नेपाल तिब्बतको अधिनमा कहिल्यै थिएन
केही दिन अगाडि फेसबुकको पोस्टमा एक ब्यक्तिले नेपाल तिब्बतको अधिनमा थियोे भनेर लेखि त्यसको श्रोत भारतीय ईतिहासकारलाई बनाएका थिए । यद्यपि तिब्बतका राजा श्र्रङचङ् गम्पोसँग नेपालको लिच्छवी राजा नरेन्द्र देवको ज्वाइँ र जेठानको सम्बन्ध थियोे । नेपाल पूर्ण रुपले स्वतन्त्र थियोे भन्ने बिभिन्न दस्तावेज , बंशावली र शिलालेखबाट पुष्टि हुन्छ । नेपालका राजा उदयदेवलाई भारदार विष्णु गुप्तले सत्ता कब्जा गरेपछि राजा उदयदेव, उत्तराधिकारी नरेन्द्रदेव र आफ्नो केही सेना लिएर सन् ६३३ मा ल्हासा पुगेका थिए । तिब्बतका राजा श्रङचङ् गम्पोले उनलाई राजाकै हैसियतले ल्हासामा बस्न दिएका थिए । लामो बसाइँको क्रममा राजा उदयदेवको मृत्यु भयो । र, नरेन्द्र देव नेपालमा फर्कने तयारीमा लागे । श्रङचङ् गम्पो र नेपालका राजा नरेन्द्र देवको घनिष्ठ सम्बन्ध भएकोले नै राजा नरेन्द्र देवको बहिनी भृकुटीको विवाह राजा श्रङचङ गम्पोसँग भएको हो । तर नरेन्द्र देवलाई श्रङचङ गम्पोले नेपालको राजगद्दी मा स्थापित गरे भन्ने कुरामा कुनै सत्यता छैन । डि.आर. रेग्मीले आफ्नो पुस्तक प्राचीन नेपालको ईतिहास को २१२ पेजमा लेख्नु भएको छ “तत्कालीन समयमा नेपाल पूर्ण रुपमा स्वतन्त्र राष्ट्र थियोे र कहिले पनि तिब्बत को अधिनमा थिएन” । इतिहासकार दिनेशराज पन्तको भनाई पनि करिब करिब यस्तै प्रकारको छ । श्रङचङ गम्पोले राजा नरेन्द्र देवलाई राजगद्दीमा स्थापित गराए भन्ने कुराको कुनै आधार भेटिदैन । इतिहास शिरोमणी बावुराम आचार्य आफ्नो पुस्तक “चाईना तिब्बत र नेपाल” को पेज १४ मा लेख्नु हुन्छ उदयदेवलाई सत्ताच्युत गरेर राजा भएका बिष्णु गुप्तले चीनबाट आएको प्रतिनिधि मण्डल जो नेपाल आएर बुद्विष्ट राजा हर्षवर्धनले राज्य गरेको कनोज जाने तयारी गरेर तिब्बत पुग्दा राजा बिष्णु गुप्तले नेपाल प्रवेशको अनुमति दिएनन् । फलस्वरूप, नेपालसँग सिमाना जोडिएको तिब्बत र कनोजका राजा धेरै रिसाए जसबाट निरंकुश विष्णु गुप्तलाई राजगद्दी छोडन बाध्य गरायो । र, उनको ठाउँमा भिमार्जुन राजगद्दीमा बसे तर यिनलाई छिटै नै आफ्नो राजगद्दी नरेन्द्र देवलाई बुझाउनु प¥यो । किनभने नरेन्द्र देव सेना सहित नेपाल प्रवेश गरिसकेका थिए । नरेन्द्र देवको सेना र भिमार्जुनको सेना बीच युपग्राममा युद्व भयो र राजा भिमार्जुनले आत्मासमर्पण गरे । चीनको ताङ राज्य कालको बंशावलीमा तिब्बती सम्राट श्रङचङ गम्पोले नेपालको राजगद्दी मा नरेन्द्रदेवलाई स्थापित गरे भन्ने लेखिएको छ । यो भनाइ केहिहदसम्म ठीक छ । तर, श्रङचङ गम्पोले मद्दत त अवश्य गरेका हुन तर सेना पठाएर होईन । सेना पठाएर नरेन्द्र देवलाई स्थापित गरेको भन्ने कुरा निराधार हो । बावुराम आचार्य लेख्नुहुन्छ “यो सत्य होईन नेपाल