September 1, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पत्रकार महासंघको निर्वाचन २५ चैत्रमा, राजनीतिक दलमा जस्तै अन्यौल संगठनहरुमा

1 min read


काठमाडौं नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघको संशोधित विधान अनुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन भइसकेको छ । निर्वाचनको मिति तय भएसँगै वरिष्ठ पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाएको हो । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।
महासंघमा नेकपा एमाले समर्थक पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपाली कांग्रेस समर्थक पत्रकारहरुको संगठन प्रेस युनियन र नेकपा माओवादी केन्द्र समर्थक पत्रकारहरुको संगठन प्रेस सेन्टरका पत्रकारहरु बीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यस अघि माउ पार्टीको एकता पश्चात दुई पत्रकार संगठनहरु प्रेस चौतारी र प्रेस सेन्टरबीच एकता भए पनि सर्वोच्च अदालतको पछिल्लो फैसलाका कारण दुई पार्टी अलग भएका थिए । त्यहि अनुरुप नै दुई संगठन अलग भएका हुन् । त्यसो त पार्टी राजनीतिमा जस्तै कसरी कुन कुन संगठनबीच कार्यगत एकता हुने हो ? अझै एकिन हुन सकिरहेको छैन । यस अघि प्रेस संंगठनका संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत तोकिएका थिए । तर, नेकपा एमालेभित्र देखिएको प्रधानमन्त्री ओलीको समूह र अर्का नेता माधव नेपालबीच देखिएको विवादका कारण पत्रकारहरुको संगठन समेत छिन्नभिन्न अवस्थामा पुगेको छ ।
एक वर्ष अघि नै निर्वाचन हुनुपर्ने नेपाल पत्रकार महासंघको निर्वाचन कोरोना भाइरस नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण ढिलाई हुन पुगेको हो । यस अघिको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टरबीच कार्यगत एकता भएको थियो । कार्यगत एकता अनुसार महासंघको अध्यक्षमा प्रेस सेन्टरका तर्फबाट गोविन्द आचार्य र प्रेस युनियनका तर्फबाट महासचिव, उपाध्यक्ष लगायतका पदहरुमा कार्यएकताका आधारमा मिलाइएको थियो । त्यसैकारण वरिष्ठ पत्रकार तिर्थ कोइराला प्रेस चौतारीको तर्फबाट उठे पनि पराजित हुन पुगे ।
महासंघको निर्वाचनमा केन्द्रमा को को बन्दैछन् उम्मेदवार ?
पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनका तर्फबाट रमेश विष्टको नाम पहिले देखि नै चर्चामा छ । त्यसै गरी यनियनका तर्फबाट वर्तमान उपाध्यक्ष बिपुल पोखरेलको पनि उम्मेदवारीका लागि चर्चा गरिँदै छ । पे्रस चौतारी र प्रेस सेन्टरले अझै उम्मेदवारको विषयमा चर्चा समेत गरेको छैन ।


