November 29, 2022

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

कमरेड पुष्पलालको प्रेरणाले डोर्याउने गरेको मेरो अध्ययन दिशा

1 min read

डा.मथुरा प्रसाद श्रेष्ठ, पूर्व स्वास्थ्यमन्त्री



सन्दर्भ त्यो बेला को हो, जब काठमाण्डुको नयाँसडक र खिचाँपुखुको मोडमा राणाजीहरूको फोटो लिने र चित्र बनाउने आकर्षक भवनलाई नविकरण गरि झकिझकाउ अमेरिकन लाईब्रेरी उद्घाटन गरियो । हामी साम्यबाद संस्कृत उन्मूख बिद्यार्थी कार्यकर्ताहरूमा अमेरिकी प्रभाव नेपालमा बढ्ने भो र हामी निष्प्रवाह हुने भयौं कि भनि हामी निरासामा रहेको कुरा सुन्नु भएछ पुष्पलालजीेले । एक दिन क्लास लिन भनि इटुंबहालको किसान नेता सान्दाईको घरसँग जोडिएको सान्दाईको भाइको घरको मटानमा बोलाउनु भो । बिषय थियो, अध्यन के र कसरी ? हामी थुप्रै पुगेका थियौं । चन्द्रानन्द नेवा, वहाँको भाइ, रामेश्वर प्रधान, भरत जोशी, प्रचण्ड प्रधान, बासुदेव ढुंगाना, आनन्ददेव भट्ट, सायद चन्द्रधर उप्रेती पनि र अरू धेरै नै थियौं ।
पुष्पलालजीले यस्तो निराश र समस्या बाट बिमूख भयो कि भनेर चिन्ता लिनु राम्रै हो । तर चिन्तालाई चिरेर आफ्नो उद्देश्य र गन्तव्य तिर अविचलित ढाल्दै अघि बढ्दै जानु कम्युनिष्ट स्पिरिट हो । निराश भई निष्कृय भएर बाटो छाडी बिलाउने प्रबृत्ति कम्युनिष्ट चरित्र हुनु हुन्न ।
यत्तिकैमा मलाई, “मथुरा, तिमी बन्दीपुरको सतिघाट जांदा जंगलमा हराउंदाको अनुभव हामी सबलाई सुनाउ त ?” म झसंग भएँ, यो अनपेक्षित आदेशमा । कसरी थाह पाएछन् पुष्पलालजीले ? त्यो घटना जुन मैले पनि बिर्से जस्तो लागेको थियो । तर संझंदै कनिकुथी, नर्भस हुँदै भने । “म गाउँकै अति सम्पन्न सामन्त परिवारको केटा हुँ । तर लगान बाली उठाउन मेरो क्षमता पनि थिएन, रुचि पनि थिएन । ‘धेबा बाग मवंम्ह, दुकुलन्ठु जक्क ख थो । छुंय ज्या मवनिम मचा जुला थ्व।’ (फुट्या कौडी जत्ति पनि काम नलाग्ने, डकुलन्ठु भयो यो । कुनै काम दिने देखिन्न यसले । ) भनि खिसी गर्थे । त्यस्तो गालीले म भन्दा मेरो आमा र बाजे, लाल गोविन्द पिया, मर्माहत हनु हुने रहेछ । बाजेले सम्झाएर केही गर्नु पर्दैन । सबै मोहीले छुट्यांउछ । हाम्रो भाग पनि उनीहरूले नै ल्याई दिन्छन् । साछी जस्तै बस्ने मात्र हो । भनि सम्झाई घरको रिसल्ला घोडा चढाई सतिघाटको खेतमा पठाउनु भो । एक्लै । जाँदा ठीकै पुगें । मोहीहरूले खुब स्वागत गरि कालो पोथी काटी भात खुवाएर सम्मान गरे । परालको एक कप्टेरा बनाइ मलाई सुताए र मोहीहरू अर्कै कप्टेरामा सुते खेत मै । भोली बिहान दाईं आदि गरि हाम्रो भाग खरानीले घेरा हाली छुट्याए ।
