम्पनी कु प्रभावको भारतीय शासक नेपाल र नेपाली प्रति अत्यन्त नकारात्मक तथा खोटी सोच राख्छ । त्यसैले भारतीय कतिपय मिडिया नेपालप्रति चरम भ्रम फैलाउन उद्यत रहेको अहिले पनि स्पष्ट हुन्छ । यसको पछिल्लो उदाहरण कम्बोडियाको टेलिकममा ओलीको धेरै मोटो आर्थिक लगानी रहेको फेक समाचार हो ।
कतिपय भारतीय मिडियाहरु फेक समाचार प्रवाह गर्छन् भन्ने कुरा भारतकै सर्वोच्च न्यायालयले आफ्नो फैसलामा उल्लेख गरेको छ । २०७७ असार २७ गते अन्नपूर्ण पोस्ट डट कमका प्रधान सम्पादक अखण्ड भण्डारीद्वारा सम्पादित समाचारमा सविस्तार उल्लेख गरिएको थियो । पोस्टमा भारतीय मिडियाका झुटकारिता शीर्षकमा लिखित समाचारमा जी न्युज,आज तक,टाइम्स अफ इण्डिया, एकोनोमिक्स टाइम, पाइनियर एक्स्प्रेस, द वायर न्युज पोर्टर लगायत पत्रिका र मिडिया फेक न्युज निर्माण र प्रकाशनमा सक्रिय रहेको उल्लेख थियो । भारतीय समाचार प्रकाशित गर्दा पनि फेक समाचार बारबार प्रवाह गरेपछि परेको उजुरीमा भारतीय उच्च अदालतले प्रेस स्तन्त्रता सर्वोच्च हो तर त्यो एकतर्फी हुनुहँुदैन भनेर फैसला गरेको रहेछ ।
जहाँसम्म ओलीलाई यस किसिमले सरासर फतुर आरोपको प्रश्न छ, त्यसका अनेक कारण रहेका छन् । भारतीय चर्को दवावलाई अटेर गरी नेपालको संविधान जारी गरेको, जारी संविधान विरुद्ध तराई मधेसमा फैलाइएका आपसी एकता भाँड्न फैलाइएका द्वेषपूर्ण अनेक भ्रमलाई निस्तेज पारेको , चुच्चे नक्सा नेपाली नक्सामा आबद्ध गरेको, नाकाबन्दी निस्फल पारेको, चीनसित पारवहन सन्धी सम्पन्न गरेको, सत्यमेव जयते होइन, सिंहमेव जयते भनेको तथा थिचाहा मिचाहा प्रवृत्तिलाई ओलीले पटक्क सहन नगरेको जस्ता विषय छन् । उहाँले विगतका कतिपय प्रधानमन्त्रीले झैँ नेपाल र यहाँको प्रधानमन्त्रीलाई भारतको भाइ भन्ने प्रवृत्तिलाई तर्क संगत तथा चित्त बुझ्दो रुपमा आम जनताले बुझ्ने गरी व्यवहारतः खण्डन गरिदिनु भयो । यी सबका कारण एमाले र ओली विरुद्ध भारतीय शाषक कुद्ध बनेको सबैसामु छर्लङछ ।
सामान्यतया प्रगतिशील राष्ट्रवादी शक्तिलाई अनेक तरहले षडयन्त्रमा पार्ने प्रयत्न गरिँदो रहेछ । अनि फुटाउ र शासन गर भन्ने नीति अपनाइदो रहेछ । त्यसैले विगतमा एकीकृत पार्टीमा नियोजित रुपमा फुट उत्पन्न गराउनुका पछाडिको राज यही हो । तिनले नै ओलीलाई संसद् विघटन गर्न बाध्य बनाइएका हुन् । किनभने ४०० यस वर्षमा प्रतिक्रियावादी शक्ति जाली,झेली,किर्ते र फरेवी गतिविधिबाट आफूलाई टिकाएको देखिन्छ । संसद् विघटन अत्यन्त अप्रिय कुरा हो र यो काम गरे लामो समय स्वयं अधिकांश एमाले भड्किन्छन् भन्ने प्रतिक्रियावादीले राम्ररी बुझेकै हो र थियो । यसका कारण एमाले नै रणभुल्लमा पर्छु भन्ने पनि उनीहरुले सोचेकै हो । बाध्यकारी तर अप्रिय काम गर्न बाध्य भएको यथार्थ सत्य धेरै एमालेले बल्लबल्ल बझ्दैछन् । । विश्वव्यापी संसदीय मूल्य मान्यता बोध गर्नेले टीके प्रधानमन्त्री बनाएको पदापि स्वीकार गर्दैन । क संसद् विघटन गरे पनि नगरे पनि ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला गरेको भए ओलीलाई कुनै न कुनै निहुँमा उहाँको राजनीतिक जीवनमा गम्भीर दाग लगाउने दाउ प्रचण्डकै थियो । ओलीका दोष पाएका भए प्रधानमन्त्री