नेपाली चलचित्र तर्फ दर्शकहरुको आकर्षित गर्नका लागि रियालिटीवेसका चलचित्रहरु निर्माण गर्नुपर्छ
1 min readनेपाली चलचित्र तर्फ दर्शकहरुको आकर्षित गर्नका लागि रियालिटीवेसका चलचित्रहरु निर्माण गर्नुपर्छ
उत्तम केसी, विशिष्ट कलाकार
२०१८ मंसिर २९ गते बालाजु नेपालटार, काठमाडौंमा जन्मनुभएका उत्तम केसीको नेपाली कलाकारीताको क्षेत्रमा चिनाई राख्नुपर्ने नाम होइन । २०३८ साल देखि कलाकारीता क्षेत्रमा प्रवेश गर्नुभएका केसी नाम जस्तै लोकप्रिय काम गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । विशिष्ट कलाकार केसीले टेलिचलचित्रहरु ‘थोरै भए पुगीसरी’, ‘तितो सत्य’, ‘जीवन चक्र,’ ‘चेतना’, ‘जे होला होला’, हाकाहाकी गरी झण्डै एक सय पचास जत्ति छन् भने ठूलो पर्दाका चलचित्र मध्ये ‘पुकार’, ‘मोहनी’, ‘ज्वाला’, ‘राम बलराम’, ‘हासी देउ एकफेर’, ‘आफ्नो मान्छे’, ‘नाइ नभन्नु ल’ ‘डाँडाको वरपिपल’, घिन्ताङलगायत दुई सय जत्तिमा आफ्नो सशक्त कला प्रदर्शन गर्नुभएको छ । केसी चलचित्र विकास बोर्ड बोर्ड सदस्य, कलाकार संघ र कलाकार संघ र प्राविधिक संघको आजिवन सदस्य, गीतकार संघको आजिवन सदस्य, तारकेश्वर कला प्रतिष्ठानको अध्यक्ष जस्ता संस्थाहरुमा रहेर काम गर्नुभएका प्रष्टवक्ता केसीसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको छोटो अन्तरंगः
० तपाई एक जना पुरानो कलाकार हुनुहुन्छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी पश्चात के गर्दै हुनुहुन्छ ?
कोरोना भाइरसका कारण हाम्रो चलचित्र क्षेत्र पनि चलायमान हुन सकेन । हुनतः कोरोना भाइरसले विश्वव्यापी रुपमै असर गरेको थियो । त्यसको वावजुद पनि हामी नेपालीहरुमा आँट, भरोषा, जोश र जाँगर भएकाले कोरोना भाइरस नहटे पनि हामी काम गर्न सक्छौ भन्ने लागेर फिल्म शुटिङहरु सुरु गरिसकेका छौं । अहिले टेलिभिजनको पर्दामा आउने टेलिचलचित्र ‘साथ सबैको’ भन्नेमा खेलिरहेको छु । जुन रमाइलो टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । कलेज नेपाल युट्व च्यानलको आजकलको लभ भन्ने सिरियलमा खेलिरहेको छु । साथै मेरो आफ्नै ‘चुई चुई पारेर’ अनलाइन टेलिभिजनमा आउने ‘अब जे होला होला’ भन्ने सिरियलमा काम गरिरहेको छु । यसरी नै बिस्तारै काम भइरहेको छ ।
० कोरोना भाइरसका कारण थला परेको चलचित्र व्यवसाय प्रवद्र्धनका लागि केहि सरकारी स्तरबाट केहि सहजिकरण भएनन् ?
चलचित्र क्षेत्रलाई सरकारले सकरात्मक रुपमा हेरेको देखिदैन । हुनतः यो समयमा विशेष कार्यक्रमहरु लिएर आउँछौं भनेर चलचित्र विकास बोर्डले भनिरहेको छ । तथापि हालसम्म पनि एकदमै ठूलो परिवर्तन नै ल्याउने खालको सरकारी सहयोग भएको छैन । केबल ५० रुपैयाको दर्ता नविकरण निशुल्क गरिदिने भन्ने मात्रै छ । त्यो छुटले चलचित्र क्षेत्र कसरी उभो लाग्ला ?
० नेपाली चलचित्र क्षेत्र ठूला लगानीको विदेशी चलचित्रको मारमा सधै परिरहन्छ । त्यो मारलाई पन्छाएर नेपाली चलचित्रलाई विकास गर्नका लागि के गर्नुपर्दछ ?
नेपाली चलचित्रमा विदेशी हस्तक्षेप भयो भनेर भनिन्छ । तर, मानिसलाई मनोरञ्जन कसरी हुन्छ भन्ने विषयमा हामी सबैले ध्यान दिनु पर्दछ । हिन्दी र हलिउडका चलचित्रमा अलिकति बढि नै रियालिटीपन देखिएर हाम्रा दर्शकहरु त्यसतर्फ तानिएका हुन् । उनीहरुलाई नेपाली चलचित्र तर्फ आकर्षित गर्नका लागि हामीले पनि रियालिटीवेसका चलचित्रहरु निर्माण गर्न सकेमा उनीहरुको थिचोमिचो भन्दा पनि उनीहरुलाई हामीले नै थिचो मिचो गर्न सक्छौं ।
० नेपाली चलचित्रका पुराना हस्तीहरु विदेशिने क्रम पनि बढेको छ । नेपाली चलचित्रमै काम गरेर जिबिकोपार्जन गर्न सकिन्छ भन्ने अवस्था बनाउनका लागि तत्कालै के गर्नुपर्छ भन्ने लाग्छ ?
