November 2, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

माओलाई सम्झनुको अर्थ

खेम थपलिया, प्रगतिशिल सास्कृतिककर्मी, लेखक

केपी ओलीको सामाजिक फासिवादी हर्कतले सीमा नाघ्दै छ । आफू ‘कम्युनिस्ट’ नै भएको जिकिर गर्ने केपी ओलीले महासचिव विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । यसले नेपाल कम्युनिस्ट पार्टीका हजारौँ नेता–कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर जेल–हिरासतमा राखेको छ । यसले नेकपाका कैयौँ नेता–कार्यकर्ताको हत्यासमेत गरिसकेको छ । यसले पार्टीसम्बद्ध नेता–कार्यकर्ताको त कुरै छाडौँ; सर्वसाधारण जनता, लेखक, कवि, कलाकार तथा साहित्यकारमाथि पनि चर्को दमन गरिरहेको छ । प्रतिबन्धको यो विशिष्ट अवधिमा एकीकृत जनक्रान्तिको शक्तिशाली प्रवाहलाई रोक्न दलाल तथा सामाजिक फासिवादी ओली सरकारले क्रान्तिकारीहरूका मुख थुन्न, हात बाँध्न, पाइला रोक्न जेजति अन्यायपूर्ण र फासिवादी हर्कत गरे पनि उसका हरेक आदेशलाई लत्याउँदै देशभक्त तथा क्रान्तिकारीहरू निरन्तर अघि बढिरहेका छन् । पछिल्लो चरणमा केपी ओली र प्रचण्डहरूको घरझगडा उत्कर्षमा पुगेको छ । ओलीले उनीहरूकै ब्रह्मल्ुटको अखडा प्रतिनिधिसभालाई विघटन गरी निर्वाचनको घोषणा गरिदिएका छन् । प्रचण्ड–माधव नेपालहरू सडक सङ्घर्षका उत्रिएका छन् । उनीहरूले एकले अर्कोलाई कारबाही गर्ने सिलसिला पनि चलाएका छन् । नेपालमा संसद्वादीहरूले अनेक रमिता देखाइरहेको ठीक यतिबेला हामी आदरणीय कमरेड माओ जे दोङको सम्झना र सम्मानमा १२८ औँ माओ दिवस मनाइरहेका छौँ ।२६ डिसम्बर, सन् १८९३ मा विश्व मानचित्रको एउटा विशाल भू–भाग ओगटेको पुँजीवादी तथा सामन्तवादी शक्तिद्वारा पिल्सिएको जर्जर रोग र भोकले छटपटाएको चीनको एउटा सानो गाउँमा रक्तिम किरणले जन्म लिएथ्यो । त्यही किरण महान् योद्धा आज संसारभर माओको नामले प्रसिद्ध छ । उहाँ शोषक लुटेराहरूको ज्यानीदुश्मन र गरिब मिहिनेतकश जनताका आत्माको धड्कन बन्नुभएको छ ।

