यस्तो छ नेपाल र भारतबीच गरिएको १९५० को असमान सन्धि
नेपाल र भारत बीच अत्यन्त असमान तबरबाट गरिएको १९५० को सन्धि तत्कालीन प्रधानमन्त्री तथा श्री ३ महाराज मोहन शम्शेर जंग बहादुर राणा र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहले २००७ साल श्रावण १६ गते अर्थात ३१ जुलाई १९५० मा हस्ताक्षर गरेका थिए । जुन सन्धिका दशवटा दफाहरू रहेका छन् । जुन यस प्रकार छन् ।
पहिलो दफाः नेपाल सरकार र भारतसरकार बीचमा अटल शान्ति र मित्रता रहनेछ । दुबै सरकारले परस्परमा एकले अर्कोको पूर्णराज्यसत्ता, राज्य क्षेत्रको अक्षुष्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्दछन् ।
दोस्रो दफाः कुनै छिमेकी राष्ट्रसँग केहि ठूलो खडबड वा फाटो पर्न आई त्यसबाट दुई सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुबै सरकारले परस्परमा सो कुराको समाचार दिनेमा जिम्मेवारी कबुल गर्दछन् ।
तेस्रो दफाः पहिलो दफामा उल्लेख भएको सम्बन्ध स्थापना र कायम गर्नका निमित्त दुई सरकारले आफ्ना कामकाज रीतपूर्वक चलाउनलाई चाहिने कर्मचारीवर्ग सहित प्रतिनिधिद्धारा परस्परमा प्रचलित अन्र्तराजनैतिक सम्बन्ध राख्न मञ्जुर गर्दछ । ती प्रतिनिधिहरू र तिनका मंजुर भएका कर्मचारीहरूले अन्तर्राष्ट्रिय विधानद्धारा पारस्पारिक रूप्मा प्रचलित तौरले दिइएका सबै अन्र्तराजनैतिक विशेषधिकारहरू र विमुक्तिहरू उपभोग गर्नेछन् । यी अधिकारहरू कुनै हालतमा पनि दुईमध्ये कुनै एक सरकारले आफुसँग अन्र्तराजनैतिक सम्बन्ध गर्न अर्को कुनै राष्ट्रका समान दर्जाका मानिसहरूलाई दिइएका अधिकार भन्दा कम हुने छैनन् ।
चौथो दफाः दुबै सरकारले परस्परमा कन्सुलेट जनरलहरू, कन्सुलेटहरू, वाइस कन्सुलेटहरू, अरु प्रकारका कन्सुलर प्रतिनिधिहरूको नियुक्ति मञ्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरूमा निवास गर्नेछन् । कन्सुलेट जनरलहरू, कनसुलेटहरू, वाइस कन्सुलेटहरू अरु प्रकारका कन्सुलर प्रतिनिधिहरूलाई उनको नियुक्तिको एक्सेकेटर अथवा अधिकारपत्र दिने मुलूकले आवश्यक ठहरिएमा सो वापस लिन सक्तछ । सो वापस लिनाको कारणको जनाऊ यथासम्भव दिइनेछ । अरु कुनै राष्ट्रका समान दर्जाका मानिसहरूलाई दिइएको सबै हक, विशेषाधिकार, माफी र विमुक्तिहरू माथि नाम गरिएका मानिसहरूले पनि पारिस्पिारिक तौरमा उपभोग गर्नेछन् ।
पाँचौ दफाः नेपाल सरकारलाई भारतको राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कलपुर्जा, गोली गट्ठा, खरखजना, मालसमान पैठारी गर्ने अधिकार छ । दुई सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कार्वाहीको तय गर्नेछन् ।
छैटौं दफाः भारत र नेपालको छिमेकी मैत्रीभावको प्रतिक स्वरूप दुबै सरकारले आफ्ना राज्यक्षेत्रमा रहेका अर्का सरकारका रैतीलाई आफ्ना मुलूकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकास सम्बन्धी रियायत र ठेक्काहरू मा भागलिनलाई राष्ट्रिय व्यवहार दिने कबुल गर्दछन् ।
सातौं दफाः नेपाल सरकार र भारत सरकारले आफ्ना राज्यक्षेत्रमा रहेका मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार–वाणिज्यमा भाग लिन चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरूको विषयमा पारस्पिारिक तौरले समान अधिकार दिनलाई कबुल गर्दछन् ।
आठौं दफाः जहाँतक यहाँ जिकर गरिएका कुराहरूको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फबाट ब्रिटिस सरकार औ नेपाल सरकार बीचमा भएका अघिका सबै सन्धिपत्र, स्वीकारपत्र र कबुलनामाहरू खारेज गर्दछ ।
नवौं दफाः यो संन्धिपत्र दुबै सरकारले हस्ताक्षर गरेको मिति देखि लागू हुनेछ ।
दशौं दफाः कुनै एक मुलुकले एक वर्षको भाखा दिई यो सन्धिपत्रको अन्त गर्न नखोजेसम्म यो सन्धिपत्र जारी रहनेछ ।
आज मुकाम काठमाडौंमा विक्रम संवत् २००७ श्रावण १६ गते रोज २ मुताविक इस्वी सन् १९५० जुलाई महिनाको ३१ तारिखका दिन यो सन्धिपत्रको दुबै प्रतिमा सहीछाप भयो । शुभम् ।