त्यस बेला मलाई ज्वरो आएकोले म फर्कन्छु भनें । छामेर ओ हो भनि मलाई घोडा चढाई बाटोमा खस्ला भनि कपडाले काथीमा बांधेर ‘खस्न लागे घोडाको जेगर बलियो गरि समाउनु नछाड्नु’ भनी सिकाएर एक्लै फर्काई दिनु भो । बाटो घना जंगल पार गर्नु पर्दथ्यो । जाँदा जाँदा बिचमा दुई वटा बाटो भेट्टियो । बढी चौडाको बाटो सहि होला भनि लगाम उतै तिर लगाएँ । घोडा पनि मानेर गयो । तर पछि बाटो कानो भयो । तै पनि बाटो भेट्टिएला भनि जंगल तिरै घोडा बढाएँ भेट्टिएन । डर लाग्यो बाघ भालुले खाला भनि । तर त्यस बेला कुनै चरा, काग पनि कराएको थिएन । पछि भएन भनि फर्केर त्यहि दोबाटोमा आई पुगें र मैले लगामले निर्देशन नगर्ने बरू गामबेसी गरेको घोडाले नै बाटो पहिलाउला भनि बिश्वासका साथ लगाम छाडेर घोडा हिंड्न लगाएँ । आफ्नै तजवीजले । बाटोमा घांस दाउरा बोकी आउनेहरूले बीच बीचमा ‘बन्दीपुरे साहुको छोरा रहेछ । बिमार छ जस्तो छ’ भनि न जिस्काई रहेको भए घोडा बाट पनि खसिन्थ्यो होला । घर पुग्दा अबेर रात भै सकेको थियो । घोडा हीन्हिनाएको सुनेर कदम दाइ (जेठाबाको छोरा र मेरो महत्वपूर्ण राजनैतिक गुरू) आएर बोकेर कोठामा लगि त्यहि रात जडिबुटी खुवाई दुई दिन पछि निको भएँ ।
मेरो यही कुरामा पुष्पलालजीले सामान्य छलफल चलाएर आफ्नो कुरा राख्नु भोे । “सामन्ती संस्कारले मथुरा जीवन, जगत र प्रकृतिसँग जुधेर वा द्वन्द्व गर्दै र खेली सिक्ने अवसरवाट टाढा हुन गएकोले बाटो हराएको हुनु पर्छ । किसानको छोरा भएको भए हराउन्नथ्यो होला । बरू पशु भए पनि प्रकृसिँग गामबेसी गर्ने घोडाले सिके । जे भए पनि बाटो हराएर आफै पनि बिलाउन अवस्थाबाट घोडाको सहायताले बाटो पैलाएर सुरक्षित हुने बिन्दु नै सिक्ने कलाको महत्वपूर्ण प्रस्थान बिन्दु हो भन्दै आफ्नो लेक्चर सुरु गर्नु भो ।

यस्तै यस्तै भनेरः“अहिलेको सन्दर्भमा म चार कुरा भन्छु ।


१. अमेरिकी पुस्तकालयको झकिझकाउ वा कुनै शक्तिबाट तर्सिने हामी कम्युनिष्टहरू हुनु हुन्न । सिक्ने कुरामा शत्रुबाट पनि सिक्नु पर्ने हुन्छ । शत्रु नै भने पनि उसको कुरा नसुनि, नबुझी र सिंगो पांगो उसलाई देख्न बुझ्न नसकी कसरी विवाद, सामना र प्रतिकार गर्न सकिन्छ ? त्यस लाईब्रेरीमा छाती तानेर गएर उपलब्ध किताबहरू पढनु होस् । राम्रो कुरा छ भने ग्रहण पनि गर्ने हो । नराम्रा, झुठा र हानिकारक सामाग्री भए यो यो कारणले यो ठिक छैन भनि जानी दुत्कार गर्न सक्नु पर्छ । हाम्रा तार्किक क्षमताको लागि पनि यसो गर्नु जरूरी हुन्छ ।


