October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सञ्चारमाध्यममा विदेशी लगानी भित्राएर सत्ताधारी दलबाटै संविधान र ऐनलाई कुल्चदै ?


नारायण प्रसाद शर्मा
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रवार भारतीय विवादस्पद योग गुरु बाबा रामदेव (रामकृष्ण यादव)ले सञ्चालन गरेका दुई वटा टेलिभिजन उद्घाटन गरेका छन् । नेपालमा सञ्चार उद्योग सञ्चालन गर्नका लागि विदेशी नागरिकलाई बर्जित गरिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण—२०७५ को अनुसूचिमा सञ्चार उद्योगमा विदेशी लगानी गर्न नपाइने स्पष्ट रुपमा उल्लेख गरिएको छ । तथापि प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसमेत उद्घाटन समारोहमा सामेल भएर संविधान, ऐन र कानूनको खिल्ली उडाएका छन् ।
नेपाली सञ्चार माध्यममा विदेशी लगानी सार्वभौम मुलूकको हितमा नहुने हुँदासुरु देखि नै यसको लागि बर्जित गरिएको थियो । शेर बहादुर देउवा प्रधानमन्त्रीमा पाँचौ पटकको इनिङ पछि नेपालको परराष्ट्र नीति एकातर्फी रुपमा दक्षिणको निगाहमा चल्न थालेको अनुभूति रामदेवलाई टेलिभिजन चलाउन दिनुले पुष्टि गरेको छ । पूर्व रक्षा तथा गृहमन्त्री डा. भीम रावलले ट्वीटरमार्फत पोष्ट गरेका छन् “पाँच दलिय प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी.भी. भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो । यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्” त्यसै गरी पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि भारतीय योग गुरु रामदेवलाई टिभी सञ्चालनका लागि निशुल्क जग्गा दिएको विषयमा आक्रोश व्यक्त गरेका छन् । स्मरणीय कुरा के छ भने जनता समाजवादी पार्टी पनि सरकारमा सामेल छ । त्यसै गरी सरकार समर्थित अर्को दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी भने अहिलेसम्म मौन छन् । उनले यस विषयमा मुख खोलेका छैनन् ।
सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त उद्घाटन कार्यक्रममा रामदेवलाई ‘क्रान्तिकारी’को संज्ञा दिएका थिए । आचार्य बालकृष्ण र रामदेवको लगानी रहेको भारतको हरिद्वारस्थित पतञ्जली आयुर्वेदले नेपालमा टेलिभिजन सञ्चालनमा ल्याएको हो । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्ने गरी सञ्चालन गर्न लागेको हो । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ । आचार्य बालकृष्ण पतञ्जली योगपीठ हरिद्धारका अध्यक्ष हुन् । स्याङ्जामा जन्मेका बालकृष्ण आफुलाई भारतीय नागरिक बताउँदै आएका छन् । उनका बाबु आमा र भाइहरु स्याङजामा अहिले पनि छन् । तर, उनी त्यहि सम्बन्धलाई जोडेर नेपालका जडीबुटीहरु कौडीको मोलमा भारत लगी डलर मूल्यमा औषधि बेच्ने बजार नेपाललाई बनाउँदै छन् । आयुर्वेद उद्योग र विश्व विद्यालय खोल्ने ललिपप दिँदै काभ्रेमा जग्गा खरिद गरेका राम देवले पुनः नाफा लिएर उक्त जग्गा बेचिसकेको बताईन्छ ।


पतञ्जली योगपीठ नेपाल प्रमुख नै विवादस्पद्

नेपालमा दर्ता नै नभएको पतञ्जली योगपीठका अध्यक्ष शालिक राम सिंह हुन् । सिंह पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री सुजता कोइरालकाको स्वकीय सचिव बनेर विदेशीहरुसँग सम्पर्क बढाएका हुन । उनले राम देवको नाम भजाएर बार्षिक करोडौंको जग्गा आफ्ना नाममा खरिद् गर्दै आएका छन् । उनको मण्डिकाटारको कार्यालयमा काम गर्ने एक जना कामदारलाई समेत गायव बनाएको समाचार डायरी एक्सप्रेस साप्ताहिकमा यस अघि नै प्रकाशन गरिएको थियो । तथापि प्रहरी प्रशासन उनको शक्तिका अगाडि लजावती झार जस्तै ओइलाउने गरेको छिमेकीहरु बताउँछन् । उनले विवाह गरेर ल्याएकी भारतीय मूलकी श्रीमती रेखा सिंहसंग पारपाचुके गर्नका लागि दवाव दिएको कुरा रेखाले नै डायरी एक्सप्रेस साप्ताहिकलाई बताएकी थिइन् । पतञ्जली योगपीठ नेपालका कोषाध्यक्ष ओम बंशल दाल, चामल र तेलको नेपालका थोक विक्रेता हुन् । उद्योग बाणिज्य महासंघको तीन कार्यकाल केन्द्रीय सदस्य बनेका बंशलले भूकम्पको समयमा अध्यक्ष शालिकरामसंग मिलेर २० करोड रुपैया पतञ्जली योग पीठ हरिद्धारबाट सहयोग ल्याएर केहि लाखको दाल भातको भण्डारा सिन्धुपाल्चोक जिल्लामा लगाएर पुरै रकम झ्वाम् पारेका थिए ।
के भन्छन् राम देव ?
रामदेव बाबाले नेपाल वैदिक सनातन एवं संस्कृतिले धनी तथा अद्वितीय देश भएको भन्दै प्रशंसा गरेका छन् । साथै यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनबारे भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् । शनिबार बिहान चन्द्रागिरी डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ’नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु ।’ भनेका थिए । तर, भारतीयहरुले नेपालको धार्मिक यात्रा गर्दा नेपाललाई कति फाइदा हुन्छ भन्ने विषय नै महत्वपुर्ण हो ।
धार्मिक पर्यटनमा आएका भारतीयहरुले खानासमेत आफै ल्याउने गर्दछन् भने पशुपतिका धर्मशालामा बसेर अत्यन्तै कम खर्च गर्ने हुँदा कुनै अर्थ नहुने पर्यटन ब्यवसायीहरु बताउँछन् । पर्यटन विद्हरुका अनुसार गुणस्तरीय यात्रुहरुबाट मात्रै पर्यटन व्यवसाय फस्टाउन सक्छ । अन्यथा पशुपतिमा शिवरात्रीमा आएका जोगीहरु र भारतीयहरुका कारण कुनै फाइदा नहुने नाम नबताउने शर्तमा दाबी गरेका छन् ।


