April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेपाली कांग्रेसका वडा तहसम्मका कार्यकर्ताहरुलाई पार्टीका बारेमा जानकारी गराउन प्रशिक्षणको आवश्यकता छ

दामोदर खड्का, वरिष्ठ अधिवक्ता तथा नेपाली कांग्रेस काठमाडौंमा सभापति पदका उम्मेदवार


लामो समय वकालत पेसामा आवद्ध वरिष्ठ अधिवक्ता दामोदर खड्का नेपाली कांग्रेस काठमाडौंको सभापति पदका लागि उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । कानूनका क्षेत्रमा योग्य र इमान्दार खड्का नेपाली कांग्रेसको जिल्ला तहका सदस्य देखि सचिव र महाधिवेशन प्रतिनिधि देखि महासमिति सदस्यसम्म बनेर कुशलता पूर्वक जिम्मेवारी निर्बाह गरिसक्नुभएको छ । सभापति पदका लागि आकांक्षी देखिनुभएका खड्कासँग चुनावी मुद्दा र पार्टीमा सुदृढिकरणका लागि गर्नुपर्ने आगामी योजनाका विषयमा व्यस्तताका वावजुद गरिएको छोटो कुराकानीः


० पहिलो नम्बरमा काठमाडौं जिल्लाका क्रियाशील सदस्य सामु पुग्ने गरी प्रशिक्षण कार्यक्रम अघि बढाउने छु ।
० नेपाली कांग्रेस पार्टीका लागि युवाहरुलाई कसरी आकर्षित गर्ने भन्ने विषयमा ठूलो चुनौति हो ।
० युवाहरु राजनीतिमा लाग्ने कि नलाग्ने भन्ने क्रममा राजनीतिमा देखिएका विकृत खेलहरुका कारण पनि स्वीकार गर्न नसकेर आकर्षित हुन नसकेका हुन्
० टिकट पाउनेको पक्षमा झोला बोकेर हिडेर जिताउने पार्टीका कार्यकर्ताहरुको नैतिक कर्तव्य, दायित्व र धर्म पनि हो ।
० सत्तामा हुँदा कतिपय नेताहरु एउटा कुरा गर्ने र सत्ता बाहिर हुँदा अर्को कुरा गरेको युवाहरुलाई मन पर्दैन ।
० युवा अवस्थामा आन्दोलनमा जोडिएका कारण अवसर पाउनुभयो ।

० तपाई नेपाली कांग्रेस काठमाडौंकोे जिल्ला अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । के के छन् चुनावी एजेण्डाहरु ?
आगामी निर्वाचनमा नेपाली कांग्रेस जिल्ला कार्यसमतिको सभापति पदमा मैले आफ्नो चाहना व्यक्त गरेको छु । यो चाहनाको सम्बन्धमा भन्नु पर्दा कसैले टिकट दिने पद होइन, आफै नै उम्मेदवार बन्ने हो । तथापि सहयोग गर्ने साथीहरुको समूहको आवश्यकता रहन्छ । त्यसका लागि साथीभाइसँग हातेमालो गरिरहेको छु । साथीहरुले अगाडि बढ्नुस् भनेको खण्डमा म पनि अघि बढ्ने नै छु । अ‍ेरिकी राष्ट्रपतिको निर्वाचनमा जस्तो भित्री चुनाव भए जस्तै गरी साथी भाइकोबीचमा सरसल्लाह गरिरहेको छु ।


० तपाई पेसामा अब्बल ब्यक्तित्व पार्टी चुनावमा जाँदा जीत हासिल गर्न रणनीति कसरी बनाउनुभएको छ ?
म पार्टी भित्रका चुनावमा कहिल्यै पनि हारेको छैन । सफलता हासिल गरिरहेको छु । मेरा सहयोगी र सभेच्छुकहरुले दामोदर खड्का नै अघि बढ्नुपर्दछ भनिरहँनुभएको छ ।