२. सिक्ने भनेको महापण्डित, दार्शनिक वा हाम्रै माक्र्स, एंगेल्स, लेनिन र स्तालिन आदिबाट मात्र होइन । एक पटमूर्ख वा समाजमा निकम्मा भनिएकाहरू बाट पनि सिक्न सकिने छ भने सिक्नु पर्छ । साधारण नेपाली जनता जति सुकै अबुझ या चेत नभएको भनि प्रचार गरिए तापनि जनता त हाम्रा गुरूमा पनि महागुरु सम्झि उनीहरू बाट सिक्न सक्नु पर्छ हामी कम्युनिष्टहरुले । किन भने जनता हाम्रा सबै ईतिहास, कला, संस्कृति, समाजदर्शन, परम्परा सबैका भरपर्दो खानीको श्रोत पनि हो । जनता माझ भिजेर बितेको जमानाका स्मृतिपत खोतल्न सके धेरै सिक्ने र जान्नै पर्ने ज्ञान भण्डार हुन्छ जनसागरमा । तर खोतल्न भने सजिलो खेल होईन । जनतासँंग भिज्न सक्नेले मात्र केही खोतल्न सक्छ । यसै संग गासिएको सिक्ने कला हो जस्तो सुकै गाह्रो साह्रो र असहज परिस्थितिमा र तीसँग जुधेर सिक्ने स्पिरिट लिनु पर्छ हामी कम्युनिष्टहरू । कहिले काँहि केही जटिल समस्याका समाधान निस्केन भने सो प्रश्न लिएर जनता माझ गईसँगैै अध्ययन गरे पाइन सक्छ ।


३. सिक्ने भनेको बुद्धकाल देखि चली आएको सुनेर, पढेर, सत्संगत गरि जान्ने र जान्न खोज्ने मात्र होइन, त्यसलाई मन, विवेक देखि ब्यवहारको कसीमा उतारी सर्ब पक्षक्षीय विवेचना र विश्लेषण गरि आत्मसात् गरे पछि पनि ब्यवहारमा खोज अनुसन्धान गरि र भोग गरी, ठीक बेठीक र ग्राह्य गर्न सक्ने नसक्ने कसीमा उतारी मात्र ग्रहण गर्नु राम्रो हुन्छ । नत्र हामी ‘कागले कान लग्यो भन्ने सुनेर कागको पछाडि दौडिरहँने’ मात्र हुन्छौं ।


४. अर्को कुरा अध्ययन केही भाग, पक्ष वा बिषयमा बन्दी बनी टुक्रे वस्ताद बन्ने होइन । सकेसम्म सर्वपक्षीय र समग्रतामा अध्ययन गर्नु पर्छ । अबेला भैसकेकोले म यसबारे एक उदाहरण मात्र दिन चाहन्छु माओत्सेतु को । माओ जब संघाईमा आए उसलाई एउटा प्रश्नले पिरल्यो । चीन त्यति शक्तिशाली, संस्कृति, इतिहास र दर्शन सहित व्यापार आदीमा त्यस्तोे कर्मथ र सम्पन्न देशलाई ती फासिबादी, उपनिवेशबादी र साम्राज्यबादी देशहरूले कसरी छिन्नभिन्न पारि रहन सकेर देश कै अस्तित्वमा खतरा पु¥याउन लाग्यो ? भनि । जवाफ खोज्न एउटा लाईब्रेरीको पाले जागिर खाएर पनि त्यहाँ भएका भए भरका किताबहरू गहिरो अध्ययन गर्न भ्याएँ । उत्तर समग्रमा आएन भनि संघाईको प्रशिद्ध प्रोफेसरसँग अन्तक्रिया गरि उत्तर खोजे । प्रोफेसरको छोरीसंग पनि बिबाह गरे । (लंग मार्चको दौरान कोमिन्टांग फौजले समाती फाँसिको सजाय दिएको थियोे माओ पत्नीलाई)। समग्र ज्ञान प्राप्त गर्न सिंक्यान्सानको अनकन्टार टुप्पोमा बसेर ४ बर्ष सम्म अति