उखु किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा कडा संघर्षमा उत्रने किसान संगठनहरूको चेतावनी
काठमाडौं । छ वटा किसान संगठनहरुले उखु किसानहरुको रकम तत्काल भुक्तानी नगरिएमा चिनीउद्योगी, व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने एक विज्ञप्तीमार्फत जनाएका छन् । विज्ञप्ती जारी गर्ने छ संगठनहरुमा चित्र बहादुर श्रेष्ठ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), बलराम बास्कोटा महासचिव रहेको अखिल नेपाल किसान महासंघ, भैरव रेग्मी अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ, सीताराम तामाङ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) र कृष्ण राना इन्चार्ज रहेको अखिल नेपाल प्रगतिशील किसान संघ छन् । जारी विज्ञप्तीमा भनिएको छ । ‘देशको अर्थतन्त्र र राजनीतिक परिवर्तनको मुख्य चालक शक्ति भएर पनि परिवर्तनको प्रत्यक्ष फल चाख्न नपाउने वर्गको रुपमा किसान समुदाय रहेको कुरा जगजाहेर छ । रातोदिन वर्षा, झरी, गर्मी, ठण्डी, हिउँ, तुषारो नभनीकन वर्षभरी परिश्रम गरेर उत्पादन गरिएका कृषि उपजहरूले बजार नपाउनु, बजारमा लगिएका आफ्ना उपज÷वस्तुको मूल्य आफैले निर्धारण गर्न नपाउनु र महिनौँको मेहनतबाट उत्पादन गरेको वस्तुमा उत्पादक किसानहरूले अत्यन्तै कम मूल्य पाउनु तर उपभोक्ता तथा आम सर्वसाधारणले अत्यधिक मूल्य चुकाउन वाध्य हुनुपर्ने र उपभोग्य वस्तुको मूल्यको ठुलो हिस्सा विचौलिया, दलाल र व्यापारीहरूले पाउने स्थिति नेपाली कृषिको तितो यथार्थ हो । त्यस माथि बेचिएको वस्तुको वर्षौसम्म भुक्तानीसमेत प्राप्त गर्न नसक्नुल ेकिसानहरूको थप शोषण मात्रै भइरहेको छैन, उनीहरूका चहराइरहेका घाउमाथि नून–चुक थप्ने काम निरन्तर हुँदै आएको छ ।
यस सन्दर्भमा विगतलामो समयदेखि उखु उत्पादक किसानहरूले आफ्नो मेहनतबाट उत्पादित वस्तु चिनी मिल तथा अन्य व्यापारीहरूलाई विक्रि वितरण गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद कुरा हो । यो उखु उत्पादककिसानहरूकालागि पीडादायक कुरा हो भने किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौ वर्ष झुलाएर राख्ने उद्योगी, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि राष्ट्रिय लज्जाको विषय हो ।
यस अघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपीओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन । किसानहरू जिल्ल परे । परिणामतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको छ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ । तसर्थ वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानीबापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ठ रुपमार सरकारको तर्फबाट प्रदान गरिनु पर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न÷गराउन हामी किसान संगठनहरू जोड्दार माग गर्दछौँ । यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौँ ।’