० तपाईले नेपाली कांग्रेसको कुन कुन पदमा रहेर काम गर्नुभयो ? र, अहिले जिल्ला सभापतिको पदमा दाबी गरिरहँनुभएको छ ?
म २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सक्रियतापू्र्वक आन्दोलनमा सहभागि भएर लागेको हुँ । त्यसैगरी २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहले नेतृत्व गर्नुभएको थियो । उक्त आन्दोलनमा एकदमै सक्रिय भएर पार्टीको निर्देशनमा सक्रिय भूमिका निर्वाह गरेको थिएँ । उक्त समयमा म वकिल पनि भइसकेको थिएँ । बहुदलको पक्षमा लाग्दा गिरफ्तार भएर हिरासतमा पनि बसेको छु । यसरी २०४६ सालको जनआन्दोलन अगाडि नै सक्रिय रुपमा राजनीतिमा लागेको हुँ । त्यसपछि म विष्णु बुढानीलकण्ठ गाउँ विकास समितिमा नेपाली कांग्रेसका सभापति भएँ । साथै क्षेत्रिय सहसचिव, सचिव, काठमाडौं जिल्लाको सदस्य र जिल्ला कार्य समितिको सचिव पनि भएँ । त्यसै बीचमा म महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएँ । यसरी म निरन्तर रुपमा अगाडि बढिरहेको छु । २०६२÷०६३ सालको जनआन्दोलनका समयमा म जिल्ला कार्य समितिको सचिव भएर सक्रिय रुपमा काम गरेको थिएँ । आन्दोलनमा धेरै मानिसहरु सहभागि गराएर मैले काम गरेको थिएँ ।


० तपाई नेपाली कांग्रेसका सभापतिमा काठमाडौं जिल्लाबाट निर्वाचित हुनुभयो भने पार्टी संगठन र पार्टी सदस्यता बिस्तारमा कसरी अघि बढ्नुहुन्छ ?
काठमाडौं नेपालको राजधानी भएको महत्वपूर्ण जिल्ला हो । यहाँ काम गर्दा वा नगर्दा पनि केन्द्रको छायाँ परिरहेको हुन्छ । नेपाली कांग्रेसको पार्टी संगठनमा एकले अर्कोलाई खुइलयाउने नराम्रो दृष्टिकोण राख्ने अवस्था पनि छ । एकले डाकेको बैठकमा अर्को नजाने र अर्को पक्षको राजनीतिक अस्थित्व नै नस्वीकार्ने अवस्था छ । यस्ता कुराहरुलाई चिर्ने काम मेरो पहिलो प्राथमिकतामा रुपमा हुनेछ । कांग्रेसको दुःखमा कांग्रेसले नै साथ दिन सक्छ भन्ने हिसावले सबै साथीहरुलाई एक बनाएर अघि बढाउने छु । म नेपाली कांग्रेसको राजनीतिमा लागेर हिडेको पनि चार दशक भयो । तर, कहिलेकाँही साथीहरुले नै काग्रेस भनेको के हो भनेर सोध्ने गर्दछन् । कांग्रेस कार्यकर्तामा प्रशिक्षणको अभाव खड्किएको छ । यदि काठमाडौं जिल्लाको म सभापतिमा निर्वाचित भएँ भने पहिलो नम्बरमा काठमाडौं जिल्लाका क्रियाशील सदस्य सामु पुग्ने गरी प्रशिक्षण कार्यक्रम अघि बढाउने छु । क्रियाशील साथीहरुमा एक खालको सकरात्मक प्रवाह नै ल्याउनेछु । पार्टीमा लागेर पार्टीका नीति तथा कार्यक्रमका बारेमा बुझाउन सक्ने हैसियत राख्ने अवस्था बनाउने छौं । यसरी हाम्रो पार्टीको सिद्धान्त यो हो भनेर बुझाउन सक्ने जनशक्ति तयार गर्नेछु । मूल रुपमा कार्यकर्ता र साथी भाइलाई अन्याय हुन नदिने, साथीहरुबीच एक आपसमा मेलमिलापको वातावरण तयार गर्ने, प्रशिक्षण गर्ने र निर्वाचनमा आफुले टिकट पाएको खण्डमा ठीक मान्ने र अरुले टिकट नपाए बठीक भन्ने परम्परा जबर्जस्त हामी कहाँ विकास भएको छ । जसले टिकट पाए पनि लोकतान्त्रिक पार्टीमा टिकट नपाउनजेल प्रतिस्पर्धा गर्न सक्ने तर, टिकट पाएपछि पार्टीले निर्णय गरीसकेपछि टिकट पाउनेको पक्षमा झोला बोकेर हिडेर जिताउने पार्टीका कार्यकर्ताहरुको नैतिक कर्तव्य, दायित्व र धर्म पनि हो । त्यसका लागि पहिला पार्टीले पनि सही मुल्यांकन गरेर टिकट दिने व्यवस्था गरोस्, त्यसपछि जिताउनका लागि सबैलाई गोलबन्द बनाएर म अघि बढ्नेछु ।


