October 8, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

अवैध रुपमा विदेशमा लगानी गर्ने १६ नेपालीका विषयमा सरकार किन मौन छ ?

काठमाडौं । नेकपा माओवादीबाट सञ्चालित १० वर्ष जनयुद्धमा उल्लेखनीय भूमिका निर्वाह गरेका नेता जनार्दन शर्मा प्रभाकर अर्थमन्त्री हँुदा पनि टेक्स हेवन मुलूकमा गैरकानूनी लगानी गर्नेहरु माथि कानुनी कारबाही हुन सकिरहेको छैन । नेपालीले विदेशमा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्दछ । तर, त्यो परिमाणको रकम कसरी विदेश पुग्यो त्यसको गम्भीर अनुसन्धान हुन जरुरी छ ।
नेपालका ठूला बैंकहरुबाट अनाआवश्यक रुपमा ऋण लिने र सर्वसाधारणको बचत रहेको बैंक नै डुबाउने हर्कत गर्नेहरुले वर्षेनी झण्डै तीस अर्ब भन्दा बढि रकम राष्ट्रको दोहोन गरेको एक जना पूर्व उद्योग मन्त्री बताउँछन् । विश्वका धनाढ्य भनेर चिनिएका विनोद चौधरीका सबै परिवारका नाममा टेक्स हेवन मुलूकमा कम्पनी रहेको खुलेको छ । चौधरी विश्वका धनाढ्यको सूचिमा रहेको सार्वजनिक भएपनि कर तिर्ने क्रममा भने उनको नाम धेरै जना पछाडि परेको छ । आइसीआइजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका तीन ठूला व्यापारिक घराना चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन र अजय सुमार्गीको परिवार सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।
ट्याक्स हेभन मुलुकमा ‘अफशोर कम्पनी’ खोलेर लगानी गर्नु किन गम्भीर विषय हो भन्ने बारेमा आइसीआईजेका निर्देशक जेरार्ड रायलले प्रष्ट्याएका छन् । प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अष्टे«लियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै रायलले ‘अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरिबी बढाउनेदेखि कर बापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन् । उनको भनाइमा यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् ।
संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आइसीआइजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ लाई उपलब्ध गराएको कागजात अनुसार संघीय संसद सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् ।
नेपालको मौजुदा ऐन र कानूनलाई छलेर विदेशमा रकम राख्ने समानुपातिका सांसद चौधरीलगायतका व्यक्तिहरुलाई हालसम्म पनि कुनै कारबाही नै भएन । गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइदैन । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न रुपमा ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । “यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ” त्यसबाहेक नेपाली नागरिकको विदेशमा लगानी गैरकानूनी हो ।”‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।
विश्वका धनाढ्यहरुको सूचिमा नाम लेखाएका उद्योगी विनोद चौधरी लगायतका १६ जना नेपालीले अवैध रुपमा विदेशमा रकम लगानी गरेको खुलेको छ । पेण्डोरा पेपर्समा ९० देशका ३३० जना भन्दा धेरै राष्ट्रपति, प्रधानमन्त्री मन्त्रीलगायतका राजनीतिककर्मीहरु, व्यवसायी, सरकारी अधिकारीहरु, सेलिब्रेटी र अपराधमा संलग्नहरुले विभिन्न कम्पनीमार्फत लुकाएर राखेको उल्लेख गरी नाम सार्वजनिक गरेको थियो । यसरी पहुँचवला व्यक्तिले कानून हातमा लिएर अवैद्य काम गर्दासमेत सरकार मौन छ ।
नेपालको ऐन र कानून अनुसार नेपाल राष्ट्रबैंकको स्वीकृति बिना नेपालीलाई विदेशमा लगानी गर्न निषेध गरेको छ । यसरी अन्य विदेशमा लगानी गर्दा अनुमति नलिएको खण्डमा दण्डनीय हुने भनिएपनि नाम सार्वजनिक हुँदासमेत नेपालको केन्द्रीय बैंक रमिते बनेर बसेको छ । नेपालको केन्द्रीय बैंकको अनुमति बिनै रकम लगानी गर्नेहरुमा बिनोद चौधरी (नेपाली कांग्रेसको तर्फबाट संघीय संसदमा समानुपातिक सांसद), विनोदकी श्रीमती सारिका चौधरी, छोरा निर्वाण चौधरी, भतिजाहरु वरुण चौधरी र राहुल चौधरी छन् । त्यसैगरी गोल्छा अर्गनाइजेशनका अध्यक्ष लोकमान्य गोल्छा, चन्द्र कुमार गोल्छा, हितेश गोल्छा गरी तीन जनाको नाममा अवैध रुपमा विदेशमा लगानी गरिएको खुलेको छ ।