माओ नाम प्रत्येक राष्ट्रको स्वाधीन आन्दोलन र हरेक देशका जनताको मुक्तिकामी आन्दोलनसँग गाँसिएको छ । उहाँ आज विश्वभरमा श्रमिक तथा उत्पीडित जनताद्वारा चलाइएका तथा चलाइने जनक्रान्तिको पर्याय बन्नुभएको छ । साम्राज्यवादी, दलाल तथा एकाधिकार पुँजीवादी भूमण्डलीकृत शक्तिहरूको प्रभावबाट मुक्त गर्न, उत्पीडित तथा श्रमजीवी जनतालाई सामन्तवादी तथा अन्य विभिन्न खाले प्रतिक्रियावादी तत्वहरूको दमन र शोषणबाट मुक्त गर्न माओ अजेय रणनीतिक हतियार बन्नुभएको छ ।सेप्टेम्बर ९, सन् १९७६ मा विश्व सर्वहारा वर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको निधनपछि विश्वभरका शोषित पीडित जनता शोकमग्न भइरहेको बेलामा चीनका केही प्रतिक्रान्तिकारीले भित्रभित्रै विषाक्त हतियारलाई तिखारेर षड्यन्त्रको जालो बुन्न थाले । चीनमा पुँजीवादी व्यवस्था लागू गर्नका लागि मालेमावादका सच्चा अनुयायीहरूलाई छान्दै चिनियाँ संशोधनवादीहरूले ‘ग्याङ अफ फोर’ को आरोपमा गिरफ्तार गरेर प्रतिक्रान्तिको बिजारोपण गरियो । माको मृत्युको महिना दिन पनि नपुग्दै चियाङ चिङ, च्याङ चुङ चियाओ र अन्य क्रान्तिकारीमाथि ‘कथित त्यही क्रममा माओ विचारप्रति अत्यन्तै बफादार, राजनीतिक रूपले परिपक्व तथा सिद्धान्तप्रति निष्ठावान चिनियाँ सेनालाई पुनर्गठन गरेर चिनियाँ जनमुक्ति सेनालाई पार्टी, सरकार र त्यसका नीतिहरूप्रति बफादारीको सपथ लिन लगाइयो । चीनमा जुन सेनाले क्रान्ति गरेको थियो, त्यही सेनाले प्रतिक्रान्तिलाई पनि साथ दियो, जुन असामान्य परिघटना थियो । माओको क्रान्तिलाई लगातार अघि बढाउँदै उत्पादन बढाउने भन्ने क्रान्तिकारी विचारलाई तोडेर ‘आधुनिकीकरणको कार्यक्रम’ द्वारा ‘उत्पादन बढाउने’ नारा दिइयो । ‘उत्पादन बढाउने’ नाउँमा संशोधनवादीहरूले क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली दिएर पुँजीवादी पुर्नस्थापनालाई जोड दिइयो । वर्गसङ्घर्षलाई पूर्ण रूपले परित्याग, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसभन्दा अगाडि पनि जफत गरिएका व्यक्तिगत सम्पत्ति ब्याजसहित फिर्ता, व्यक्तिगत स्वामित्वमा चल्ने उद्योगधन्दालाई छुट, ठूलो पैमानामा विदेशी पुँजीलाई चीनमा भित्र्याएर पर्याप्त नाफालाई विदेशमा रकम लैजान छुट, व्यक्तिगत रूपमा जमिनका प्लटहरूको वितरण, विदेशी अश्लील साहित्य नृत्य–फिल्मको प्रदर्शनद्वारा जनताको चेतनालाई विकृत र कुरूप बनाई क्रान्तिप्रति विमुख बनाउने तथा भौतिक प्रलोभनद्वारा जनतालाई भ्रष्ट पार्ने आदि प्रयास गरेर चीनमा पुँजीवादी अधिनायकत्वलाई स्थापित गरियो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई ‘दुर्घटनापूर्ण’ बताउन थालियो । महान् क्रान्तिकारी बिम्बहरूको भयानक विद्रूपीकरण गर्न थालियो ।क्रान्तिकारी सिद्धान्तलाई जसरी लेनिन र स्तालिनले रुसमा व्यावहारिक रूपमा लागु गर्नुभएको थियो, ठीक त्यसरी नै माओले पिछडिएको मुलुक चीनमा लागु गर्नुभयो । उहाँले माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मक रूपले विकास गरेर सर्वहारा अधिनायकत्वलाई बचाइराख्ने र सुदृढ बनाउने, पुँजीवादी पुनपनालाई रोक्ने विधिको विकास गर्नुभयो । माक्र्सवाद–लेनिनवादको विकसित रूप नै आजको माओवाद हो, जुन जनक्रान्तिको मार्गदर्शक सिद्धान्त हो । सर्वहारा वर्गले पुँजीपति वर्गबाट छिनेर सत्ता लिएपछि