स्याङ्जाका स्थानीय तहहरुको वेवसाईट नखुल्दा सेवाग्राही समस्यामा

स्याङजा । स्याङजाका अधिकांश पालिकाहरुको वेभसाइट तीन दिन देखि बन्द छन् । तथापि सेवा प्रदायक संस्थाहरु अहिले पनि गम्भीर बनेका छैनन् । सेवाग्राहीहरु कतिपय कामका लागि सूचना हेरेर मात्रै जाने गर्दछन् । वेवसाइट नखुलेका कारण कामका बारेमा जानकारीका लागि टाडा टाडाबाट हिडेर पालिकाको कार्यालयमा जान बाद्य छन् ।
आँधीखोला गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका र गल्याङ नगरपालिकाका वेवसाइट तीन दिनदेखि खुलेका छैनन् । कोरोना भाइरस (कोभिड–१९)को समयमा बाहिर निस्कदा भीड हुने हुँदा वेवसाइटबाट जानकारी लिने गरेका सेवाग्राही बढी प्रभावित भएका छन् । स्थानीय तहहरुको वेबसाइट बन्द हुँदा सर्वसाधारणहरु गाउँपालिकाबाट पाउनु पर्ने सुचनाबाट बन्चित हुनु परेको आधिँखोला गाउँपालिकाकी स्थानीय कल्पना कार्कीले बताइन् ।
बिरुवा गाउँपालिकाका सूचना अधिकृत बालकृष्ण पौडेलसँग सम्पर्क गर्दा उनी कार्यालय बाहिर रहेकोे जवाफ दिए । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीसँग सो सम्वन्धी जानकारी लिन खोज्दा आफूहरुलाई वेबसाइट नखुलेकोबारे जानकारी नभएको बताए । उनीले वेबसाइट नखुलेको बारे कर्मचारीहरुलाई थाहा हुने बताए । गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले आफू दुःख परेको ठाउँमा आएको भन्दै सो बारे जानकारी नभएको हुँदा पछि जानकारी लिने बताए ।
यसरी स्थानीय तहहरुको वेबसाईट बेलाबेलामा नखुल्दा स्थानीयहरु महत्वपूर्ण सूचना लिनबाट बन्चित हुनु परेको छ । कोरोनाको समयमा घरबाटै वेबसाइटमार्फत् जानकारी लिएका स्थानीयहरु वेबसाइट नखुल्दा निकै प्रभावित भएका छन् । साइटमा आउने यस्ता समस्या समाधान गर्न बेलैमा सम्वन्धीत निकायको ध्यान जान आवश्यक छ । यसै सम्बन्धमा पालिकाहरुमा वेभसाइटको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सहजिकरण गरिरहेका पीएजीएसपीका विक्रम खतिवडासँग सम्पर्क गर्दा पालिकाहरुकै कारण त्यो अवस्था आएको भन्दै आफु अत्यन्तै ब्यास्त रहको भन्ने प्रतिक्रिया दिए । पालिकाहरुमा वेभसाइटको व्यवस्थापन प्रदेश कार्यालयबाट व्यवस्थापन गरिने भए पनि गाउँपालिकामा सोर्सफोर्सका भरमा करारमा भर्ति गरिएका सूचना प्राविधिक अधिकृतहरु आम सेवाग्राहीका हितमा काम गर्न सकिरहेका छैनन् । उनीहरु जनताप्रति भन्दा पनि आफ्नै भविश्यप्रति मात्रै चिन्तित भएका कारण आम सर्वसाधारणले कष्ट भोग्दै आएका छन् ।