पौराणिक बांसपत्र र हड्डी पत्र देखि आधुनिकतम ईतिहास, कला, साहित्य, दर्शन पढन थाले । चीनका क्रुरतम र अत्याचारी भनिएका बादशाह, प्रधानमन्त्री र जनरल, यहाँ सम्म कि युद्ध सर्दारहरूका जीवन, उनीहरूका भनाई, थियोरी देखि पौराणिक सन्त, गुरु, दार्शनिक जस्तै लाओ त्से, कन्फुसियस, मेन्सिसस आदीका सिद्धान्तहरू गहिरिएर आत्मसात गरि मनमा उठेका खुल्दुली सबै निवारण सम्पूर्ण चीन र जनताका ईतिहास देखि दर्शन सांगो पांगो बुझ्न सकेकोले नै माओको नेतृत्वमा चिनियाँ कान्ति सफलतामा मात्र टुंग्याएन, चीनलाई पुनः एक शक्तिशाली र एकिकृत बनाउन एक क्रियाशील बनउन लागेँ । हामी पनि अध्ययन भनेको समग्रता र क्रियासील प्रतिकारात्मक रूपमा गर्नै परेको छ । झिना मसिना कुराबाट बिचलित हुने होईन भन्दै पुष्पलालजीले आफ्नो कुरा टुंग्याउनु भो । मलाई याद छ आनन्द देव भट्टले यति धेरै प्रश्न र प्रतिप्रश्न गर्नु भो र तेस बाट हामी अझ स्पष्ट भयौं जस्तो लाग्यो। म भने कुनै प्रश्न नै राख्ने हिम्मत राख्न सकिन ।
पुष्पलाजीले त्यति बेला वहाँको भाषण सारंसमा लेखेर दिनु भनि अह्राउनु भएको थियो जुन् मैले पूरा गर्न सकेन । लेख्न किन हो मलाई ज्यादै गाह्रो लाग्दथ्यो ।


पहिलो प्रयोगः

त्यसपछि हामी त्यस अमेरिकन लाईब्रेरीमा गई अमेरिका बारे धेरै अध्ययन गर्न थाल्यौ, त्यहि टेबलमा बसेर । तर म लाईब्रेरीको मेम्बरसिप कहिलै लिईन । प्रचारबाजीको सानो सानो पुस्तिका बाट सुरु ग¥यौं । एक जना प्रोफसर फिस्सर जो सोभियत रूसको कट्टर बिरोधी थिए, उसका सबै जसो किताब पढें पनि । (धेरै पछि त्यो प्रोफेसर त अमेरिका बाट भागेर सोभियत युनियनमा शरण लिन गएर बाँकि जिन्दगी त्यहि बिताएको मान्छे हो । त्यस्तो कम्युनिष्ट बिरोधी पनि तत्कालिन अमेरिकाको म्याकआर्थरिज्मको तानाशाही विचहण्ट बाट टिक्न सकेन । त्यति बेला अमेरिकाका धेरै धेरै बिद्वान, चिन्तक, वैज्ञानिक, दार्शनिक, सामाजिक अभियन्ताहरू त्यहि म्याक्आर्थरिज्मको बर्बरताले हराएर बिलाएर कति गए गए। हिसाबै छैन। कसैले हिसाब राख्न कष्ट पनि गरेन । मलाई बिस्वास छ तेस म्याकआर्थरिज्म को महा उद्दन्दताले अमेरिकालाई कति हानी गर्यो भनि कुनै बेला अमेरिका कै ईतिहासले बताई दिने छ ।
