सेमरदहीका महन्थ झाको गाडी चोरीको भन्दै अनुसन्धानमा !
![](https://ediaryexpress.com/wp-content/uploads/2020/08/Ravindra-Das-Vaishnav-1.jpg)
काठमाडौं । सेमरदहीका मठका महन्थ भारतीय नागरिक रविन्द्र दास वैष्णव भन्ने रविन्द्र नाथ झाले कानून हातमा लिएर चोरीका गाडी चढ्ने गरेका छन्् । उनको गाडी चोरीको भन्दै सियारी गाउँपालिका वडा नम्बर ३का अध्यक्ष घिसन अहिर यादवले छानविन गरी कडा कारबाही गर्नका लागि राजश्व अनुसन्धान विभागमा उजुरी गरेका छन् । झाले बि.आर.एस, ०१२१ सफारी गाडी २०७४ सालबाट चढ्दै आएका छन् । यसै विषयमा राजश्व अनुसन्धान कार्यालय वुटवलका प्रमुख धनिश्वर अर्यालसँग सम्पर्क गर्दा छानविन भइरहेको बताए ।
गुठी संस्थानका प्रशासक र मन्त्रीसम्म पनि आर्थिक प्रलोभनमा परेपछि भारतीय नागरिकहरुले नेपाली नागरिकता लिएर थुप्रै अनियमितता र भ्रष्टाचारको कामलाई अघि बढाएका छन् । भारतीय नागरिक रविन्द्र दास वैष्णव भन्ने रविन्द्र नाथ झाले भारतको नागरिक भएपनि नेपाली नागरिकता लिएर रुपन्देही जिल्लाको समरदेही मठको महन्थमा नियुत्ति हुन सफल भएका छन् ।
पशुपतिका पुजारीहरु दक्षिण इण्डियाका भट्टहरुलाई हटाउन तत्कालिन प्रधानमन्त्री प्रचण्डको पनि पसिना आयो । अन्ततः असफल भए । महन्थ हुनका लागि नेपाली नागरिक अनिवार्य भएका कारण पनि भारतीयलाई नागरिकता दिलाएर धमाधम आर्थिक प्रलोभनमा गुठीका प्रशासक र मन्त्रीसम्म पनि दाहिने भएका छन्
गृहमन्त्रालयमार्फत भारतीय नागरिकताको छानविन
भारतीय नागरिक रविन्द्र दास वैष्णव भन्ने रविन्द्र नाथ झाले झुट्ठा विवरण दिएर महोत्तरी जिल्लाबाट वंसजको नेपाली नागरिकता लिएको विषयमा गृहमन्त्रालयमा उजुरी परेको छ । २०७६ साल माघ २८ गते गृहमन्त्रालयमा उनले लिएको नागरिकताको विषयमा छानविन गरी दोहोरो नागरिकता लिएका झा माथि कारबाहको मागसहित उजुरी परेको हो । उनी भारतका बिहार, मधुबनी जिल्ला, ग्राम पञ्चायत बासुकी बिहारी वडा नम्बर ३ थल्ली ग्राम पर्सामा जन्मेका थिए ।
उनका बाबु आमा लगायतका परिवारहरु अहिले पनि भारतकै उक्त स्थानमा बसोबास गर्दछन् । उनले नेपालको महोत्तरी जिल्लाबाट २०५५ साल चैत्र १८ गते नागरिकता प्रमाणपत्र नम्बर १०२८२३०५/४५६ को नेपालको नागरिकता जारी गराई लिएका हुन् । उनका बाबु बुद्धिनाथ झाको भारतकाबिहार राज्यको सामान्य विधानसभा निर्वाचक नामावली–२०१५ को डब्लु बी /१३/पीठ ३ ए १३००५० मा फोटो सहित प्रकाशित गरिएको छ । त्यसै गरी महोत्तरीबाट बंसजको नागरिकता लिएका रबिन्द्रनाथ झाको भारतीय निर्वाचन आयोगको परिचयपत्र नः बीआर/१३/००७४/३१००५३ जिल्ला मधुवनी लेखि जारी गरिएको छ । २८ सेप्टेम्बर ०१५ मा जारी गरिएको उनको परिचयपत्रले भारतीय नागरिक भएको प्रष्ट हुन्छ ।
जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीमा पनि उजुरी
भारतीय नागरिक झाको नागरिकता छानविनका लागि जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीमा पनि उजुरी परेको छ । फागुन ४, २०७४ मा दर्ता नम्बर ८२४ गरिएकोे उजुरीपत्रमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला थाना प्रखण्ड मधवापुर ग्राम पञ्चायत, बासुकी बिहारी उत्तरीमा पर्ने रामनगर कजरा वडा नम्बर २ मा पुस्तौ पुस्ता देखि झाको बसोबास रहेको उल्लेख गरिएको छ । झुठो विवरण पेश गरी वंशजको नागरिकता लिन सफल झा भारतीय भएको सम्रमाण उजुरी दर्ता गरिएको उजुरी कर्ताले बताए ।
कसरी भए भारतीय नागरिक झा महन्थ ?