तिब्बत को अन्तरगतमा थियोे र नेपाल को राजा नरेन्द्र देव तिब्बत को राजा श्रङचङ गम्पोको आश्रित थिए भन्ने भनाइ निराधार हो । नरेन्द्र देवले तिब्बत बाट फर्किनसाथ स्वतन्त्र र सार्वभौम नेपाल को सम्पूर्ण अधिकार लिदै भट्टारक र महाराजधिराजको पदवी ग्रहण गरिसकेका थिए । नरेन्द्र देव उनको पूर्वज राजा मानदेव र अंशुवर्मा जस्तै सार्वभौम राज्यका राजा थिए । एउटा साथी र मद्दतगारको हिसाबले तिव्वतका राजा श्रङचङ् गम्पोले राजकुमार नरेन्द्र देवलाई सत्तामा पु¥याउन निश्चित रूपमा मद्दत गरेका हुन । राजगद्दीमा बसेको केही समय पछि नरेन्द्र देवले चीनबाट आएको चिनियाँ प्रतिनिधि मण्डललाई कनोजमा पठाए । यो मिसनको नेतृत्व लि युपाओले गरेका थिए जसमा चिनियाँ सेनाको जर्नेल वाङ युवाची पनि थिए । – बावुराम आचार्य , “चाईना तिब्बत र नेपाल” पुस्तक पेज नं १५ ।
राजा हुनसाथ नरेन्द्र देवले चीन र तिब्बत मा नेपाली प्रतिनिधि मण्डल पठाए र यो प्रतिनिधि मण्डल सन् ६४३ मा चीनको राजधानीमा पुग्यो त्यसवेला चीनको बादशाह ताईजुङ थिए । यो नेपालको प्रतिनिधि मण्डलले चीनसँग कुटनैतिक सम्बन्ध स्थापना गरेको देखिन्छ । नेपाल र तिब्बत को सम्बन्ध अति नै घनिष्ट रह्यो । नेपालको बंशावलीलाई आधार बनाउदै तिब्बतका राजाले सन् ६४० तिर नेपाल आएका उल्लेख गरेको छ । र, नरेन्द्र देवको बहिनी श्रङचङ् गम्पोको रानी भृकुटीले बुद्वधर्म लाई प्रचार गर्न सहयोग गरेको उल्लेख गरिएको छ – नेपाल स्ट्राटेजी फर सर्भाईवल – लियो रोज पेज ११ ।
तुङह्वाङमा प्राप्त भएको बहुमुल्य तिब्बती दस्तावेजमा सन् ६५० देखि ७४७ वीचमा तिब्बतका राजाहरुले नेपालको भूमि लाई आफ्नै भूमि सरह मानेर वस्ने गरेको उल्लेख गरेको छ । तर कुनै पनि तिब्बती दस्तावेजमा नेपाल तिब्बतको अधिनमा रहेको उल्लेख गरेको पाईदैन र नेपाल स्वतन्त्र र शक्तिशाली राष्ट्रको रुपमा उल्लेख गरेको पाईन्छ । अर्काेतिर कनोजमा पुगेको चिनियाँ प्रतिनिधि मण्डल कनोजमा पुगेपछि त्यो प्रतिनिधि मण्डललाई तत्कालीन समयमा राजगद्दीमा बसेको कुटिल राजा अर्जुन तथा अरुन स्वय भन्ने राजाले नजरबन्दमा राखे र उपहार पनि खोसे । प्रतिनिधि मण्डलका सदस्य चिनियाँ सेनाका जर्नेल वाङ भागेर नेपाल आए र चिनियाँ दरवारलाई गुहारे र चीनको दरवारले तिब्बत र नेपालसँग मद्दत माग्यो । फलस्वरूप , तिब्बतको १५०० पैदल सेना र नेपालको ७००० घोडचढी सेनाले संयुक्तरूपमा कनोजमा आक्रमण गरि राजा अरुण स्वयलाई बन्दी वनाए । अरुण स्वयको हजारौं सेना मारिए । त्यसपछि उनको रानीले १०००० सेना लिएर लडन आईन । तर त्यो सेना पनि लडन सकेन र आत्मासमर्पण ग¥यो । त्यसपछि राजा अरुण स्वय उनकी रानी र उनको परिवार सवैलाई युद्व बन्दी सरह नेपालले चीनलाई बुझायो । नेपाल र चीनको सैनिक सम्बन्ध यसवेला देखि भएको देखिन्छ ।