त्यसबेला लाइब्रेरीबाट बाहिर लैजान नपाउने अमेरिकाका धेरै चिन्तक, बैज्ञानिक, विद्वान, लेखक, कलाकार र प्रोफेसरहरूको किताब त्यहिकोे रिडिंग रूममा मात्र पढने पाईन्थ्यो । त्यहाँ जोन मिलरका किताब, जर्ज ओर्वेलको एनिमल फार्म आदि धेरै धेरै किताबहरू पनि पढियो । एनिमल फार्म किताब क्म्युनिष्ट खास गरि सोबियत युनियन बिरोधी भनी जोडबलले प्रचार भई रहे पनि कथित आधुनिक अमेरिकी समाजलाई तीखो ब्यंगका कुरा बाट गहिरिएर पढ्नेहरू बाट छिपेन । म बाट पनि छुपेन । तेस लाईब्रेरीको हट्टाकठ्ठा (सायद प्रमूख) एक नेवा थियो। उसले एकातिर मलाई तिमी कम्युनिष्ट यहाँ के पढछौ भनि स्टन्ट हान्थे भने अर्को गहीरो अध्ययन गर्ने भनि शनिबार र आइतबार पढेर जस्ता कै तस्तै सोमबार फर्काउने शर्तमा मलाई मात्र धेरै कितावहरू पढन दिन्थे र, दिएका थिए । त्यस किताबहरू बाट मैले अमेरिकाको झाँकी धेरै मात्रामा स्पष्ट हेर्ने मौका पाएँ । तेस लाइब्रेरीको वाहाँको र कहाँ हुनुहुन्छ, मलाई थाह छैन । म सायद भेटे पनि चिन्दिन होला म वहाँमा हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्न चाहन्छु । जहाँ भए पनि कहिले कहिले अमेरिकामा सम्मेलन आदीमा जाँदा मलाई यस्तो पनि आभाष हुन्थ्यो ती किताबहरू पढेकोले सायद साधरण अमेरिकन भन्दा अमेरिकाको इतिहास, संस्कृति र बिरासत बारे मलाई बढी थाह भएको भान हुन्थ्यो ।


प्रयोग दोश्रो
पुष्पलालजीको त्यो प्रवचन झल्झलति सम्झनु पर्ने दोस्रो घटना यस्तो छः
जब म एमबीबीयसको फाइनल जाँच अगाडी सोसियल र प्रेभेण्टिभ मेडिसिनको प्रिफाइनल क्वालीफिकेसन जाँचमा हो । त्यस बिभागको प्रोफेसर र एच ओ डी, प्रा. डा. दक्षिणामूर्ति एक विद्वान र हस्ती ब्यक्तित्व हुनु हुन्थ्यो । कोर्स बाट बाहिर गएर भए पनि समष्टिगत रूपमा बिषयहरूको अध्ययन सबैले गर्नु पर्छ भनि मान्यता राख्नु हुन्थ्यो र प्रिक्वालीफिकेसन जाँच टफ् हुन्छ र पास गर्नै पर्छ भनि पूर्वउद्घोष गर्नु भएको थियो । त्यस बेला म होष्टल बाहिर भिषाखापत्नमको बुद्धभरपूर गार्डेनमा बस्थेँ । कलेजको गेट अगाडी होष्टेलबाट आउने बस समातेर क्लास जाने गर्थें । त्यस दिन बस छुटेकोले जांचमा ५÷६ मिनेट पछि पुगें । मुख्य प्राक्टिकलको चीट गाह्रो भनि अरूले साटेर राखेको त्यहि अन्तिम चीट् मेरो हुन गयो । एनोफिलिन लाम्खुट्टेको सेलीभरी ग्ल्याण्ड एक्पोज गरि चित्रान्किट र लेबल गर्नु । म्याग्निफाईङ ग्लास जडित स्टेज वाक्स ट्रेमा लामखुट्टेको सेलिभरी ग्ल्याण्ड को ट्वइजरहरूको मदतले एक्पोज गर्न सक्नु चानचुन को कुरा थिएन । जम्मा दुई पोठी एनोफिलिन लामखुट्टेहरू राखिएको थियो सो वाक्स ट्रेमा । कम से कम एकमा सफल अपरेसन गरि देखाउनु थियो मैले। दुर्भाग्य वा भाग्यबस म दुबैको अपरेसनमा असफल भएँ । त्यहि बेला त्यहाँको सबले पागल भन्ने एक रक्स्याहा पाले सुटुक्क आएर आठ आना झिक भनि लिएर अर्को दुई लामखुट्टे ट्रेमा राखि दियो । त्यसमा पनि