भारतीय नागरिक झा गुठी संस्थानका प्रशासक नारायण चौधरीको कृपाले यो पद प्राप्त गरेका हुन् । महन्थ बन्नका लागि केहि रकम दिनुपर्ने भन्दै चौधरीले पदको लिलाम बढाबढ नै गरेका थिए । चौधरी पनि घुस काण्डमै अख्तियार दुरुपयोय अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनी सिधै घुस माग्ने र आफुले पनि माथि बुझाउनुपर्छ भनेर भन्ने गर्दर्थे ।
भारतीय नागरिक झाले मटिहानी राजगुठी अन्तर्गतको रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर ३ स्थित राम जानकी मठको ४१ बिघा जग्गा र यसबाट आएको आम्दानी समेत हिनामिना गरेको स्थानीयका उजुरीमा उल्लेख गरिएको छ । यस अघि मान महन्थ जगन्नाथ दासलाई प्रशासक नारायण चौधरीले काठमाडौंको कालोपुलमा रहेको घरमा बोलाएर घुस मागेको एक जना स्थानीयले खुलासा गरेका थिए ।
झाको अवैद्य सम्पत्ति भारतको पैत्रिक घरमा
अवैद्य रुपमा कमाएको रबिन्द्र नाथ झाको सम्पत्तिबाट भारत बिहारको मधुवनीमा विशाल घर बनाएका छन् । १७ वर्ष अघि दुई छाक खानका लागि संघर्षरत झा अहिले भारतमा खरिद गरेको भन्दै चोरीको २८ लाखको गाडी चढ्ने गरेका छन् । उनको अवैद्य सम्पत्तिको कसैले छानबिन गरेको छैन । आफुलाई राजनीतिक दलका नेता र प्रशासकको आर्शिवाद पाएको हुँदा कसैले पनि केहि गर्न नसक्ने उनले बताउँदै आएका छन् । त्यसैकारण जिल्लामा उनको रवाफको अगाडि सामान्य जनताहरु निरिह बन्ने अवस्था छ ।
स्थानीयहरुले दिए मन्त्रीलाई उजुरी
स्थानीय सियारी गाउँपालिकाका वडा नम्बर ३ रुपन्देहीका जनताले नक्कली नेपाली वंशजका नागरिक रबिन्द्र नाथ झा उर्फ रबिन्द्र दास वैष्णव विरुद्ध भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई उजुरी दिएका छन् । यसै विषयमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता जनकराज जोशीसँग भारतीय नागरिकलाई किन महन्थमा नियुक्ति गरियो भनेर प्रतिक्रिया माग्दा उनले उजुरी दिएको खण्डमा छानविन अगाडि बढाइने बताए ।
झाका अनियमितताका फेरहस्तिहरु
भैसाखादर मठको ४० बिघा जमिनको प्रति बिघा ४० हजारका दरले आउने आम्दानी २०५९ साल देखि २०७६ सालसम्म नै पारदर्शी नगरिएको स्थानीयहरुको भनाई छ । साथै भैसाखादर स्थित राम जानकी मठको निर्माण र मर्मत सुधार कार्यका लागि पटक पटक प्राप्त रकम सार्वजनिक गरिएको छैन । स्थानीय गाउँपालिका जनताहरु वडा भेला गरेर गुठी संस्थानबाट हालसम्म कति रकम अनुदान बापत प्राप्त भएको छ ? भनि प्रश्न गर्दा तपाईहरुको क्षेत्राधिकार भन्दा बाहिरको कुरा किन गर्नु भयो भन्दै धम्की दिएर गुठीका प्रशासक र जग्गा शाखा प्रमुखलाई सोध्नु भन्दै पन्छिएका थिए । मठमा ब्यापक भ्रष्टाचार भएको विषयमा मन्त्रालयमा उजुरी गर्दा गुठी संस्थानलाई नै लेखेर पठाइएको बताइयो । तर, तत्कालिन प्रशासक नारायण चौधरीले कारबाही गर्न आनाकानी गरेको स्थानीयको आरोप छ । भारतीय नागरिक झा किन वंसजको नेपाली नागरिकता लिएको भन्ने डायरी एक्सप्रेस साप्ताहिकसँगको प्रश्नमा उनले भने ‘म भारतीय नागरिक भएको भए कसरी नेपाली नागरिकता पाउँथे ? नेपालको प्रशासनले कारबाही गरिहाल्थ्यो नि’ ?