मालपोतमा घटेन घुसको खेती: महालेखा
रजिष्ट्रेशन र पुँजीगत लाभकर दस्तुर कानून बिपरित घटाएर राज्यकोषमा करोडौं नोक्सानी
काठमाडौं । महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदनमा लाभकर छुट दिने र कम मुल्यांकन गरी रजिष्ट्रेशन पास गरी करोडौं रुपैया नोक्सानी पु¥याएको उल्लेख गरिएको छ । यसरी राजश्वमा नोक्सानी पु¥याए बापत मालपोत कार्यालयका अधिकारीहरुले प्रशस्त नजराना गोप्य रुपमा प्राप्त गर्ने गर्दछन् । मालपोत, वैदेशिक रोजगार विभाग, भन्सार कार्यालय, यातायात कार्यालय, आन्तरिक राजश्व कार्यालयहरु कर्मचारीका लागि अवैध कमाउ धन्दाका रोजाईका ठाउँहरु हुन् ।
सरकारले मालोपोत कार्यालयलाई एलआरआईएस परियोजना मार्फत डिजीलाइज्ड गराएर बिचौलिया र दलालमुक्त बनाउने भनिएपनि पुरानै मानसिकताका कर्मचारीहरु लेखापढि ब्यवसायीका नाममा गैर कानुनी काम गर्दै आएका बिचौलियाहरु सेवाग्राहीको काम अड्काउने र घुस रकम माग्दै आउने गरेका छन् । पूर्व भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्री हुने बित्तिकै मालपोत हातामा रहेका बिचौलियाहरु हटाउन १५ दिनको म्याद दिए पनि सफल हुन सकेन । अन्ततः उनी आफै झुक्न बाद्य भईन ।
मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय ललितपुर, मालपोत कार्यालय चावहिल, कलंकी, मनमैजु, टोखा र भक्तपुरमा न्यून रजिष्ट्रेशन शुल्क राख्ने र लाभकर छलि भएको भन्दै त्यस्तो रकम सम्बन्धित अधिकारीबाटै जिम्मेवार बनाएर असुल उपर गर्नुपर्ने महालेखाको अन्ठाउन्नौं प्रतिवेदनमा उल्लेख गरेको छ ।
मालपोतमा अनियमितताका केहि उदाहरणहरु
मालपोत कार्यालय चावहिल अन्तर्गतको एक कलेजले साविक विष्णु –५, हाल बुढानीलकण्ठ नगरपालिका स्थित कित्ता नम्बर ६६९, ६७३ र ६७५ को दुई रोपनी जग्गा र सोमा बनेको घर चार करोड तीस लाखमा कलेजकै अध्यक्षलाई विक्री गरेका छन् । कलेजले २०७३ सालमा चार करोड तीस लाखमा खरिद गरिएको घर जग्गा चार वर्ष पछि पनि त्यहि मूल्य राखेर कलेजकै अध्यक्षलाई विक्री गरी स्वामित्व हस्तान्तरण गरिएकाले सामान्य रुपमा बजार मूल्यमा नदेखिएका कारण सामान्य बजार भन्दा फरक भएको प्रतिवेदनमा त्रुटि औल्याइएको छ । यसलाई सम्बद्ध कार्यालयले छानविन गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘आयकर ऐन २०५८ दफा ४१ तथा घर जग्गा निःसर्गपुँजीगत लाभकर सम्बन्धी निर्देशिका, २०७२ बमोजिम कुनै समयमा एउटा समूहमा पर्ने सम्पत्ति अन्य प्रयोजनका लागि प्रयोग हुन थालेमा सो सम्पत्ति सोहि समयमा निःसर्ग भए सरह हुने व्यवस्था छ । मालपोत कार्यालय डिल्लीबजार, चावहिल, र मनमैजू कार्यक्षेत्रभित्र रहेका केहि घरधनीले उल्लेखित व्यवस्था बिपरित आफ्नो स्वामित्वमा रहेका जग्गालाई काठमाडौं उपत्यका विकास प्राधिकरण र स्थानीय तहबाट प्लटिङका लागि स्वीकृत लिई कित्ताकाट गरेर साविकको जग्गाको स्वरुपमा परिवर्तन गरी विक्री गरेको ट्रेसबाट देखिन्छ । प्राकृतिक व्यक्तिले व्यवसायिक प्रयोजनबाट घर जग्गाको कारोबार गर्दा पुँजीगत लाभकर नभई व्यवसायिक लाभमा ३६ प्रतिशतसम्म आयकर तिर्नुपर्दछ । व्यवसायिक प्रकृतिको निःसर्ग गर्ने ११ निसर्गकर्ताको रु ५० करोड १७ लाख ६१ हजारमा सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा आय विवरण पेश लाग्ने कर असुल उपर गर्नुपर्नेमा पुँजीकर लाभकर मात्रै कट्टा गरेको देखिएकोले आयकर ऐन २०५८ को अनुसुचि १ बमोजिम ३६ प्रतिशतले हुने कर रु १८ करोड ६ लाख ३६ हजार असुल गर्नुपर्दछ’ महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी भूमि व्यवस्था तथा अभिलेख विभागले २०७२ साल फागुन १९ गते गरेको परिपत्रमा एक पटक थैली कायम भएको घर जग्गामा रकम घटाउन नमिल्ने उल्लेख छ । तर, काठमाडौं डिल्लीबजारको मालपोत कार्यालय र मकवानपुरको हेटौडा मालपोत कार्यालयबाट चार जना निसर्गकर्ताले एक पटक कायम भएको थैली भन्दा एक करोड ३२ लाख २१ हजार थैली कम थैली कायम गरी निःसर्ग गरेकाले छुट भएको रजिष्ट्रेशन दस्तुर सात लाख १७ हजार र पुँजीगत लाभकर रु छ लाख ६१ हजार समेत रु १२ लाख ४७ हजार असुल गर्नुपर्ने महालेखाको अन्ठाउन्नौं वार्षिक प्रतिवेदनमा थप उल्लेख गरिएको छ ।