म असफल भएँ । भाग्यबस जाँच सुपरभाइजर र मनिटरहरू सब गफमा ब्यस्त थिए मेरो परेशानी देखेन । त्यस पालेले झर्केर अर्को एक अठन्नी लिएर दुई पिनको सहाराले यसो घोचेको जस्तो गरि च्याटेर लामखुट्टे को स्यालीभेरी ग्ल्याण्ड् राम्रो संग एक्पोज गरि दिनु भो तेस बहुला भनि सबले तिरस्कार गरेको अनपढ र रक्स्याहा पालेले । म राम्ररी हेरी रहें थें उसले गरेको अपरेसनको नौलो तर प्रभावकारी प्रविधी । मैले अर्को एक रुपैञा दिएर दुई लामखुट्टे मगाएँ । त्यसको नक्कल गरि म दुबै लामखुट्टेको सफल अपरेसन गरि माउण्ट गरें । पहिले असफल भएको लामखुट्टे र सो पालेले सफल अपरेसन गरेको लामखुट्टे सब सिंकमा पखाली पठाएँ र दुबै लामखुट्टेका राम्रोसंग प्रदर्शित गरि वाँकि काम पूरा गरें । त्यस पछि स्पटिंग गर्ने र हरेक बारे दुई इपिडेमिओलजिकल नोटहरू लेख्नु पर्दथ्यो । जुन मैले सबै ठीक ठीक स्पट गरि नोटहरू पनि ठीक लेखी पूरा गरें । स्वयम् प्रोफेसर दक्षिणामूर्ती आऊनु भएर ओरल क्रस क्वेसनहरू गर्नु भो । तेस बेला मैले सबै भन्दा बढी नम्बर मात्र पाएको होइन सबैलाई बोलाई यस्तो राम्रो सबले गर्नु पर्छ, र सक्छ भनी दिनु भो । भित्रको वास्तविकता मैले वहाँलाइ भन्ने कुरा भएन । तर यस घटनाले मलाई “जस्तो सुकै विषम परिस्थिति र जस्तो सुकै नगन्या र अनपढ बाट पनि सिक्न सक्नु नै वास्तविक शिक्षा हो” भनि पुष्पलालजीले भनेको कुरा झल्झल सम्झें । त्यस अनपढ, रक्स्याहा र सबले पागल भनि हेला गरिएको तेस पाले जसको नाम पनि मलाई थाह छैन तर मेरो लागि सबै भन्दा ठूलो गुरुहरू मध्ये एक हो भनि सदा सर्बदा सम्झन्छु र सम्झिरहने छु ।
पछी लिभरपूल स्कूल अफ ट्रपिकल मेडिसिनमा १९७८ मा पोष्टग्रेजुयट गर्न जाँदा त्यहि लामखुट्टेको अपरेसन रोनाल्ड रोसले डिजाइन गरेको हलुका स्टेनलेस स्टिल ट्वाइजरले गर्दा सफलता को रेट राम्रै थियो । त्यति बेला सम्म पीनको चलन प्रशस्त हुने हुनाले मैले तेस अनपढ पाले बाट सिकेको पीन प्रवधी बाट देखाउँदा सबै इन्टोमोलजिष्ट छक्क परे । पछि चीफ इन्टोमोलजिष्टले मलाई पीन प्रविधी धेरै सजिलो र सफल छ रोनाल्ड रसको प्रविधि भन्दा भनेको मैले बिर्सेको छैन ।
प्रयोग तेस्रो
नेपालको मेडिकल शिक्षा अन्तर्राष्ट्रिय मान्यता दिलाउन हामी आइओएमका सबैको महत्वपुर्ण दायित्व थियो । तर त्यसबेला पंचायतको कालरात्री समय । डीन कार्यालयको र त्यस माथिका भारत परस्त सोच । भारतले दिएको मान्यता मात्र मान्यता हो भनि सोचको प्रभावबाट हामी मर्माहत थियौं । यद्यपि हाम्रा एमबीबीएस पास गरेका बिद्यार्थीहरू इंगलैण्ड, अमेरिका, अष्ट्रेलिया