पनि निकै लामो अवधिसम्म समाजवादतर्फ सङ्क्रमणकालीन समयभरि मात्र होइन, समाजवादको निर्माण र विकासको समयभर वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पार्टी र सरकारभित्र तथा बाहिर रहेका पुँजीवादीहरूलाई कमजोर, तहस–नहस र अन्तमा निर्मूल नपारेसम्म सर्वहारा वर्गले राज्यसत्तामाथि प्रतिक्रान्तिकारी हमला हरदम भइरहने खतरा भइरहने वास्तविकतालाई दृष्टिगत गरेर माओ सुरुदेखि नै पार्टीलाई सर्वहाराकरण गर्ने प्रयासमा लाग्नुभयो । माओले पुँजीवादी बाटो लिएका सत्तासीनविरुद्ध सङ्घर्ष गरेर सर्वहारा अधिनायकत्वको सुदृढीकरण र समाजवादी व्यवस्थाको विकासको लागि, समाजवादी ढाँचाअनुरूप नभएका शिक्षा, साहित्य, कला र संस्कृतिलाई सही रूप दिन ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को सूत्रपात गरेर समाजवादी व्यवस्थामा नयाँ आयाम थप्नुभयो । आखिरीमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति माओवादको सशक्त व्यावहारिक रूप बन्यो । यो माक्र्सवाद–लेनिनवादमा थप योगदान र विश्व कम्युनिस्ट आन्दोलनमा महान् उपलब्धि थियो । माओ चिनियाँ बहुचर्चित लामो अभियान, जापानविरोधी युद्ध र मुक्तियुद्धका नेता एवम् नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक, चीनलाई समाजवादी बाटोमा लैजाने वा पुँजीवादी बाटोमा भन्ने प्रश्न टड्कारो बनिरहेको बेला सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको वास्तविक नेता एवम् संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका स्रोत हुनुहुन्छ । विश्व इतिहासकै महापुरुषहरूमध्ये एक बन्न पुग्नुभएका माओले ‘विपरीतहरूको एकता–सङ्घर्ष–रूपान्तरण’, ‘दुई खुट्टामा टेकेर हिँड्ने अर्थनीति’, ‘राजनीतिलाई पक्र, उत्पादन बढाऊ’, दीर्घकालीन जनयुद्धको सैनिक रणनीति, एवम् सर्वहारा अधिनायकत्वअन्तर्गत ‘निरन्तर क्रान्तिको सिद्धान्त’ जस्ता सार्वभौम योगदान दिनुभएको छ । उहाँले “एउटा क्रान्तिकारी पार्टीविना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित र माक्र्सवादी–लेनिनवादी पद्धतिमा आधारित पार्टीविना श्रमजीवी वर्ग र जनसमुदायको व्यापक हिस्सालाई नेतृत्व प्रदान गर्न, साम्राज्यवाद र त्यसका पाल्तु कुकरहरूलाई पराजित गर्न सम्भव छैन” भन्ने मान्यता अघि सार्नुभयो । “वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सही कुराको निर्धारण गर्दछ” भन्दै उहाँले नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका निम्ति ‘पुँजीवादी अड्डामाथि बम वर्षाऊ’, ‘विद्रोह गर्नु जनताको अधिकार हो’ लगायत नारा अगाडि सार्नुभयो । उहाँले संशोधनवादी गद्दारहरूका विरुद्ध सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गर्नुभयो । माओले ‘माक्र्सवाद लागू गर, संशोधनवाद होइन’, ‘खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर’, ‘एकताबद्ध होऊ, नफुट’ अर्थात् ‘तीन गर, तीन नगर’ भन्ने साङ्गठानिक क्षेत्रमा महत्वपूर्ण प्रस्तावना अगाडि सार्नुभयो । पार्टीभित्र चल्ने अन्तर्विरोधलाई पार्टीको जीवन बनाउँदै माओले पार्टीमा उत्पन्न भएका दक्षिणपन्थी विसर्जनवाद र उग्रपन्थी दुस्साहसवादका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष चलाउनुभयो ।नेपालमा सञ्चालन भएको १० बर्से माओवादी जनयुद्धले माओबाट ठूलो उत्प्रेरणा प्राप्त गरेको छ ।