मालपोत कार्यालय चावहिलको एक निःसर्गकर्ताले साविक विष्णु गाविस–७ ख को कित्ता नम्बर २३९ को ८० आना (५ रोपनी) वडा कार्यालयको सिफारिस अनुसार दुई करोड ८० लाख थैली कायम गरी एक कन्स्ट्रक्सन कम्पनीलाई बेचेको छ । नापी नक्सामा उक्त जग्गामा बाटो र खोल्सी देखिएकोले लेखापरीक्षणका क्रममा २०७८ असार ११ गते स्थलगत अवलोकन गर्दा १६ फिटको कच्चि बाटो देखिएकाले प्रति आना रु नौ लाखका दरले सात करोड २० लाख थैली कायम गर्नुपर्नेमा चार करोड ३९ लाख ९० हजार घटी थैली कायम भएकाले सो रकममा छुट थैली कायम भएकाले सो रकममा छुट रजिष्ट्रेसन दस्तुर १९ लाख ७९ हजार र लाभकर २१ लाख ९९ हजार समेत गरी ४१ लाख ७८ हजार असुल गर्न प्रतिवेदनमा भनिएको छ ।
मालपोत कार्यालय डिल्लीबजारले न्यूनतम मुल्यांकन पुस्तिका २०७६ को निर्णय नम्बर ११ मा जग्गाको वर्गिकरण अनुसार कायम वर्ग र बाटो सिफारिस मध्ये जुन बढि आउँछ, सोहि कायम गरिने व्यवस्था छ । कार्यालयले ५५ वटा निःसर्गकर्ताहरुको लिखत पारित गर्दा घरबाटो सिफारिस र वर्ग मध्ये जुन रकम बढि आउँछ त्यहि थैली कायम नगर्दा १७ करोड ६१ लाख ५५ हजार घटि कायम भएको छ । त्यसबाट छुट भएको रजिष्ट्रेशन दस्तुर ६६ लाख ९५ हजार र पुँजीगत लाभकर रु ७० लाख ७५ हजारसमेत गरी एक करोड ३७ लाख ५० हजार असुल उपर गर्नपर्ने महालेखाको अन्ठाउन्नौं प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ को उपदफा २ ङ (२८) बमोजिम स्थानीय निकायले घरबाटो सिफारिस गर्दा साबिक अवस्था खुलाई सिफारिस गर्नुपर्ने र सोहि सिफारिस बमोजिम न्यूनतम मुल्यांकन पुस्तिकाको आधारमा घरजग्गाको थैली कायम गर्नुपर्ने अवस्था छ । मालपोत कार्यालयमा लिखित पास भएका कित्ताहरुको नापी नक्सा भन्दा सिफारिस फरक भएका कारणले मालपोत कार्यालय ललितपुरका ३२ निःसर्गकर्ताको २५ करोड ३२ लाख ७६ हजार, भक्तपुरका ११ निसर्गकर्ताको १२ करोड ४५ लाख, कलंकीका १२ निसर्गकर्ताको सात करोड १९ लाख ६६ हजारसमेत ६ कार्यालयका ७६ निःसर्गकर्ताहरुको ६२ करोड ९७ लाख ९३ हजार थैली रकम घटी कायम भई रजिष्ट्रेशन दस्तुर रु दुई करोड ६४ लाख ९२ हजार र पुँजीगत लाभकर रु दुई करोड ५८ लाख २८ हजारसमेत रु पाँच करोड २३ लाख २० हजार छुट दिएको राजश्व असुल उपर गर्नुपर्र्ने विषय महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मालपोत कार्यालयहरुमा जत्तिसुकै सुधार गरिएको ढ्वाङ फुकेपनि अहिले अवस्था कस्तो छ भन्ने महालेखाका माथि प्रस्तुत गरिएका केहि उदाहरणहरु नै काफि छन् । महालेखा परीक्षकको कार्यालयले औल्याएका विषयहरुको सम्बन्धमा डिल्लीबजार मालपोत कार्यालयका प्रमुखसँग फोन सम्पर्क गर्दा उनले सम्पर्क हुन सकेन । त्यसै गरी मालपोत कार्यालयका चावहिलका प्रमुख कलक बहादुर खड्कासँग प्रतिक्रिया लिनका लागि उनको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि काटिरहेका थिए । त्यसपछि उनको कार्यालयमै प्रतिक्रिया स्वरुप पुग्दा संवैधानिक अंग महालेखा परीक्षकका कर्मचारीहरुलाई सत्तोसराप गरिरहेका थिए । यो देख्दा लाग्थ्यो मालपोतका कर्मचारीहरु दुधले धोएका हुन् कि । तर, घुस खाने तौर तरिका फेरिएको बारेमा भने एक शव्द पनि बोलेनन् ।
मालपोत कार्यालय ललितपुरका प्रमुख शालिकराम आचार्य, मालपोत कार्यालय डिल्लीबजारका टुना बहादुर श्रेष्ठ, मालपोत कार्यालय कलंकीका प्रमुख र मालपोत कार्यालय भक्तपुरका प्रमुख देवी बहादुर भण्डारीसँग सम्पर्क गर्दा कसैको पनि मोबाइल फोन उठेन ।