पार्टीमा अनुशासनको कमि भएर अराजकता बढ्नुमा पार्टी विरुद्धमा लाग्नेहरुलाई समयमा कारबाही नगर्दाको परिणाम होइन ?
हाम्रो प्रत्येक निर्वाचन र महाधिवेशन अघि यी व्यक्तिहरुको क्रियाशील सदस्यता नविकरण नगर्नुु भनेर निर्देशन हुन्छ । अहिले पनि त्यो खालको निर्देशन आइसकेको छ । हाम्रो पार्टी एक लोकतान्त्रिक पार्टी भएका कारण खुलापनको फाइदा साथीहरुले उठाएका कारण अनुशासनमा कमि देखिएको पनि हो कि ? भन्ने विश्वास मलाई लागेको छ ।


अहिले २५ वर्षभन्दा कम उमेरका युवाहरु अहिलेका केन्द्रमा रहेका राजनीतिक पार्टीहरु प्रति आशावादी देखिदैनन् । उनीहरुलाई पनि समेट्न तपाईको के पहल हुन्छ ?
वास्तवमा युवाहरुको समस्या नेपाली कांग्रेसमा धेरै ठूलो छ । म आफु झण्डै ६० वर्ष पुग्न लागेँ । मैले आफ्नै उमेर समूहका मानिसहरु मात्रै देख्ने गरेको छु । हिजो म जुन समयमा कांग्रेस बनेको थिएँ, त्यसो समयमा पनि मेरै उमेर समूहका मानिसहरु धेरै देखेको थिएँ । नेपाली कांग्रेस पार्टीका लागि युवाहरुलाई कसरी आकर्षित गर्ने भन्ने विषयमा ठूलो चुनौति हो । युवाहरु वडा समिति देखि जिल्ला समितिसम्म १८ देखि ३० वर्ष सम्मका युवाहरुलाई १५ प्रतिशत सिट सुरक्षित गर्ने भन्ने कारणबाट पनि केहि युवाहरु आउनेछन् । अर्को तर्फ युवाहरु पनि राजनीतिमा लाग्ने कि नलाग्ने भन्ने क्रममा राजनीतिक खेलहरुका कारण पनि स्वीकार गर्न नसकेर आकर्षित हुन नसकेका हुन् । सत्तामा हुँदा कतिपय नेताहरु एउटा कुरा गर्ने र सत्ता बाहिर हुँदा अर्को कुरा गरेको युवाहरुलाई मन पर्दैन । जहिले पनि एउटै कुरा गर्नुपर्नेमा अधिकांश युवाहरुको तर्क हुन्छ । वास्तवमा त्यो ठीक पनि त हो । त्यसैले सिंगो पार्टीभित्रै चिरफारको अवस्था रहेको छ । कुनै समय नेपाल विद्यार्थी संघमा स्कूल स्कूलबाट संगठित भएर राजनीतिमा होमिन्थे, अहिले त्यो पनि रोकिएको अवस्था छ । हिजो स्कूलबाट प्लस टुको कलेजमा पढिरहेकाहरुलाई सोध्दा कुनै पनि संगठनको सदस्यता नलिएको बताउने गरेका छन् । त्यस खालका विद्यार्थीहरु धेरै छन् । देश चलाउने राजनीतिले नै हो । राजनीति स्वच्छ भएको खण्डमा देश अघि बढ्न सक्छ । देश विकास हुन्छ । कानूनी शासन र मानव अधिकारको प्रत्याभूति हुन्छ । विभिन्न खालका स्वतन्त्रताहरु रहन्छन् भनेर बुझाउन सक्नुपर्दछ ।


