बारामा एकैदिन १६५ जना नेकपा एमालेमा प्रवेश
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंन्द्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टी छाडेर आउनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यो सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताए ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाठलाई मापसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनीधित्व गर्न नसक्ने उनकोे भनाई छ । उनले जीतपुरमा जस्तै देशैभरी नेकपा एमाले नै सहि हो भन्दै पार्र्टी प्रवेस गर्ने लहर चलेकोले परमादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुनः नेतृत्वमा आउने उद्घोष गरे ।
नेकपा एमाले जीतपुरका पुराना एवम अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजीत कार्यक्रममा नेकपा एमालेका केन्दी्रय सदस्य अच्युत मैनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेकपा एमालेका केन्द्रीय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती देवी चौधरी लगायतका सयौँ नेता कार्यकताको उपस्थिती रहेको थियो ।