मानव तस्करीमा नेपाली ‘सेलिब्रेटीहरु’
नारायण प्रसाद शर्मा
काठमाडौं । वि.स. २०५५ सालमा नेपालका ४० जनाभन्दा बढी सांसद्ले आफ्नो रातो राहदानी मानव तथा लागूऔषध तस्करीमा प्रयोग गरेको भनी अन्तर्राष्ट्रिय प्रहरी संगठन इण्टरपोलले नेपाल प्रहरीलाई जानकारी दिएको थियो । त्यसपछि सरकार आफै छानवीन गर्न वाध्य भयो । तत्कालिन गृहसचिब श्रीकान्त रेग्मीको अध्यक्षतामा छानविन समिति पनि बनेको थियो । तर, सत्ताधारी र प्रतिपक्षका सांसदहरु नै मुछिएका कारण उक्त प्रतिवेदन लागू नै भएन । यसरी इण्टरपोलको रिपोर्टअनुसार राहदानी बेच्ने अपराध सूचीमा नेपाली कांग्रेसका डा. रामशरण महत, बलबहादुर केसी, देवेन्द्रराज कँडेल, रामचन्द्र अधिकारी, हस्तबहादुर मल्ल, मीनबहादुर खत्री, बिपिन कोइराला, पाल्टेन गुरुङ, चीनकाजी श्रेष्ठ, अनिस अन्सारी, महेन्द्रध्वज जोशी, राजदेव गोइत, डा. ध्रुव शर्मा, रामजनम चौधरी, दीपकजंग शाह, चक्रबहादुर शाही, मोतिप्रसाद पहाडी, गोपालजीजंग शाह, सुरेन्द्र हमाल, कृष्णप्रसाद गौतम, शुशिलमान शेरचन, दुर्गाकुमारी भट्टराई र सुरेन्द्रप्रसाद चौधरी थिए । त्यसैगरी राप्रपाका रविन्द्रनाथ शर्मा (मरोणापरान्त भ्रष्टाचारी), डा. प्रकाशचन्द्र लोहनी, खोभारी यादव र राजीव पराजुली र तत्कालिन समयका नेकपा एमालेका पार्टीका झलनाथ खनाल, विरोध खतिवडा, जागृतप्रसाद भेटवाल, काशिनाथ अधिकारी, मझिलाल थारु थनेत, देवशंकर पौडेल, हिमाञ्चल भट्टराई, मीठाराम शर्मा बजगाइँ, लीला श्रेष्ठ, निलबहादुर तिलिजा, रामलखन महतो, केशवलाल श्रेष्ठ, हेमराज राई, जगतबहादुर बोगटी, देवबहादुर पौडेल, हिक्मतबहादुर शाही, भानुभक्त जोशी र गोविन्दनाथ उप्रेती संलग्न भएको रिपोर्ट प्राप्त भएको थियो ।
त्यसो त तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको राहदानी प्रयोग गरी अष्ट्रेलिया पुगेका युवासँग लागू औषध बरामद भयो । उनकै गाउँका कार्की थरका व्यक्तिले महतको रातो राहदानी प्रयोग गरेको पाइयो । तथापि बहालवला अर्थमन्त्री महतलाई कुनै कारबाही नै भएन । यो विषय संसदमा पनि उठ्यो तथापि कुनै सुनुवाई नै भएन । महत शक्तिशाली प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको क्याबिनेटमन्त्री थिए ।
१.. कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लव अधिकारी मानव तस्करीको आरोपलागेपछि २०८१ साल कार्तिक २१ गते राजिनामा दिए । अभियोग लागेपछि उनलाई नेकपा एमालेले पार्टी सदस्य देखि सबै पदबाट निलम्बन गरेको छ । साथै उनी २०८१ कार्तिक २५ गते आइतवारै पक्राउ परे । अधिकारी प्रदेश सरकारको भ्रमण निर्देशिका र आचारसंहिता बिपरित संघीय सरकारको अनुमतिबिनै जापान भ्रमणमा गएका थिए । उनले जापान लैजानका लागि ३ जना सरोकार नभएका व्यक्तिहरु सेटिङ मिलाएका थिए । ति बेरोजगार युवाहरु उनले नै जापानमा लिएर गएको बुझिएको छ । मन्त्रीसँगै जापान जानेहरूमा खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् अन्य संलग्नहरुमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर पनि यो घट्नामा जोडिएका पात्रहरु हुन् । उनीहरु छ जनालाई नै प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरु यहि कार्तिक १४ गते मन्त्रीसहित टोकियो पुगे.पछि शंका लागि जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । प्रदेश साँसद अधिकारीले विवादस्पद् बयान दिएका छन् ।
२ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडललाई २०७४ साल आश्विन १ गते जापानको अध्यागमनले डिपोर्ट ग¥यो । उनले पार्टीको कार्यक्रमका नाममा केहि व्यक्तिलाई जापानमै छाड्ने गरी लिएर गएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलसँग रातो राहदानी चाहि थिएन । उनीसँग गएका अर्का नेता धनराज गुरुङ चाहिँ रातो राहदानी भएकै कारण छिर्न पाएका थिए । पौडेललाई चाहिँ पार्टीका सभापति शेर बहादुर देउवाले फोन गर्दा पनि अध्यागमन कार्यालय जापानले छाडिदिएन ।
३. नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले युरोपियन युनियनका लागि नेपाली राजदूतलाई कार्यालय सहयोगी बनाएर आफ्नी भाइ बुहारीलाई युरोपियन युनियनको एक देश बेल्जियममा लैजानका लागि आग्रह गरे । उनी उतै बस्ने जस्तो लागेर युरोपियन युनियनले पुनकी भाइबुहारी र राजदूतका अर्का घरेलु कामदारलाई भिसा दिएन । त्यसपछि नेकपा माओवादीको कोटामा राजदूत सिफारिस भएका उनलाई वर्षमानका भाइले घरमा नै गएर बेसरी हप्की दप्की गरे ।
४. राप्रपाका नेता गणेश शेरचनले आफ्ना छोरालाई जापानमा लगेर अवैद्य रुपमा छाडिदिए । शेरचन पूर्व राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा क्षत्रिय प्रशासक बनेका थिए । राजनीतिक गर्ने व्यक्तिहरु धेरैले आफन्तहरु यसरी नै छाडेपछि उनले पनि त्यहि गरेका थिए । शेरचनको दुई वर्ष अघि निधन भएको हो ।
५. नेकपा एमालेबाट २०५१ सालमा पर्वत जिल्लाबाट सांसदमा निर्वाचत देव बहादुर पौडेलले आफ्ना छोरालाई जापानमा छाडेर आएका थिए । सांसद भएका समयमा रातो राहदानी प्रयोग गरी उनले छोरालाई पनि जापान लगेका हुन् ।
६. दलित जनजाति पार्टीका अध्यक्ष तथा तत्कालिन विज्ञानमन्त्री विश्वेन्द्र पासवानले पेरिस भ्रमणमा जाँदा स्पेन र पोर्चुगलमा १५ जनालाई छाडेका भन्दै संसदमा हंगामा भयो । पासवान विभिन्न काण्डमा मुछिएका नेता हुन् । तथापि पटक पटक संविधानसभामा सभासद र मन्त्री पनि बने ।
७. मसालका नेता चित्र बहादुर केसीले पनि एउटा छोराको छोरालाई ढाटेर अर्को छोराको भनि जापान पठाए । केसी राजनीतिमा इमान्दार नेताका रुपमा नेपालीको मन र मस्तिष्कमा दर्ज भएका व्यक्ति हुन् । उनी संघीयता विरोधी पार्टीका नेताका रुपमा चिनिन्छन् ।
८. नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले लम्जुङ जिल्लाबाट कांग्रेसका तत्कालिन सांसद रामचन्द्र अधिकारीको रातो राहदानी लगेर केहि रकममा बेचिदिए । उनले प्रदेशसभाका सदस्य अमिर गुरुङलाई बेचिदिएको समाचार माध्यमबाट जानकारी पाइयो । त्यो समयमा फोटो चेञ्ज (पिसी) गरी बेलायत, अमेरिका लगायतका देशमा अबैद्य तरिकाले मान्छे पठाउने काममा कृष्ण सिम्खडा, एलिजा थापा र अमिर गुरुङ जस्ता मानव तस्करहरुले विद्याबारिधि नै गरेका थिए ।
