January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सिर्जनाले मानिसलाई आनन्द दिन्छ भने कृतिले मानव समुदायलाई पौष्टिक खुराक

हरिभक्त सिग्देल ‘महेश’ साहित्यकार


आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने स्रष्टा हुनुहुन्छ हरिभक्त सिग्देल ‘महेश’ । उहाँको केहीदिन पहिला पैँतालिसौं विवाह वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति पाठक माझ आएको छ । सिग्देलको यो ४३औं कृति हो । पिता खड्ग्ध्वज सिग्देल र माता गंगादेवी सिग्देलको कोखबाट काठमाडौंको जितपुरफेदीमा जन्मिनुभएका सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट एम.पी.ए.सम्मको अध्ययन गर्नुभएको छ । उहाँका ४३ वटा साहित्यिक, धार्मिक कृतिहरु सार्वजनिक भएका छन् भने एक दर्जन जस्तो कृतिहरू प्रकासोन्मुख रहेका छन् । पेशागत हिसावले जताततै सफलता हासिल गरे पनि प्रहरी सेवाको सामान्य पदबाट शुरु गरी डिएसपी (प्रहरी नायव उपरीक्षक) पदबाट अवकाश प्राप्त हुँदासम्म प्रबल गोरखा दक्षिण बाहु चौथादेखि संयुक्त राष्ट्रसंघ शान्ति सेवा पदकसम्म गरी दशौं पदक तथा विभूषणले विभूषित रहनुभएको छ उहाँ । भारत, मोजाम्बिक, मलाबी, जिम्बाबे, जाम्बिया, ताञ्जानियाँ, इजिप्ट, साउथ अफ्रिका, संयुक्त राज्य अमेरिका, रुस, बेलारुसलगायत विदेश र स्वदेशका पैसठ्ठी भन्दा बढी जिल्लाको भ्रमण मात्र नभई सारभूत अनुभव उहाँमा रहेको पाईन्छ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकसमेत रहेर कार्यसम्पादन गरिसक्नुभएका सिग्देल हाल चावहिल स्थित मेडिकेयर अस्पतालका कार्यकारी निर्देशक हुनुहुन्छ । विश्व मानव समुदायलाई आफूले अनुसन्धानगरी पत्ता लगाएको सत्य, तथ्य जानकारी गराउनु नै आफ्नो लखेनको उद्देश्य ठान्नुहुने सिग्देलसँग डायरी एक्सप्रेसका लागि गरिएको कुराकानीको संक्षिप्त अशंः–


० अहिले के गर्दै हुनुहुन्छ ?
कार्यालयको काम र लेखन पठन गर्दै छु ।


० हरिभक्त सिग्देल को हो ?
साहित्यकार, अनुसन्धाता, चिन्तक ।


० साहित्य लेखन कहिले देखि सुरु गर्नु भयो ?

२०२३ साल देखि कविता लेख्थे । पुस्तक आकारमा लेखन सुरु गरेको २०४४ साल देखि हो ।


० साहित्यमा तपाईंको बढि रुचिको विषय के हो ?
कविता गद्य÷पद्य, अध्यात्म, अनुसन्धान, खोज, चिन्तन ।


० अध्यात्म साहित्यतर्फ यहाँको विशेष लगाव रहेको छ, तपाईलाई यसतर्फ अनुराग उत्पन्न हुनाका कारणहरु केही छन् कि ?
बुद्धले रोगी, वृद्ध र मृतकलाई देखेर जीवनमा परिवर्तन गरे जस्तै मेरो पनि जीवन÷मृत्यु र जीवन साथै अध्यात्म, ईश्वर, धर्ममा भएका विविधता सम्बन्धमा यथार्थ धर्म, ईश्वर र मृत्यु अघि, पछि र बीचको जीवन सम्बन्धमा खोज गर्नु नै हो ।


० यस तर्फको आकर्षण र औचित्य के हो ?
बेदले पनि यत्ति हैन अरु पनि छ भनेर टुङ्गो लाउन नसकेको, बाईबल, कुरान र धम्मपद, त्रिपिटक आदिले पनि आ–आफ्नै तरिकाले औँल्याएको तथ्य सम्बन्धी फरक फरक चिन्तन भित्रबाट वास्तविक सत्य पत्ता लगाउनु नै हो ।


० तपार्ईंको लेखनको अभिष्ट के हो ? तपार्ईं किन लेख्न चाहनु हुन्छ ?

विश्व मानव समुदायलाई आफूले अनुसन्धानगरी पत्ता लगाएको सत्य, तथ्य जानकारी गराउनु नै हो ।


० तपाईं आफ्नो लेखनबाट समाजलाई रूपान्तरण तुल्याउने कुरामा कत्तिको विश्वस्त हुनु हुन्छ ?
वेदव्यास, ऋषिमुनिहरू, मोहम्मद्, जिसस, बुद्ध, महावीर जस्तै अनेकौ महापुरुषहरूले सुरु गरेका सत्यहरू ढिलो वा चाँडौ विश्व सामु पुगेकै छ । त्यसैगरी मेरो चिन्तन पनि विश्व मानवलाई उपयुक्त र श्रेष्ठ लागेमा आज न भोलि पक्कै अनुशरण गर्नेछन् भन्ने लाग्छ ।