तत्कालका लागि हाम्रा राम्रा कलाकारहरु विदेशिए भन्ने विषयमा मलाई के लाग्छ भने ‘हामीले जत्तिसुकै राम्रा चलचित्र निर्माण गर ेपनि बजार सानो भएका कारण सोचे जस्तो ब्यापार गर्न सकिदैन’ । त्यसैले हाम्रा कलाकारहरु चलचित्रमा लागेर आफ्नो रोजी रोटी धान्न नसकेर विदेश जान बाद्य भएका हुन् । कलाकार मात्रै होइन यो देशमा राम्रा राम्रा र इमान्दार मानिसहरु पनि विदेशिएको अवस्था छ । युवाहरुलाई स्वरोजगारको व्यवस्था छैन । त्यसकारण विदेश जानु ठूलो कुरा भएन । हाम्रो चलचित्र क्षेत्रमा विकास बोर्डले पनि पहल गरिरहेको छ । वर्तमान चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहाल पनि चलचित्र क्षेत्रमा प्रवद्र्धन गर्नकै लागि लागिरहँनुभएको छ ।
० तपाई कलाकारिता क्षेत्रमा लामो समय लाग्नुभयो, यो क्षेत्रमा लाग्न चाहने युवा पिढीलाई के सन्देश दिनुहुन्छ ?
हामी जुन बेला चलचित्र क्षेत्रमा लागेका थियौं । त्यो समयमा पर्दामा हिन्दी चलचित्रहरु हेरेर लागेका हौं । पछि हामीले वार्षिक रुपमा एक वटा चलचित्र मुश्किलले बनाउँथ्यौं । यसरी हामी हेरेर, देखेर मात्रै काम गरेका हौं । तर, अहिलेका पिढीहरुले त चलचित्र सम्बन्धी कलेजमा अध्ययन गर्न पाएका छन् । ओस्कार, एभरेष्ट लगायतका कलेजहरु नेपालमै सञ्चालित छन् । हामी त मल्लकालिन अवस्थाका डबली नाटकहरु हेरेर पराम्परागत विधि र पद्दतिबाट आएकाहरु हौं । अहिले त रंगमञ्च पनि परिस्कृत र व्यवस्थित भएको छ । रंगमञ्चमा पनि चलचित्र जस्तै थेटरहरु खुलेका छन् । जहाँ नाटक सम्बन्धी अध्यन हुन्छ । त्यहि रिहर्सल गरेर सडक नाटक बनाइन्छ । यसै कारण हाम्रो समयमा भन्दा अहिले आएका नयाँ पीढीहरु पढेका रंगकर्मीहरु छन् । चलचित्रमा पनि त्यहि खालको राम्रो जनशक्ति छ ।
० पछिल्लो समयमा चलचित्र क्षेत्रमा सामाजिक सञ्जालले पारेको प्रभावबारे कसरी विश्लेषण गर्नुभएको छ ?
सामाजिक सञ्जाल भनेको समयको माग हो । सामाजिक सञ्जालकै कारण नयाँ नयाँ प्रविधिहरु आए जस्तैः युट्युव टिकटकहरु । यसरी मनोरञ्जनका लागि पहिला पहिला सिनेमा हलमा गएर सिनेमा हेर्ने नाटक घरमा गएर नाटक हेर्ने नै थियो । तर, अहिले बिभिन्न किसिमका मनोरञ्जनहरु आप्mनै हातमा आइसकेका छन् । यसरी सामाजिक सञ्जालमा रमाउनु हुन्न भन्न सकिदैन । किनकी यो बिल्कुलै समयको माग हो । कसैले रोक्न खोजे पनि रोकिदैन । अहिले टिकटक र युट्वहरुले गर्दा धेरै जना राम्रा कलाकारहरु जन्मनु भएको छ । यो एकदमै रमाइलो पक्ष हो ।
० अन्तमा केहि भन्नु छ कि ?
हामी नेपाली चलचित्रमा सामान्य साधन र स्रोतबाट प्रयोग गरेर काम गरेका छौं । रंगमञ्चमा पनि त्यस्तै अवस्था छ । सबैले नेपाली कलाकारहरुलाई माया गरिदिनु होला । सिमित स्रोत र साधनबाट पस्किएका खुराहरुलाई हेरेर मुल्यांकन गरी सुझावहरु दिएर हामीलाई प्रोत्साहन गरिदिनुहोला । हामीले जत्तिसुकै राम्रो अभिनय ग¥यौं भने पनि हाम्रो मुल्यांकन तपाई दर्शकको हातमा छ । दर्शकहरुलाई हाम्रो के अनुरोध छ भने हाम्रा चलचित्रलाई हेरेर सकरात्मक सुझाव दिनुहोला । किनकी हामी सिक्दै गरेका नेपाली चलचित्रकर्मीहरु हौं ।