को हुन् राम देव ?
भारतीय योग गुरु राम देव यादव अर्थात बाबा रामदेव पतञ्जली योगका नामबाट ब्यापार व्यवसाय गरेर अबौंपति बनेका ब्यक्ति हुन् । बहुराष्ट्रिय कम्पनीको कडा आलोचक भई भारतमा राष्ट्रियताका नाममा सरकारी बिजेपीलाई फाइदा हुने काम गरेका रामदेवले नेपालमा भने आफ्नो बजार स्थापना गरी महंगो समान बेच्ने बजारका रुपमा स्थापना गराएका छन् । बिभिन्न कम्पनीका उत्पादनलाई रामदेवको कम्पनी पतञ्जलीको छाप लगाएर दोब्बर महंगो मूल्यमा विक्री गर्दै आएका छन् । उनको सम्पत्ति भारतको अनुगमन गर्ने निकाय सिबिआईले पनि छानविन गरेको थियो ।
दिल्ली चिकित्सक संघले अल्लोप्याथीलाई बदनाम गरेको आरोपमा यिनै कथित योग गुरु राम देव (रामकृष्ण यादव) विरुद्ध एफआईआर दर्ता गर्न भन्दै गत जेठ महिनामा दरियागन्ज प्रहरी चौकीलाई पत्र लेखेको थियो । कोरोनाभाइरस रोग विरुद्ध (कोभिड–१९) सबै एलोप्याथिक उपचार असफल भएको र चिकित्सा हस्तक्षेप भएर मानिसहरुको मृत्यु भएको योग शिक्षकको भिडियोमा आए पछि विवाद उत्पन्न भएको हो । भारतीय चिकित्सक संघले पनि रामदेवलाई कानुनी सूचना पठायो, बाबा राम देवले एलोप्याथी एउटा यस्तो मूर्ख र दिवालीया विज्ञान भएको उल्लेख गरेका थिए र विगतमा पनि बाबा राम देव ले कोभिड–१९ उपचारको लागि तथाकथित आश्चर्यको औषधी र औषधी बेच्न आधुनिक चिकित्सा र चिकित्सकहरुलाई हत्याराहरु हुन् भनी दाबी गर्दै आएका थिए । संघले स्वास्थ्य मन्त्री डा हर्षवर्धनलाई लेखेको पत्रमा संस्थाले रामदेवलाई महामारी रोग ऐन १८९७ अन्तर्गत मुद्दा दायर गर्न वा मन्त्रीले उनको आरोप स्वीकार गरेर आधुनिक चिकित्सा सुविधा भंग गर्न माग गरेको थियो ।


रामदेवको फार्मेसीमा मानिस र जनावरको हड्डीबाट औषधि !
रामदेवको फार्मेसीमा औषधि बनाउँदा मानिस र जनावरको हड्डी पिसेर मिसाइने आरोप लागेको थियो । वि.स. २०६२ साल माघमा भारतीय नेता प्रकाश करातकी श्रीमती सीपीआई (एम) फायरब्रान्ड वृन्दा करातले हरिद्वारस्थित रामदेवको दिव्या फार्मेसीमा ज्याला कटौतीको विरोध गरिरहेका मजदुरहरूको समूहलाई समर्थन गरिन् । त्यसपछि उनले भिरंगी र नपुंसकताको उपचारका लागि फार्मेसीमा बनाइने आयुर्वेदिक औषधिमा मानिस र जनावरको हड्डीबाट बनेको पाउडर रहेको आरोप लगाइन् । करातले आफ्नो दाबी प्रमाणित गर्न औषधिको दुईवटा नमूना सरकारी प्रयोगशालामा पठाएकी थिइन् । भारतीय कांग्रेस आईको सरकारका विरुद्धमा पटक पटक धर्ना र अनसन बस्दै आएका रामदेवलाई हालको सत्ताधारी बिजेपी पार्टीको समर्थन छ । त्यसैकारण उनका हजारौं खत माफी भएका छन् । उनीमार्फत मोदीसँगको सम्बन्ध अझ प्रगाढ बनाउन सत्ताधारी दलले संविधान मिचेर काम गरिरहेको आशंका गरिएको छ ।


प्रतिपक्ष दल एमालेको विरोध
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवाले बाबा रामदेवको टिभी उद्घाटन गरेकोमा विरोध जनाएको छ । एमालेका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरे का छन् । ज्ञवालीले सो च्यानल नेपालको कानुन विपरित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रतिक्रिया समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.