अर्का विवादित व्यवसायी अजय सुमार्गी र उनका नातेदार अरुण शर्माको नाममा पनि अवैद्य रुपमा रकम लगानी गरिएको पेण्डोरा पेपर्समा खुलेको छ । त्यसै गरी किशोर राना, राजेन्द्र शाक्य, सुहृदराज घिमिरे, पुरुषोत्तम पौडेल, सुधिर मित्तल र राधेश्याम सर्राफको नाममा पनि विदेशमा अवैध रकमको लगानी गरिएको खुलेको छ ।
एक पूर्व उद्योगमन्त्रीका अनुसार भ्याट फिर्ता लगायत विभिन्न नाममा २० जना व्यवसायीले नेपालको राजश्वबाट ३० अर्ब दोहोन गर्ने गरेको खुलाएका छन् । यसरी प्रतिवर्ष ३० अर्ब दोहोन गर्नेहरु नै अहिले पनि राज्यबाटै सम्मानित हुँदै आएका छन् । त्यसो त उनै विनोद चौधरीको समूहबाट राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्ति गरिएको चर्चा चलेको छ ।
२६ चैत २०७४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीले उखु किसानको भुक्तानी नगर्ने इष्टर्न सुगर मिल्सका वित्त प्रबन्धक वृजमोहन गुप्तालाई पक्राउ गरेको थियो । मिलले किसानसँग उखु खरिद गरे बापतको रकम भुक्तानी दिने सूचना जारी गरेर पनि नदिएपछि गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । त्यसबेलासम्म मिल्सले किसानलाई ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । पक्राउ परेको दुई दिनपछि मात्र उद्योगले किसानलाई भुक्तानी दिन थालेको थियो (२०७७ माघमा) इष्टर्न सुगर मिल्सले किसानहरूलाई सरकारले तोके अनुसार उखुको भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिनु परेको हो ।
कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । नेपाली कांग्रेसबाट संविधानसभाका लागि समानुपातिक सिटमा सभासद बनेका दिवाकर गोल्छाका छोरा हितेश गोल्छा सञ्चालक रहेको यो चिनी मिलले किसानहरुको उखु बेचे बापतको भुक्तानी असुल गर्नका लागि पटक पटक आन्दोलन गर्नु परेको थियो ।
त्यसो त भृकुटी कागज कारखानामा मात्रै गोल्छा अर्गनाइजेशनले करोडौं रुपैया बैंकहरुलाई फसाएर ऋण लिएको छ । चार करोड ९२ लाख ४२ हजार रुपैयामा पास गरी परासी मालपोतमा पास गरिएको उक्त उद्योगलाई सुरुवातमै ५० औ करोड ऋण दिइएको छ । अहिले राष्ट्रिय वाणिज्य बैंकको मात्रै झण्डै डेड अर्ब रुपैया ऋणअ असुल गर्नुपर्ने अवस्था रहेको छ । त्यसै गरी लिड बैंक नेपाल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको पनि अबौं रुपैया बाँकी छ । २०४९ सालमा १७ करोड मूल्य राखिएको भृकुटी कागज कारखानालाई चार करोड ९२ लाख ४२ हजार मूल्य राखि रजिष्ट्रेशन पास गरिएको थियो । यसरी ७८० असी रोपनी जग्गा उद्योगको पूर्वाधार, गाडी, छ करोड बैंक ब्यालेन्स लगायतको सम्पत्ति कौडीको मोलमा भित्राइएको थियो ।
नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सर्राफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय मूलका सर्राफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो । उनका अर्का छोरा अरुण सर्राफले बलिजमै द भरुनिसा ट्रष्ट कम्पनी खोलेका छन् । यो कम्पनी पनि सन् २००६ मै अरुणले पूर्ण एकल स्वामित्वमा खोलेको देखिन्छ । उनका अलावा यो कम्पनीका लाभार्थी मालिक राधेश्याम र उनकी श्रीमती रत्ना छन् ।
विदेशमा अवैद्य लगानी गर्ने नेपालीहरु
१. बिनोद चौधरी (नेपाली कांग्रेसको तर्फबाट संघीय संसदमा समानुपातिक सांसद),
२. सारिका चौधरी (विनोदकी श्रीमती),
३. निर्वाण चौधरी
४. वरुण चौधरी
५. राहुल चौधरी
६ लोकमान्य गोल्छा अध्यक्ष, गोल्छा अर्गनाइजेशनका
७. चन्द्र कुमार गोल्छा (लोकमान्यका काकाका छोरा)
८. हितेश गोल्छा (भाइ दिवाकर गोल्छाका छोरा)
९. अजय सुमार्गी (विवादित व्यवसायी)
१०. अरुण शर्माको (अजय सुमार्गीका नातेदार)
११. किशोर राना,
१२. राजेन्द्र शाक्य (ललितपुर पुल्चोक)
१३. सुहृदराज घिमिरे
१४.पुरुषोत्तम पौडेल
१५. सुधिर मित्तल (ज्ञानेश्वर काठमार्डौं)
१६.राधेश्याम सर्राफ (याक एण्ड यति होटलका मालिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.