९. चर्चित अभिनेता भुवन केसीले आफ्नी कान्छी श्रीमती सुस्मिता केसीको दुईवटा राहदानी बनाएर एउटा राहदानी धादिङका मानव तस्कर कृष्ण सिंखडालाई बेचिदिए । सिम्खडाले तत्कालिन जनपथ प्रहरीका एसपीद्वय रामचन्द्र ढकाल, टपेन्द्र हमाल अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीका भाइ अधिकृत नारायण मैनालीसँग सेटिङ मिलाएर बेलायतमा ‘एसाइलम’ लिने व्यवस्था मिलाई पिसी गरी ५ सय भन्दा बढि नेपाली युवाहरुलाई दशौ लाख लिएर बेलायतमा पठाए । यहि ध्न्दा गरी अबौंपति बनेका सिम्खडा पछिल्लो समयमा वारेन्टेड भएपछि उनी फरार छन् । हाल उनी अमेरिकामा बसेको बताईन्छ । उनले अबौं रुपैया सम्पत्ति मानव तस्करी धन्दाबाटै जोडेका थिए ।
१०.२०५१ सालमा नेकपा एमालेमा म्याग्दी जिल्लाबाट सांसद बनेका निल बहादुर तिलिजा अमेरिकामा बसेर लेबर काम गरेका छन् । उनीमाथि नेकपा एमालेको लगानी बालुवामा पानी बन्यो । उनी सांसदमा बहाल रहँदा नै राहदानी बेचेको आरोप लागेको थियो ।
११. २०४८ सालमा नेपाली कांग्रेसबाट सिन्धुली जिल्लाको सांसदमा निर्वाचित प्रकाश कोइराला अमेरिका भासिए । उनी साहुको पसलमा काम गरिरहेको अवस्थामा लुटेरा आएर बन्दूकले हानेर मारिदिए । नेपालका सांसदहरु अमेरिकामा श्रम गर्न गएपछि देशको इज्जत कहाँ प्ुग्यो ?
१२. २०४९ साल चैत्र २८ मा जापानमा तालिमका लागि मन्त्री बल बहादुर राईको हस्ताक्षर किर्ते गरी पाँच जनासँग प्रति व्यक्ति पाँच लाख लिएर पठाएको अभियोगमा ओखलढुंगाका रामहरि खतिवडा पक्राउ परे । उनलाई जापानी दुतावासकै अनुरोधमा तत्कालिन विशेष प्रहरीका प्रमुख खेमराज रेग्मीले पक्राउ गर्न आदेश गरेका थिए । खतिवडाले ओखलढुंगाका कैलाश बास्कोटा र दाङका कुमुद शर्मासँग मिलेर उक्त मानव तस्करी को काम गरेका थिए । तीन महिना जेल बिताएपछि खतिवडालाई रिहा गरियो । नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईको अनुरोधमा उनलाई छाडिएको र सातखत माफ गरिएको सञ्चार माध्ययममा जनाइएको थियो । खतिवडाले रकम लिएर जापान पठाउनका लागि किर्ते सिफारिस गरिएकाहरुमा दीपक, इन्जिनियर सुमित्रा श्रेष्ठ, फिल्ड अफिसर आनन्देश्वर खड्का र श्रीमती विष्णु बानियाँ गरी पाँच जना थिए । उनीहरुलाई भूकम्प क्षेत्र पुनःनिर्माण तथा पुनः स्थापना आयोजनाका कर्मचारी बनाएर नक्कली कागजात बनाइएको थियो उनै खतिवडा अहिले संसदको शक्तिशाली सुशासन समितिका सभापति छन् ।
१३. कोशी प्रदेशका कांगे्रस नेता विनोद कार्की पनि मानव तस्करी अभियोगमा पक्राउ परे । उनी प्रदेशसभामा मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट नेपाली कांग्रेस पार्टीबाट हालका मानव तस्करीमा अभियोग लागेका प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिला वल्लव अधिकारीसँग प्रतिस्पर्धि थिए । कार्की पनि मानव तस्करीमा २०८० साल पुसमा पक्राउ परेका थिए । उनी काठमाडौंको इमाडोल बसेर सिटी ट्राभल्स एण्ड टुर्स नामक ट्राभल एजेन्सीमार्फत भिजिट भिसामा अध्यागमनमा सेटिङ मिलाएर युवाहरु पठाउने गर्दथे । उनी १४ हजार ९५२ मत पाएर एमालेका लिलाबल्लव अधिकारीसँग पराजित भएका हुन् । अधिकारी पनि अहिले मानव तस्करीमै मुछिएका छन् ।