० हिजो बिपी कोइराला प्रधानमन्त्री हुँदा झण्डै ४४ वर्षको हुनुुहन्थ्यो । पछि पनि ३५÷४० वर्षका युवाहरु मन्त्री र गृहमन्त्री नै हुनुभयो । अहिले त नेपाल विद्यार्थी संघका सभापति नै ५२ वर्ष हुनुभाछ । यो समस्यालाई पार लगाउन बिधानमा नै कुनै सुधारका कार्यक्रम नै ल्याउनुपर्छ कि ?
हो हिजो बिपी प्रधानमन्त्री हुनुभयो, गणेशमानजी पनि युवा अवस्थामै मन्त्री बन्नुभयो, किसुनजी युवा अवस्थामा संसदको सभामुख बन्नुभयो । वि.स.२००७ सालमा नेपाली कांग्रेसका अधिकांश नेताहरु नै युवा हुनुुहुन्थ्यो । वि.स.२०१५ सालको संसदीय निर्वाचनमा उहाँहरुले जित्नुभयो । सत्ताको नेतृत्वमा पनि उहाँहरु नै जानुभयो । युवा अवस्थामा आन्दोलनमा जोडिएका कारण अवसर पाउनुभयो । तर, अहिले भने तिनै व्यक्तिहरु अहिले पनि राजनीतिमै हुनुुहुन्छ ।


० युवाहरु केन्द्रीय समितिमै आउन सक्ने व्यवस्थाका लागि सहज बाटो बनाउन सकिदैन ?
युवाहरु पार्टीको नेतृत्वमा आउन जरुरी छ । कांग्रेसका युवाहरु पनि सांसद बनेकै छन् । मन्त्री भएर पनि आएकै छन् ।
० काठमाडौंको गत स्थानीय तहको निर्वाचनमा युवाहरुले विकल्प खोजेको जस्तो देखियो । तथापि मूख्य राजनीतिक पार्टीहरुले किन अझै नजर अनदाज गरिरहेका छन् ?
वास्तवमा हामीले दुई वर्ष अघि मात्रै विधान संशोधन गरेका हौं । विधान संशोधन पनि युवाहरुलाई नेतृत्वमा ल्याउनका लागि गरिएको हो ।


० पछिल्लो समयमा पनि निर्वाचन तालिका पटक पटक फेरिइरहँदा समयमा महाधिवेशन हुँदैन कि भनेर आशंका गरिएको छ । तपाईलाई के लाग्छ ?
महाधिवेशन त क्रियाशील सदस्यताको समस्या नसुझाएसम्म रोकिने नै भयो । एउटा जिल्लामा एक वडाको विवादका कारण पनि रोकिन पुग्छ । विवाद सिर्जना भयो भने पनि सहमतिमा सर्वसम्मत निर्णय गर्ने भनिएको रहेछ । त्यसैले पनि केहि दिन मात्रै फरक परेको हो । अन्यथा वडामा पनि सबै सिद्धिने थियो । त्यसैकारण अहिले २१ जिल्लाको वडाहरुमा निर्वाचन बाँकी रहेको छ । नगर र गाउँ पालिकाको निर्वाचन २७ भदौमा भैसकेकोे छ ।


० तपाईको विचारमा नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा अवको नेतृत्व को आउनुपर्दछ भन्ने लाग्छ ?
केन्द्रीय सभापतिमा नेतृत्वका लागि आ—आफ्नो विचारहरु प्रस्तुत भएका छन् । कांग्रेस पार्टीलाई गतिशील बनाउने शेर बहादुर देउवा नै हो । दलित, जनजाती, मधेसी, थारुलगायतलाई समानुपातिक रुपमा नेतृत्वमा ल्याउनका लागि पहलकदमी गर्ने व्यक्ति नै शेर बहादुर देउवा हुनुुहुन्छ । उहाँ आफु प्रधानमन्त्री हुँदा २५ विघामा रहेको जग्गाको हदबन्दीलाई झारेर ११ बिघामा ल्याउनुभयो । महिला, दलित, जनजाती, मस्लिम लगायतका आयोगमा उहाँले नै बनाउनुभएको हो । त्यसैकारण पनि एक पटक उहाँकै नेतृत्व भयो भने पार्टीमा अझ सहज वातावरण बन्नेछ ।


० अन्तमा केहि भन्नु छ कि ?
मेरा विचार तपाईका मिडिया मार्फत राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । अहिले नेपाली कांग्रेसको महाधिवेशनको तालिका अनुसार जिल्ला अधिवेशन हुन गइरहेको छ । वडा तहसम्मका कार्यकर्ताहरुलाई पार्टीका बारेमा जानकारी गराउनका लागि प्रशिक्षणको आवश्यकता छ । कार्यकर्तालाई प्रशिक्षणबाट मात्रै पार्टीलाई गतिशील बनाउँन सकिने रहेछ । त्यसैले मलाई काठमाडौं जिल्लाको सभापतिमा निर्वाचित गराउँनका लागि आम कांग्रेसका साथीहरुको सहयोग र समर्थनको अपेक्षा गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.