राजनीतिमा ध्रुवे हात्ती प्रवृति अन्त्य जरुरी
नारायण प्रसाद शर्मा
कुनै बेला जंगली ध्रुबे हात्तीले चितवनमा निकै सतायो । २०६६ देखि २०६९ सम्म १५ जना निर्दोस मानिसको ज्यान लियो । उक्त समयमा ध्रुबेलाई मार्न राज्यले १६ लाख खर्च गरेको थियो । तर पनि सकेन । निकुञ्जमा सेना प्रयोग गरेर मार्न खोजिएपछि दुई वर्ष सम्म हराएको यो जंगली हात्ती पछि सुध्रिएको ठानेर मार्न दिइएन । अहिले एकाएक आफ्नो क्षेत्रमा प्रवेश गरेको ठानेर गंैडा गणनामा हात्तीसहित गएको टोलीलाई ध्रुवेले आतंक मच्चाइदियो । ४० वटा हात्तीसहित दुईसय जनाको गैडा गणना गर्न गएको टोलीलाई ध्रुवेहात्तीले लखेट्दा प्रकृति संरक्षण कोषका एक जना कर्मचारी गम्भीर घाइते भएपछि हेलिकप्टरबाट उपचार गर्नका लागि काठमाडौं ल्याउनु परेको छ ।
२०४८ साल देखि २०५१ सालसम्म गिरिजा प्रसाद कोइरालाले त्यहि प्रवृतिको विकास गरे । उनले आफ्नो विरोधीहरु सबै माले मण्डले र मसाले भन्ने गर्दर्थे । खुलामञ्चमा शान्तिपूर्ण रुपमा विरोध सभा गर्दा कैयौं पटक राजनीतिक दलका नेता कार्यकर्ताहरु पक्राउ गरियोे । गिरिजा शासनमा अनिश शाक्य जस्ता चार वर्षका बालक खेलिरहेको अवस्थामा गोली लागेर मर्नु परेको थियो । तत्कालिन गृहमन्त्री शेर बहादुर देउवाले उत्तर दिएका थिए, ‘गोलीको आँखा हुँदैन’ । यो प्रक्रिया २०५६ सालको संसदीय निर्वाचनसम्म आइपुग्दा गिरिजा प्रसाद कोइरालाले केहि समय अघि आफैले ध्रुबे हात्तीले जस्तै गरी लखेटेका कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदार बनाएर निर्वाचनमा गए । बहुमत आयो । तर, फ्रान्स भ्रमणमा जान पनि नदिएर सत्ताबाट जवर्जस्ती हट्न बाद्य बनाए । सत्ताको मातले उन्मुक्त गिरिजालाई देउवाले त्यहि हतियार प्रयोग गरी सत्ताबाट लखेटे । आखिरमा गृहमन्त्री बनेर सर्वसाधारणमाथि गोली चलाउन आदेश दिने देउवाले सत्ता लगेर तत्कालिन राजा ज्ञानेन्द्रलाई बुझाए ।
२०५० साल जेठ ३ गते दास ढुंगामा नेकपा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारीको निधन पछि कार्यबहाक महासचिवको पद प्राप्त गरेका नेकपा एमालेका नेता माधव कुमार नेपालले २०५३ सालमा रातको १२ सम्म तीन पटक पार्टीमा मतदान गरी महाकाली सन्धिको पक्षमा जवर्जस्ती पार्टीमा समर्थन जनाउन बाद्य बनाए । समर्थन नगर्ने नेताहरु सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली, राधाकृष्ण मैनाली, त्रिलोचन ढकाल, योगेश भट्टराई, घनश्याम भुसालहरुलाई धु्रवे हात्तीले जंगलमा आतंक मच्चाए जसरी पार्टीबाट खेदे । २०५५ सालमा भएको नेकपा एमालेको नेपालगञ्ज महाधिवेशनमा त भीम रावलले बन्दुकले हान भन्दै योगेश भट्टराई र रुप नारायण श्रेष्ठ विरुद्धमा फर्मान नै जारी गरे । अहिले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन् । सत्ता र शक्तिमा हुँदा यो प्रवृति सबै नेताहरुले प्रयोग गर्दै आएकै हुन् । यसपटक त्यसको सामान्य प्रयोग प्रधानमन्त्री ओलीले गरे ।
तत्कालिन चौथो महाधिवेसनको महामन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड ३१ वर्ष अघि देखि अहिलेसम्म पनि पार्टीको प्रमुख पदमै आसिन छन् । उनले पनि आफैलाई पार्टीको महामन्त्रीमा प्रस्ताव गरेका मोहन बैद्य किरणलाई बाहिरिन बाद्य बनाए । सेक्टर काण्ड पछि २०४६मा नेकपा चौथो महाधिवेशनको र २०४८ मा नेकपा एकता केन्द्रको महामन्त्री बनेका प्रचण्ड अहिलेसम्म पनि पार्टीका प्रमुख बनिरहेका छन् । यसरी राजनीतिक पार्टीका शिर्ष नेताहरुले आफ्नो पदमा राजतन्त्रात्मक शैलीको प्रयासले पार्टीभित्र बिभाजनको अवस्था आएको हो । ध्रुबे हात्तीले निकुञ्जको वन क्षेत्र आफ्नै हो भन्ने घमण्ड गरे जसरी नेताहरुले पदमा बसिरहने र सत्तारसमा रम्ने प्रवृतिका कारण अहिलेको अवस्था आएको हो । त्यसो त युवा अवस्थामा नै लोकप्रिय बनेको ठानेर नेपाली कांग्रेस निकट नेबिसंघका तत्कालिन नेता गगन थापा र कांग्रेसका बौद्धिक गणतन्त्रवादी नेता नरहरि आचार्यलाई गिरिजा प्रसाद कोइरालाले दरबारको मानिस भनेर आलोचना गरेका थिए । । अहिलेको राजनीतिक निकास नै ध्रुबे प्रवृतिका अन्त्य र सहज रुपमा पार्टीभित्रको शक्ति र सत्ता हस्तान्तरण गर्नुु हो ।