१४ उपसभामुख इन्दिरा रानामगरले सरोकारै नभएका व्यक्तिहरुलाई उपसभामुखको हैसियतले अन्तवार्ताका लागि छिटो समय मिलाइदिनु भन्दै अमेरिकी दुतावासमा पत्रचार गरिन् । उनले मानव तस्करी काम गरेको भन्दै संसदमा हंगामा भयो । भिसा सम्बन्धि कुनै समस्याहरु भए परराष्ट्र मन्त्रालयमार्फत पत्रचार हुनुपर्छ । तर, उनले त्यसो नगरी सिधै दुतावासलाई नै पत्रचार गरिन् । यस्तो गम्भीर गल्तिमा पनि उनले राजिनामा दिइनन् । उनले पदीय नैतिकताको ख्याल नै नगरी चट्टान झै अडिइन । महिला सशक्तिकरण र विकासका लागि भन्दै संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा सञ्चालित कार्यक्रममा जानका लागि उपसभामुख रानाले बेसरोकार ब्यक्तिलाई अन्तरवार्ताका लागि छिटो समय मिलाइदिन अनुरोध गरेकी थिइन् । यसरी सिफारिस गरेकाहरुमा आफै इन्दिरा राना मगर, उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा, सुजन घर्तिमगर र धन प्रसाद गुरुङसहित ६ जना थिए ।
१५.. कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले सिफारिस गरी अमेरिका गएका कानुन मन्त्रालयमा कार्यरत आइटी अधिकृत आकाश बस्नेत अमेरिकामै हराए । तथापि शक्तिशाली कानून मन्त्रालयका सचिवलाई कतैबाट पनि सोधनी भएन । कानून मन्त्रालयमा अधिकृत तहमा करारमा कार्यरत बस्नेतलाई मन्त्रालयको सिफारिसमा भिसा लागेको थियो । सचिव सापकोटाले भिसाका लागि नभएर मन्त्रालयमा काम गरेको भनि भिसाका लागि सिफारिस गरेको जिकिर गर्दथे । तथापि उनको स्वार्थ पुरै बाझिएको थियो ।
१६. नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनले सिफारिस गरी कार्यक्रममा पठाएका सिन्धुपाल्चोकका व्यवसायीहरु दुई जना नै अमेरिकामा हराए । त्यसपछि निर्माण व्यवसायी महासंघलाई अमेरिकी दुतावासले लामोसमयसम्म कालो सूचिमा राख्यो । तत्कालिन अध्यक्ष गौचनको ठेक्कापट्टामा कमिसन र लेनदेनका कारण गुण्डाहरुले गोली हानी हत्या गरे ।
१७. क्यानाडामा स्थायी रुपमा बसोबास गरेका रामेछापका सुदर्शन गौतम मानव तस्करी पेसामा संलग्न भएका कारण अहिले नेपाल प्रहरीका मष्ट वान्टेड सूचिमा छन् । उनी नेपाली चलचित्र ‘हिम्मतवाली’का नायक बनेका थिए । उनले अमेरिका पठाउन भनि अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि गोतम मानव तस्करीमा संलग्न रहेको खुलेको हो । उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो । गौतमका दुबै हात नभएका कारण उनले धेरैको सहानुभूति बटु्ले पनि । अन्त्यमा आफ्नो कर्तुत देखाइछाडे । गौतमलाई मानव तस्करीमा सघाउनेहरुमा नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्ले थिए । मूख्य नाइके गौतम विरुद्ध नेपाल प्रहरीको रेडकर्नर नोटिस समेत जारी भएको छ । उनी रामेछाप जिल्लाको सुनापती गाउँपालिका–१ गुन्सीमा जन्मिएका हुन् ।
१८. दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले २०७३ सालमा विज्ञान तथा प्रविधि मन्त्री भएर पेरिस भ्रमणमा जाँदा स्पेन र पोर्चुगलमा १५ जनालाई छाडेका थिए । संविधानमा सपथ खाएर यस्तो मानव तस्करी गरेको आरोप संसदमा सांसदहरुले लगाएका थिए । तथापि उनलाई कुनै कारबाही भएन ।
१९. पूर्व सामान्य प्रशासन राज्यमन्त्री झापाका जित बहादुर दर्जी (जितु गौतम) ले उदयपुर र खोटाङका केहि युवाहरुलाई विदेश पठाउनका लागि मोटो रकम लिए । उनले श्रीमती तुलसा देवी गौतमका नाममा विदेश जानका लागि रकम लिएको कागज गराएका कारण श्रीमती थुनामा परिन् । उनले भने उन्मुक्ति नै पाए ।