यतिबेला सत्तामा दलाल तथा सामाजिक फासिवादीहरूको रजगज छ । यस्तो बेला माक्र्सवादी कवि–कलाकारहरूको विशेष दायित्व हुन्छ । स्रष्टाहरूले यतिबेला मालेमावादको सैद्धान्तिक पथप्रदर्शनलाई गहिरोसित आत्मसात् गरी समकालीन संस्कृति, साहित्य र कलाको क्षेत्रबाट सशक्त हस्तक्षेप गर्न आवश्यक छ । सामन्तवाद, भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद, दलाल तथा फासिवादी संसदवादका विरुद्धको विचारधारात्मक सङ्घर्षलाई प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनुपर्दछ । वर्गसमाजमा राजनीतिजस्तै साहित्य, कला र संस्कृतिको स्वरूप पनि वर्गीय हुन्छ । आजका कलाकर्मीले वर्गीय प्रतिवद्धतालाई केन्द्र्रमा राखेर आफ्ना सिर्जनामार्फत फासिवादी शिविरमा विष्फोट गर्न आवश्यक छ । माओले पुँजीवादीको शिरोच्छेदन गर्न सांस्कृतिक क्रान्ति गर्नुपर्नाका कारण निकै मननीय छन् । नेपालका जनपक्षीय लेखक, साहित्यकार तथा कलाकर्मीहरू सांस्कृतिक क्रान्तिबारे धेरथोर परिचित छन् । माक्र्सवादी सौन्दर्यचिन्तनको विकासमा माओले समेत स्पष्ट मार्गदर्शन गर्नुभएको छ । माओले कला–साहित्य र संस्कृतिका क्षेत्रमा पु¥याउनुभएको योगदानबारे सम्भवतः नेपालका जनपक्षीय संस्कृतिकर्मीहरू अनभिज्ञ छैनन् । माओको ‘नौलो जनवादी संस्कृति’, ‘येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचन’ र ‘सांस्कृतिक कार्यमा संयुक्त मोर्चा’ जस्ता रचना निकै मननीय छन् । ‘नयाँ जनवादी संस्कृति’ सम्बन्धी रचना तयार पारेर माओले नयाँ संस्कृति र सांस्कृतिक आन्दोलनको दिशालाई सुस्पष्ट पार्नुभएको थियो भने ‘येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचन’ द्वारा कला–साहित्यका क्षेत्रमा प्रचलित गलत दृष्टिकोणको चिरफार गर्नुका साथै, लेखक–कलाकारलाई माक्र्सवादको अध्ययन गर्न र सही विश्वदृष्टिकोण अपनाउन जोड दिनुभएको थियो । उहाँको वैचारिक तथा दार्शनिक क्रान्तिकारी मसाललाई आफ्नो सिर्जन, चिन्तन तथा कर्ममा प्रज्वलित गर्दै फासिवादी सत्ताका विरुद्ध प्रतिरोध गर्नु नै असली रूपमा माओलाई सम्झनु हो । दलाल संसदीय व्यवस्थाका विरुद्धको लडाइँमा विजयी भएर मात्र हामीले माओको ओज र गरिमालाई अझ उँचो बनाउन सक्नेछौँ । विश्व सर्वहारा वर्गका महान् नेता माओको संस्मरण र सम्मानमा विश्वभर १२८ औँ माओ दिवस मनाइँदै छ । साम्राज्यवाद र घोर दक्षिणपन्थीहरूको हैकम बढ्दै गएको यतिबेला क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिँदै वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नु अपरिहार्य छ । माओलाई सम्झनुको अर्थ महान् सपनालाई साकार तुल्याउन प्रतिबद्ध हुनु हो । माओ दिवसको यस महान् अवसरमा हामी माओप्रति विशेष स्मरण र सम्मानका साथ अभिवादन गर्न चाहन्छौँ । साथै, हामी माओको जन्म दिनलाई विशेष उत्सवको रूपमा मनाइरहेका विश्वभरका लाखौँ श्रमजीवी तथा उत्पीडित जनसमुदायमा न्यानो अभिवादन गर्न चाहन्छौँ ।

अन्त्यमा प्रस्तुत छ, माओद्वारा रचित ‘निकै नै टाढा पुग्नु छ राता सिपाहीहरूले’ गीत

निकै नै टाढा पुग्नु छ राता सिपाहीहरूले

गाह्रो र साह्रो मान्दैनन् आँटी छोराछोरीले ।

डाँडा र काँडा पर्वत माला पानीका जलौरा

वीरका निम्ति हिमाल बन्छन् माटाका फुरौला ।

हजार नदी हजार पहाड अगाडि तेर्सिउन्

लडाइँ खेल्न मान्छेका ती केही होइनन् ।

धातुको साङ्लो फलामे पुल जति नै तातो हो

यी राताराता मान्छेले छुँदा त्यसको उठ्छ होस् ।

किङ्सानमाथि फैलिएको त्यो हिउँमा कुल्चिँदै

पौरखीहरू अगाडि बढ्छन् आनन्द छर्कंदै ।

बेरोकटोक अगाडि बढ्छन् यी राता मानिस

लक्ष्यमा आफ्नो पुगेरै छोड्छन् यी राता मानिस ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.