यहाँको ४३ औं कृति ‘एकमात्र’ पाठक समक्ष आएको छ, यो कस्तो कृति हो ?
आज विश्वमा मानवका व्यक्तिगत र समुदायका संक्रिर्ण स्वार्थका कारण विभिन्न धर्म र संस्कृतिमा भएका सत्यहरू लाईबंगाएर स्वार्थ अनुकूल बनाई विभिन्न पर्खालहरू सिर्जना गरि आपसमा भाइचारा र मित्रताको सट्टा दुस्मनी, झगडाको अवस्था सिर्जनागरी युद्ध, हत्या, हिंसा भई रहेको, एउटा मानवदेखि अर्को मानव टाडिदै गएको आफ्नैमा मान श्रेष्ठता देख्न थालेको अवस्थामा धार्मिक समन्वय सिर्जना गरि विश्वमा भएका सबै मानवहरू दाजु भाई एकै परिवार हौं, सबै धर्महरू राम्रा छन्, सत्य र ईश्वर एकमात्र छ, भूधरातल, हावापानी अनुसार नाम र रूप फरक मानिएको मात्र हो भन्ने शाश्वत सत्यलाई विश्व सामु पस्कीई विश्व भाईचारको अवस्था सिर्जना गर्न प्रयत्न गर्नु यस पुस्तक लेखन र प्रकाशनको उद्देश्य हो ।


० तपाईंलाई आफ्ना सिर्जना पाठक माझ पु¥याए पछि कस्तो अनुभूति हुने गर्छ ?
मलाई जीवन भर पढेर विश्व विद्यालयबाट सफलताको डिग्री हात पर्दाको अवस्था, असारमा धान रोपेर विना असिना, बिना हुरी सग्लोगरी धान भित्र्याउदाको अवस्था, ९० मिनेटको असिना पसिनासँग खेलेको फूटबलमा गोल गरेर विजय प्राप्त गरेको अवस्था जस्तै पुस्तक लेखन र प्रकाशन भई पाठक समक्ष पुगेपछि अवर्णीय आनन्दको अनुभूति हुने गर्दछ ।


० साहित्य सिर्जना कुन उद्देश्यले प्रेरित भएर लेख्न सुरु गर्नुभयो, अहिले त्यो अभिष्ट पुरा भए जस्तो लाग्छ ?

समाजमा भएका विकृति, विसंगतिलाई औल्याउँदै सत्तशिक्षा प्रदान गर्ने उद्देश्यले लेख्न थालेको हु, अर्कोतर्फ भाषाका कारणले आफ्ना धर्म र संस्कृति मान्यताहरू लोप हुन लागेकोले सरल नेपाली भाषामा त्यस्ता महत्वपूर्ण कुराहरूलाई लेखेर पाठक समक्ष पु¥याउने मेरो उद्देश्य सफल भएको नै ठान्दछु ।


० अब यहाँका कस्ता–कस्ता कृति पाठक समक्ष आउँदै छन् ?

अब ‘हरिभक्त सिग्देलका कविता’ नामक गद्य कविता संग्रह र ‘म अमर छु’ पद्य कविता संग्रह आउँदै छन् जसमा प्रेम, इतिहास, धर्म, परम्परा, राजनीति र शिक्षालाई लिएर विश्व समाजमा भएका नकारात्मक र सकारात्मक पक्षहरूको कवितात्मक प्रस्तुति हुनेछन् ।


० लेखेर के पाईदो रहेछ, यहाँको निस्कर्ष के छ ?

संसारमा केही गरेर नपाइने सन्तुष्टि र सफलता लेखेर नै पाईन्छ । लेखेर नै राम्रा सिद्धान्त र विचारहरूलाई विश्व समक्ष राख्न सकिन्छ । म त भन्छु प्रत्येक मान्छेमा केही न केही विशिष्ट क्षमताहरू हुन्छन् यदि लेखबद्ध गरिएन भनि ती क्षमताहरू त्यो मानिसको मृत्युसँगै मर्छन्, हराउँछन् । त्यसैले प्रत्येक मान्छेले लेख्नुपर्छ, लेख्न नजान्नेका अनुभवहरू जान्नेहरूले संकलन र प्रकाशितगरी जीवन्त राखिदिनु पर्दछ ।


लेखनलाई आउन लागेका नयाँ लेखकहरूलाई कस्तो सल्लाह दिनु हुन्छ ?
तपाईंको प्रवेश जीवनको सुन्दर बगैँचामा हुँदैछ, यस बगैँचा भित्र राम्रा राम्रा फूल र वृक्षहरू लगाउनुहोस् । जुन वृक्षहरूमा, जुन फूलहरूमा अमृत र मृत्युजयी फलहरू फूल्ने र फल्ने छन् । ती फलफूलको सेवनबाट असंख्य मानिसहरू अजम्बरी बन्ने छन् त्यसैले आउनुहोस् आफूलाई मन परेको विधामा लेखनलाई अगाडि बढाउनु होस् । म यहाँहरूलाई लेखन क्षेत्रमा हार्दिक स्वागत गर्दछु ।


० अन्त्यमा, सिर्जना या कृति के हो ?
सिर्जना अन्तर्मनको निष्पक्ष सत्य अभिव्यक्ति हो भने यस्तै अभिव्यक्तिहरूको संगालो नै कृति हो । सिर्जनाले मानिसलाई आनन्द दिन्छ भने कृतिले मानव समुदायलाई पौष्टिक खुराक दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.