April 14, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

विश्व रेकर्ड राख्ने मन्त्री रामबीर मानन्धरलाई भारतमा सम्मान


काठमाडौं । नेपाल सरकारका सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर गीत गाएर ‘गिनिज बुक अफ वल्ड रेकर्डस्’ मा आफ्नो नाम लेखाएका छन । राज्यमन्त्री मानन्धरलाई मंगलबार नयाँदिल्लीमा एक समारोहबीच ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’को प्रमाण पत्र प्रदान गरिएको छ । उनलाई भारतको सामाजिक विकास राज्यमन्त्री रामदास अठवालेले विश्व रेकर्ड्को प्रमाण पत्र प्रदान गरेका छन् ।
यससँगै मानन्धर गीत गाएर विश्व रेकर्ड कायम गर्ने पहिलो वहालवाला मन्त्री बनेका छन । राज्यमन्त्री मानन्धरले यही गएको २० डिसेम्बर २०२० मा चार घण्टा पाँच मिनेट २० सेकेण्डको अवधिमा विभिन्न ५९ वटा गीत गाएका थिए ।
काठमाडौंको अष्टनारायण सिनेमा हलमा आयोजित एकल कन्सर्टमा उनले नेपाली र नेपाल भाषाका गीतहरु नन स्टप गाएर यो कीर्तिमान कायम गरेका हुन।
कार्यक्रममा वल्र्ड बुक अफ रेकर्डस् लण्डनका चियरमेन दिवाकर सुकर, वल्र्ड बुक अफ रेकर्डसका अध्यक्ष सन्तोष शुक्ला, वल्र्ड बुक अफ रेकर्डस् स्वीरल्याण्डका अध्यक्ष पुन जेनर, वल्र्ड बुक अफ रेकर्डस नेपालका अध्यक्ष सागर कटवाललगायत जर्मन, भारत र युएईका विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै सामाजिक न्याय राज्यमन्त्री आठवलेले मन्त्री मानन्धरले कायम गरेको विश्व कीर्तिमान राजनीतिकर्मीका लागि प्रेरणादायी अठोट भएको बताए । नेपाली र भारतीयबीच अधिकांश विषयमा समानता रहेको बताउँदै मन्त्री आठवलेले समृद्धिको यात्रामा पनि सँगसँगै हिड्न चाहेको बताउँदै भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि महत्वपूर्ण सफलता प्राप्त गरेको बताए । मन्त्री आठवलेले नेपाल सरकारसँग पनि आवश्यक सहकार्य हुने प्रष्ट पारे । दुई छिमेकी मुलुकबीचको आपसी सम्बन्ध र सहकार्य अझै बढाउन मोदी सरकार तयार रहेको बताउँदै नेपाल सरकारले तय गरेको समृिद्धको यात्रामा भारतको सधैं साथ रहने मन्त्री आठवलेले बताए । सायरीसहित प्रस्तुत भएका मन्त्री आठवलेले मन्त्री मानन्धरको आवाजको आफु पनि प्रशंसक भएको जनाए ।
कार्यक्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताए । विकासमा भारतीय साझेदारी महत्वपुर्ण रहेको बताउँदै मन्त्री मानन्धरले दुई देशबीचको आगामी यात्रा थप उज्ज्वल हुने विश्वास व्यक्त गरे । आफुले कायम गरेको विश्व कीर्तिमान भारतीय राजनीतिक व्यक्तित्व र कलाकारहरुसँग पनि सेयर गर्न पाएकोमा गौरवान्वीत भएको बताउँदै मन्त्री मानन्धरले संगीतको सीमा नहुने बताए । मन्त्री मानन्धरले नेपाल र भारतबीच कला, साहित्य र संगीतमा समानता रहेको बताउँदै संगीतको सम्वद्र्धनमा सरोकारवालाले ध्यान दिनुपर्ने विषयमा जोड दिए ।
भारत भ्रमणमा रहेका मन्त्री मानन्धरसँग बुधवार दिउँसो दिल्ली अध्ययन केन्द्रले अन्तरक्रियाको आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका थिए ।
कार्यक्रममा विभिन्न विधामा विश्व कीर्तिमान कायम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.