July 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

‘अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ ।’ मन्त्री केसी

कृष्णा केसी (नमुना), मन्त्री, शहरी विकास


बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् । ‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ कोहलपुर बसपार्क र भ्युटावर सञ्चालनका लागि गरिएको अन्तरक्रियामा मन्त्री केसीले भनिन्, ‘तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ ।


कोहलपुरमा पर्यटकीय विकासको सम्भावना अत्यधिक भएकाले भविष्यका लागि यी संरचनाबाट फाइदा लिन सकिनेमा उनले जोड दिइन् । उनले आफू यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले यहाँको विकासका लागि हरसम्भव प्रयास जारी राख्ने प्रतिबद्धता पनि जनाइन् । बाँकेका कार्यालयहरू धमाधम अन्यत्र सरिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले कोहलपुरमा यातायातको शाखा भए पनि ल्याउन आफूले प्रयास गरिरहेको बताइन् ।


यातायात कार्यालयको एउटा शाखा भए पनि कोहलपुरमा ल्याउन आफूले सम्बन्धित मन्त्रालयसँग छलफल सुरु गरिसकेको उनले जानकारी दिइन् । ‘कोहलपुरमा यातायातको एउटा शाखा कार्यालय जसरी पनि म ल्याउँछु । यो मेरो प्रतिबद्धता भयो,’ उनले भनिन्, ‘अब त्यो कहाँ राख्ने नगरपालिकाले त्यो ठाउँको व्यवस्थापन गरोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.