२०. नेकपा माओवादीको कोटामा अष्ट्रेलियाको राजदूत बनेकी लक्की शेपालाई मानव तस्करीको आरोप लाग्यो । विवादित बनेपछि उनलाई २०७५ साल पौष २३ गते नेकपाको सरकारले बर्खास्त गरेको थियो । मन्त्रीपरिषद्बाटै बर्खास्त भएकी राजदूत शेर्पालाई नेपालबाटै अष्ट्रेलिया ल्याइएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् । पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमान्ले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाएको वाङछुले आरोप लगाएका थिए ।
२१. अमेरिका लैजानका लागि नेपालीहरुलाई नक्कली भुटानी बनाउने काममा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका तत्कालिन सचिव तथा अर्घाखाँचीबाट निर्वाचित सांसद टोप बहादुर रायमाझी, नेकपा माओवादी केन्द्रबाट संविधान सभामा सदस्य बनेका डा. इन्द्रजीत राई, गृहसचिव टेकनारायण पाण्डे, टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादलका छोरा प्रतिक थापा, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ, मोरङका सागर राई, डा. इन्द्रजीत राईका छोरा निरज राई, मानव तस्कर बेचन झा, तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी लगायतका झण्डै तीन दर्जन व्यक्तिहरु प्रत्यक्ष संलग्न रहेका थिए । तत्कालिन गृहमन्त्री खाँणले त मन्त्री स्तरीय निर्णय गरी शरणार्थी पहिचान गर्नका लागि भन्दै समिति नै बनाएका थिए । त्यसै गरी यो काण्डमा हालकी परराष्ट्रमन्त्री डा. आरजु राणा र तत्कालिन गृहमन्त्री बालकृष्ण खाणकी पत्नि मञ्जु खाण पनि संलग्न भएका समाचार आए पनि कारबाहीको दायरामा ल्याइएन । नेता पत्निहरु दुई जनाले मात्रै ६ करोड लिएको समाचार आएपनि गुपचुपमा राखियो । बेचन झा जस्ता मानव तस्कर दलालहरु उक्त काण्डमा संलग्न नेताहरु कहाँ मानव तस्करीको रकम पु¥याउने भरिया बनेर काम गरिरहेका थिए ।
२२. संविधानसभामा समानुपातिक र प्रत्यक्षमा निर्वाचित केहि समासद्हरुले पनि रातो राहदानी बिक्री गरेका थिए । यसरी रातो राहदानी बिक्री गर्नेहरुमा जनता दलकी गायत्री साह, मधेसी जनअअधिकार फोरमका बिपी यादवलगायत थिए । नेकपा एमालेका नारदमुनी राना थारु र फोरमकै शिव पुजन यादवको रातो राहदानी बेचिएको जानकारी भयो । उनीहरुको राहदानी सर्लाहीका सन्तोषरा उप्रेतीले खरिद गरि लगेका थिए । मधेसी जनअधिकार फोरमका सभासद बिपी यादवसँग बाग्लुङका पृथ्वी छन्त्यालले एक रोड ६० लाखमा रातो राहदानी खरिद गरेको बताए । उनी बिपी यादवको नामबाट अष्ट्रेलिया जानका लागि अबुधावीको अध्यागमनमा जाँच गर्दा अध्यागमनले शंका लागि सोधपुछ गरेपछि सारा कर्तुत खुलेको थियो । गायत्री साहले पनि पैसाकै लाभमा रातो राहदानी बेचेकी थिइन । अहिले रातो राहदानी बेचेर करोडौं रकम जम्मा गरेकाहरु गुमनाम छन् ।
यी माथिका नेपालका सेलिब्रेटीले गरेका केहि प्रतिनिधिपात्र मात्रै हुन् । अमेरिका लैजानका लागि मानव दलालहरुले बेरोजगार नेपालीहरुलाई कति रकम खर्च गरी अवैद्य बाटो प्रयोग गर्छन् भन्ने विषयमा रुकुम, जाजरकोटका नेपालीहरुको विषयमा आएका समाचारबाटै प्रमाणित हुन्छ । तथापि पछिल्लो अमेरिकी निर्वाचनले भने यी केहि फरक पार्ला कि ? नयाँ निर्वाचनबाट अमेरिकाको राष्ट्रपतिमा कट्टर राष्ट्रवादी डोनाल्ड ट्रम्पको विजयीले केहि फरक पार्ला कि ? उनले आप्रबासीहरुलाई फिर्ता हुनुपर्नेमा जोडदिएका थिए ।
डायरी एक्सप्रेस साप्ताहिकबाट