हुद्या प्रचण्डले ओलीलाई बाँकी राख्ने नै थिएनन् । । यो कुराको संकेत स्वयं ओलीले प्रचण्ड सहितले आफूमाथि लगाइएको फतुर आरोपको प्रत्युत्तर पत्रमा सूक्ष्म रुपमा उल्लेख गर्नु भएको पाइन्छ । ब्राजिलका पूर्व वाम पन्थी नेता तथा हालका पनि राष्ट्रपति दा सिल्भा लुलाको शासन कालमा देशको विकासले फड्को मारेको थियो । त्यसैले लुलाको जनप्रिय तथा विकासवादी छविबाट आत्तिएर अमेरिका लगायत प्रतिक्रियावादी शक्तिले उहाँलाई कथित भ्रष्टाचारको अभियोग लगाएर १८ महिना कठोर कारवासको सजाय दिए । प्रतिक्रियावादीले लुलाको राजनीतिक जीवन नै समाप्त पार्ने दुराशय राखेका थिए । तर न्यायालयले प्रमाण नपुगेर थुनामुक्र गरिदियो । यस्ता घटना संसारका अरु देशमा पनि भएका छन् । त्यसैले सच्चा कम्युनिस्ट र बामपन्थी राजनीतिकर्मीलाई के कसरी सिध्याउन प्रयत्न गरिन्छ भन्ने थाहा पत्तो नपाउने नेता राजनीतिक क्षेत्रका नाबालक हुन् ।
एमालेमात्र अहिले देशी र विदेशी प्रतिक्रियावादीको विरोधको तारो बनेको छ । त्यसमा पनि ओलीलाई सबैले निसाना बनाएको स्पष्ट हुन्छ । देश र जनताको हित गर्ने पार्टी र नेतृत्व सधैँ सबैतिर विरोधीको केन्द्र बन्ने गरेको छ । एमाले कमजोर भएदेखि बोकाले झैँ नेपालमा दाइँ गर्न सजिलो हुन्थ्यो भन्ने प्रतिक्रियावादीको ध्येय देखिन्छ । एमाले र एमाले नेतृत्व विरुद्ध प्रतिक्रियावादीहरु पहिले देखि नै लिट्टो कसेर लागेका हुन् । जननेता मदन भण्डारीको हत्या प्रकरणमा एमाले नेतालाई मुछेर लागिपर्नु पनि विरोधको अन्तिम अस्त्र थियो । भण्डारीको हत्या प्रकरणमा टीएन प्रधान नामको फर्जी पात्रका माध्यमबाट धारावाहिक समाचार र लेख छापिरहे । सामान्य जनले उक्त कुरा हो कि झैँ लाग्ने फेक समाचार पत्रिकामा बारबार प्रकाशित गरेका थिए । समाजवादी देश क्युवाका पूर्वराष्ट्र क्यास्ट्रोको हत्या गर्न अमेरिकाले गरेका अनेक षडयन्त्र विज्ञ पाठक गणलाई अवगत नै छ । साँचो मानेमा जनता चाहिँ देशभक्त हुन्छन्, जनता सबै खालका षडयन्त्रका तानाब्ुना बुझ्न असमर्थ हुन्छन् । तसर्थ ती जनतालाई नै यस्ता जेलिएका विषयहरु राम्ररी जानकारी दिनुपर्छ । विचार चिन्तन रुपी बिसालु झारपात तुरुन्तै उखेल्नुपर्छ नत्र त्यसले जरा फैलाउँछ र मन मस्तिष्कमा डेरा जहाउँछ । तथ्य, तर्क र वास्तविकतामा आधारित भएर खण्डन गर्नुपर्छ । खण्डन गरेजस्तो गरेर भ्रम खण्डित हुँदैन । सत्य पनि स्थापित गर्नु पर्छ ।
विरोध पनि ताकतवर हुनुपर्छ र विरोधीको मुखै बन्द गर्ने खालको हुनुपर्छ । ओलीले डमरुमाथि हमला हुन थाल्यो भने बघिनीले कदापि सहन्न भनेझैँ तमाम डमरु रुपी एमाले सहित तमाम देशभक्त जनता बघिनी अर्थात् नेपाल आमामाथि जाइलाग्दा एक मुख भएर विरोधमा उत्रिनुपर्छ । एक एक गरेर आखिरमा देशमा अस्थिरता र अराजकता सिर्जना दुष्प्रयत्न निस्फल पार्नैपर्छ । प्रोपगण्डा र फतुर बारेमा कोही पनि देशभक्त रमाउँदैन र रमाउन हुँदैन । यो एक एक गरेर देशलाई ठूलो चक्रब्युहमा पार्ने खेल हो । कम्तीमा यस्ता विषयमा एमाले एकताबद्ध हुने हो भने प्रतिक्रियावादी ल्यालहरु गाउँ र सहर पस्न सत्तैनन् । यस्ता अति गम्भीर विषयलाई बेवास्ता गर्ने हो भने देशको अस्तित्व धरापमा पर्ने निश्चित छ ।