र युरोपका कैयौं सेण्टरहरूमा मेडिसिन, सर्जरी, पब्लिक हेल्थ र रिसर्च बिषयहरूमा अन्तर्राष्ट्रिय स्तरको हाराहारीमै मेडिकल शिक्षा चुपचाप हासिल गरि रहेका थिए । त्यसको प्रचार सम्म पनि हामी नगरी वस्नु परेको थियो । किनभने ती जेहेन्दार विद्यार्थीहरूको बैधानिक अडचन नेपालका टाठा बाठा नीति निर्माताहरू बाटै आउन सक्दथ्यो । त्यहि बेला जोहन्स् हप्किनका केही नेपाल आउन सक्ने मेडिकल बिद्यार्थी, आइओएमका इच्छुक बिद्यार्थी मिलाएर संयुक्त रुपमा नेपालका कम्युनिटी फिल्ड एक्सपिडेसन, अनुसन्धान, लेक्चर र कम्पिटेन्सी इभ्यालुएसन प्रोग्राम आयोजना ग¥यौं । जोहन्स हप्किन युनिभर्सिटीको अमेरिकाकै हस्थी, प्रोफेसर कार्ल टेलर, डा. बब् पार्कर आदि र हामी सिनियरहरू मिलेर सुपरिवेक्षण ग¥यौं । हामी नवलपूरको उत्तरी डाँडो काटेर कोटाधाट पुग्यौं । त्यहाँका गाउँहरू र नवलपुर साईडको पहाडका गाउँहरूको बिस्तृत अध्ययन र इपिडेमिलजिकल सर्भे बिद्यार्थीहरूकै विभिन्न संयुक्त टोलीहरूकै इनिसियटिभमा सुरु गरायौं । हाम्रो काम बेला बेलामा नेपाल र अन्तर्राष्ट्रीय स्वास्थ्यका मूलभूत समस्या बारे प्रवचन गर्नु, सबै टिमको सुपरिवेक्षण गर्नु र बिद्यार्थीहरूका समस्या जिज्ञासा आदि छलफल गरि समाधान गर्नु ।
त्यहाँ मेडिकल र पब्लिक हेल्थ फिल्डमा अप्रत्यासित समस्या आयो । नवलपुरसाईड पहाडी गाउँ जो धनीमानी जमिन्दारहरूका घरहरू थिए । जसको नवलपुर फाँट र तनहुँ, कोटाघाट साईडको सबै भन्दा उब्जाउ र राम्रो जमिन त्यहि गाउँका बासिन्दाहरूको थियो । सर्भेमा के पाईयो भने लुतोेको प्रकोप धनिमानी पढने त्यस गाउँका बिद्यार्थीहरूमा ९५ प्रतिशत संक्रमित थियो भने कोटाघाटमा बिपन्न बोटे समुदायका बिद्यार्थीहरूमा लुतोेको संक्रमण ५ प्रतिशत भन्दा कम पाईयो । सबैले लुतो त बिपन्न र सरसफाईमा कमी भएको बालबालिकाहरूमा हुने भनि सबैले जानेकै हो लुतो लाई । यस्तो उल्टो परिणाम कसरी आयो भनि छलफल खुब चलायौं । दोह¥याएर पुनः सर्वेक्षण गर्ने निर्णय ग¥यौं । जोन्स हप्किनको प्रोफेसर र म स्वयंको सिधा सुपरिवेक्षणमा पनि त्यहि डाटा आयो । किनभने हामी बिद्यार्थी र शिक्षकहरूको घनीभूत छलफल चलायौं । निष्कर्ष निकाल्ने हामी कसैको क्षमता भएन । आखिर माथि र तल गाउँंहरूका गन्यमान्य जन सहभागितामा अर्को दिन छलफल गरि जवाफको आशा गर्न सक्ने निष्कर्ष निकाल्यौं । भोली पल्ट कोटा साईडको कालीगण्डकीको किनारको बलौटे चउरमा थुप्रै मानिसहरू भेला भए र गहन छलफल चलायौं । जवाफ त त्यहाँबाट पनि आउला जस्तो देखिएको थिएन । तर एक ४५÷४६ साल कि अधबैंसे बोटे महिला जो पहिले नै अली रक्सी खाई सकेकी थिइन “म भन्छु किन भनि” बोल्न अनुमति मागिन् । अरू गन्यमान्य ब्यक्तिहरूले “चूप लाग बहुलाही” भनि बोल्न नदिने प्रयास गरे । तर हामीले बोल्न हौसला दियौं । बिश्वकै स्तरीय बैज्ञानिक प्रोफेसरहरुले पेस गर्न सक्ने बस्तुस्थिती र दलील उनले पेश गरिन् जसले हामी सबै विद्वान भनाउँदाहरूका आँखा उघारी दियो ।
वहाँले जस्तो खरो र स्पष्ट बोलेको यहाँ उतार्न सक्ने ममा क्षमता छैन । तर, पनि वहाँले आफ्नो भनाई यसरी राख्नु भो, “त्यो जिम्वाल र धनीमानीहरूको गाउँमा ए के छ ? ठूलो ठूलो झकिझकाउ घरहरू मात्र भएर हुन्छ ? त्यस गाउँभर जम्मा पाँच कुवा धारा छन् । त्यहाँका बाहुन बाजे र केटाकेटीहरु दिनदिनै नुहाउँछन् । कागले नुहाएको जस्तो बस् । यहाँ त हाम्रा केटाकेटीहरू प्रकृति, गरिबी सबसँग जुध्न बाध्य छन् । हाम्रा केटाकेटीहरू स्कुल जाँदा घरको गाई भैंसी चौपायाहरू सँगसँगै लगेर काली पार नवलपुर र त्यस गाउँको फेडी जंगलमा छाडेर मात्र स्कुल जान पाउँछन् । पुल बाट बस्तु भाउ तार्न नदिने हुनाले ती बस्तुभाउसँग कालीमा हेलीएर पौडी खेलेर बस्तु भाउ पारी जंगलमा छाडी पौडी नै खेली वारि छाडेको किताब र लुगा च्यापेर स्कुल जान्छन् सबैजना । स्कुल पछि पनि पारी जंगल गई पौडी खेलेर गाईबस्तु घर गोठ ढुकाई मात्र आराम गर्न पाउँछन् । ल भन्नु होस् कागे नुहाएका बाहिर सुकिला मुकिला भित्र फोहरी केटाकेटीहरूमा लुतो नभए कसमा हुन्छ ? हाम्रा केटाकेटी दिनमा कम से कम ३ पटक कालीगण्डकीमा हेलिएर पौडी खेलेर वारपार गर्नैपर्नेहरूमा लुतो कसरी लाग्छ ? “त्यस अनपढ अधबैंसे महिलाले मेरो मात्र होइन जोहन्स हप्किनका प्रोफेसर, विद्यार्थी र हाम्रै अन्य शिक्षक र बिद्यार्थीहरूका ‘इको हेल्थ’ वा हेल्थ इकोलजी भर्खरै चर्चामा आउन थालेको बिषयमा बिहंगम दृष्टिकोण राख्ने अपूर्व मौका पायौं । त्यस “अनपढ“ महिला त्यस बेला र त्यस कारण हामी सबैको गुरुमा पनि महा गुरु हुन सक्नु भो । पुष्पलालजीले भने बमोजिम जनमानस भित्रको ज्ञान भण्डार अथाह र अपूर्व हुन सक्छ यदि हामी त्यसकोे लागि लायक बनाउन सकि सोध खोज गर्न सके ।यस्ता थुप्रै अनुभूति छन् त्यहि पुष्पलालजीको प्रेरणाले पाएको जीवनका अनुभूतीहरू । तर अहिले यति ।
पोष्ट कोभिड फंगल न्युमोनिया सँग जुध्दै, अक्सिजन सप्लिमेन्टेसन ((0.75 L/mt)) लिंदै, मेरो सबभन्दा महत्वपूर्ण राजनैतिक गुरु पुष्पलाललाई सम्झंदैछु ।
काठमाण्डु, २०७८ जेष्ठ ९ (May 23, 2021)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.