पत्रकार महासंघ काठमाडौं को को छन् अध्यक्षका दावेदार ?
पत्रकार महासंघ काठमाडौंमा अध्यक्ष शन्तराम बिडारी केन्द्रको पदाधिकारीका लागि आकांक्षी छन् । उनले कोरोना महामारीमा पत्रकारहरुको लागि राहत वितरण देखि सहजिकरणका लागि उल्लेखनिए भूमिका निर्वाह गरेका थिए । कतिपयले बिडारीलाई नै पुनः अध्यक्ष बनाउनुपर्ने आवाज उठाएका छन् । त्यसै गरी अध्यक्षका आकांक्षीमा हालका उपाध्यक्ष सूर्य सुबेदी र महिला उपाध्यक्ष सीता पोखरेल पनि छन् । महासंघका हालका सचिव मोहन पन्तको नाम पनि चर्चामा छ । अध्यक्षमा पदका अन्य आकांक्षीहरुमा कोषाध्यक्ष राम चन्द्र बस्नेत पनि छन् । बस्नेत तामाकोशी साप्ताहिकका प्रकाशक पनि हुन् । अन्य उम्मेदवारी घोषणा गर्नेहरुमा अर्जुन डोटेल, पुष्कर बस्नेत पनि छन् । तर, अहिलेसम्म प्रेस चौतारी, प्रेस युनियन र प्रेस संगठनमा कसलाई टिकट दिने होे प्रष्ट भएको छैन ।
पत्रकार संघको संस्थापकबारे विवाद
नेपाल पत्रकार संघको संस्थापक बारे विवाद हुँदै आएको छ । वामपंथी राजनीतिसँग जोडिएका पत्रकार संघ संगठनहरू महासंघको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ हुन् भन्छन् भने नेपाली कांग्रेस समर्थक पत्रकारहरुको संगठन प्रेस युनियनले कृष्ण प्रसाद भट्टराई नै संस्थापक अध्यक्ष भन्ने गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर लगायतले सत्य नारायण बहादुर श्रेष्ठलाई संस्थापक सभापति मानिरहेका छन् ।
महासंघको दर्ता कहिले भएको थियो ?
पत्रकार संघको दर्ताका विषयमा विवाद भएपनि पत्रकार महासंघको दर्ता भने जिल्ला प्रशासन कार्यालयमा २०५३ सा असार ११ गते भएको हो । पत्रकार संघको अहिले पनि सभापतिमा मञ्जुरत्न शाक्य रहेका छन् । महासंघको दर्ताका समयमा हरिहर विरही लगायतको नाम समावेश गरिएको छ ।
महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
महासंघको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार २०७७ चैत्र ८ गते साझ ५.१५ बजे मतदाता नामावली प्रकाशन, त्यसै गरी २०७७ चैत्र ८ गते देखि ९ गते १२.३० सम्म मतदाता नामावली दाबी बिरोध, २०७७ चैत्र ११ गते दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन, २०७७ साल चैत्र १२ गते १०.३० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयन, २०७७ साल चैत्र १२ गते साझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, २०७७ साल चैत्र १३ गते बिहान १०.३० देखि दिउसो ४ बजेसम्म उम्मेदवार उपरको दाबी बिरोध, २०७७ साल चैत्र १४ गते दिउँसो ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने, २०७७ चैत्र १४ गते उम्मेदवारले उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०७७ साल चैत्र २५ गते बिहान ९ बजे देखि बेलुकी ५ बजेसम्म मतदान, २०७७ चैत्र २५ गते मतदानका लागि तोकिएको समय समाप्त पश्चात मतगणना हुने छ ।

को -को संस्थापकहरु ?
नेपाल पत्रकार संघ २००८
सभापति, सत्य नारायण बहादुर श्रेष्ठ, सम्पादक, नेपाल टुडे
उपसभापति, प्रेमराज शर्मा पौडेल, सम्पादक, गोरखापत्र
सचिव/मन्त्री, भोज बहादुर सिंह न्यौपाने, सम्पादक, तरंग
सहसचिव/सहायक मन्त्री, राजहरि जोश, सम्पादक, नेपाल पुकार
कोषाध्यक्ष, रामराज शर्मा पौडेल, नेपाल पुकार
सदस्य, नारायण प्रसाद उपाध्याय, सम्पादक, युगवाणी
सदस्य, भीम भक्त जोशी, प्रकाशक, उद्योग
सदस्य, प्रकाश चन्द्र टण्डन, सम्बाददाता, प्रेस ट्रष्ट अफ इण्डिया
सदस्य, देबेन्द्र राज शर्मा


नेपाल पत्रकार संघ २०१२
सभापति,कृष्ण प्रसाद उपाध्याय, सम्पादक, नेपाल पुकार
उपसभापति,फत्ते बहादुर सिंह, सम्पादक, नेपाल भाषा पत्रिका
सचिव/मन्त्री,मणिराज उपाध्याय, सम्पादक, समाज
सहसचिव/सहायक मन्त्री,राम सिंह, सम्पादक, नेपाल टाइम्स
कोषाध्यक्ष, उदयराज शास्त्री, प्रकाशक, नेपाल समाचार
सदस्य, हृदय चन्द्र सिंह प्रधान, सम्पादक, जनचेतना
सदस्य, शारदा रेग्मी सम्पादक, राष्ट्रबाणी
सदस्य, राज बहादुर मिश्र, प्रकाशक, कर्मविर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.